‘लभ’ मेरा लागि भावना हो। यदि तपाईंले आफ्नो हृदयमा कसैका लागि विशेष भाव राख्नुहुन्छ, त्यही नै प्रेम हो। जब मैले पहिलोचोटी मधुलाई भेटेँ, मैले उनमा निःस्वार्थ माया देखेँ। त्यही बेला मलाई महसुस भयो, प्रेमको महत्वका बारेमा।
सायद, मेरो पहिलो आकर्षण रसिया छँदा हो। म १४ वर्षको थिएँ, उनी १६ वर्षकी। मरिना नामकी उनी पोल्यान्डबाट आएकी थिइन्। उनैले मसँग परिचय गरिन्। त्यसपछि हामी एक महिनासम्म समरक्याम्पमा रह्यौं। मेरो पहिलो डेट पनि उनै हुन्। हामी एक महिनासम्म वाकमा जान्थ्यौं, समुद्री किनारमा गएर कुरा गथ्र्यौं। एकचोटी डान्समा जाँदा उनले मेरो सर्ट लगाएकी थिइन्, त्यतिबेला मलाई असाध्यै गर्व अनुभूति भएको थियो।
मेरो पहिलो लभ सायद, चण्डिगढ पढ्दा थियो। उनी पनि मभन्दा जेठी नै थिइन्। म १७ वर्षको थिएँ। म भर्खर कलेज सुरु गरेको, उनी मास्टर्स सक्न लागेकी। मलाई लाग्यो, म प्रेममा परेँ। दिनभरी हामी सँगै बसेर गफ गथ्र्यौं। म होस्टलमा बस्थेँ। साँझ होस्टल अफिसको ल्यान्डलाइनबाट घन्टौंसम्म गफिन्थ्यौं। भोलिपल्ट बिहान भेट्थ्यौं। गफ गथ्र्यौं। फेरि भोलि कहिले भेट होला भनेर छटपटी हुन्थ्यो। फर्केर हेर्दा, उनीसँग प्रेमका सबै लक्षणहरु रहेछन्।
मेरो सपनाको राजकुमारी यस्तो हुन्छिन् भनेर कल्पना गरिनँ। मेरो प्रायःजसो आकर्षण चिनजान,गफ भइसकेपछि हुन्थ्यो। यसपछि ऊ नै राम्रो लाग्थ्यो। यो–यो कारणले म आकर्षित हुन्छु भन्ने थिएन। त्यसकारण मेरो सपना र सत्यमा त्यति फरक छैन।
आज मधुसँग बिहे भएको छ। मेरो कोही सपनाको राजकुमारी हो भने मधु नै हो।
म विपरित लिंगीका लागि हदभन्दा बढी इमोसनल भइनँ। प्रेममा रोएको घटनाहरु मसँग छैनन्। यदि म कसैका लागि इमोसनल हुन्छु भने त्यो मेरो बुवा हो। अहिले पनि बुवाको कुरा गर्दा म भावुक हुन्छु।
‘आइडल कपल’को कुरा गर्दा सायद म र मधु नै हौं। हामी एक–अर्कामा असाध्यै मिल्छौं। हामी नै बेस्ट आइडल कपल हौं।
हाम्रो चिनाजानी भइसकेपछि मेरो जन्मदिनमा मधुले गिफ्ट दिएकी थिइन्। त्यो नै मेरो लागि स्पेसल र बेस्ट हो। नराम्रो सुनिन सक्छ, म गिफ्ट दिने व्यक्ति होइन। मैले अहिलेसम्म महँगो भनिने गिफ्ट कसैलाई दिएको छैन। मेरा प्रायःजसो गिफ्टहरु दोकानको फूलहरु हुँदैनन्। क्लिसे कुराहरु मन पर्दैनन्।
मेरो बेस्ट लभ सङ– बिहे गर्नुअघि मधुलाई औंठी लगाइदिँदा गीत गाउने वातावरण बनेको थियो-‘माया गर्छु तिमीलाई जुनी जुनी, न कुनै बन्धन न कुनै परिधि, माया गर्छु तिमीलाई जुनी जुनी...’
मैले मधुलाई भेट्दा म त्यो मान्छेसँग बाँकीको जीवन बिताउँछु भनेर कल्पना गरेको थिइनँ। एउटा ब्युटी पेजेन्टमा भेटेको थिएँ। राम्रो लागेर मैले भिजिटिङ कार्ड दिएर फोन गर्नु भनेँ। १५/१६ दिनसमम फोन आएन। मेरो बर्थडेको अघिल्लो दिन फोन गरिन्। मैले भनेँ, ‘भोलि मेरो बर्थडे हो भेटौं न त।’ र, बर्थडेको दिन पहिलो डेट भयो।
हामीमा त्यस्तो ‘ट्विस्ट एन्ड टन्र्स’ आएको छैन। हामीले चिनाजानका लागि एक–अर्कालाई पर्याप्त समय दियौं। हामी दुई जनाको सोचाइ मिल्छ कि मिल्दैन भन्नेमै समय लियौं। अन्तिममा हामीलाई लाग्यो, हामी एक–अर्कालाई एकदमै फिट छौं।
मधुको माया एकदमै निःस्वार्थ लाग्छ।
मेरो लभकोट कुनै छैन। कोटेसनमा, भर्बल अभिव्यक्तिमा विश्वास गर्दिनँ। लभ मेरा लागि एकदमै साइलेन्ट हो। एक–अर्कालाई फिल गर्ने लभ मन पर्छ। क्लिसे कुराहरु मन नपर्ने भएकाले होला, मन परेको लभकोट छैन।
मान्छेहरु सुरुकै आकर्षणबाटै बिहे गर्छन्। पछि गएर बुझाइमा परिवर्तन आउन सक्छ। सम्बन्धका लागि एक–अर्कालाई राम्रोसँग बुझ्नुपर्छ। सम्झौता पनि गर्न सक्नुपर्छ। एक–आपसमा सम्मान हुनुपर्छ। त्यो छैन भने सम्बन्ध विफल पनि हुन्छ।
सामाजिक सन्जालमा अभिव्यक्ति गर्नुअघि तपाईंले बुझ्नुपर्छ–प्रेम के हो? कसैसँग आकर्षण हुनेबित्तिकै प्रेम सम्झिएर सामाजिक सन्जालबाट सार्वजनिक गर्नुभयो भने नराम्रो नतिजा निस्कन सक्छ। सबैलाई थाहा दिनुअघि आफ्नो प्रेम सही हो कि होइन भनेर पहिचान गर्नु जरुरी हुन्छ।
प्रेममा सल्लाह दिन गाह्रो छ। हरेक व्यक्तिको सम्बन्ध ‘युनिक’ हुन्छ। त्यही 'युनिकनेस'का आधारमा सम्बन्धित व्यक्तिहरुले सही प्रेमको पहिचान गर्नुपर्ने हुन्छ। हरेक प्रेमका आफ्नै चरित्र र विशेषता हुन्छन्। दिगो प्रेमले भावनात्मक खोज्छ। व्यावहारिकता खोज्छ। त्यो सबैबाट मेल खाने सोचाइबाट निर्देशित भएर प्रेममा पर्नुभएको छ भने त्यो प्रेम दिगो हुनसक्छ। प्रेम भनेको एकअर्कालाई माया गर्नु मात्र होइन, एक–अर्कालाई सम्मान गर्नु हो। एकआपसमा सम्झौता गर्नु हो।
(पोडकास्टर सबिना कार्कीको पोडकास्टबाट।)