बाह्र-तेह्र वर्षको छँदा मलाई म मर्छु जस्तो कहिल्यै लाग्दैनथ्यो। त्यतिखेर म सही रहेछु। नत्र त यतिन्जेलसम्म म मरिसकेको हुने थिएँ।
आज तीस वर्षको हुँदा मलाई हरेक दिन मर्छु जस्तो लाग्छ। यतिखेर पनि म सही छु।
बाँचेको जस्तो लाग्नु र बाँच्नुमा केही ग्राम भ्रमको फरक मात्र न हो। मरेको जस्तो लाग्नु र मर्नुमा केही मिलिलिटर विश्वासको फरक मात्र न हो।
हिजोआज मेरो एउटा खुट्टाको जुत्ताले हरेक पाइलामा भ्रम टेक्छ, अर्को जुत्ताले हरेक पाइलामा विश्वास टेक्छ। कहिलेकाहीँ जुत्ताको तलुवा छेडेर भ्रमको काँडाले पैताला घोच्छ। कहिलेकाहीँ त्योभन्दा तिखो गरी विश्वासले घोच्छ।
भ्रमले घोच्दा रगत आउँछ, विश्वासले घोच्दा आँशु आउँछ।
मलाई आँशु औधि मन पर्छ। रुनु मलाई सबैभन्दा आनन्द दिने लत हो। म दु:खी मान्छेसँग एकदमै छिटो मिल्छु। मेरा सबैभन्दा मिल्ने साथी पनि औधि दु:खी छन्। म जसलाई औधि प्रेम गर्छु, ऊ पनि एकदमै दु:खी छे। दु:खी हुनलाई गरीब भैराख्नु पर्दैन, रोगी भैराख्नु पर्दैन। दु:खी हुनलाई कारण पनि चाहिँदैन। कसै-कसैलाई दु:ख त्यत्तिकै मन पर्छ, जसरी कोही मान्छे विनाकारण मन पर्छ।
म त्यही पार्टीको मान्छे हुँ।
म दु:खी भएको बेला आफ्नो सबैभन्दा नजिक हुन्छु। दु:खी भएको बेला मात्र म साँच्चिकै जस्तो छु, त्यस्तै हुन्छु।
मलाई लाग्छ, ईश्वर पनि भित्र-भित्र निकै दु:खी छ। कमसेकम म भित्रको ईश्वरचाहिँ दु:खी छ।
तनावमा हुनु हानिकारक होला तर, दु:खी हुनु स्वास्थ्यवर्द्धक हो जस्तो लाग्छ मलाई।
मलाई सबैभन्दा बढी मन परेका फिल्म, कविता, गीत, नाटक, पुस्तक आदि सबै-सबै, दु:खलाई शब्द, संगीत वा दृश्यले छोपेर पकाएका म:म हुन्।
‘निभ्न लागेको दियो' (डाइङ क्यान्डल)’ फिल्ममा एउटा तेह्र वर्षको बालकले आफ्नो जिउमा गहिरो चोट लागेको बेला आफ्नी दिदीलाई सोध्छ, 'दिदी, म मर्दा एक दिन स्कुल बिदा हुन्छ हो?'
मलाई फिल्मको त्यो पात्रलाई भन्न मन छ, 'तिमी पो एउटा स्कुलमा पढ्छौ र तिमी मर्दा तिम्रो स्कुल एक दिन बिदा हुन्छ। तर स्कुल, कलेज, युनिभर्सिटी पढिसकेका मान्छेहरु त अब केवल जीवन पढ्छन्। र, उनीहरु मर्दा जीवन एक दिन बिदा हुँदैन, बरु उनीहरु जीवनबाट सबै दिनलाई बिदा हुन्छन्!'
साँच्चै, हामी मर्दा कसैलाई केही फरक परेन भने हामी त कोहीसँग रिसाउन वा दु:खी हुन पनि नपाउने रहेछौं। जीवनभरि आशैआशमा बाँच्न बानी परेका हामी मृत्युबाट पनि आस गर्दा रहेछौँ है?
पराजुलीको कविता 'हेब्बी बड्डे' यहाँ क्लिक गरेर पढ्न सकिन्छ