सधैंभरी सबैलाई हँसाउने मदनकृष्ण श्रेष्ठ दाइ र सात समुद्रपारबाट आएका याण्डीलाई सम्झेर म आज निकै भावुक छु।
केही दिनअघि मात्र पर्यटन बोर्डमा भएको कार्यक्रममा मैले दुवैलाई भेटेँ।
नातिनीलाई स्कुलबाट ल्याउन हतार भयो भन्दै मदन दाइ छिटो निस्किन लाग्नुभयो। हामी उहाँका फ्यान थियौँ फोटो खिच्न तम्सियौँ। उहाँले आफ्नो कलामार्फत् दिलाएको हाँसोका फ्यान थियौँ हामी। बोल्दाबोल्दै पनि उहाँ हँसाउन भ्याइहाल्नुहुन्छ। उहाँले सुनाउने किस्सा पनि रमाइला हुन्छन्।
तर, हिजो फोटो खिच्दा खिच्दै उहाँले यस्तो किस्सा सुनाउनु भयो, मेरो भक्कानो छुट्यो।
'मान्छेहरु, दाइलाई सन्चो छैन हो? भनि सोध्छन्। हो, बिरामी छु भन्छु, के भयो र? भनेर सोधिहाल्ने भए। पार्किन्सन्स भन्छु, अनि मुर्च्छा परेर हाँस्छन्, ठट्टा गर्यो भन्ठान्दा हुन्', उहाँले ठट्टाकै शैलीमा भनिहाल्नु भयो।
पार्किन्सन्स भनेको के हो थाहा नहुनेलाई पो ठट्टा हुन्छ। दाइलाई के बित्दो हो? दाइको कुरा सुनेर मेरै मन भक्कानियो।
दिमागका कोषिकाले डोपामिन भन्ने प्राकृतिक रसायन बनाउन नसक्दा यो रोग लाग्छ। डोपामिन शरीरलाई चलायमान बनाउन सहयोग गर्ने एक रसायन हो। सामान्यतया: यो रोग ५०/६० वर्ष उमेरका मानिसमा देखा पर्छ। यसले शरीरलाई निष्क्रिय बनाउँदै लैजान्छ। दिमाग सुस्त हुँदै जान्छ। बोली लर्बरिन्छ। अनुहारको चमक घट्न थाल्छ। शरीरका अंगहरुले बिस्तारै काम गर्न छाड्छन्। शरीरका मांशपेशी कडा हुँदै जान्छ। आठ-दस वर्षमा शरीर पुर्ण रुपमा अशक्त हुन्छ।
यस्तो रोगले दिनदिनै गाल्दै गएका मानिसका अघि पार्किन्सन्स भन्ने शब्द सुनेर मानिस हाँसे भने के होला? यसै पनि यो रोग लागेपछि आत्मविश्वास धरमराउँदै जान्छ र रिस उठ्न बेर हुँदैन।
म अचम्म पर्छु, मदन दाइले आफ्नो रिस र तनाव कहाँ लुकाएर हिँड्नुहुन्छ र अरुलाई हँसाइरहनुहुन्छ?
दाइ जानुभयो। उहाँलाई भेट्न पाएर याण्डी निकै खुसी भएका थिए।
लन्डनबाट मलाई भेट्न आएको याण्डी रेडियो पार्किज नामक अनलाइन रेडियो चलाउँछन्। त्यही एफएममा मलाई बोल्न सिकाउन भन्दै एउटा ल्यापटप, केही थान ब्याच, हेडफोनलगायत 'रेडियो पार्किज' लेखिएको टिसर्ट लिएर उनी आएका थिए।
बेलायत बस्ने नेपालीहरुले मदन दाइको कुरा गरिरहेको उनले सुनेका रहेछन्। त्यसैले मलाई सोधेका थिए। इमेल च्याटमार्फत मैले उहाँको बारेमा याण्डीलाई बताइदिएकी थिएँ। उहाँलाई पनि पार्किन्सन्स भएको छ भनेर मैले नै उनलाई भनेको थिएँ। उनले इन्टरनेट हेरेरै मदन दाइको 'डिबिएस' भन्ने अप्रेसन भएको समेत पत्ता लगाएछन्। त्यसैले त अस्ति नेपाल आउने वित्तिकै उनले मसँग उहाँलाई सोधिहाले।
याण्डीको बुवा पार्किन्सन्स रोगसँग लड्दालड्दै बितेका भएर उनी संसारभरका यस्ता रोगीहरुलाई माया गर्छन्। संसारका विभिन्न देशको पार्किन्सन्स संगठनमा गएर त्यहाँका पार्किन्सन्सका बिरामीका बारेमा बुझ्छन्। आफ्नो यस्तै अनुभव बाँड्न यसपाली उनी नेपाल आएका हुन्। नेपालपछि मलेसिया जाने सोच बनाएका छन्।
उनले त संसारभरका मानिस भेटेर यो रोगसँग लड्न बल दिँदै आएका छन्। म भने मदन दाइलाई हेरेर त्यो बल भेटाउँछु।
केहि वर्षअघि जब मैले पहिलो चोटी मदन दाइलाइ भेटेँ, त्यतिबेला उहाँ सुटिङमा हुनुहुन्हुन्थ्यो।
दाइलाई पनि मलाईजस्तै पार्किन्सन्स लागेको छ भन्ने थाहा पाएर मैले उहाँको फोन नम्बर खोजेकी थएँ।
'तपाईंसँग भेट्न मन लागेको छ,' आफ्नाबारे बताएपछि मैले भनेकी थिएँ। दैनिक जीवन मुस्किल हुँदै गएपछि मैले आफूलाई दिन प्रतिदिन एक्लो महसुस गर्दै थिएँ। मेरोजस्तो रोग लागेको मान्छे नभेटेको भएर हो कि? मदन दाइलाई पनि मलाई जस्तै रोग लागेको थाहा पाएपछि नभेट्दै मेरो एक्लोपन निकै घटेको महसुस भएको थियो। अरु 'फ्यान' हुन्छन्। मैले साथी मानेँ।
उहाँले आफुलाई जस्तै रोग लागेको थाहा पाएपछि मलाई सुटिङ स्थलमै बोलाउनुभएको थियो।
'यति सानो उमेर मा नी लाग्दो रैछ है?' नजिकै आएर उहाँले मलाई भन्नुभयो। म त यसै पनि भावुक भैहाल्थेँ। उहाँलाई पनि दु:खी देखेँ। यस्तो रोग लाग्दा लाग्दै पनि उहाँले आफ्नो काम छोड्नुभएको छैन। उहाँ रोगसँग लडिरहनुभएको आफ्नै आँखाले देखेपछि मलाई झन् धेरै बल मिलेको थियो।
'विदेशतिर त मेरो उमेरमा हाम्रोजस्तै रोग लागेका धेरै छन् दाइ', मैले भनेकी थिएँ, 'नेपालमा भने यस्तो रोग लाग्ने मेरै उमेरका कसैलाई भेटेकी छैन,'
आधा घण्टाजस्तो उहासँग गफ गरेर म निस्किएँ।
त्यसपछि पार्किन्सन्ससम्बन्धि एउटा कार्यक्रममा बोलाउन खोजेँ। उहाँ बाहिर हुनुहुन्थ्यो।
अस्ति भने उहाँ आउनुभयो।
केही दिनअघि उहाँलाई मैले नेपाल लिटरेचर फेस्टिभलको लाइभमा देखेकी थिएँ। हास्य प्रस्तुति दिनुभएको थियो। ठिकै देखिनुहुन्थ्यो। अपरेसन पछि ठिक हुनुभएछ जस्तो लागेको थियो।
हाम्रो कार्यक्रममा आउँदा त उहाँ निकै ढिलो हिँडिरहनुभएको थियो। कार्यक्रमस्थलसम्म पुग्न निकै बेर लाग्यो।
'हिँड्न गाह्रो छ है दाइ?' अरुलाई गाह्रो भएको देखेरै मलाई के भनुँ के भनुँ हुन्छ।
'गाह्रो त छ तर गाह्रो मान्न हुन्न,' उहाँले सजिलै भन्नुभयो। उहाँ मुस्कुराइरहनुभएको थियो। मेरो मन फेरि भरियो।
दाइले हामीसँग आफ्ना पुराना अनुभव सुनाइरहनुभएको थियो।
म भने सोचिरहेकी थिएँ, 'त्यतिका मानिसलाई हँसाउने मान्छेलाई दैवले किन यति क्रुर रोग लगाइदियो? दैवको मनमा न्याय पनि हुन्न रहेछ!'
जब दाइले रोग लागेपछिको अनुभव सुनाउनुभयो म झस्किएँ।
'शुभचिन्तकहरु फोटो खिच्न आउँछन्,आफूलाईचैं सानै भए नि धक्का लाग्छ कि भन्ने डर हुन्छ, लडियो भने उठ्न धेरै गाह्रो हुन्छ,' उहाँले भन्दै हुनुहुन्थ्यो।
मेरा आँखा फेरि रसाए। फोटो खिच्नलाई एकै ठाउँमा उभिन र जिउ धान्न कति गाह्रो हुन्छ, मलाई थाहा छ नि त। उहाँका त पाइलैपिच्छे फ्यान भेटिँदा हुन्। पक्कै पनि सबैलाई फोटो खिच्ने इच्छा हुँदो हो। नाइँ पनि भन्न नमिल्ने। डर पनि उत्तिकै हुने। त्यही पनि उहाँ कति सजिलै फोटो खिच्न तयार भैदिनुहुन्छ। मुस्कुराउनुहुन्छ। ठट्टा पनि गर्दिहाल्नु हुन्छ।
उहाँ त्यसरी मुस्कुराउनुहुन्छ, ठट्टा गर्नुहुन्छ, समाजसेवामा लाग्नुभएको छ, अझै कलाकर्म गर्नुहुन्छ र त म जस्तालाई प्रेरणा मिल्छ।
उहाँलाई जस्तै मलाई पनि मानिसले सोध्छन्, 'पार्किन्सन्स भनेको के हो?'
कति ठाउँमा म भन्ने गर्छु, मदनकृष्णलाई लागेको रोग हो। र, मान्छेले बुझेका पनि छन्।
म चाहन्छु, दाईले पार्किन्सन्स भन्ने रोगको नाम लिँदा मानिसहरुले ठट्टा नठानुन्। म चाहन्छु, धेरै मानिसलाई यो रोगबारे थाहा होस्। अनि म चाहन्छु, यो रोग लागेका मानिसहरु र उनीहरुका आफ्ना मानिस नआत्तिउन्।
यो रोगबारे जनचेतना जगाउन भनेर मैले सानोतिनो संस्था खोल्न लागेकी छु। मैले मदनदाइसँग संस्थाका लागि उहाँको नाम मागेँ। उहाँले अस्ति भन्नुभयो, 'लैजानु मेरो नाम।'
बस्! मलाई यति भए पुग्छ। यो रोगसँग बाँच्ने र लड्ने प्रेरणा त मैले उहाँबाट पहिलै लिएकी थिएँ।