काठमाण्डौ निवासी ३० बर्षिया गीता (परिवर्तित नाम ) को राजन भण्डारीसँग विवाह भयो। दुई छोरा सहितको उनको परिवारको आर्थिक अवस्था ज्यादै कमजोर भएको कारण श्रीमान विदेश गए। राजन रोजगारको क्रममा दुर्घटनामा परि शारिरीक रुपमा अशक्त भई नेपाल फर्किए। परिवार धान्न गीताले २ लाख रुपैयाँँ ऋण लिएर होटल चलाउन थालिन तर होटल घाटामा गएपछि गीता अत्यन्त चिन्तामा परिन। ऋण तिर्न बाँकी नै थियो।
छिमेकमा बस्ने विनोद ढकाल र कृष्ण कुमार दर्जीले कसैलाई पनि नभन्ने शर्तमा उनलाई २ लाख रुपैयाँमा मृगौला बेच्ने सल्लाह दिए। एउटा मृगौला बेच्दैमा केही हुँदैन, मृगौला झिकेमा त्यो फेरी पलाउँछ, एउटा मृगौलाले नै काम गर्छ भनी पैसाको प्रलोभन देखाए। उनीहरुले गीतालाई २०६९ असोजमा काठमाण्डौको एक स्वास्थ्य संस्थामा परीक्षण गराएर दुई महिनापछि काठमाण्डौबाट नेपालगंञ्ज हुँदै भारत नयाँ दिल्लीस्थत सिहानिया अस्पताल पु¥याए त्यहाँ उनको देब्रे मृगौला झिकेर नेपाल फर्काइयो।
सिन्धुपाल्चोक निवासी वर्ष २० को हरि सुनार (परिवर्तित नाम) २०७१ बैशाखमा साथीहरु (प्रतिवादी) विनोद मिजार, अमिर तामाङ र बिक्रम परिवारसँग काठमाण्डौ घुम्न आएका थिए। सोही मौका छोपी ३ जना प्रतिवादीले योजना बनाई हरिलाई काठमाण्डौ सुन्धारास्थित गेष्ट हाउसमा बस्न लगाई काठमाण्डौ आएका बेला शारिरिक जाँच पनि गराऊ भनी पहिला भक्तपुर अस्पताल र त्यसपछि छाउनी अस्पताल हुँदै त्रिभुवन शिक्षण अस्पतालसम्म पु¥याए। एक महिनासम्म गेष्ट हाउसमा राखी प्रतिवादीहरुले हरिलाई शारीरिक परिक्षण गराईरहेकोमा हरि आफुलाई सहयोग गरेको सम्झी उनीहरुले भने बमोजिम गरिरहे। पटक पटकको स्वास्थ्य जाँचपछि प्रतिवादीहरुले हरिलाई उनको शरिरमा केही खराबी देखिएकोले अप्रेशन गर्नुपर्ने बताए।
अप्रेशन गर्दा सानो घाउ मात्र हुने ३–४ दिनमै ठिक हुने हुनाले आत्तिनु नपर्ने कुरा भनेकोले आफ्नो रोग निर्मुल पार्ने सोचले हरि अप्रेशन गर्न तयार भए। साथीहरुले आफुलाई निकै सहयोग गरिरहेको हरिको बुझाई थियो। योजना अनुसार प्रतिवादीहरुले हरिलाई शिक्षण अस्पताल लगि अप्रेशन गर्नु अघि प्रेम बोहरा नाम भएको नागरिकतामा हरिको फोटो टाँसी हरिलाई औठाछाप लगाउन लगाए। कसैले सोधेमा आफ्नो नाम प्रेम बोहरा हो भन्नु भन्न सिकाए। अप्रेशन थिएटरमा लगिएका हरि डाक्टरले आफ्नो इच्छाले मृगौला दान गर्न लागेका हौं भनी सोधेपछि हरिले आफुले मृगौला दान गर्न नचाहेको कुरा डाक्टरलाई रुदै बताए।
काभ्रेपलाञ्चोक निवासी ‘काभ्रे सी’ को सम्र्पक सोही जिल्ला निवासी प्रतिवादी प्रेम बजगाईसँग भयो। काभ्रे सी को आर्थिक अवस्था ज्यादै नै नाजुक रहेको जानकारी पाएका प्रेमले काम्रे सी लाई आफ्नो एउटा मृगौला दान गरे चितवनमा २ विधा जग्गा, १ लाख ५० हजार नगद छोराछोरीलाई पढाउन सहयोग तथा राम्रो जागिर समेत दिने प्रलोभनमा पारी एउटा मृगौला झिक्दा शारीरिक रुपमा केही असर नपर्ने, एउटा मात्र मृगौलाले पनि स्वास्थ्य जीवनयापन गर्न सकिने बताएपछि काभ्रे सी मृगौला दान गर्न तयार भए।
असार २०६७ मा काठमाण्डौबाट प्लेनमा भैरहवा र त्यसपछि गोरखापुर हुँदै काभ्रे सी र प्रतिवादी भारतको मद्रास पुगी काभ्रे सी एम.एम.एम नाम गरेको अस्पतालमा भर्ना भए। करिब १५ दिनजति त्यही अस्पतालमा बसी उनको पटक पटक शारिरिक जाँँच गरियो र अन्त्यमा उउटा मृगौला झिकियो। मृगौला झिकेपश्चात काभ्रे सी लाई तुरुन्त गोरखपुर सुनौली हुँदै नेपाल फर्काइयो। नेपाल फर्किएको केही समयपश्चात उनको स्वास्थ्य स्थिती कमजोर हुँदै गई काम गर्न नसक्ने अवस्थामा पुग्यो। उनलाई प्रतिवादीले कबुल गरे बमोजिम केही पनि नदिई मात्र केही रकम दिएर सम्र्पक बिहिन भयो।
यी माथिका वास्तविक घट्नाहरु त केही उदाहरण मात्र हुन, मानव बेचबिखनको नयाँ स्वरुप मृगौला बेचबिखन हाल आएर नेपालका केही जिल्लाहरुमा अत्यन्त विकराल रुपमा फैलिरहेको छ। मृगौला बेचबिखन सुरुवाती अवस्थामा काभ्रेपलाञ्चोक जिल्लामा रहेको पाइएता पनि पहिल्लो समयमा सिन्धुपाल्चोक, काठमाण्डौ, रसुवा , मकवानपुर हालसालै प्रकासनमा आएको एउटा केशले यो गोरखा जिल्लामा पनि भएको भन्ने तथ्य बाहिर आएको छ। काभ्रेपलाञ्चोक जिल्लाको जस्तो अनुसन्धान नभएता पनि विभ्न्नि समाचार र अन्तरक्रियाहरुबाट मृगौला बेचबिखन नेपालको धेरै जिल्लाहरुमा फैलदो अपराधको रुपमा रहेको छ।
नेपालमा मानव बेच बिखन एउटा गम्भीर तथा जताततै फैलिएको अपराध हो। जसमा पुरुष, महिला तथा बालबालिकाहरुको आन्तरिक तथा बाह्य रुपमा बेचबिखन हुने गर्दछ। नेपालमा मानव बेचबिखनको प्रवृत्ति हेर्दा मानव बेचबिखनको स्वरुपमा विविधता तथा जटिलता थपिदै गएको देखिन्छ। यौन शोषणका लागि हुने महिला तथा युवतीहरुको बेचबिखन सबैभन्दा बढी भएको पाइएता पनि हालैका दिनमा श्रम शोषण, बलपूर्वक गराइने श्रम, बैदेशिक रोजगारीको आवरणमा हुने बेचबिखन तथा मानव अङ्ग झिक्नका लागि गरिने बेचबिखन मानव बेचबिखनका नयाँँ स्वरुपका रुपमा देखा परेका छन।
अहिले मानव अंग प्रत्यारोपण विश्वव्यापी साझा चिकित्सा प्रक्रियाको रुपमा स्थापित भएको छ र यसले मानव अङ्गहरुको माग पनि बढाएको छ। प्रत्यारोपण योग्य अङ्गहरुको माग तथा आपुर्ति बिचको फराकिलो अन्तरले गर्दा गैरकानूनी तथा अनियमित मानव अङ्गको व्यापार फस्टाउनमा सघाउ पु¥याएको छ। विश्वव्यापी मानव अङ्ग बेचबिखनको फस्टाउदो मेलखाने गरी नेपालमा पनि मृगौला बेचबिखनका घट्नाहरुको उजुरी उल्लेख्य संख्यामा बढिरहेका छन्। मृगौला बेचबिखन सम्बन्धीत प्रहरी प्रतिवेदनहरु तथा अदालतमा दायर मुद्दा लगायत बढ्दो आमसंचारका माध्यमहरुबाट प्रकासित समाचार आदिले संगठित र व्यापारिक रुपमा मानव अङ्गको व्यापार बढदो रुपमा रहेको दर्शाउदछ।
मानव अङ्ग बेचबिखनको बर्तमान परिस्थिती परम्परागत मानव बेचबिखन विरुद्धको ढाँचासँगै मेल नखाने हुनाले यसलाई मानव बेचबिखनको एउटा नयाँ स्वरुपको रुपमा मान्यता दिलाउने कार्यमा कठिनाई हुने गरेको छ। अहिले प्रचलित मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ ले प्रचलित कानून बमोजिम बाहेक मानव अङ्ग झिक्ने कार्यलाई मानव बेचबिखन अपराधको रुपमा मान्यता दिएको भएतापनि यस अपराधको विरुद्धमा थोरै चासो दिएको देखिन्छ।
कानून व्यवस्थाहरु:
(क) मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४:
नेपाल सरकारले मानव बेचबिखन तथा ओसार पसारलाई सम्बोधन गर्नका लागि मानव बेचविखन तथा ओसारपसार ऐन,२०६४ लागु गरेको छ। यो कानून क्षेत्रिय रुपमै एक प्रगतिशील कानून भएकोले र यसले व्यापारिक प्रयोजनका लागि मानव अङ्ग झिक्ने लगायतका मानव बेचबिखनका विविध स्वरुपलाई मान्यता प्रदान गरेको छ। यस कानून अन्तरगत मानव अङ्ग बेचबिखन सम्बन्धीत प्रावधान निम्न छन् :
- कानून बमोजिम बाहेक मानव अङ्ग झिक्ने कार्यलाई मानव बेचबिखनको अपराध मान्ने।
- प्रचलित कानून बमोजिम बाहेक यस्तो कसुर गरेमा १० वर्ष कैद र २ लाख देखि ५ लाख सम्म जरिवाना सजाय हुने।
- पीडितलाई कसुरदारलाई भएको जरिवानाको पचास प्रशित रकममा नघट्ने गरी क्षतिपुर्ति भराई दिने।
- कसुरदारको न्यून आर्थिक हैसियत भएको वा अन्य कुनै कारणले कसुरदारबाट पीडितले क्षतिपूर्ति पाउन नसक्ने अवस्था देखिएमा अदालतले पुनस्र्थापना कोषबाट पीडितलाई मनासिव क्षतिपुर्ति भराई दिने आदेश गर्न सक्ने।
(ख) मानव शरीर अङ्ग प्रत्यारोपण नियमित तथा निषेध) ऐन,२०५५ :
मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ ले आधुनिक चिकित्सा पद्धति अनुसार रोगको व्यवस्थित उपचारका लागि मानव अङ्ग झिक्ने अनुमति दिनुका साथै मानव अङ्गको किनबेचलाई रोकथाम समेत गर्दछ। यसकानून अन्तरगत अङ्ग प्रत्यारोपण सम्बन्धी निम्न प्रावधान रहेका छन: - अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले मानव अङ्ग खरिद वा बिक्री गर्न निषेध गरेको छ।
- आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनका लागि मात्र एउटा मानव शरीरबाट अङ्ग झिकी अर्काे मानव शरीरमा प्रत्यारोपण गर्न सकिने व्यवस्था गरेको छ।
- स्वेच्छाले अङ्गदान गर्न मन्जुरी दिने दाता अठार वर्ष उमेर पुरा भएको हुनुपर्ने व्यवस्था गरेको छ।
- परिवारको सदस्य भन्नाले प्राथमिकता क्रम अनुासर क्रमश: पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्रि, दाजु, भाई, दिदि, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासु, ससुरा सम्झनु पर्छ।
- नजिकका नातेदार भन्नाले अङ्ग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी छोरा, छोरी , धर्मपुत्र, धर्मपुत्री , आमा,बाब, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सोतेनी बाबु, सौतेनी आमा, भतिजा, भतिजी, सासु, ससुरा, जेठाजु, जेठानी, देवर, देउरानी, नन्द, भाउजु, बुहारी, मामा, माइजु, भान्जा, भान्जी, साला, साली, फूपु, फूपाजु आमाजु, भदा, भदै, भिनाजु, ज्वाई, जेठान, सम्झनु पर्छ। तर धर्मपुत्र, धर्मपुत्री राख्ने बाबु, आमा र बैबाहिक सम्बन्धबाट कायम भएको नाता सम्बन्ध भएमा कम्तीमा दुई वर्ष देखि अटुट रुपमा नाता सम्बन्ध कायम रहि आएको हुनुपर्ने छ।
- दुई वा दुई भन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नु पर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिगको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्काे परिवारको सदस्यसँग मिल्ने भएमा आपसि सहमतीको आधारमा लिखित रुपमा एक अर्काेको परिवारको सदस्यले सो व्यहोरा खोली स्वीकृतिको लागि तोकिए बमोजिमको समिति समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनुपर्छ।
- गैरकानूनी रुपमा कसैको अङ्ग झिक्ने अपराधमा संलग्न व्यक्तिलाई ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँ सम्म जरिवाना तथा त्यस्तो अपराधमा सहयोग पु¥याउने व्यक्तिलाई अभियुक्तलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ।
- समन्वय इकाई तोक्ने: मस्तिष्क मृत्युको घोषण भएका व्यक्तिको अङ्ग झिक्ने, झिकेको अङ्गलाई सुरक्षित रुपमा राख्ने, अङ्ग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अङ्गलाई तोकिए बमोजिमको प्राथमिकताक्रम अनुसार वितरण गर्ने व्यवस्ता मिलाउने प्रयोजनका लागि नेपाल सरकारले नेपाल साजपत्रमा सुचना प्रकाशन गरी समन्वय इकाई तोक्ने व्यवस्था छ।
- समन्वय इकाई नतोकिएसम्म मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले समन्वय इकाईको काम गर्नेछ।
मृगौला बेचबिखनका केहि महत्वपूर्ण तथ्यहरु :
- मृगौला बेचबिखनमा तेश्रो व्यक्तिको रुपमा दलाल, विरामी स्वयम र कतिपय अवस्थामा दलालहरुले समुदायका व्यक्तिहरुलाई प्रयोग गर्ने गर्दछ।
- मृगौला बेचबिखनका दलालले पीडितलाई रु. ५० हजार देखि १० लाख सम्म दिने बाचा गरेता पनि उनीहरुले अधिकांश ५०,०००–६०,००० रुपैयाँ मात्र पाउने गरेका छन्।
- मृगौला बेचबिखन जाति वा समुदाय भन्दा गरीबीबाट बढी प्रभावित भएको देखिन्छ। धेरैजसो मृगौला बेचबिखनका पीडितहरुको शैक्षिक तथा आम्दानीको स्तर न्यून रहेको छ।
- घरायसी खर्च चलाउन, बैकल्पिक आर्थिक श्रोतको अभावमा पारिवारिक ऋण तिर्न, घर बनाउन तथा अन्य आर्थिक कारोबार गर्न दलालको झुक्यानमा परी मृगौला बेच्न बाध्य पीडितहरु दैनिक रुपमा खेतवारीमा काम गर्न तथा भारी गह्रो काम गर्न नसक्ने हुनाले उनीहरुको आर्थिक स्तर झन नाजुग हुँदै जान्छ।
- मृगौला बेचबिखनको क्रममा प्रयोग भएका प्राय सम्पूर्ण कागजात (नागरिकता, नाता प्रमाणित, ट्राभल डकुमेन्ट आदि) नक्कली हुने गर्छन।
- मृगौला बेचबिखन धेरैजसो भारतका प्रमुख शहरहरु मध्ये चेन्नाई, चन्दीगढ र नयाँँ दिल्ली जस्ता ठाउँहरुमा हुने गर्छन। यसरी भारततिर लग्ने क्रममा नेपालको कागज भित्ता– पानीटंकी विरगंज – रक्सौल, भैरहवा– सुनौली, काठमाण्डौको विमानस्थल र नेपालका अन्य नाकाहरुबाट पनि लग्ने गरेका छन्।
- नेपालमा मृगौला बेचबिखनका पीडितहरुको संख्याको सम्बन्धमा स्पष्ट तथ्याङ्क नभएता पनि पीडितहरु अत्याधिक रहेको– काभ्रेपलाञ्चोक जिल्लामा मात्रै यो संख्या ३०० भन्दा माथि रहेको छ।
- मृगौला बेचबिखन शुरुवाती अवस्थामा नेपालको काभ्रेपलाञ्चोक जिल्लामा अत्यधिक भएता पनि यो हाल सिन्धुपाल्चोक रसुवा मकवानपुर काठमाण्डौ, गोरखा र नेपालका अन्य धेरै जिल्लाहरुमा फैलिएको छ।
- मृगौला बेचबिखन विरुद्ध केही निश्चित जिल्लाहरुमा गरिएका विभिन्न क्रियाकलाप तथा सचेतनामूलक कार्यक्रमको फलस्वरुप यसमा संलग्न दलाल तथा अपराधीहरु नेपालका अन्य जिल्लाहरुमा सक्रिय हुने गरेको पाइएको छ।
- मृगौला बेचबिखनमा युवा सहित सम्पूर्ण उमेर र समुहका मानिसहरु रहेका पाइन्छ।
- स्वास्थ्य , प्रशासनिक तथा न्याय क्षेत्रमा कार्यरत व्यक्तिहरुमा मानव अङ्ग बेचबिखन सम्बन्धि कानूनी व्यवस्थाका बारेमा जानकारी कम भएको पाइएको छ।
- दलालहरुले मृगौला बेचबिखन गर्दा कुनै पनि नकारात्मक असर नपर्ने, एउटै मृगौला मात्र शरीरलाई प्रयाप्त हुने अथवा यो कुनै महत्व बिनाको सानो अङ्ग हो झिकिएको मृगौला फेरी पलाउछ भने जस्ता भ्रामक सुचना दिने गर्छन।
- मृगौला बेचबिखन पीडितहरुमा शारीरिक कमजोरी (काम गर्न र हिड्न), टाउँको दुख्ने, रुघाखोकी लागिरहने, खान मन नलाग्ने, निद्रा नलाग्ने जस्ता विभिन्न स्वास्थ्य समस्या देखिएको पाइन्छ।
- मृगौला बेचबिखनका पीडितहरु दैनिक रुपमा घर तथा खेतवारीमा काम गर्न नसक्ने तथा भारी ÷गह्रौ हाम गर्न असमर्थ हुने हुनाले उनीहरुको आर्थिक स्तरमा निरन्तर गिरावट हुँदै गएको पाईन्छ।
- मृगौला बेचबिखनका पीडितहरुले समाजमा विभेदको शिकार बन्नु परेको छ। उनीहरु सधै भेदभाव तथा उपदासका पात्र हुनु परेको छ। सार्वजनिक स्थलहरुमा उनीहरु नै गफको विषय बन्दछन्।उनीहरुको बालबालिकाहरु समेत विद्यालयमा भेदभावको शिकार बन्दछन्। समाजले पीडित तथा पीडितका परिवारलाई ‘‘ मृगौला बेचुवा” ‘‘मृगौला बेचुवाको सन्तान” भन्ने र त्यस्तै व्यवहार गर्ने गर्दछन्।
निष्कर्ष:
माथिका वास्तविक घट्ना , कानूनी व्यवस्था र मृगौला बेचबिखन हाम्रो सन्दर्भमा मानव बेचबिखनको एक नयाँँ स्वरुपको रुपमा यत्रतत्र फैलिरहेको छ भन्ने कुरा अब प्रष्ट भएको छ। नेपालको कानूनले, कानूनले व्यवस्था गरे देखि बाहेक मानव अङ्ग झिक्ने कार्यलाई मानव बेचबिखन मानेता पनि अङ्ग बेचबिखनका कमै जाहेरी पर्ने गरेको तथा कानून कार्यान्वयन गर्ने निकायको कम चासो र हस्तक्षेप गरेको पाइन्छ। मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ आएका यतिका वर्ष हुँदा सम्म हालसम्म काठमाण्डौ र काभ्रेपलाञ्चोक जिल्लामा ७ वटा बाहेक थप मुद्दा दर्ता हुन सकेका छैनन् यसले प्रहरी प्रशासनको थप सक्रियताको खाँचो देखाउछ।
मानव शरीर अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ले समेत नजिगको नातेदार बाहेकको व्यक्तिलाई मृगौला दान दिन र अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले मानव अङ्ग खरिद वा बिक्री गर्न निषेध गरेता पनि यो ऐन आकर्षित भएर हालसम्म मुद्दाहरु दर्ता भएको र अपराधिलाई कारबाही भएको पाईदैन , त्यसैले गरैकानूनी रुपमा हुने अङ्ग बेचबिखन विरुद्ध कानूनको प्रयाप्त हुँदाहुँदै पनि यसको कार्यान्वयनको ठूलो अभाव देखिन्छ कानून कार्यान्वयन गर्ने निकायमा यो विषको थोरै चासो र अवधारणाग असपष्टताले यो विषय झन जटिल बन्नुका साथै यो केहि थोरै जिल्लाहरुबाट क्रमश नेपालका धेरै जिल्लाहरुमा फैलदो छ।
व्यक्तिगत आर्थिक संकट व्यवस्थापन गर्नका लागि मृगौला बेच्ने कार्य कदापी आवश्यकता बन्नु हुँदैन। जोखिमग्रस्त समुदायहरुलाई अन्य अवसरहरुको खाँचो छ जस्तै न्यून दरमा ऋण, सिप सम्बन्धी तालिम्, उन्नत कृषि, बाख्रा गाई पालन तथा आर्थिक विकास कार्यक्रमहरु गा.वि.स./न.पा.तथा अन्य संस्थाहरुले अभियानकै रुपमा संचालन गर्नु पर्ने देखिन्छ। यसरी कार्यक्रमहरु संचालन गर्दादलित महिला जनजाती तथा अन्य विशेष गरी गरिब समुदायलाई आर्थिक विकासको प्राथमिक लक्ष्यमा पारिनु पर्दछ।
साथसाथै मृगौला बेचबिखन विरुद्धमा जनचेतना जगाउने तथा दुरुत्साहन गर्ने खालका कार्यक्रम संचालन गर्नुका साथै चिकित्सक, प्रशासनिक कर्मचारी र आमजनसमुदायलाई मृगौला बेचबिखनको कानूनी पक्षको बारेमा शिक्षित गरिनु पर्दछ, यसका लागि आमसंचारका अभियानहरु पििन आवश्यक छ।