म मधेशमा जन्मेको र हुर्केको नेपाली हुँ। कक्षा १० सम्म मधेशको एउटा गाउँमा पढेँ। सबै पाठ्यपुस्तक अंग्रेजीबाहेक नेपालीमै थिए र पठनपाठन पनि नेपाली मै हुन्थ्यो। मलाई धेरै आनन्द लाग्थ्यो। बिना आग्रह वा पूर्वाग्रहका साथ माध्यमिकस्तरसम्मको अध्ययन सरकारी विद्यालयमै पूरा भयो। त्यसपश्चात उच्च शिक्षाका लागि काठमाण्डू आएँ अनि अध्ययनसँगै विभिन्न कार्यक्रममा सहभागी हुन थालेँ। अनि सुन्न थालेँ मधेशी-पहाडी बीचको विभेदका कुरा।
दशैँ, तिहार, छठ, ईदको शुभकामना आदानप्रदान तथा विभिन्न भाषाभाषीसम्बधी कार्यक्रमका सहभागीले विभेदकै बारेमा बढी बताउँथे। सकारात्मक कुराभन्दा नकारात्मक कुरा धेरै सुनिन्थ्यो, सद्भावभन्दा आक्रोश र कुटपिटकै कुरा धेरै सुनिन्थ्यो।
स्नातकोतरसम्म पढ्दा धेरै पहाडी साथीहरुको साथ र सहयोग पाएँ। आफ्नै परिवारमा झैँ माया पाएको अनुभूत पनि गर्न पाएँ तर किन हो कहिल्यै यो सहिष्णुता र सद्भावको चर्चा सुन्न वा पढन चाहिँ पाउँदैन्थेँ। केही पहाडीले दमन, शोषण, दुर्व्यवहार गरेका होलान् तर धेरै जनाको सद्भावको चर्चा नगर्ने अनि एक-दुई जनाको दुर्व्यवहार चाहिँ जीवनपर्यन्त सम्झिरहने बानीले हामी कहिँ पुग्दन सक्दैनौँ। एकअर्कालाई सम्मानका साथ हेर्ने बानी विस्तारै सुधार्दै गएको कुरा मैले कहिल्यै सुन्न पाइनँ। तर समग्र र सुधारमा केन्द्रित नभई विकार र आंशिकतामा मात्र किन हाम्रा समग्र अग्रजहरु सीमित भए?
कुलमानसिंह घिसिङको इमान्दारी, आँट र कुशल नेतृत्वले काठमाण्डू उपत्यकामा लोडशेडिंग अन्त्य भएको छ। स्वयंसेवी बागमती अभियानका कारण गन्हाउने ढलमती बनेको बागमतीको रूप-रंग फेरिंदैछ, जसमा म स्वयं पनि एक हप्ता नबिराई सरीक हुने गरेको छु। महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्, “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक।” उनले भनेजस्तै उद्देश्य ठूलै लिने भएर होला अहिले मानिस चन्द्रमा मात्रै होइन, मंगल ग्रहमा समेत पुग्न सफल भएका छन्। उदार हृदयलाई विशाल बनाउदै इमान्दारीरुपी रथमा मधेशको मात्र हित होइन, सिङ्गो नेपाल र नेपालिको समृद्धिलाई सारथी बनाएर सवार हुने हो भने मधेशीहरू प्रधानमन्त्री हुन नसक्ने कुरै हुँदैन।
भगवान कृष्णले गीतामा भनेका छन्, “लगनका साथ विवेक पुर्याएर कर्म गर्ने हो भने असम्भव केही छैन।” त्यस्तै वैज्ञानिक आइज्याक न्युटनले प्रस्तुत गरेको गतिको तेस्रो सिद्दान्तले भन्छ, “हरेक क्रियाको बराबर र विपरीत प्रतिक्रिया हुन्छ।” यदि हाम्रो सोच, बोली र काम प्रधानमन्त्रीयोग्य हुन्छ भने कर्तव्यनिष्ट, इमान्दार र विवेकशील मधेशीलाई राष्ट्रको सर्वोच्च ओहोदामा निर्वाचित हुन कसले छेक्न सक्छ र? राष्ट्रिय एकता र विकासको विम्ब बन्ने हरेक नेपाली कार्यकारी प्रमुख बन्नेछ भने यसमा मधेशी पनि त पर्छन्। हत्केलाले सूर्यलाई छेक्न सकिन्न भनेझैं सक्षम तथा दक्ष मधेशी किन प्रधानमन्त्री हुन सक्दैन? अवश्य हुन सक्छ। हरेक जाति वा समुदायमा रहेका निराशावादीहरुले बुझून् - उनीहरु हौसला बढाउन सक्दैनन् भने निराश नबनाऊन्, सहयोग गर्न सक्दैनन् भने असहयोग नगरुन्, राष्ट्रिय एकता कायम गर्न सक्दैनन् भने विभाजन नगरुन्। हिमाल, पहाड र तराईलाई एकताको सुत्रमा बाँध्न चाहने कुनै पनि युवाको बाटोमा तगारो नबनून्।
धेरै मधेशीहरु कृषिकर्म गर्छन्। स्वाभावैले किसानहरु मेहनती, लगनशील, उदार र इमान्दार हुन्छन्। किसानले आफनो मेहनतले महादेवलाई समेत हराएको कथा पनि सुन्दै आएकै हौँ। भगवान बुद्ध, माता जानकी, राजा जनक जस्ता व्यक्तित्व जन्मेको पवित्र भूमि पनि हो तराई। ती सबै विवेकी र मेहनती थिए जसले गर्दा उनीहरु सर्वप्रिय बने। अब प्रश्न उठ्छ - फेरि अर्को मधेशको छोरो वा छोरीले नेपाल र नेपालीलाई विश्वसामु किन नचम्काउने? मधेश निराशावादी र विखण्डनकारीको क्रिडास्थल हुँदै होइन - सामाजिक एकताका लागि विश्वमाझ उत्कृष्ट उदाहरण हुन सक्ने क्षमता भएको भूमि हो।
आगो निभाउन पानी चाहिन्छ, आगोले आगो निभाउन प्रयत्न गर्नु मुर्खता सिवाय केही होइन। दुर्व्यवहारको समाधान दुर्व्यवहार कदापि हुन सक्दैन। अरुले दमन गरे भनेर के हामीले पनि त्यसै गर्ने? हो दमन सहनुहुन्न तर दमनको जवाफ दमनले दिनु भनेको समस्याको निरन्तरता मात्रै हो। हामीले सोचेको मधेशी भूमि नव-हेपाहा र नव-दमनकरीहरुको होइन। यदि त्यसै गर्ने हो भने विगत र भविष्यबीच अन्तर नै हुँदैन। गलत व्यवहार गर्नेलाई गलत व्यवहार गरेर होइन माया गरेर सुधार्न सकिन्छ। हो पहिला हामी शोषित भयौँ। हामीमाथि दुर्व्यवहार गरियो तर त्यो कम भएको छ। हामीले केही आरक्षणमार्फत बढी सुविधा पनि पाउन थालेका छौँ। पहिलाभन्दा अहिले काम गर्न सजिलो भएको छ। गल्ती गर्नेले गल्ती महसुस गरिसकेका छन् र अझै सुधार्दै जाने छाँट पनि देखाएका छन्।
पहिला काठमाण्डूमा मधेशी मूलका मान्छे भेट्न गार्हो हुन्थ्यो। अहिले राजधानीमै मधेशीहरू विभिन्न उच्च ओहोदा लगायत सवारीचालक तथा परिचालक (खलासी) भएर काम गरेको पनि देख्न पाइन्छ। सहयोग सद्भाव बढ्दै गएको छ। बिना भनसुन क्षमता तथा योग्यताका आधारमा प्रतिष्ठित संस्थामा तराईका मानिसले पनि काम गर्न पाउन थालेका छन्। अहिले पनि शिक्षा र विज्ञानको क्षेत्रमा मधेशीहरुको गुणगान पहाडी समुदायबाटै खुल्ला हृदयले गरेको सुनिन्छ। यस्तो अवस्थामा हामी मधेशी पनि अलि उदार सोचका साथ अगाडि बढ्नुपर्छ। देशको स्वार्थलाई प्राथमिकतामा राखेर अरुलाई समेत पारिवारिक एवं साम्प्रदायिक स्वार्थबाट माथि उठ्न प्रेरित गर्नुपर्छ। वास्तवमा मधेशीले आफनो देश नेपालप्रतिको माया अझ खुलेर देखाउने बेला आएको छ।
मधेशीहरुले पौने ३ करोड नेपालीकै प्रमुख हुने सपना देख्नुपर्छ नकि मधेशीको मात्रै। मधेशीहरुले अब एक मधेसको होइन स्वतन्त्र, सार्वभौम र समृद्ध नेपालको नारा लगाउनुपर्छ र यसका लागि आवश्यक पहल गर्नुपर्छ। नेपाललाई स्रोतसाधन तथा सामर्थ्यका आधारमा उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने तथा जल, जमिन, जंगल, बजार तथा बाटोको उपलब्धतासहितको संघीयतामा लैजाने विचार अगाडि ल्याउनुपर्छ। मधेश केन्द्रित, दलगत, नातावाद तथा कृपावादको राजनीतिभन्दा माथि उठेर राष्ट्रिय राजनीतिमा लाग्नुपर्छ। मधेशका शिक्षित, इमान्दार तथा मेहनती युवाहरु पनि अब राजनीतिमा प्रवेश गर्नुपर्छ। जसरी हाम्रा किसानले आफ्नो परिश्रमले घामपानीको वास्ता नगरी खेतमा अन्न फलाउँछन्, त्यसरी नै हामीले पनि जिम्मेवार भएर जतिसुकै बाधा अड्चन आए पनि नेतृत्व लिएरै नेपालको कार्यकारिणी प्रमुखसम्म बन्नुपर्छ।
यो सपना मेरै जीवनकालमा विपनामा परिणत गर्न मै चाहिँ कम्मर कसेर लागेको छु। मैले देखेको मधेशी युवा यो देशको अबको परिवर्तनको संवाहक बन्नेछन् किनकि उनीहरुले नेपालको उर्वरभूमिको प्रतिनिधित्व गर्छन् जहाँ ५० प्रतिशत नेपाली बसोबास गर्छन्। सबैको अनुहारमा हाँसो र खुशी चाँडै देख्न पाइयोस, नेपाल र नेपालीको जय होस!