विश्वभरि नवधनाढ्यहरूको संख्या बढेसँगै क्यासिनो पर्यटनको सम्भाव्यता पनि बढ्दो छ। अमेरिकाको लसभेगास, मकाउ, सिंगापुर विश्वकै प्रसिद्ध क्यासिनो पर्यटन गन्तव्य हुन्। मकाउको क्यासिनो उद्योगको आयमात्रै वार्षिक ४५ अर्ब अमेरिकी डलर पुगिसकेको छ। यो लसभेगासभन्दा निकै उच्च हो। सानै आकारमा सही कुनै समय नेपालको पर्यटन उद्योगमा क्यासिनोको उल्लेख्य योगदान थियो।
सन् १९६९ मा सन् १९६९ मा सोल्टी होटलमा आरडी टट्टलले क्यासिनो नेपालको सञ्चालन गरेका थिए। त्यसपछिका अवधिमा १० वटा ठूला क्यासिनो र त्यति नै संख्यामा मिनी क्यासिनोहरु सञ्चालनमा आएका थिए। यसबाट राज्यलाई राम्रो आम्दानी हुनुको साथै रोजगारी सिर्जना, होटेल तथा विमान कम्पनीहरूलाई प्रत्यक्ष लाभ पुगेको थियो। खासगरी नेपालमा भारतीय धनाढ्यहरू बिहान जहाजबाट काठमाडौँ आउने, दिनभरि क्यासिनोमा बिताउने र बेलुका दिल्ली फर्कनेदेखि दुई तीन दिनको छोटो बसाइका लागि पनि आउने गरेका थिए। क्यासिनो पर्यटनमा अन्य विदेशीले पनि ठूलै योगदान पु¥याइरहेका छन। तर पछिल्लो समयमा टट्टल र उनले मुख्य एकाउन्ट बनाइ झिकाएका राकेश बाध्वाबीचको विवाद तथा बाधवााले मुख्य तीन क्यासिनाको स्वामित्वमा कब्जा गरेपछि यस क्षेत्रको विवाद चुलियो। बाध्वाले आफूले मात्र कमाउने तर राज्यलाई कर नतिर्ने रणनीति अख्तियार गरे। बाध्वाले यति चलाखीपूर्ण तरिकाले सुरुमा एभरेष्ट हुँदै पछि अन्य क्यासिनोहरूको पनि स्वामित्व कब्जा गरे कि टट्टल हेरेको हेरै भए। बाध्वा अति नै चलाख कारोबारी थिए, उनले नेपालका धनाढ्यहरूलाई हातमा लिनका लागि श्रीमती शालिनी बाध्वाका नाममा ‘बोस’ नामक आर्थिक म्यागेजिन प्रकासित गर्ने गर्थे। क्यासिनो एभरेष्टसँगै राखिएको बोसको कार्यालय केबल व्यावसायिक जङ्केटहरूलाई देखाउन र सम्पर्क विकसित गर्नमात्र प्रयोग हुने गरेको थियो। उनले त्यस नाताले द हिमालयन टाइम्स नामक भारतीयद्वारा लगानी गरिएको पत्रिकाको पनि प्रयोग गरे, जहाँ उनी कोलम लेख्थे। लामो समयसम्म कर नतिरेका क्यासिनोहरूको रोयल्टी विवाद सुरु हुनेवित्तीकै बाध्वा रातारात नेपालबाट भागे र भारतको गोवामा गएर क्यासिनो खोले।
क्यासिनो धराशायी हुनुको अर्को कारण हो, मजदुर युनियन। ०६३ सालमा माओवादी राष्ट्रिय राजनीतिको मूल धारमा आएपछि आफ्ना करिब ७ सय कार्यकर्ता (जो तत्कालीन जनस्वयंसेवक वा जनमिलिसियाका रूपमा कार्यरत थिए)लाई क्यासिनोहरूमा एकै पटक भर्ति गराए। त्यसअघि क्यासिनोमा एमाले समर्थित मजदुर युनियनको बोलाबाला थियो। तिनको प्रभाव बढ्दै गयो। क्यासिनो ‘सुकुलगुन्डा’को प्रवेश सहज थियो। सित्तैमा विदेशी रक्सी खान पाइने, युवतीहरूसँग सम्पर्क हुने भएकाले यस्ता ‘सुकुलगुन्डा’ पछि टोले गुन्डाहरूलाई लिएर जान थाले। क्यासिनोमा जुवाडेलाई लत लगाउन सुरुमा जानीजानी जिताइन्छ र पछि, पछि त्यो जुवाडे आफ्नो सर्वस्व हार्न थाल्छ। काठमाडौंका केही धनाढ्य सुरुमा रक्सी र युवतीका लागि जाने गरेकोमा पछि जुवाकै लत बस्न थाल्यो। क्यासिनोका एउटा कुनामा तमासुक नै बोकेर केही समूह बस्न थाले, जसले मिटरब्याज (दैनिकरूपमा लिइने उच्चब्याज)मा पैसा लगानी गर्थे, जुन तिर्न नसक्दा दर्जनौं जुवाडेको सम्पत्ति ती मिटरब्याजवाला गुन्डाहरूले कब्जा गरे। सुरुसुरुमा प्रहरीले क्यासिनो सञ्चालक र यस्ता गुन्डाहरूसँग कमिसन लिइ नेपालीलाई क्यासिनोमा प्रवेश गराउन छुट दिए पनि पछि केही इमानदार प्रहरी अधिकारीको पहल र मिडियाको निरन्तरको खबरदारीपछि नेपालीलाई प्रवेश निषेध गरियो। क्यासिनो सञ्चालनमा कडा नियमावली–२०७० ल्याइयो। वर्षौंदेखि सरकारलाई रोयल्टी नतिरी सञ्चालन भइरहेका क्यासिनोहरू नियमनका दायरामा बाँधिनु परेपछि बन्दै हुन पुगे। पछि केही नियमनमा बाँधिएर १० बाट २–४ वटामा झरे। नेपालका क्यासिनोहरू बन्द भएपछि भारतको गोवा नयाँ क्यासिनो गन्तव्य बनेको छ।
(गजेन्द्र बुढाथोकीको पुस्तक ‘समकालीन नेपाली अर्थतन्त्र’को एक अंश)