आमा र अनुहारका धर्सा

  • Get News Alerts

united
tata

आमाको बारेमा संझिन सजिलो तर लेख्न गाह्रो रहेछ।

यो लेख उहाँलाई सुनाउनयोग्य बनाउनु मेरा लागि मुख्य चुनौति हो। मलाई सुनाउनयोग्य धेरै कुरा उहाँले लेख्नुभयो। ती सबैलाई पढेर म कति लेख्न सक्ने भएँ त? अक्षर मात्र चिन्ने भएँ कि मलाई अक्षर चिनाउन उहाँले गरेका संघर्षहरु पनि चिन्ने भएँ? यत्रो लामो अध्ययनपछि मैले आमालाई कति पढेँ? यस्ता प्रश्नहरुलाई साथै बोकेर लेख्न बसेको छु।

परिक्षामा उत्तर लेख्न बसेजस्तै भएको छ यसबेला।

***

आमा पढ्न गएको थोरै मात्र सम्झिन्छु। म धेरै सानो थिएँ त्यसबेला। उहाँ नजिकै आएको याद छ। अँगालो मारेको याद छ। हातमा थोरै पैसा राखिदिएर फुकिदिएको याद छ। हिँड्नेबेला केटाकेटीको हातमा फुकेर पैसा राखिदियो भने सातो जाँदैन भन्ने विश्वास थियो गाँउतिर। आमाले नपत्याउने कुरै भएन।

अहिले हात फुकिएको कुरा सोचि बस्छु। सातो त दुवैतिर जाँदो होला छुट्ने बेला। सहन सक्नेले फुकेर हिँड्नुपर्ने रहेछ क्यारे!

त्यसबेला आमाले दिएको पैसाको मैले के गरेँ भन्ने याद छैन। लिएको क्षण धमिलो याद छ तर त्यसको प्रयोग के भयो भन्ने याद छैन। याद हुने र नहुने कुराहरु पनि फरकफरक हुँदारहेछन्।

प्रश्न बेलाबेला मनभरि घुम्छ, कतै म याद नहुने कुराहरुको लागि याद हुने कुराहरु गुमाईरहेको त छैन? एउटा विश्वास चाँहि भएको छ, सधैं सँगै हुन सक्नेहरुले मात्र हात फुकिदिँदा रहेछन्। गएर फर्किनेहरुले हात फुकिदिँदा रहेछन्। म गलत पनि हुन सक्छु।

आमाले फुकिदिएका हातले मलाई कहाँ-कहाँ जोगाए थाहा छैन। तर मेरो हार र जित दुवै हुँदा उहाँ सँग-सँगै हुनुहुन्छ। सातो नजानु भनेको त्यही त होला।

***

उहाँ पढ्न जाने भएपछि दाइ र बहिनीलाई मावल पठाउने सल्लाह भएछ। म बुवासँग घरमै बस्ने भएँ। त्यसबेला बुवा पनि आमालाई पुर्याउन जानुपर्ने भएकाले म तीर्थ मामासँग बस्नुपर्यो। मैले झगडा नगरी सजिलोसँग मानेछु। आमा पछि सुनाउनुहुन्थ्यो, सानो मान्छे भएर पनि नरोइकन किताब झिकेर मामासँग हिँडेको सम्झिएर बाटो धेरैपटक गह्रौ भएको थियो रे आमालाई। धेरैपटक घर फर्किउँ कि जस्तो लागेको थियो रे।

मैले आमालाई थाहा नपाई रुवाएछु। थाहा नपाई रुवाउनु र थाहा पाएर रुवाउनुमा के फरक छ त्यो भन्न सक्ने भएको छैन म।

म सानै हुँदाको कुरा। माथ्लो बारीमा मकै जोत्ने दिन थियो। माइलो ठुलोबुवाले गोरु ल्याउनुभएको थियो। दाइ र म मकैको बोट उठाउने र घाँस पनि काट्ने भन्ने बाहाना पारेर उतै गएका थियौं। खासमा दिनभर खेल्ने योजना थियो। चिलाउनेका सा-साना बोटहरुमा चढ्ने र त्यसको टुप्पोलाई निहुराएर भुईंमा ओर्लिने खेल खेलिरहेका थियौं। जसले धेरै निहुराउन सक्छ त्यसले जित्ने नियम थियो। तर मैले छानेको एउटा बोटको टुप्पो सारै कलिलो परेछ। निहुराउनको लागि झुण्डिएको मात्र थिएँ त्यो भाँच्चियो। म हाँगोसहित तीन मिटर तल भुईंमा पछारिएँ। स्कुलमा अरुले चलाउँदा छुन नपाई आउने आँशु त्यसबेला आएन।

दाइले आएर उठाउनुभयो। एकदिन अररो परेर बसेपछि म ठिक भएँ। फर्किँदा घाँसको सानो मुठो पनि बोकेर फर्किएँ। म घर पुग्दा माइलो ठूलोबुवा पुगिसक्नुभएको थियो। उहाँले आमालाई सबै कुरा सुनाइदिनुभएछ। आमाले खै के भयो आइज हेरौं भनेर बोलाउनुभयो। म गएँ। उहाँले काखमा लिएर सुम्सुम्याउन थालेपछि भने दिउँसो नआएका आँशु एकैपटक खनिए। म यस्तरी रोएँ, मानौं केहिछिन पहिले लडेको हुँ।

आमाले मलाई पहिला आफू रोएको कुरा सुनाउनु र म आमाले के भयो भनेर सोधेपछि रुनुमा कुनै फरक देख्दिन। यसरी नै कसैको आडमा रुन पाइयो वा रोएको कुरा कसैलाई सुनाउन पाइयो भने आँशु घातक नहुँदो रहेछ। कमजोर मान्छेलाई बलियो र बलियो मान्छेलाई कमजोर पारिदिने चिज आफैंमा नराम्रो हुँदै होइन। त्यस्तो आँशुले आँखालाई हलुका बनाउँछ।

जीवनमा यति चाहान्छु, आपसमा सुनाउन नसक्ने गरी मैले र आमाले कहिल्यै रुनु नपरोस्।

***

मोरङको मंगलबारेमा उहाँ अहेव पढ्न जानुभएको थियो। पढ्न जानुका धेरै कारणहरु छन्।

हामी तीनैजना दिदी-भाइ जन्मिसकेका थियौं। परिवारमा दु:ख थियो। बिहान-बेलुकाको छाक छार्न नै मुस्किल हुने समय थियो त्यो।

त्यसैबेला पसल सुरु गर्ने सल्लाह भएछ। गाउँकै पहिलो पसल थियो त्यो तर सुरुवातमा पसल चल्न पनि सजिलो थिएन। चाहिएको सामान नपाएर फर्किनुपर्छ भन्ने सोचेर मानिसहरु हप्ता दिनमा लाग्ने हटियामा नै किन्न जान्थे। हरेक हप्ता बुवा पसल बोकेर नजिकैका बजार लाग्ने ठाँउसम्म पुग्नुहुन्थ्यो। सबैभन्दा टाढा चम्पे पुग्नलाई तीन घण्टा उकालो हिँड्नुपर्थ्यो।

संघर्ष बलियो हुँदै गएपछि किराना पसलले थोरै कमाई दिन थाल्यो। सपनालाई आँट आयो। एसएलसी पछि आमाको पढाई रोकिएको थियो। एसएलसीको परीक्षा दिनुभन्दा पहिला नै बिहे भएकाले उहाँलाई गणित विषय लाग्यो। दश कक्षासम्म पुग्दाको मेधावी विद्यार्थीलाई फेल हुनु ठूलो बज्रपात थियो। दाइ पेटमै हुँदा उहाँले कम्पार्ट दिएर पास गर्नुभयो। त्यसपछि पढाई अगाडि बढेन। लगभग ६ वर्षसम्म।

गाउँमा भएका तीनवटा स्कुलमा बेलाबेला अस्थायी शिक्षकको लागि दरबन्दी खुलिरहन्थे। उहाँ जाँच दिनुहुन्थ्यो। अन्तर्वार्तासम्म पुग्न कहिल्यै नरोकिए पनि र भन्दिने र सोर्स लगाइदिने मान्छे नहुँदा जागिर खान कहिल्यै पाउनुभएन। दाइजोर स्कुलमा केही समय पढाउन पाएको पनि खोसियो।

उहाँभित्रको प्रतीभा खुम्चिएरै बसिरह्यो।

५३ सालमा गाँउमा उप- स्वास्थ्य चौकी खुलेपछि तराईबाट सिताम्बर सर आएर हाम्रै घरमा कोठा लिएर बस्नुभयो। उहाँले नै आमालाई सिएमए पढ्न सुझाउनुभयो। मोरङको मंगलबारेमा कक्षा खुलेको कुरा पनि सुनाइदिनुभयो। त्यसको केही समयअघि गाउँमा एकजना महिला बच्चा जन्मिएपछि भएको अत्याधिक रक्तश्रावको कारण बित्नुभएछ। आमाले कुरा मिल्ने साथी गुमाउनुभएको थियो। गाउँमा राम्रो स्वास्थ्य व्यवस्था भएको भए उहाँ बाँच्नुहुन्थ्यो भन्ने आमालाई सधैं लागिरहन्थ्यो। त्यो घटनाले पनि उहाँलाई पढ्ने प्रेरणा दिएको थियो।

गाउँमा त्यसबेला राम्रो स्वास्थ्य सेवा थिएन। भएको उप-स्वास्थ्य चौकीमा पनि खासै धेरै औषधीहरु थिएनन्। खोपको राम्रो व्यवस्था थिएन। गर्भवतीहरुलाई सुरुवाती अवस्थामा पुर्याउनुपर्ने सेवा र गर्नुपर्ने जाँचहरुको बारेमा जानकारी थिएन। नजिकै भएको खाँदवारी जिल्ला अस्पताल पुर्याउन ६ घण्टा भन्दा धेरै बोकेर लैजानुपर्थ्यो।

तुम्लिङटार एयरपोर्टनजिकै भए पनि जहाजहरु नियमित थिएनन्।

यी कुराहरुले उहाँलाई साह्रै बिझ्यो।

त्यसैले उहाँलाई पढ्न जाने तयारी गरायो।

साना छोराछोरी भएको यथार्थ सामुन्ने आएर कठोर निर्णय लिनबाट उहाँलाई रोक्न नखोजेको पनि हैन। तर भित्रभित्रै थुनिएको इच्छाले उड्ने मौका छोडेन।

के हुन्छ कस्तो हुन्छ केही थाहा नभई सिताम्बर सरको सल्लाह सुनेर आमाले अहेव पढ्ने निर्णय गर्नुभयो। ईन्ट्रान्समा पनि पास हुनुभयो।

***

बुवाको कुरा थोरै गरिन भने अन्याय हुन्छ!

आमा दुई वर्षका लागि जाँदै हुनुहुन्थ्यो। पसल र घर बुवाको जिम्मामा आइपुग्यो। दाइ र बहिनी मावल गए पनि म बुवासँगै बस्थेँ। म, पसल, घर र भान्सा सबै बुवाको काँधमा आइपुगेको थियो। परम्परागत रुपमा भन्ने हो भने बुवा आमा हुनुभएको थियो। यो ठूलो कुरा हैन तर त्यसबेलाको समयमा गरिएको ठुलै त्याग थियो।

घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

सुनाउनुपर्ने कुराहरु शब्दसँग बेलाबेला हार्छन्।

उहाँ नजिकै आइपुगेको खबर सुनेपछि लिन जा भन्नुहुन्थ्यो हजुरआमाले। म जान सक्दिन थिएँ। उहाँ नजिकै आइपुग्दा पनि सुनाउन खोजेका कुराहरु भन्न सक्दिन थिएँ। आफैं हराउँथे ती।

मलाई धेरै समयपछि आमालाई देख्दा नौलो लाग्थ्यो।

आमा भन्नुहुन्छ, उहाँले बोलाउँदा पनि लजाएर म छेउ नै पर्दिनथेँ रे। त्यसले पनि उहाँलाई कुँड्याँउदो रहेछ।

अहिले म वर्षमा एक पटक दशैंमा मात्र घर पुग्दा पनि उहाँलाई त्यस्तै लाग्दो हो। मलाई सुनाउन राखेका धेरै कुराहरु

त्यसरीनै अड्किँदा हुन्। तर आमा लजाउनु हुन्न। कहिले आइपुग्छ भन्दै बाटो हेर्नुहुन्छ र भेट्नासाथ अँगाल्नुहुन्छ। वर्षसम्म गुम्सिएका धेरै कुराहरु सुनाउनुहुन्छ।

समय फेरिएको छ। आमा बेलाबेला म हुनुहुन्छ, म बेलाबेला आमा हुन्छु।

***

अहेवको पढाई सजिलो थिएन।

पढ्न छोडेको धेरै वर्ष भइसकेपछिको कुरा थियो। सँस्कृत मावि पढेको मान्छेलाई अंग्रेजी त्यसै अप्ठ्यारो। सामान्यतया: नेपालीमा नहुने मेडिकल 'टर्म' तथा दबाईका नामहरुले उहाँलाई दु:ख दिन्थे। आमाको सबैभन्दा ठुलो परीक्षा त कक्षामा रहेर 'लेक्चर' सुन्नुमै भयो। सरले बोलेका लगभग ७५ प्रतिशत कुराहरु बुझ्न गाह्रो। कहाँको कुन किताबबाट भनेको हो भन्ने पनि थाहा नहुने। त्यसपछि आँखाभरी नाँच्ने हाम्रो अनुहारहरु।

कोठामा बसेको ठाँउ नजिकै कसैले नारायण गोपालको ‘यो सम्झिने मन छ म बिर्सुँ कसोरी’ भन्ने गीत बजाउँथ्यो। अनि त उहाँले पढ्ने किताबका अक्षरमा हामी नै भेटिन्थ्यौं। उडेर घर पुगिहाल्न मन लाग्थ्यो तर गएर उपाय पनि थिएन।

हामीले उहाँलाई डिस्टर्ब गरेको थाहा नै भएन।

एकजना सरले उहाँलाई बलियो बनाइदिनुभएछ। उहाँले ‘तारा कसको लागि यहाँ पढ्न आएको भन्ने सम्झ। लाईब्रेरिमा किताब छन् घरमा लगेर पढ। यसरी अल्मलिएर पास गरिँदैन।’ भन्दिएपछि भने हिम्मत कसिलो भएछ। त्यसपछिको लडाईंमा उहाँ हार्नुभएन। अहेव पनि जित्नुभयो, लोकसेवा पनि।

कतिसम्म पढ्नुभएछ भने पछि दाइले फार्मेसी पढ्नुभयो। बेला-बेला एनाटोमीको कुनै कुरा नबुझ्दा आमालाई घरमा फोन गरेर सोध्नुहुन्थ्यो। किताब नहेरेको सात-आठ वर्षपछि पनि आमालाई जवाफ मुखमै आउँथ्यो। दिन-दिनै खोल्ने जिमेल र फेसबुकको पासवर्ड भुल्ने र परीक्षाको लागि मात्र पढ्ने जमानाका हामीलाई जिस्क्याए जस्तो लाग्छ उहाँको दिमागले।

***

म खाँदबारी पढ्न जान थालेपछि आमासँग सबैभन्दा नजिक भएजस्तो लाग्छ। मेरो बसाईलाई व्यवस्थित गर्न उहाँ सँगै जानुभएको थियो। उहाँलाई दुइटा कुरामा चिन्ता लाग्थ्यो। एउटा म धेरै खाँदिन थिएँ र अर्को म नियमित बिरामी हुन्थेँ। पकाएर खानेसम्मको भए पनि वर्षेनी बिरामी हुने क्रम रोकिएन। आमालाई त्यही कुराको साह्रै चिन्ता लाग्थ्यो। म बिरामी भएको खबर कसैले गरिदिनासाथ उहाँ आइपुगिहाल्नुहुन्थ्यो। मलाई उहाँ जाने बेला नगइदिए हुन्थ्यो जस्तो लाग्थ्यो।

अहिले उहाँ बिरामी भएको बेलामा चाहेर पनि फोन गर्न बाहेक केही गर्न सक्दिनँ।

म खाँदबारी बसेकै बेला आमाले ११ कक्षाबाट उच्च शिक्षा पढ्न थाल्ने सोच्नुभयो। लक्ष्मण दाइसँगै उहाँले पनि पढ्न थाल्नुभयो। लोकसेवा पास गरेर गाउँकै स्वास्थ्य चौकीमा छ वर्ष काम गरिसकेपछिको कुरा हो यो। घरमै बसीबसी लगातार पास पनि गर्नुभयो। ईच्छा भएपछि जुनसुकै समयमा पनि पढ्न सकिने रहेछ। आमाको यो सफलताले मलाई जहिल्यै प्रेरित गर्छ।

डिग्री पास भइसकेपछिको कुरा- थेसिस गर्ने काम बाँकी थियो। उहाँलाई थेसिस आफ्नै हातले टाइप गरेर लेख्न मन थियो। बीचमा आइपुग्यो कम्प्युटरको ज्ञान। उहाँलाई कम्प्युटर सिकाउन सजिलो भएन। सिकाउँदा म स्वयं पनि धेरैपटक रिसाएँ।

तर अहिले महसुस भएको छ, साना केटाकेटीले खेल्ने भिडियो गेम मैले पनि सिक्न खोजेको थिएँ तर धेरै प्रयत्न गरेर पनि सकिन। मलाई भिडियो गेम र उहाँलाई कम्प्युटर उस्तै त भयो नि। मैले भिडियो गेम चाहेर पनि सिक्न सकिन, उहाँले त्यही कम्प्युटरबाट टाइप गरेर थेसिस सक्नुभयो।

गएको हप्ता धरानमा भेट हुँदा उहाँसँग खाँदबारीको हिमालय किरण क्याम्पसबाट पहिलो ब्याचको रुपमा डिग्री उत्तिर्ण हुने विद्यार्थीहरुलाई दिइने सम्मान पनि सँगै थियो। आमा खुसी हुनुहुन्थ्यो।

***

आमा धेरै लोभ गर्नुहुन्थ्यो। अहिले पनि गर्नुहुन्छ!

किन गर्नुहुन्छ भनेर थाहा थिएन । केवल चित्त दुख्थ्यो, उहाँले लोभ गर्दा आफुले चाहेका धेरै कुराहरु खुम्चिन्थे । किन्न मन लागेका सामान पसलमै रहन्थे, जान मन लागेको ठाँउ पुग्न पाँईदैन थियो । सामुन्ने भन्न नसके पनि आफुले भनेको कुरा पुरा नहुँदा कहिलेकाहिँ भित्रभित्रै रिस उठ्थ्यो। प्लस टु सकुन्जेलसम्म यस्तै भईरह्यो ।

पछि पकेट खर्च निकाल्ने गरी कमाउन थालेपछि भने धेरै कुरा बुझ्दै गएँ। कमाउनभन्दा धेरै गाह्रो बचाउन रहेछ। त्यो लोभमा हाम्रा भन्दा धेरै इच्छा उहाँहरुका खुम्चिएका रहेछन्। सरकारले दिएको निजामती कर्मचारीको जिम्मेवारी इमान्दारपूर्वक निभाउँदै त्यसको कमाईले परिवार व्यवस्थापन गर्दै तीनजना छोराछोरीलाई पढाउन अनुशासनको धेरै ठुलो तपस्या गर्नुपरेको रहेछ उहाँहरुले। कमाएको पैसा लिएको एक हप्ताभित्र सकिने मलाई आमासँग तुलना गर्न डर लाग्छ। त्यो अनुशासनको परीक्षामा म पास हुन्छु कि हुन्न भन्ने 'क्लु' सम्म पाएको छैन।

***

भर्खरै उहाँ 'ईन्टिग्रीटी आइडल नेपाल'को तेस्रो संस्करणमा उत्कृष्ट पाँच 'फाइनलिस्ट' हुनुभयो। इमान्दार ढंगले राज्यबाट पाएको अधिकार प्रयोग गर्दै देशको सेवा गर्ने निजामती सरकारी कर्मचारीहरुलाई दिइने सम्मानको उत्कृष्ट पाँचमा पुग्नु उहाँको लागि ठूलो सफलता हो। उहाँको लोभ सम्मानित भएसँगै हामीलाई पढाउन खर्च भएको पैसा भ्रष्टाचारले कमिएको हैन भन्ने विश्वास भएको छ।

गाउँको उप-स्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीको अवस्थामा पुर्याउनु तथा गाविसलाई भोजपूरको पूर्वी क्षेत्रकै पहिलो पूर्ण खोप गाविस बनाउनु उहाँको जागिरे जीवनका सवैभन्दा ठूला उपलब्धी हुन्। सुन्दा सामान्य लागे पनि खोप केन्द्र नै नभएको अवस्थाबाट डेढ दशकमा यहाँसम्म पुग्न चेतनाको लागि ठूलै लडाईं लड्नुपर्यो उहाँले।

उहाँ अहेव भएर आएपछि गाउँमा लगभग दुई सय सुत्केरी गराउनुभयो होला। लिन आएपछि मध्यरातमा पनि उठेर हिँड्नुभएको छ। आफैंले निकालेका बच्चाहरु अहिले घर नजिकैको बाटो भएर स्कुल जान्छन्। तिनलाई हामी जस्तै देख्नुहुन्छ।

पछिल्लो समय उहाँको सोलुखुम्बु सरुवा भयो। एक वर्षमा त्यहाँको गाविसलाई सोलुखुम्बुकै पहिलो पूर्ण खोप गाविस घोषणा गर्नुपनि केवल संयोग मात्र हैन। आमाका उपलब्धीले छाति बलियो बनाउँछन्। 'इन्टिग्रिटी आइडल'को घोषणा कार्यक्रममा उहाँले भनेको सम्झिन्छु, ‘सार्वजनिक सेवा जागिरभन्दा बढी सामाजिक जिम्मेवारी हो।’

म प्रेरित हुन्छु।

***

पछिल्लो समय आमा परिवर्तन हुनुभएको छ। पहिला उहाँलाई कुकुर र बिरालो मन पर्दैन थियो। सानोमा हामीले घरको कुकुरलाई माया गर्दा पनि रिसाउनुहुन्थ्यो। कुकुरले चाटेको घिन लाग्थ्यो उहाँलाई हामीले विस्तारै घर छोड्यौं। पढाईको लागि विराटनगर बस्न थाल्यौं। दशैंमा बाहेक बीचमा घर पुग्न सम्भव हुन छोड्यो। परारको साल घर जाँदा घरमा कुकुर र बिरालो नै पाल्नुभएको रहेछ। आमालाई तिनको माया लाग्न थालेछ।

हामी नभएपछि हामीले मन पराएका चिजहरु हेरेर मन बुझाउने प्रयत्न हो त त्यो?

साथीजस्तो नजिक भएर पनि आमालई यो प्रश्न सोध्न सकेको छुइन। यही लेखको लिंक सुटुक्क पठाएर सोध्नेछु।

लेखिसक्ने बेला एउटै जिज्ञासा भएको छ, यो लेख पढ्दा आमाको अनुहारमा कति धेरै धर्साहरु आँउदा हुन्?

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट