सफा अनुहार, तिलचामल कपाल, शरीरमा उस्तै मिलेको पहिरन। पहिला त लाग्यो, आफू चढेको हवाइजहाजको पाइलट यीनै हुन्। पाइलट भन्ने बित्तिकै सम्पूर्ण रुपमा योग्य एक व्यक्तिको झल्को आउँछ। सन् २००८ मा पहिलो अन्तर्राष्ट्रिय हवाईयात्रामा थिएँ म, काठमाडौंदेखि पाकिस्तानको कराँचीसम्म। त्यतिबेला देखेको त्यो पुरुष अनुहार आज पर्यन्त मैले भुल्न सकेको छैन। पछि पो थाहा पाएँ, त्यो उज्यालो अनुहार, मिलेको शरीर र तिलचामल कपाल भएका ती व्यक्ति जहाजका पाइलट थिएनन् बरू पुरुष एयरहोस्टेज थिए। यात्रामा त्यति सुन्दर पुरूष आफ्नो सेवामा बारम्बार आइरहँदा मलाई औधी आनन्द लाग्यो। पछि पछि पनि ऊ सम्झनामा आइरह्यो र मुस्कुराइरह्यो ।
जीवनकै पहिलो हवाईयात्रापछि अर्को अन्तराष्ट्रिय हवाई उडानको मौका मिलेको छैन। तर, आन्तरिक उडानहरुमा भने म यात्रु बनिरहेकै हुन्छु। जब कुनै ठाउँमा जानु छ र हवाईजहाजको ढोकामा पुग्छु, मलाई आश लाग्छ –सन् २००८ मा देखेको जस्तै ‘हयाण्डसम’ केटा पो एयरहोस्टेज छन् कि! उसो त म न्यायपूर्ण समाजको पक्षपाति हुँ र मलाई बाहिरी सुन्दरताले सत्यको उद्घाटन गर्छ जस्तो लाग्दैन तर पनि मेरा पनि एक जोडी आँखा छन् र ती आँखा जगतका सुन्दर देखिने वस्तुमा सहजै लोभिन्छन्।
उसो त नेपाली समाज हामी केटी मान्छेले आफ्नो रहरको कुरा गर्न पाउने समाज हुँदै होइन। रहर त केटाको पो हुन्छ! म आमसमाजले आत्मसाथ गरेको मान्यताको कुरा गर्दैछु। अझ हयाण्डसम केटातर्फ नजर लगायो भने त मलाई कतिले उत्ताउली र छाडा भनेर भोलिदेखि समाजिक सञ्जालमा बसिटिक्न दिने छैनन्। तर सत्यचाहिँ त्यही हो, सामाजिक सञ्जालमा गालीको ओइरो आए पनि, परिवार र समाजले उत्ताउली र नखरमाउलीको ट्याग लगाए पनि कसम म आफूलाई रोक्न सक्दिनँ, केटाहरूलाई सुन्दर युवती हेर्न रहर लागेजस्तै मलाई पनि ह्याण्डसम केटा हेर्न औधी मनपर्छ।
नेपालमा नाम चलेको कर्पोरेट हाउसको मेनेजर साथीले केही समय अघि एक जना राम्री केटीलाई जागिर दिन सक्ने कुरा गर्दा मैले राम्री केटीको सट्टा राम्रो केटा वा राम्री केटी राख तर शारीरिक हिसावले अपाङता भएकालाई प्राथमिकतामा राख्न सल्लाह दिएँ। तर, ती साथी त यसै रिसाए। राम्री केटी पो चाहिएको, केटा होइन रे! यसै–यसै हाँसेर उल्टै उनले मलाई उडाए। हुनत, यो मेरो निजी तर्क हो कि मलाई लाग्छ मानिसहरुको आवतजावत भइरहने ठाउँमा केटी मानिसमात्र हुनुपर्छ भन्ने हुँदैन। बरू त्यस्ता ठाउँमा केटी र केटाहरू बराबर भए हुन्थ्यो। अझ शारीरिक हिसाबले अरु काम गर्न नसक्नेहरुलाई रिसेप्सनिष्ट जस्तो पदमा पहिलो प्राथमिकता दिनुपर्छ भन्ने मेरो ठहर हो। तर म बबुरोको कुरा कसले सुन्ने? पछि थाहा पाएँ, नाम चलेको उक्त कर्पोरेट हाउसमा त्यस मित्रले सुन्दर रूप र यौवन भएकी युवती नै छानेर रिसेप्सनिष्ट पदमा जागिर दिलाए।
हुन त विपरित लिङ्गप्रतिको आकर्षणलाई कसले नकार्न सक्छ? राम्रो केटालाई हेर्न खोज्ने मेरा जस्ता नजर मेरा मेनेजर मित्रका पनि छन्। हो, मैले उठाउन खोजेको विषय पनि यहि नै हो। राम्री केटी हेर्न खोज्ने मेरो मेनेजर साथीले कति सजिलै राम्री केटीमाथि दावा गर्न सक्छ। उसलाई राम्री केटी नै चाहियो, न राम्रो केटा न शारीरिक हिसाबले अपाङ्गता भएका मानिसलाई उसले प्राथमिकतामा राख्यो। हुन पनि सदियौंदेखि यस्तै चलेको समाजमा म किन ‘अतिवादी आपत्ति’?
सत्य त यही हो कि सदियौंदेखि केटी मानिस हेरिने पात्र हो, उसका आँखा बदामी हुनुपर्छ, आँखा मृगनयनी, बारुलाको जस्तो छिनेको कम्मर, बाघको जस्तो चाल, कुरा नगरौं, आँखाको वर्णन त कति हो कति! स्त्री जातिको आँखाकै मात्र वर्णनमा कति साहित्य रचिएका छन्। दाँत अनारका दानाझै मिलेको हुनुपर्ने, कपाल रेशमी हुनुपर्ने, छाला चन्दन दलेको जस्तो नरम हुनुपर्ने रे । अनि अचेलचाहीँ हाँस्दा गालामा डिम्पल परेको औधी राम्रा रे। केटी मान्छे सुवासीनि हुनपर्ने । स्त्री जाति मात्र भोग्या?
केही शास्त्रहरूमा पुरुष पनि यस्तो–उस्तो हुनुपर्ने कुरो उल्लेख भएका छन् तर पुरुष यस्तो हुनुपर्ने चर्चा सम्भवतः पुरुषमुखी समाजले लुकाएको छ । मेरा प्रश्न छ– केटा मानिस चाँही कस्तो हुनुपर्ने? के कुनै युवतीले कुनै युवकलाई हेर्ने आवश्यकता नै छैन र ऊ चाहिँ जस्तो पायो त्यस्तै पनि हुन पाउँछ? किन पुरूषको लावण्यको चर्चा गरिएको साहित्य र चलचित्र मैले आजसम्म पढ्न र हेर्न पाइनँ? तिल चामल जस्तो कपाल भएको केटामान्छे देखेपछि कयौ केटी मानिस आकषिर्त हुन्छन् भन्ने कुरो मैले किन कसैको मुखबाट सुन्न पाइनँ? केटा मानिसको आँखाचाहीँ हरिणको जस्तो हुनुपर्छ भनेर गरिएको चर्चा मैले किन आजसम्म सुनिनँ?
केटा मानिसको डिम्पलको वर्णन किन कसैले गर्न सकेनन्? केटाको गालामा भएको कोठीले म भुतुक्क भएँ भन्ने चर्चा किन कोही नारीवादी साहित्यकारले समते गरेनन्? मलाई थाहा छ यी तमाम मेरा प्रश्नहरुको उत्तर हामी सबैसँग छ। र त्यो उत्तर हो –केटा मानिस हेर्ने पात्र हो र हामी स्त्री जाति हेरिने पात्रका रुपमा समाजमा स्थापित छौं। हेर्ने पात्रले आफूलाई हेर्न चाहेको दृश्य वर्णन गरिदिए पुग्छ तर हेरिने पात्र तदअनुरुप बन्नुपर्छ। हेर्ने पात्रले चाहेको के हो त्यही जस्तो बन्न अभ्यास गर्नुपर्छ, नजानेको भए सिक्नुपर्छ ।
आजसम्म हामी केटी जाति हेरिने पात्रका रुपमा चित्रित भयौं र शायद त्यसैमा रमायौं पनि। केटा मानिसले के भन्दा आफूलाई अझ राम्री देखिन्छ हामीले पुरुषका आग्रह र चाहनालाई पछ्यायौं। त्यसको मजा पनि बेग्लै होला तर आफू महिला भएर कुनै सुन्दर पुरुषलाई हेर्नुमा पनि बेग्लै मजा छ। भन्नेहरुले मेरो आशयको सहजै गलत ब्याख्या गर्न सक्छन् तर मेरो तर्क गलत छैन।
कठै ! मेरा आमा, दिदीहरू जसले सुन्दर पुरूषको कल्पना र सपना मात्रै देखेँ, व्यवहारमा प्रस्तुत गर्ने सकेनन्। उहाँहरुको कल्पना पलभरमै चकनाचुर हुन्छ के गर्ने समाजनै त्यस्तै थियो। तर आजका युवतीलाई यस्तो बाध्यता सायद पर्दैन। सुन्दर युवतीलाई कुनै पुरूषले हेर्दा समाज व्यवस्था जसरी आजसम्म बिग्रिएन, त्यसैगरी सुन्दर युवकलाई हामी युवतीले हेर्दैमा समाज कसरी बिग्रन्छ र?
बरू आजसम्म आफूलाई जस्तो पायो उस्तै अवस्थामा राख्ने पुरूषहरूले समेत आफ्नो शरीर, पहिरन र सृंगारको ख्याल गर्न थाल्छन्। सुन्दर बन्ने अभ्यास गर्न सुरु गर्छन्।