ईश्वरको मार्केटर!

  • Get News Alerts

united
tata

कोरियाको दोङ्देमुन भन्ने ठाउँ 'मिनी नेपाल' हो। नेपालीले अड्डा जमाएका छन्। यसको एक कुनालाई नेपाली स्वादमा 'रत्नपार्क' भने पनि हुन्छ।

यहाँका लोकल कोरियनहरू नेपालीको अघि छायाँमा पर्छन्।

सडकका फुटपाथे कोरियन व्यापारीले नेपालीमा सम्बोधन गर्छन्, 'नमस्ते! सस्तो छ। लैजानुस्।'

भूइँचालोको रिपोर्टिङ गर्न आएको भारतीय मिडियाले ठमेललाई 'मिनी इन्डिया' भनिदियो। हामीले चित्त दुखायौं। दोङ्देमुनलाइ 'मिनी नेपाल' भन्दा कुनै कोरियनले चित्त दुखाउँछ कि दुखाउँदैन? भन्न सक्दिनँ। बुझाइमा फरक पर्ने कुरा हो।

सलनालको बेला छ (लुनार क्यलिन्डरको नयाँ वर्ष)। मध्य हिउँद हो। कोरियाले लामो विदा मनाउँदैछ। धेरै नेपालीको गन्तव्य दोङ्देमुन हो।

नेपालीको मौलिक भीडभाडले पाइला टेक्ने ठाउँ छैन।

जहाँ उभिन मन लाग्यो त्यहीँ उभिनु, उभिएरै थुप्रै मिनेट साथी कुर्न सक्नु, उभिएर दु:खसुखको गफ गर्न सक्नु नेपालीको मौलिकता हो।

म पनि यहि कोलाजमा कतै छु। म पनि यही मौलिकताको एक टाउको हुँ। दुई पाइला। एक मुटु हुँ। एक दु:ख। एक सु:ख हुँ।

यतिका मान्छेको भीडभाडमा मलाई एक धार्मिक मार्केटरले देख्यो।

च्याप्प समात्यो। सानामा मैले  पोठिया माछा समातेझैं।

मभित्रको निराशा देख्यो। उदासी देख्यो। दुख्ख देख्यो। मेरो हालखबर सोधेन। मेरो देश सोधेन। मेरो घर ठेगाना सोधेन। मेरो भाषा सोधेन।

सिधै भन्यो, 'ईश्वरमा विश्वास राख। खुसी हुन्छौ। मलाई पाँच मिनेट समय देउ। म खुसी हुने बाटो देखाउँछु! ईश्वरसँगको बाटो।'

मसँग समय टन्नै छ। तर यो मार्केटरलाई पाँच मिनेट समय दिउँ कि नदिउँ! दोधारमा परें।

म यस्ता विचारहरू सुन्छु। सुन्दा मजै लाग्छ।

समय दिने भएँ।

कुनै हतार थिएन। कसैले मलाई कुरेको थिएन। साथीसँग भर्खरै छुटेर एक्लो बनिसकेको थिएँ। 'हुन्छ' भनें।

उसले कुरा अगाडि बढायो।

मलाई कसरी खुसी हुने भनेर धार्मिक (आध्यात्मिक हैन) टिप्स दिन थाल्यो। सहरमा ईश्वर बस्ने ठेगाना दियो। विदाको दिन ईश्वरको निवासमा आइज भन्यो।

मैले हुन्छ भन्ने संकेतमा मुन्टो हल्लाएँ।

अरू अरू नेपाली मान्छे मलाई हेर्न थाले।

मलाई लाज लाग्न थाल्यो।

अनुहारमा दुख्ख देखेरै धार्मिक मार्केटरले मलाई पछ्याउँदै छ भन्ने थाहा पाउने मान्छे थुप्रै भए।

साँच्चै मेरो अनुहारमा चमक छैन। उदास देखिएको छु। टाउको खुब दुखेको छ। साथीलाई बीच बाटामै छाडेर घर फर्कँदैछु।

तर म जस्तो देखिएको छु, ठिक त्यस्तै उदास, दु:खी र निराश छैन।

देखिनु र हुनुमा फरक छ।

किन फरक?

कारण भन्छु।

मार्केटरहरु  सृजनशील हुन्छन्। उनीहरुको खोपडी निकै एक्टिभ हुन्छ। प्रत्येक मिनेट नयाँ कुरा सोच्न सक्छन्। स्मार्ट देखिन्छन्। आर्टिफिसियल हुन्छन्। मुस्कुराइरहन्छन्।

देखाउनकै लागि भए पनि शानदार जिन्दगी बाँच्छन्। एकदमै नजिकका साथी संगतीयाले समेत उनिहरुको स्मार्ट शैलीको मेसो पाउन सक्दैनन्। सब कुरा शानदार देख्छन्। चलाख हुन्छन्। पहिला आफू तल परेजस्तो गर्छन्। भ्रम छर्छन्, त्यसपछि माथि चढ्छन्।

वस्तु वा सेवाको सम्भावित प्रयोगकर्ता को हुन सक्छ सजिलै चाल पाउन सक्नु यिनीहरूको  मुख्य 'खुबिलिटी' हो। जस्तो- अहिले यो धार्मिक मार्केटरले मेरो अनुहारको चाल हेरेर ममाथी आफ्नो धार्मिक संगठनको आस्था लाद्न खोजिरहेको छ।

म भूतपूर्व मार्केटर हुँ। यसकारण यी सबै कुरा सत्य हुन्। मैले भोगेको छु।

मैले पनि केही मान्छेलाई ठगेँ हुँला। कुनैदिन मभित्र इमान्दारिता हुर्कन सक्यो भने लेखौंला।

यी धार्मिक मार्केटर पनि स्मार्ट देखिएका छन्।

मैले मार्केटिङ पेशा छाडेको धेरै भयो। तर कुनै मार्केटरसँग कुरा गर्दा मलाई अझै मजा आउँछ।

मेरो अहम चाहन्छ, 'मसँग कुरा गरिरहेको कुनै मार्केटरलाई म पनि भूतपुर्व मार्केटर हुँ भन्ने थाहा होस्।'

मेरा एक मित्र भूतपुर्व रेडियो/टेलिभिजन कार्यक्रम सञ्चालक हुन्। उनी आफ्नो पेशा बेला- बेला साथीभाइ बीच उत्खनन गरिरहन्छन्। जसरी म 'गुड मार्केटर' हुँ भनिरहन्छु।

यसकारण पनि धार्मिक मार्केटरलाइ मैले समय दिएको हुँ। धर्म सम्बन्धि चासाे भएर हैन।

मान्छे आफूभित्रको अहम खोज्छ। म ठाउँ-कुठाउँमा मान्छे हुन खोज्छु।

मैले दुई मिनेट कुरा सुनें।

उसले ग्याजेट खोलेर छोटो भिडियो देखाउन खोज्दै थिएँ।

मैले फुत्केर हिँड्ने उपाए सोच्न थालें।

अरू मान्छेले मलाई हेरे। मार्केटरले साँच्चै दु:खी मान्छे भेट्यो भनि ठाने।

'तपाईंलाई थुप्रै धन्यवाद! तपाईंहरुको कुरा मान्छु। म दु:खी मान्छेलाई कुरा बुझाउनु भयो। थुप्रै धन्यवाद! टाढा जानु छ। समय कम छ। बस छुट्न सक्छ। बरु तपाईंहरुसँग कुनै बुकलेट भए दिनुस्। पढ्छु। कुरा बुझ्छु। ईश्वरले तपाईंहरुसँग भेट गराउनु भयो। म खुसी भएँ', मैले बडो शीष्टतापूर्वक भनें।

मैले यस्तो बेला मुस्कुराउने अभ्यास गरेको छु।

म मुस्कुराएँ। एकदम स्वादिलो मुस्कान।

उसले मेरो मुस्कानको रिन तिर्यो।

हिँड्ने बेला अभिवादन गरें।

यस्तोबेला के भन्नु पर्छ, के गर्नु पर्छ, मार्केटिङ गर्दा सिकेको थिएँ। आज काम लाग्यो।

'देख्नु भो त तपाईंलाई कति चाँडै ईश्वरको प्रभाव पर्यो। तपाईं खुसी हुन थालिसक्नु भो!' मलाई प्रभाव पारेको भ्रम उसलाई पर्यो।

म पछाडि नफर्की छिटो-छिटो मेट्रो स्टेसनतिर हिँडें।

सलनाल कोरियाको ठुलो चाड हो। मेरा हात खुट्टाका सिक्री यस्तै चाडपर्वको बेला खुल्छ। दैनिक कामबाट आफूतिर फर्कन्छु। एेना हेर्छु। रमाउँछु।

थुप्रै ठाउँ यात्रा गर्छु। मलाई यात्राका प्रत्येक पाइला मन पर्छ। पैतालाबाट उठ्ने संगीतले आनन्द दिन्छ। आफ्नै स्वाशको ध्वनी सुन्छु। आफ्नै आँखामा आफैंलाई खोज्छु। आफैंलाई छुन्छु। आफैं उत्तेजित बन्छु। साथी मिले भने पैदल हिँड्छु। खान्छु। पिउँछु। नाच्छु। रमाउँछु।

साथी मिलेनन् भने एक्लै हिँड्छु। एक्लै खान्छु पिउँछु। एक्लै नाच्छु रमाउँछु। चार सय किलोमिटर टाढाको साथी भेट्न यसपाली पनि पुगें।

विशेष: कविहरू भेट्छु। उनीहरूसँगै कुरा मिल्छ। खुसी मिल्छ। हल्लाको रिदम मिल्छ।

कवि जीवन खत्री हत्तपत्त बाहिर निस्कँदैनन्। भित्रै बस्छन्। भित्रै बसेर सुन्दर कविता लेखिरहन्छन्। उनलाई भेट्नु परे साथीहरू उनकै घर पुग्छन्। मिठो खानेकुरा बनाउँछन्। आतिथ्य स्वागतका सोखिन हुन्। मलाई साथीहरु भेटिरहनुपर्छ। बारम्बार उनकोमा जान्छु।

कवि बोनम प्रताप पनि हिँड्दैन। ऊ सुत्नमा सोखिन हो। घरमै सुत्छ। तर भेट्न जहाँ बोलायो त्यहीँ आउँछ। सजिलो छ।

पत्रकार लिलु डुम्रे, गीतकार गणेश पौडेल मसँग मिल्छन्। जतिखेर जहाँ भन्यो त्यहीँ जान तयार।

हामी रातभर हिँड्न सक्छौं। खल्तीमा रूमाल कोचिएझैं कोठाको आयतनमा कोचिन सक्दैनौं। अरू पनि थुप्रै साथी छन्। हाम्रो रूचिको रेखामा हिँड्ने।

यस वर्षको लुनार नयाँ वर्ष जीवन खत्रीको कोरिया निवासमा मनाउने भयौं। 

बोनम, गणेश, लिलु, म र भाइ सुमन उनकोमा पुग्यौं अबेर राती।

झन्डै आठ घण्टा लगातार खानेकुरा खान सक्यौं। हल्ला गर्न सक्यौं। बोल्न सक्यौं।

मैले केही गल्तीहरु गरेँ। कहिल्यै फोन नगर्ने साथीहरूलाई फोन गरें। बोल्दा आवाज सम्पादन गरिनँ।

पहिलोपल्ट मेरो रफ स्केच आवाज साथीहरूले सुने।

रमाइलै भयो। साथीहरु असल छन्। एक मजदुर स्वतन्त्र भयो। त्यही खुसीमा बोल्यो भनि ठाने होलान्। नठानेको भए मुड ठिक भएको बेला सम्झाउँला।

म सम्झाउन सक्छु। शत्रुलाई समेत कुरा बुझाउन सक्छु। साथीलाई किन नसक्नु!

साथी हुन्, सम्झाउँदा सम्झिन्छन्। एक मजदुर खुसी हुँदा कुन हदसम्म गर्न सक्छ? मैले गरें।

बिहान सुतेका थियौं, मध्यान्ह उठ्यौं। उठेपछि खाना खायौं।

खाना खाएपछि कवि जीवनलाइ निवासमै छाडेर हामी दोङ्देमुन तिर हिँड्यौं। उठ्दा ठिक-ठाक थिएँ। खाना खाँदा पनि ठिक-ठाक थिएँ। जीवनलाई राम्रोसँग बस्नुस् है भनेर हिँड्दासम्म ठिक-ठाक थिएँ।

तर घाम आधा आकास भएपछि मेरो टाउकोमा खाइपिईको असर जम्यो। हिउँ पोखरीझैं।

मेरो टाउकोको सानो खोपिल्टोमा सेउलको मेट्रो गोलचक्कर मार्‍यो।

दिउँसो त पुरै बिरामी। मैले साथी हापिदिएँ। घर फर्कने निर्णय गरें।

घुम्न निस्केको मान्छे बीचबाटोबाट साथी हापेर घर फर्कंदा कति दु:खी हुन्छ! म दु:खी भएँ।

त्यो धार्मिक मार्केटरले मेरो अनुहार दोङ्देमुनमा देखेको हो। जहाँ खपिनसक्नु टाउको दुखाइपछि साथी हापेर घर फर्कन मेट्रो स्टेसन भित्र छिर्दै थिएँ।

मेरो तालु खुइलिएको छ। तर कपाल पालेको छु। चाउचाउ जस्तो आकारको कपाल पाल्दा म कस्तो देखिएको छु! ठिक-ठाक एेनाले बाहेक अरुले हुलिया बताउन सक्दैन।

जीवनमा एकैपल्ट मात्र टाउकोमा लामो लट्टा पार्ने रहर छ। लट्टाको रहरमा कपाल नकाटेको हुँ।

म मोटाएको छु। पचास किलोबाट पैंसठ्ठी किलो पुगेँ। तर साथीहरु भयंकर दुब्लाइस् भन्छन्। टाउकोको छाडा कपालले दुब्लो देखिएको छु।

म कपाल कोर्दिनँ। तेल-जेल लागाउँदिन। कोठामा काइँयो छैन।

म उदास देखिनुको कारण,  यही लट्टा सुरू हुन लागेको कपालले होला। धार्मिक मार्केटरले मलाई हैन, मेरो कपाललाई उदास देखेको हुनुपर्छ। 

उसले मेरो हातमा दश हजार वानको एक पत्ता पनि देखेको थियो।

मेट्रो कार्डमा पैसा सकिएछ। रिचार्जको लागि बैंक एटिएमबाट पैसा निकालेको थिएँ। जसलाई एकदमै प्रेमले हातमा च्यापेर हिँडेको थिएँ।

यस्तो चाडबाडको बेला पनि हातमा दश हजार वान मात्र बोकेर हतार-हतार हिँड्नुको बिम्ब हुन सक्छ, भर्खरै काम छाडेको! ऋणमा डुबेको! व्यवहारले थिचिएको आदि-इत्यादि!

त्यो मार्केटरले मलाई हैन, मेरो हातमा भएको दश हजार वानको सिङ्गल पत्तालाई दु:खी देखेको हुनुपर्छ।

कालो आभरकोट र जिन्स पाइन्ट लगाएको छु। हिँड्ने बेला हतार थियो। भुलवस कालै जुत्ता लगाएछु।  झोला पनि कालै बोकेको छु। मैले लगाउने चस्माको फ्रेम पनि कालै छ।  मेरो कपाल पनि कालै छ। अनुहारको छाला पनि कालै छ। 

मलाई पुरै कालो पहिरनमा देखेको त्यो धार्मिक मार्केटरले कुनै दु:ख मनाउन हिँडेको मनुवा पो ठान्यो कि!

मेरो घरमा बाले कालो कपडा पटक्कै मन पराउनु हुन्न।

'यो वैरागीको पहिरन हो। यो उदासीको पहिरन हो। उज्याला कपडा लगाउनुपर्छ। आत्मा उज्यालो हुन्छ। लुगाले समेत आत्मामा असर गर्छ। विश्वासमा असर गर्छ। आत्मबलमा असर गर्छ,' बा यसो भन्नुहुन्छ।

म मान्दिनँ।

कपडा किन्दा मेरो आँखामा कालै रङ पर्छ।

मसँग सबैभन्दा धेरै कालै रङका कपडा छन्।

हुँदा-हुँदा मैले प्रयोग गर्ने ग्याजेटहरू समेत कालै छन्। ग्याजेटमा प्रयोग भएका वालपेपरहरू समेत निठुर काला छन्।

मैले लगाउने भित्री वस्त्र पनि कालै छ।

बाले त्यसो भन्नु र धार्मिक मार्केटरले हजारौंको भीडमा मलाई समात्नु एक संयोग मात्रै हैन कि!

म बाले भनेको धेरै कुरा मान्छु। एकपल्ट मैले बाको अघि कालो कपडा फ्याँकेर 'अब कहिल्यै लागाउँदिन' भनेको थिएँ। तर घर छाडेर हिँडेपछि बाको कुरा मानिनँ। सबैभन्दा धेरै कालै रङका कपडा किनें।

बाले भनेको नमानेकै कारण त्यो धार्मिक मार्केटरले मलाई दुखी देख्यो कि!

जे होस्! म धार्मिक मार्केटरबाट फुत्केर भागिसकेको छु।

जेसुकै होस्, मलाई कालो लुगा खुब सुहाएको छ। यो सत्य हो। मलाई प्रेम गर्ने मान्छेले यो सत्य थुप्रैपल्ट भनेको छ। म प्रेम र प्रेमको सत्यलाई मान्छु।

म धार्मिक मार्केटरको अाैंलाबाट फुत्केर भागेपछि  मेट्रोको गहिरो सुरुङमा कवि बोनमलाई भेटें। जोसँग अघि छुटेर एक्लै भएको थिएँ। मौलिक नेपाली पारामा साथीहरूलाई गफ दिइरहेको थियो।

बुकलेट उसैलाई थमाएँ।

'ईश्वरले दिनुभएको ला पढ्।'

म मेट्रो चढेँ।

मेरो दिमागमा एउटै कुरा घुमिरह्यो।

'म निरास छैन। दुखी छैन।

तर किन त्यो मार्केटरले मैलाई समात्या?

त्यहाँ अरु पनि थुप्रै नेपाली थिए। अरू विदेशीहरु पनि थिए।

किन मैलाइ खुसी हुन 'ईश्वरको शरणमा पर्' भन्यो?

उत्रने स्टेसन भुलें। फेरि उल्टो फर्केर आएँ। फेरि भुलें।

मैले दुईपल्ट स्टेसन भुलें।

फेरी सम्झें, 'मलाई कालो लुगा खुब सुहाएको छ। यो सत्य हो। मलाई प्रेम गर्ने मान्छेले यो सत्य थुप्रैपल्ट भनेको छ।

म प्रेम र प्रेमको सत्यलाई मान्दछु।

बेलुका अबेर घर आएर धार्मिक मार्केटरको ईश्वरलाई गुगल गरें।

अहिले गुगलमा के भेटिँदैन?

ईश्वर भेटियो।

नोट:

मार्केटरले 'ईश्वर' शब्द उच्चारण गरेको थिएन। उसले आफ्नो धार्मिक संगठनमा प्रयोग हुने ईश्वरको निजी नाम भनेको थियो।

यहाँ उसले प्रयोग गरेको ईश्वरिय नाम प्रयोग गर्न सक्दिनँ। म कुनै धर्मसँग आक्षेप राख्दिनँ।

म धार्मिक स्वतन्त्रता चाहन्छु।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट