अब कथा बुनाइ सुरु
यस्तो एउटा खचाखच गाउँ, यही हो एक मात्र गाउँः सालाङ (खसकुरामा सिङ्ला) जो अन्त कहीँ छैनजस्तो लाग्थ्यो। साँच्चै कहीँ छैन। जहाँ छ, त्यहीँ नै त छ यो। जहाँ राज्यको उपस्थिति खासै महसुस हुँदैन।
दैनिक जनजीवन अधिकतम घुम्ती गोठ परम्पपरामै बितिजान्छ। अनेक विशिष्ट संस्कृति, संस्कार, इतिहास, सामाजिक परम्परा, लोकनृत्य, लोकमान्यता, पहिचान यहाँको प्रायः निरन्तर कायम छ। बहत्तरको महाभूकम्पले चकनाचुर, माथि हेर्दा ठाडो भीर, तल पनि भीर, दायाँ हेर्दा पनि भीर नै, बायाँ जाँदा पनि उही ठाडै भीर। क्या खालको गाउँ कि दुई पाइला गलत टेकियो त गइहाल्यो, छैन सास!
जन्म यहीँ भएको मेरो, तर जन्मकथा सुनाउने आतुरमा म छैन। चारतिर हेर्दा पाखाभीरमा केही गाउँ देखिने, यिनै दुईचार गाउँ नै संसार हो लाग्थ्यो, तर खासमा त हैन। म यहाँनेर कथाले संसार एकछिन कैद गरेर गाउँ पुग्छु, सहरबाट केही सम्झना, सम्झना पनि कथै हुँदै जाने त हो मात्र लेख्छु।
एकमा पाँचको किताब
म त्यसबेला जम्मा आठ वर्षे फुच्चे, घर सेरोफेरोमै हुन्छु। कता जानु, पुग्नु छ र? स्कुल जानु भन्दा त चन्द्रमामा पैले पुग्छु जस्तो लाग्ने बेला हो त्यो।
एकदिन आँगनमा बा फाःरी (गोठ छाउने भकारी) बुनिरहनु भएको थियो। छेउकुनामा एउटा फाःरी हिजै सकेर बटारी थन्क्याइराखेको हुन्छ। त्यसै फाःरीको सुरुङमा बख्खु ओढेर लुकेको मलाई कसैले देख्दैन। लुक्नुको कारण चाहिँ स्कुल भर्ती।
छिनमै जब हजुरबा मनाङदेखि आइपुग्नु हुन्छ, एक पुरिया बिस्कुट, चक्लेटको खस्राकखुस्रुकमा मेरा कान सोझै केन्द्रित हुन्छन्। भकारीभित्रबाट निस्किन्छु म। बा त छक्कै! हजुरबा सामान्य हुन खोज्दै अर्को एक जिनिस मतिर बढाउनुहुन्छ। त्यो जिनिस भनेको, अंग्रेजी वर्णमाला र नेपाली वर्णमाला मिश्रित ५० पेज जतिको किताब। त्यहीँ सान्मामाको छोरा, जो मभन्दा एक साल कान्छो चैँ उहीबेला किताब सजिलै च्यापेर आइपुग्छ। म भने एक्कासि तर्सिन्छु, तैपनि थोरथोर काँप्दै हजुरबाको हातबाट त्यो टिप्छु र घरभित्र कुद्छु।
बिस्कुट तुरिन्छ, चक्केट पनि जिब्रोमै चिप्लीचिप्ली हराइजान्छ। तर किताब जिउँदै बस्छ, चल्छ, हराउँदैन। मेरो पालो दिनका दिन जसो एकेक पाना झिकेर किताबलाई गिद्धको घाइते पखेटै तुल्याइदिन्छु। अन्तमा मुसाको प्वालमा ठेगान लाइदिन्छु र प्वालभित्रको मुसालाई गाली ख्वाइदिन्छु। बाहिरको मुसा मलाई चैँ बल्ल हाइसन्चो।
अर्को साल पनि पालो स्कुल भर्तीकै। दाइको पाँच सकेर लाम्रा (लाप्राक) मा छ कक्षामा भर्ती हुन्छ। आमा सधैँ बारीमेलामा, बा चैँ गोठमा। मलाई चैँ कुम्लोमा बैनी बोक्नु नै निको लाग्ने। भाडाकुटी खेल्न पनि उत्तिकै मन लाग्ने। तर एक दिन दाइले छुट्टीमा घर आएको साँझ खानापछि मलाई सँगै सुताउनुहुन्छ। एउटा यस्तो कथा सुनाउनुहुन्छ, जादूवाला भाँडोको, खीरको, सानी केटी र आमाको गज्जपको कथा, गावैँ खीरले पुरिएको कथा, जुन कथाले मेरो गीलो मस्तिष्कभित्र फुत्केर नजाने कथाको मादक खील गाडिदिन्छ। बल्ल किताबभित्र पनि आमाको जस्तो न्यानो काख महसुस गर्न पुग्छु, तर दाइकै किताबभित्र मात्र।
केही दिनमा स्कुलमा जाने इच्छा आफैंले आमाको कानमा फुकिदिन्छु।
आमाले बुनेको रातो पहेँलो धर्सो भएको ऊनी–झोला बिहानै भिर्छु। झोलाभित्र एउटा कापी र एउटा पेन्सिल पनि खुर्पाले तिखारेर राखिदिनुहुन्छ आमाले। किताबको नाममा दाइको एउटा किताब खुसुक्क हालिसक्छु।
कैले पनि स्कुल जाने छिमेकी साथीहरुको बोलावट मनै नपरेको, यस दिन भने मलाई छिट्टै डाक्न आए हुन्थ्यो लाग्छ। कोही बोलाउँदै आउँदैन, नआएपछि आमाले नै स्कुलसम्म पु¥याइदिनुहुन्छ।
पैलो दिनको स्कुल कक्षा एकछिन त मलाई भयानक जंगल जस्तो महसुस हुन्छ। सबै चिनेकै साथीहरु हुन्, तर स्कुलभित्र देख्दा अर्कै जस्तो अपरिचित लाग्ने रैछ।
बाह्र बजेतिर बल्ल–बल्ल एक जना दुर्लभ नै भन्न मिल्ने लौरे (लट्ठीसहित) शिक्षक, मानौँ उनी गोठाले नै हुन्, बस्तुभाउ साम्ने छरिएका, आइपुग्छन् र झटपट किताब खोल्न लाउँदै गर्दा मेरो किताब ताकेर,
सायद मलाई यही नै भनेको हुनुपर्छः
-यो हैन, यो त पाँच कक्षेको, एकको छैन?
कुनै एक जना विद्यार्थीले शिक्षकको भाषा एक थोपो बुझिने भए पो! घरमा त दाइले मातृभाषामा कथा फुकाउने सुनाउने, स्कुलमा यो सुविधा मलाई कहाँ मिल्नु?
दश-बाह्र जना पनि नभएको, तीमध्ये जो–जसले कक्षा दोहो¥याएको, तेह¥याएको हो, उनीहरुसँग किताब उपलब्ध, बाहेक त सब रित्तै! अपवादमा मसँग किताब हुन्छ, दाइको।
मेरो वरिपरि रात टम्म भरिँदै जान्छ, मैले कसैलाई पनि प्रष्टसँग देख्ने समर्थ राखेको हुँदैन। म चुपचाप ट्वाल्लै, केटाकेटी साथीहरु पनि वाल्लै!
खाजा समयको घण्टी बज्छ। साथीहरु उसिनेको आलु, प्वा (भुटेको मकै), सातु, सिलामको अचार लगायत केके यस्तैयस्तै खाँदै खेल्दै स्कुल फिर्ता हुन्छन्। म पनि उही बेन्चको छेउमा बस्छु। केही बेरमा साथीहरु मकैका गेडीले प्रहार गर्न थाल्छन्। म खासखुस केही गर्दिनँ। सर भित्रिने बित्तिकै कक्षाकोठा अचानक बेट्री झिकिएको रेडियो बन्छ।
साँझ कापी सादा नै बिना कुनै अक्षरको दाग घर पुग्छ। किताब सकुशल पुग्छ, लाई मैले ढिके नुनवाला सानो मदुसमाथि जस्तातस्तै राखिदिन्छु। स्कुलमा पेन्सिलको आधा इन्च लेख्ने तीखो भाग भाँचिएकोले त्यति मात्र गुमाएर म पनि घर पुग्छु।
मकैको चामल
दुई दिन पैले पनि मैले यही जवाफ दिएको, फेरि आज पनि उही नै जवाफ दिँदा छिमेकी साथी खुब छक्क पर्छ।
-आज केको भात नि ?
-चामलको।
-आज पनि ?
-हो त!
छक्क नपर्ने त कुरै छैन। कारण यो हो कि, म छ–सात वर्षको उमेर हुँदा बेला, चामल भात अति दुर्लभ। यस्तो सेतो रङको भात खान त कि ठुला चाडपर्व, कि त मेलापर्म बेलाको एक छाक कुर्नै पर्ने! बाहेक त सधैँ ढिँडो, अथवा आक्कलझुक्कल आलुम, खोले, आलु नै आक्रमण गरिरहनुपर्ने! नयाँ लुगाको कथा पनि दुरुस्तै उही नै।
तर त्यस दिन यी कुनै विशेष दिन नभएर पनि आमाले सेतै भात बिहानै पकाइराखेको हुन्छ। दुइचार दिनको ग्यापमा यसैलाई निरन्तरता दिइरहनु हुन्छ। साथीको सोधाइ उही र उस्तै। मलाई पनि जवाफ दिन खुब स्वाद पर्ने, स्वादिलो जवाफ दिँदै जान्छु।
एक दिन त साथीलाई पनि खुवाइदिन्छु। ऊ पनि मख्खै।
सेतो भात अलि रहस्य नै जस्तो लाग्न सुरु हुन्छ मलाई।
खासमा चामलले पाहुना बन्न पाउने भनेको बा ह्रसी (कमाउन, केही किन्न जाने ठाउँ) बाट फर्किँदा मात्र हो। बा ट्रेकिङ, मनाङ, कतैतिर गएकै छैन। चामल राख्ने मदुस पनि रित्तो नै छ। तर घरमा प्रायः दिनका दिन चामल पाक्छ, अचम्म!
एक बिहान जुरुक्क उठ्छु र जाँतो घुमाइरहनु भएको आमालाई सोध्छुः
-आमा, आज पनि उस्यीकाङ (चामलभात) ?
-हो। पाक्यो होला हेर त!
-साँच्चै हो ?
-हो।
-तिहुन चैँ आमा ?
-माच्छेम पे किते नुङ्ग्रा (मस्याङसित गाईको हड्डी पकाएको)।
आमा अलिअलि हाँसेको देखेर मभित्र केही कुरा खेल्छ।
भोलिपल्ट आमासँगै जागेर म बहाना गरी सुत्छु। त्यतिखेर बल्ल थाहा हुन्छ, कि आमाले मदुसमाथि राखिएको भट्टु सीधै चुलोमा बसाल्नुहुन्छ। आमा मुङ्का (दाउरेघर) मा दाउरा लिन जाने बित्तिकै मैले भट्टुभित्र हेरेको, त्यो त सेतो मकैको च्याँख्ला पो रैछ! यति राम्ररी छानिएको च्याँख्ला रैछ, जसको आकार अधिकतम चामलसित मिलेको। खासमा त्यही साँझ काँचो सेतो मकैको च्याँख्ला भिजाएर राख्ने र बिहानै पकाउनुहुँदो रैछ आमाले।
यो मकैको पनि चामल बन्दो रैछ, च्याँख्ले चामल।
आमाले बनाएको चामलको रहस्य थाहा भएपछि त स्वाद पनि ओरालो लाग्दै जान्छ।
साथीलाई दिने सोधाइको जवाफमा पनि स्वाद र भोलुम दुवै माइनस हुँदै जान्छ।
त्यसपछि त झन् म चाडपर्वकै मात्र तीखो याद र पर्खाइमा केन्द्रित भैदिन्छु।
जाली नोट
स्कुल जानुभन्दा पैले गोठ गएकै हुन्छ। कलमभन्दा पैले बस्तुभाउको पुच्छर समातेर रमाइसकेको हुन्छ। यस्तो यद्यपि कायम छ गाउँमा। महिनामा त्यस्तै दुइचार दिन उपस्थित हुने, अझ यसो भन्दा बढी सुहाउँछ कि परीक्षा चैँ छुटाउनै हुँदैन, पढाइको अर्थ यतिमै केन्द्रित।
म सातआठ वर्षको हुँदो हुँ। गोठ गाउँको पैतालामा बग्ने रेस्ये खोला छेउमा हुन्छ। दिनभरि गोठालो गरेर साँझ तीनघन्टे ठाडो उकालो हुँदै फर्किन्छु। भोलिपल्ट परीक्षा हो भन्ने खबर आइसकेको हुन्छ। केही दिन अघि मात्र रेस्ये खोलाको जात्रा सकिएको हुन्छ।
जब म स्कुलको आँगननेर आइपुग्छु, केटाहरु जम्मा भएको पाउँछु। तीमध्ये एक जना मेरो सोल्टी, पुसैँको छोरा हुन्छ, जो अलि चलाख र अरुलाई छिनमै कब्जामा पार्न सीपालु नै हुन्छ।
सोल्टी मेरो छेउ आउँछ। म फ्रोमाङ (अल्लोको जालीदार विशेष झोला) भरि दाउरा र सानो ठेकीमा बाख्राको दुध बोकेर, बख्खु पनि ओढेर आइरहेको हुन्छु। ऊ मलाई भुइँमै बिसाउन लगाउँछ। म किन भन्ने प्रश्न गर्छु, ऊ एउटा बीसको नोट मतिर बढाएर स्कुल मास्तिरको दोकान जान आदेश दिन्छ। साँझ परेकोले दोकानमा मधुरो टुकीले त्यति राम्ररी आँखालाई साथ दिइरहेको हुँदैन।
पाँच रुपे खाले तीन्टा बिस्कुट लिएर आएको मलाई देखेर सबै छक्क!
थप पाँच रुपे पनि फिर्ता।
तर साथीहरु सबै हाँस्न पो थाल्छन्। म मात्र मूर्ति भएर ठडिन्छु।
खासमा भएको चैँ जुन अहिले दोकानको थैलीभित्र पसिसकेको बीसको नोट जाली रहेछ। केही दिन पैलेको रेस्ये खोला जात्रामा लिएको बीसको नोट। केटाहरुसँग अरु पनि दुइचार नोट रैछन्।
आठनौ जना केटाहरुले पैले नै योजना बनाई बसेका रैछन्। त्यस्तो मौका छोप्दै बसेका रैछन्। आखिरमा फेला पर्नेमा म। मैले काम पूरा गरेको, सबै मिलेर खाइसकिन्छ, बल्ल बीसको नोट पछाडिको कथाको गाँठो फुस्काइन्छ।
म त अक्क न बक्क जिल्लै!
मलाई फेरि पनि लिन पठाउन तयार हुन्छन् उनीहरु। म झट्टै फ्रोमाङ बोकेर घरको बाटो छोट्याउँछु।
र अन्तमा, तराईमा पनि एक अर्कै गाउँ
छप्पन्न सालमा ठुलै अतिवृष्टि हुन्छ पहाडी गाउँमा। जताततै पहिरोको त्रास। यही साल हाम्रो परिवार तराई नवलपरासीसम्म बास सारेर आइपुग्छ।
सबसे पैले बा र म तराईतिर हिँड्दै आउँछौँ। लाप्राक त पैले नै एकखेप आइसकेकोले नौलो लाग्दैन, त्यहाँदेखि तल बार्पाक आउँछ। बार्पाक गाउँ आउँछ, यहाँ बिजुली छ भन्ने पैले सुनेको, त्यही भएर बालाई सोधेको तर तार मात्र पो देखापर्छ। तार पनि कसरी पो उज्यालो हुने होला, खुलदुली खेल्छ मनभित्र।
मान्द्रे मुन्तिरको राङलुङ जंगलमा दुइटा चिहान बाले देखाइदिनुहुन्छ। चिहान ठुल्बा र पुसैँको। उहाँहरु चण्डीपुर्नेमा गाउँ आएर तनहुँतिर फर्किँदा रोप–वे दुर्घटनामा परेका हुन्। त्यसपछि रोप–वे ठप्प।
मैले जुत्ता पहिरेको, जुन लाप्राकमा गोराले बाँड्न आउँदाखेरि पाएको। खुट्टा सुन्निएर मुङ्ग्रो जस्तो भैदिन्छ। बाले भकारी र मैले चैँ डोको बोकेका हुन्छौँ। बाटो त रबर तन्किएजस्तो तन्किएको लाग्छ।
त्यस यात्रा क्रममा बा र म झ्याल्ला आएर बास बसेको रात रोचक छ।
खाना नलिनु अघिः
-यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
-नपुगेको चैँ कसरी भन्ने?
-‘चायो’ भन् न!
मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।
खाना लिइसकेपछिः
-हाम्रो तल (तराईमा) को घर चैँ कस्तो छ बा ?
-उः त्यो (छेउको भैँसी बाँधिएको खरको टहरोतिर इसारेर) जस्तै–जस्तै छ।
त्यसपछि मेरो आवाज गलामै जम्छ। नरमाइलो उराठ लाग्छ। माथिको छोडेको बलियो घरको यादले घोच्न थाल्छ, घरभन्दा पनि बढी आमाको यादले चिथोर्न थाल्छ। रुन नसकेको आँसुले खासै बाटो पाउन सकेको हुँदैन, मनभित्रै जमिदिन्छ।
बाउछोरा त्यसै घरको पिँढीमा चाँडै सुत्छौँ।
भाले बासिसक्यो होला भनेर बाले अचानक उठाइहाल्नुहुन्छ। हिँड्दै जाँदा एउटा खोलाको पुल तरेर ठाडो उकालो पुगेपछि त उल्टै अँधेरोले पो छोप्दै आउ्रँछ। जंगलको बाटोमा माओवादीसँग जम्काभेट हुने कि भन्ने आशङ्काले आतङ्कित हुन्छौँ। धन्न जम्काभेट हुँदैन।
गोरखाबजार झलमल्ल देखेपछि प्वाः (भुटेको मकै) मुखजाँतोले पिस्दै बाउछोरा सरासर हिँडिरहन्छौँ।
बाउछोरा ठीक आठबजेतिर गोरखाबजार पुग्छौँ।
केही छिनमै धुलौ उडाउँदै एउटा चारपाङ्ग्रे घर हिँड्दै आएको देखेर म त छक्कै!
यही घरलाई बस भन्दोरैछ, यसैभित्र बस्छौँ र दायाँबायाँ देखिने रुख, घर र पहाड सब छिटछिटो दौडिरहे जस्तो मलाई लाग्छ, बडो अनौठो!
यसरी बाउछोरा आरुङखोला बजारमा पाइला टेक्न आइपुग्छौँ। यहाँबाट दाहिने मोडेर एउटा जंगलको धुले बाटो छिचोल्दै जान्छौँ। त्यही बाटो हुँदै दुइटा नाङ्लो जोडिएजस्तो अनौठो जिनिस घण्टी दिँदै आउँछ। दायाँबायाँ लडिजाला जस्तो, तर आरामले कुदिरहने। यस्तो चीज पनि यही संसारमै, अरु केके पो होलान्, सोच्दासोच्दै जंगलको बाटो सकिन्छ।
जंगलको बाटो टुट्नासाथ नजिकै चौतारो देखिन्छ। घरहरु देखापर्दै जान्छ। पूरा गाउँ नै फेला पार्न सकिन्छ। बजारले निल्न लागेको लाहुरेहरुको सुकुम्बासी थलोः भुपू सैनिक गाउँ।
यही गाउँको दुःखमा मेरो पनि केही दुःख थपिँदै जान्छ।
यही गाउँको सुखमा मेरो पनि केही सुख गाँसिँदै जान्छ।
चुम्बकले फलामलाई तानेझैं तानिरह्रन्छ पहाडको सालाङ गाउँले जसरी नै यो गाउँले पनि मलाई।
र अन्तमा यही गाउँको पनि कथाको स्वेटर अब बुन्न सुरु हुन्छ!