कुनै पनि लेखकलाई अक्षरमार्फत् चिन्नु र त्यही लेखकसित आमनेसामने हुनुमा केही भिन्नता पक्कै हुन्छ। तर कस्तो र कति भिन्न हुन्छ? म आँक्न सक्तिनँ। सायद, चित्रमा देखिरहेको ठाउँमा साँच्चिकै घुम्न गएजस्तो। मलाई थाहा छैन, मेरा पाठकहरुले मलाई मेरा शब्दहरुमा कसरी चिन्छन् र मसित आमनेसामने हुँदा मलाई कसरी बुझ्छन्। यसरी शब्द वा चित्रका व्यक्ति वा ठाउँहरुको वास्तविक दृष्टिगोचरमा केही आयामहरुको बढोत्तरी पक्कै हुन्छ।
यहि कुरा मेरो दिमागमा खेलिरहेथ्यो।
भारतका बेस्टसेलर लेखक दुर्जय दत्तलाई यसपटकको नेपाल लिटरेचर फेष्टिभलमा आमन्त्रण गरिएको थियो। उनका केही किताब पढेर आफूलाई उनको पाठकको हैसियतमा राखेको थिएँ। मलाई उनको लेखाइका केही पाटाहरु भने मन पर्थे। मलाई हरेक लेखकको केही न केही कुरा मन पर्छ। दुई–तीन सय पेजको किताबमा दुई–तीन अनुच्छेद घतलाग्दो भयो भने, त्यो पुस्तक र लेखक मेरा लागि सार्थक हुन्छन्।
तर दुर्जयले लिटरेचर फेस्टिभलमा भनेका केही कुराले उनीप्रतिको प्रभावका केही खुड्किलाहरु चढेँ। उनको परिचयका केही पत्रहरु खुले। फरक सायद यही हुँदो रहेछ, गुलाबको चित्र देख्नु र गुलाबको बोट नजिकै गएर गुलाब महसुस गर्नुमा।
वास्तवमै प्रेरित भएँ म उनका केही घतलाग्दा कुराहरु सुनेर। त्यसो त दुर्जय उमेरले मभन्दा कान्छा छन्। तर प्रभाव भन्ने कुरालाई उमेरको अंकले केही फरक नपार्दो रहेछ।
म केही लेख्नका लागि जहिल्यै विशेष परिस्थितिहरु खोज्छु। मैले लेख्नुअघि चाहिने अनुकुलताहरुको लम्बेतान सूची बनाएर राखेको छु। जस्तो कि ‘चिया खाएपछि लेख्छु,’ ‘खाना खाएपछि लेख्छु,’ ‘फलानो ठाउँ गएर आएपछि लेख्छु,’ ‘आइतबारदेखि लेख्छु,’ ‘यसो गरेपछि लेख्छु,’ ‘उसो गरेपछि लेख्छु,’ ‘यहाँ लेख्छु,’ ‘त्यहाँ लेख्दिनँ’ आदि–आदि। सधैँजसो नाकनिके र गनगन स्वभावले लेखाइ स्थगन गरिरहियो, फ्याँकिरहियो। केही समयपछि अफसोसका सुस्केराहरु।
दुर्जयले भने, ‘यी सब नलेख्ने बहानाहरु हुन्। ल्यापटप अगाडि राख्ने र लेख्न सुरु गर्ने। हुन सक्छ सुरुका केही लेखाइहरु आफूलाई मनपर्दो नहुन सक्छन् तर विस्तारै लेख्दै गएपछि, ती कुरा पछि आफूलाई मन पर्न थाल्छन्। लेख्नका लागि आफूमा विश्वास हुनुपर्छ। कुनैपनि परिस्थित, परिवेशलाई कुरिरहनु पर्दैन।’
त्यसैले त उनी वर्षमा न्यूनतम एउटा किताब लेखेर प्रकाशित गरिरहेछन् र लाखौँ पाठकका मन जितिरहेछन्।
यता म आफू दिउँसो दुई बजे कसैलाई समय दिएको छु भने म त्यसदिन दिनभरि लेख्नै सक्तिनँ। त्यहाँ गइहाल्नुपर्छ, लेख्दा लेख्दै अपुरो हुन्छ, भ्याइन्नँजस्ता नकारात्मक कुराहरुले मनलाई निर्चोछन् र आफूभित्र भएको थोर–बहुत जोश अनि जाँगर चुहिएर सकिन्छ। पत्रिकामा पठाउनु पर्ने लेखसमेत म अन्तिम घडीमा पठाइरहेको हुन्छु। मजस्तो अल्छी लेखकका लागि उनको यो कुरा पक्कै पनि प्रेरणादायी लाग्छ। लेख्न औधी मन लाग्ने तर केही शुरु नै गर्न नसकिरहेकाहरुका लागि यो कुराले पक्कै केही उर्जा दिन सक्छ।
फेस्टिभलमा उनका यी र यस्तै घतलाग्दा कुराहरु सुनिसकेपछि उनीसित मेरो भेट भयो। अजित बराल दाइले उनीसित परिचय गराइदिनुभो, ‘उहाँचाहिँ सुबिन भट्टराई, नेपालका बेष्ट सेलर लेखक।’ मलाई लाज लाग्यो बेष्ट सेलर शब्द आफूप्रति परिलक्षित भएकाले। तर लाजको भारले धेरै बेर थिचिरहन पाएन।
म दुर्जयका आँखा पढिरहेको थिएँ। उनका आँखीभौंै उचालिए र यतिञ्जेल उस्तो ध्यान नदिएका उनी मतिर अलिक बढी ध्यान दिएर भने, ‘ओहो ! के तपाईंका पुस्तक अंग्रेजीमा अनुदित छन्? म पढ्न इच्छुक भएँ।’
‘छ नि,’ म पुरै उत्साहित हुँदै भनेँ, ‘समर लभ, मेरो पुस्तकको नाउँ। म पक्कै यहाँलाई उपलब्ध गराउँछु।’ पहिलो भेटमै, उनी मेरो किताबप्रति त्यति धेरै इच्छुक भएको देखेर म चकित भएँ। के उनको ठाउँमा म भएको भए त्यस्तै गर्थें?
उनलाई ‘समर लभ‘ को अंग्रेजी संस्करण हस्ताक्षर गरेर थमाइदिएँ र एक क्लिक फोटो खिचेर बिदा भएँ।
बेलुकी फिस्टेल लजको ककटेल डिनरमा श्रीमति अवन्तिकासहित दुर्जय आइपुगे। ‘के पिउन प्रिफर गर्नुहुन्छ?’ उनको रित्तो हातलाई मेरा आँखाले धेरै बेरसम्म झेल्न सकेन। सोधिहालेँ।
उनले गालामा लोभलाग्दो डिम्पल पार्दै भने, ‘ह्वाइट वाइन।’
त्यसपछि हामी केहीबेर गफिन लाग्यौँ। फिस्टेलको चौरपट्टिको भागमा आगो बलिरहेको थियो। अनि केही तल र पर फेवातालको पानी मधुरो गरी टल्किरहेको थियो। त्यही आगोको छेउमा उभिँदै हामी बोल्यौँ। उनले मलाई केही प्रश्नहरु गरे। सायद उनी जान्न चाहन्थे मेरा बारेमा।
‘तपाईंका पुस्तकहरु कति बिक्री हुन्छन्?’ उनको पहिलो प्रश्न।
मैले नढाँटीकन जवाफ दिएँ, ‘यस्तै पचास हजार।’
उनी छक्क परे। फेरि सोधे, ‘नेपालको पपुलेसन कति छ?’
मेरो जवाफ सुनिसकेपछि उनले भने, ‘यति थोरै पपुलेसनमा यति धेरै किताब बिक्री हुन्छ?’
‘किन दुर्जय? तपाईंहरुको हुन्न र?’
उनले वाइनको गिलासबाट एक घुट्का निले अनि भने, ‘किताब त धेरै बिक्री हुन्छ, तर हाम्रो पपुलेसन अनुसारको कहाँ हुन्छ र?’
दुर्जयले अर्को प्रश्न फेरि मलाई गरे, ‘बाटामा हिँड्दा प्रशंसकहरु कति भेटिन्छन्?’
‘अलिअलि भेटिन्छन्। विशेषगरी काठमाडौँमा। पैदल हिँड्दा धेरैजसो भेटिन्छन्। कतिले चिन्छन् र फोटो खिच्छन्। कतिले बेलुकी फेसबुक, इन्स्टाग्राम वा ट्वीटरमा मेसेज पठाउँछन्,’ मैले जवाफ दिएँ, पुछारमा यो प्रश्न टाँसेर, ‘अनि तपाइँको नि?’
‘सानो सहरमा ज्यादा भेटिन्छन्,’ उनले अर्को घुट्को वाइन निल्दै भने, ‘ठूला सहरमा त भीडमै हराइन्छ।’
लगत्तै उनको फेरि अर्को प्रश्न आयो, ‘तपाईंले आफ्ना किताबको चलचित्र बनाउनेबारेमा केही सोच्नुभएको छ?’
मैले ओठमै भएको जवाफ एक सेकेन्ड पनि बिलम्ब नगरी दिइहालेँ, ‘बन्दैछ। भरखर कलाकार फाइनल भएको छ। अब चाँडै सुटिङ सुरु हुन्छ।’
यसपटक उनले अलिक गम्भीर प्रश्न गरे, ‘तपाईंका किताब यति धेरै किन बिक्छन्? के लाग्छ?’
‘प्रेम लेख्छु, एउटा कारण त्यो हुनुपर्छ। अर्को भाषा...!’
‘सुबिनको भाषामा मिठास छ। सामान्यतया यस्ता रोमान्टिक उपन्यास लेख्नेहरुको भाषा सशक्त हुँदैन। सुबिनको साहित्यिक छ,’ यो चाहिँ अजित दाइले थपिदिए। दुर्जयले केही गहिरो कुरा बुझेझैँ गरी टाउको तलमाथि गरेर हल्लाए।
कुरै कुरामा मैले दुर्जयलाई भनेँ, ‘मभन्दा पनि दुर्जय, मेरी श्रीमती तपाईंको ठूलो प्रशंसक हुन्। के उनीसित एक मिनेट फोनमा बोलिदिनुहुन्छ?’
उनले फेरि गालामा डिम्पल बसाउँदै भनेँ, ‘वाउ, हो र? किन नगर्नु? पक्कै पनि।’
करिब एक मिनेटजति फोनमा कुरा गराइदिसकेपछि दुर्जयकी श्रीमती अवन्तिका हाम्रो छेउमा आइन्।
उनले आफ्नी श्रीमतीलाई पनि मसित परिचय गराइदिए। सन् २००४ को मिस उत्तराखण्ड भैसकेकी उनकी श्रीमती अवन्तिका २०१७ मा पनि यस्ती लाग्थिन्, मानौं भर्खरै कुनै अर्को ठूलो ब्युटी कन्टेस्ट जितेर ताजचाहिँ होटलमा छाडेर आएकी छन्। मैले उनीहरुको प्रेम प्रसंगका बारेमा आफूलाई सबै कुरा थाहा भएको बताएपछि दुवैजना थप उत्साहित भए। ओठभरि मुस्कान, अनि आँखाभरि एथेष्ट प्रश्न बोकेर उभिरहे।
उनीहरुले सोधुन्, त्योभन्दा अघि मैले नै भनेँ, ‘अलिअलि रिसर्च गरेको थिएँ, दुर्जयका बारेमा केही लेख्नु थियो नि!’
‘भारतको बेष्ट सेलर लेखकको किताब नेपालका बेष्ट सेलरले नेपालीमा अनुवाद गरे कसो होला?’ अजित दाइले सम्भवतः ह्विस्कीको रमरममा भने।
यो प्रश्नमा दुर्जयको उत्साह फेवातालबाट बुरुक्क उफ्रेर एकैचोटी माछापुच्छ«े पुगेको हुँदो हो। दुर्जय मानौँ यसअघि फेवातालझैँ शान्त थिए, र यो प्रश्न उनको मनस्थितिमा ढुंगाझैं बर्सियो। उनको लवजको ग्राफ नै बद्लियो, ठीक समुद्रमा छाल आएजस्तै।
उनी एकदम उत्तेजित र पुलकित हुँदै भन्न लागे, ‘एकदम राम्रो हुन्छ। मेरो सबभन्दा राम्रो किताब टिल द लाष्ट ब्रेथ हो। अरुभन्दा यो किताब गर्दा राम्रो हुन्छ।’
अवन्तिकाले पनि सही थापिन्, ‘हो हो, टिल द लास्ट ब्रेथ बेष्ट अप्सन हुन्छ।’
म भने चुपचाप भएँ। ह्विस्कीले हलुका हानेको भएता पनि यो कुराको गाम्भीर्यले ग्वाम्मै गाँज्यो। दुर्जयको गिलास रित्तिइसकेको थियो।
चिसो हावा चलिरहेको थियो। आगोको छेउ छाड्न मन लागिरहेको थिएन। वरपर अरु लेखक, पत्रकार, सेलिब्रेटी, राजनीतिज्ञ, व्यापारी अनि आयोजकहरु आआफ्नो समूह बनाएर गफ गरिरहेका थिए।
पार्टी सकिएपछि उनीहरु होटलतिर लागे।
अवन्तिकाले जाने बेलामा फेरि भनिन्, ‘ल है, अनुवादको कुराचाहिँ सिरियस्ली सोच्नुहोला, टिल द लास्ट ब्रेथ।’
लिटरेचर फेष्टिभलको अन्तिम दिनमा भएको ग्रयाण्डी होटलको मनास्लु हलमा फेरि दुर्जय दम्पती उसै गरी भेटिए। यसपटक उनीहरुले मसित फोन नम्बर आदानप्रदान पनि गरे।
‘भारत घुम्न आउनुभो भने मलाई पक्कै कल गर्नुहोला, भेट्नुपर्छ।’ दुर्जयले भने।
‘पक्कै पनि,’ मैले प्रत्युत्तरमा भनेँ।
‘अनि अनुवादका बारे पनि सोच्दै गर्नुहोला,’ अवन्तिकाले भनिन् यो चाहिँ।
म मुस्कुराएँ मात्र। उनीहरुले मसित पोखरा बसाइकै अन्तिम बिदा मागे। भोलीपल्ट म पनि काठमाण्डौ फर्कँदै थिएँ। औपचारिकताका लागि दुवैलाई पालैसित हेर्दै मैले भनेँ ‘एकछिन गफ गरौँ न। पार्टी भर्खर त सुरु भएको छ।’
‘म प्रेग्नेन्ट छु,’ अवन्तिकाले आफ्नो पेटमा सुम्सुम्याउँदै भनिन्, ‘आराम गर्नुपर्छ। यहाँ धेरै बस्न मिल्दैन। ल बिदा है।’
दुर्जय गालामा डिम्पल, आँखामा कृतज्ञता, र मुटुभरि सम्झना (सायद) लिएर मनास्लु हलबाट बाहिरिए।
दुर्जयको ‘टिल द लास्ट ब्रेथ’ काठमाडौं फर्किएपछि पुरै पढेँ। मलाई राम्रो लाग्यो। दुई तीन पन्ना पढी नसक्दै तान्ने खालको कथा थियो। सरल भाषा। कथाको राम्रो बुनाइ। छोड्नै मन नलाग्ने। एक एक वर्षमा किताब लेखेर निकाल्ने दुर्जयको मैले पढेका अरु किताबभन्दा यो किताब उत्कृष्ट थियो।
हामी अक्सर लेख्ने चाहना भन्दा नलेख्ने बहाना बढी खोज्छौँ। दुर्जय बहानामा अल्झिने मानिस होइनन्। चाहनामा द्रुत गतिमा फड्किने मानिस हुन्। हरेक युवाले कम्तीमा उनको यो कुराबाट प्रेरणा लिन सके भने, मलाई लाग्छ, उसको झोलीमा सफलता ढिलो चाँडो पक्कै पनि पर्छ।