यता पनि भत्केको घर....उता पनि ढल्केको घर
यसपालिको भुकम्पले टेन्सन भयो यार ...।
रसुवाको धुन्चेमा मंसिरको अन्तिम साता पुग्दा लाक्पा सिङ तामाङ यही गाउँदै थिए। उनले गाएको यो गीत मैले आफ्नै स्वरमा इन्जिनियर बिजयकृष्ण उपाध्यायलाई पनि सुनाएँ। भुकम्प प्रतिरोधि राष्ट्रिय समाज नेपालका निर्देशक बिजयकृष्ण उपाध्याय लाक्पाका ती शब्दहरु सुनेर मुस्कुराए। उनको मुस्कुराहाट रोकिन नपाउँदै मैले सोधिहालें, तपार्इँ त भत्केका चर्केका घरलाई बनाउने र मर्मत गर्ने डाक्टर हुनुहन्छ, भुकम्प प्रभावितले यस्तो टेन्सनचाहिँ कसरी हटाउन सक्छन् होला?
उनले भने, टेन्सन त छ तर यो पिर चिन्तालाई हटाउने उपाय पनि हामीसँग नै छन्। पुरै भत्किएको घरलाई त फेरि बनाउनु नै राम्रो तर अलिअलि चर्केको र मर्केकोलाई प्राविधिकको सल्लाहमा मर्मत मात्र पनि गर्न सकिन्छ। हाँस्दै उनले थपे, डाक्टरले अपरेशन मात्र होइन, हातखुट्टा मर्केको, भाँच्चेको पनि त उपचार गर्छन् नि।
बिबिसी मिडिया एक्सनको रेडियो कार्यक्रम मिलिजुली नेपाली तयार पार्न म उनीसँग कुरा गरिरहेको थिएँ। उनको उत्तर सकिन नपाउँदै, भुकम्प प्रभावितका यस्ता टेन्सन हटाउन गाउँ गाउँमा रेडियोको भूमिका कस्तो छ होला भन्ने प्रश्न मेरो मनमा उब्ज्यो।
रसुवाबाट फर्के लगत्तै, पुसको ठन्डीमा कठ्याङ्ग्रीएको हातमा रेकर्डर बोकेर म धादिङ जिल्लाको सत्यदेवी गाविस पुगें। काठमाडौंबाट बसमा करिब ६ घन्टा र नुवाकोटको किम्ताङबाट करिब ५ घन्टा पैदल यात्रापछि सत्यदेवी पुगिन्छ। वडा नं ७ का पूर्वगाविस सचिव बीरबहादुर तामाङले हामीलाई फोन गरेर उनको गाउँ बोलाएका थिए। उनलाई भेट्नेबित्तिकै मैले सोधें–यति टाढाबाट बोलाउनुभएछ हामीलाइ के भन्नु छ? उनले टिन र काठले बारेको आफ्नो अस्थायी घरतिर देखाउँदै भने, पहिलाको घरले थिचेर आमा बित्नु भो। अब त बलियो घर बनाउन इन्जिनियर कुर्दैछौं। हाम्रो कुरा पनि रेडियोमा बजाइदिनु होला। आजकल त रेडियोमा पनि प्राविधिकको सल्लाहमा नै घर बनाउनु भनेको छ।
बीरबहादुर तामाङ जस्तै करोडौं मानिस हरेक दिन रेडियो सुन्छन्। युनेस्कोको आकंलनमा विश्वको ९५ प्रतिशत जनसंख्याले अझै रेडियोबाट सुचना लिन्छ। नेपालमा पनि ९० प्रतिशत जनसंख्याको पहँुचमा छ रेडियो। रेडियोप्रतिको यो आर्कषणलाई हेर्दा रेडियोले बजाउने कार्यक्रम र विषयवस्तुको समयानुकुल आवश्यकता अझ धेरै भएको बुझ्न सकिन्छ।
यो वर्षको विश्व रेडियो दिवसमा रेडियो तिमी हौ भन्दै ‘नागरिक सहभागिता’ लाई मुख्य विषयवस्तु बनाइएको छ। नागरिक अर्थात हाम्रा श्रोतासँग निरन्तर छलफल गरेर, उनीहरूका कुरा सुनेर, उनीहरूका आवश्यकतालाई बुझेर मात्र सूचना सम्पे्रषण गरियो भने रेडियोकोे प्रभावकारिता पनि बढ्छ र सबैले रेडियोलाई विश्वास गर्छन्। रेडियो आफैं प्रभावकारी बन्न र समुदायमा सहयोग गर्न योभन्दा उपर्युतm समय अर्काे हुन सक्दैन।
धादिङबाट सिन्धुली पुग्दा, डाँडी गुराँसेका सबिना र राजेश खतिवडाले भने भूकम्प प्रतिरोधी घर बनाइसकेका रहेछन्। इन्जिनियर विजयकृष्ण उपाध्यायले भनेजस्तै टेन्सन हटाउनलाई गाउँमा आएका इन्जिनियर, तालिम प्राप्त र अनुभवी कर्र्मीको सल्लाह लिएरै एक तले घर बनाएको सबिनाले सुनाइन्। माघको अन्तिम साता म उनको घर पुगेको थिएँ। रातो रङ्ग लगाएको चिटिक्क परेको नयाँँँँँँँ घरको आगँन बढार्दै राजेशले भने, झ्याल र ढोकाबीचको गाह्रो कम्तिमा पनि २ फिट राखेको छु। गाउँमा आएका इन्जिनियरले पनि त्यही भन्नु भो अनि रेडियोमा पनि एकजना इन्जिनियरले उही कुरा भने त्यसपछि त्यो गर्नु उपयुक्त रहेछ भन्ने लाग्यो।
सबिनाको छिमेकी कुमार ढकालले पनि भूकम्पपछि नयाँ घर बनाइसकेका रहेछन्। शिक्षक कुमारले नयाँ घरमा पुरानै घरको झ्याल ढोका प्रयोग गरेका छन्। उनकी श्रीमती यसोदाले हाँस्दै भनिन्– खर्च कम लागोस् भनेर यो यसो गररेको इन्जिनियरलाई सोधेर। कुमार फेरि बोले– हेर्नुस्, म रेडियो पत्रपत्रिका सुन्छु, पढ्छु, गाँउमा आएका इन्जिनियरसँग पनि छलफल गछु। प्रायः जानाकारी छ घर बलियो बनाउने कुरामा। यो गाविसमै पहिलो घर मैले बनाएको भएर हँुला, अरु छिमेकी र आफन्त पनि मसँग सल्लाह माग्न आउनुहुन्छ। घर बनाउँदा के कुरामा ध्यान दिने, खर्च कति लाग्छ भन्ने मुख्य चासो हुन्छ उनीहरूको।
यसरी नागरिकको ठयाक्कै आवश्यकता थाहा पाएर त्यही अनुसार समाधानका उपाय सम्प्रेषण गनु रेडियो र श्रोता दुबैका लागि फाइदाजनक छ। तर शुरुमा इन्जिनियर बिजयकृष्णले भनेजस्तै चर्केका, मर्केका र ढल्केका घरलाई कसरी मर्मत गर्न सकिन्छ भन्ने जस्ता जटिल प्राविधिक कुरा रेडियोबाट प्रशारण गर्दा निकै ध्यान पुप्याउन जरुरी छ।
हामीलाइ थाहा नै छ, समस्या परेका बेला आफूजस्तै समस्यामा परेकाको कथा र उनीहरुले त्यो समस्याबाट जुध्न गरेका सकरात्मक प्रयास एकअर्कालाई सुनाउँदा अघि बढ्न थप हौसला र प्रेरण मिल्छ। अहिले गाउँ गाउँमा घर बनाउन दक्ष कमदारको अभाव छ भनेको सुन्छांै र देख्छौं पनि। रामेछाप मन्थली बजारबाट हाटेचौर जाँदै गर्दा बाटो छेउमै खेचबहादुर खड्काले सिमेन्टको घर बनाउँदै रहेछन्।
तपाईंले चै कर्मी कहाँबाट पाउनुभो? मैले सोधिहालें। उनले सजिलो उत्तर दिए– भुकम्प त १४ वटा जिल्लामा मात्र गएको नि बाँकी केही नभएका जिल्लाबाट मगाउँदा भइहाल्यो नि। उनले मकवानपुर जिल्लाबाट कर्मी बोलाएका रहेछन्। मकवानपुर पनि प्रभावित १४ जिल्ला भित्र पर्छ तर उनले आपm्नो सम्पर्क मिलाएर कमदार झिकाए। त्यहाँ काम गर्ने कर्मीले केही कुरा राख्न खाजे, ‘पारिपट्टि डाँडा तिर देखाउदै भने उ त्यहाँबाट मान्छे आएका थिए बोलाउन। घर बनाउन मान्छे पुगेन अरे। अब यहाँ थालेपछि बिचैमा छोडेर जानु नि भएन। अब सकेर जाने विचार छ। अझ समुदाय मिलेर पालैपालो घर बनाए टाढाबाट हामी आउन नै पर्दैन थियो।’
विपत्पछिको पुन निर्माणमा मानिसको घर मात्र होइन मन समेत भत्किएको छ। आफन्त गुमेका छन, कति अपाङ्ग भएका छन्। सबैलाई हुने घर कसरी बनाउने, सरकारले दिने अनुदान रकम, बैंकले दिने सहुलियत कर्जा लगाएतका अत्यावश्यक सूचना सम्प्रेषण गर्न रेडियोले ठूलो भुमिका खेलेको छ र इन्जिनियर विजयकृष्ण उपाध्यायले भनेजस्तै रेडियो ठयाक्कै डाक्टर नभए पनि डाक्टर र प्रभावितबीचको सेतु भने पक्कै बन्न सक्छ।