सृष्टिका सबै वस्तु चलायमान छन्। पञ्चतत्व नै चलायमान छन्। ती भित्रका सबै सबै पदार्थ स्थिर छैनन्।
मानिस पञ्चतत्वकै तपसील हो। शरीर तपसीलको मूल दफा। प्राणशक्तिबाट चल्ने एउटा यान भनुँ। यसभित्र उपदफा छन्। यानलाई ऊर्जा दिन व्यवस्था भएका उपदफा। मन, बुद्धि, विवेक, दया, माया, करुणा, अनेक। चेतना छ चालक। यसले बोध गराउँछ। इच्छा, भोक, प्यास, निद्रा, भय, चिन्ता, पीडा भनुँ, सबैका सबै आवश्यकता। बोधबाट लालसा उत्पन्न हुन्छ। त्यही लालसाले मानिसलाई थरी थरीका अभियानमा आजसम्म कुदाएको हो।
यो चिन्तन मेरो मनमा धेरै पहिलेदेखि आइरहन्थ्यो। अझ धेरै बुझुँ, अझै जानुँ, अझै कमाऊँ भन्ने लालसा मानवजन्य स्वभाव भनुँ या प्रवृत्ति नै हो। यही प्रवृत्तिले मलाई पनि जगायो। म किसिम–किसिमका यात्रामा सामेल हुन रुचाउथेँ। रुचिको तगारो समय र पैसा बन्थ्यो। त्यसको पनि कुनै न कुनै समाधान निकाल्थेँ म। किनभने म इच्छाशक्तिलाई सर्वोपरी मान्छु। त्यसैले म इच्छाको दरिद्री होइन।
मेरो चेतनाले काम गर्न थालेदेखि नै मैले घरायसी अभाव र कुन्ठा धेरै देखेँ। त्यसलाई परिपूर्ति गर्न मेरी आमोईले गरेका असीम सङ्घर्ष पनि देखेँ। म पनि त्यही अभियानमा होमिनुपर्ने जटिल अवस्था अगाडि आए। नियमित पढाइ चलाउने स्थिति नै रहेन। मैले बाटो हिँड्दा पढेँ। बसमा पढेँ। रातभर नसुतेर पढेँ। भरखर बिहे गरेकी श्रीमतीसँग तीन वर्षसम्म सँगै बस्ने, बोल्ने काम पनि नगरौं भन्ने सहमति गरेर पनि पढेँ। सानोतिनो जागिर खाएर पनि पढेँ। प्राइभेट परीक्षाकै भ¥याङभन्दा अर्को विकल्प मेरो थिएन। त्यसबाट बीएसम्मको उकालो चढेको हुँ कनी–कनी।
विश्वविद्यालयका कक्षामा नपढाइने विषयमा उच्चशिक्षा हासिल गर्ने इच्छा जागृत भयो मलाई। उता जागिर खानु मेरो बाध्यता थियो। त्यसमा पनि मैले समर्पित हुनैपथ्र्यो। तर विदाका दिनमा भने विभिन्न ठाउँमा घुम्ने गर्न थालेँ। घुम्ने साधनमा मेरो पुरानो मोटर साइकल नै थियो। पुरानो बदलिएर नयाँ आयो। नयाँले पनि पुरानो हुनैपर्छ। भयो। तैपनि म लगातार मोटरसाइकल चढिरहेको छु, पैंतालिस वर्षदेखि। मलाई यसैमा यात्रा गर्न मन लाग्छ।
चौधपन्ध्र वर्षको उमेरसम्म वनवन डुलेर घाँस, दाउरा काटेको छु। ठूल्ठूला रुख ढालेको छु। बिरुवा रोपेको छु। वनमा तित्रा, कालिज, भ्याकुर, मृग, खरायो, दुम्सी खेदेको छु। धनु र गुलेली हानेर ढुक्कुर, कालिज, कुथुर्के, लोखर्के, भद्राई मारेको छु। तित्राका फुल खोजेर खाएको छु। बिरामी चरा समाएर ओखतीमुलो गरेपछि छोडिदिएको छु। खसी काटेर मासु भाग लगाएको छु। तोपचराले गुँड बुनेको शिल्प घण्टौं बसेर हेरेको छु, रमाएको छु। धोबिनीका प्रणयगीत सुनेर, तिनका कौतुक देखेर मात्तिएको छु।
गाईबाख्रा वनमा चराउन जाँदा वनतरुल खनेको छु, कालीऐंसेलु, काफल, सिंगटो खाएर मुखै राताम्य पारेको छु। सज्जीवन, पैयुँ, तातो सखर खाएर बेहोस भै ढलेको छु। बाघले गाईबाख्रा दारेको निकटबाट देखेको छु। त्यसलाई ढुङ्गा हान्दा बाघले खेदेको र त्यो क्षणको मृत्युमय भयको बोध गरेको छु। बाँसका चोयाभाटा चिरेको छु। चित्रा, नाम्ला, गुन्द्री, स्वेटर, पन्जा बुनेको छु। खेतबारी खनेको छु, आली लगाएको छु, बाउसे गरेको छु। डल्ला फोरेको छु, भारी बोकेको छु। बाबुको ट्याङ्का खोलेर सय रुपियाँ चोरेको र त्यसलाई लुकाउने ठावैंठाम भएको संसारमा ठाउँ नपाएर जाईको फेदमुनि माटो खनेर पुरेको छु। छ्या! मैले गरेका काम पनि खै के खै के जस्तो लाग्छ अहिले।
२०४० सालपछि तल्लो हिमालका यात्रा गरेँ। देशका खगर, डगर र बगर घुमेँ। म लेकका बस्तीमा गएँ, मधेसका गाउँ डुलेँ। त्यहाँका जीवन र प्रकृति पढेँ। मानिसका मन पढेँ। तुइन र घिर्लिङबाट खोला तरेँ। भीर, पहरा र कन्दरा चढेँ। यो पढाइबाट मैले भोकका उखुमलाई आफैंले अनुभूत गरेँ। अभावका चरमसीमा आफैं एकाकार भएँ। धनका उन्मादले आकाश चढेका महाशय त्यतै देखेँ। रोगका पराकाष्ठा खपेका निर्धनका दुर्दशा त्यतै देखेँ। मेरा लागि यो प्रत्यक्ष विद्या साबित भयो। मननको, स्वानुभवको यो पाठ विश्वविद्यालयका कुनै पनि पाठ्यक्रममा पढेको थिइनँ मैले।
मैले बल गरेर केही पुराण, उपनिषद, विभिन्न नीति पढें। पाएजति किताब पढ्ने बानी नै बस्यो। देवकोटा, लेखनाथ, सम, गुरुप्रसाद मैनाली, भीमनिधि तिवारी र अन्य नेपाली लेखकका किताब पढिसकेपछि हिन्दी उपन्यास लेखकका सयौं जासुसी सिरियल किनी, खोजी पढेँ। देवकीनन्दन खत्री, रानु, वेदप्रकाश शर्मा, कर्नल रञ्जित, गुलसन नन्दा आदिका नम अझै सम्झिन्छु। तर २०५४ सालसम्म लेख्ने काम भने गरिनँ मैले।
मैले व्यतित गरेको जीवनलाई वर्तमानमा उभिएर हेर्छु, आजभोलि। अनौठो लाग्छ। यसमा अनेकौं उतारचढाव, मोड, चुनौती, ठेस र ठक्कर छन्। मैले निकटबाट धनीका नाद र निर्धनका आक्रोश सुनेको छु। २०४२ सालको सार्क सम्मेलनको काम गर्दा महिनौंसम्म पाँचतारे होटेलमा बसेको छु म। त्यहाँको खानाले वाक्कदिक्क भएको छु। २०५६ सालदेखि २०६४ सालसम्म धादिङको चेपाङ बस्तीमा मैले काम गरेँ। तीसँग हिँड्दा मकैको च्याँख्ला पनि नभेटर स्कुस उसिनेर त्यसैले कैयौं छाक टारेको छु। दिनभरि तीसँग हिँड्दा कतै खाने कुरा नभेटेपछि नरबहादुर चेपाङले लक्ष्मण बुटी (घाँस) खोजेर खान दिएको हिजैजस्तो लाग्दै छ।
यसरी मैले यात्राविद्या पढ्दै आएँ। पढिरहेको छु। पढिरहनेछु।
२०२५ सालदेखि २०६५ सालसम्म मैले जागिरैजागिर खाएँ। जागिर पनि थरीथरीका। ती जागिरका अनन्त कथाव्यथा छन्। अद्भुत मानिससँगका बसउठ छन्। तीसँगका मित्रता र दुस्मनी छन्। तीबाट मानिसका आचार, नियत, स्वभाव र व्यवहार विद्या सिकें।
२०५४ सालपछि मैले लेख्न सुरु गरेँ। छन्दमा कविता लेखेँ। खण्डकाव्य र महाकाव्य लेखेँ। यथार्थ र सत्यकथालाई विषय बनाउने बानी बस्योे। मेरा काव्यका नाम पनि त्यस्तै छन्, खाते, कुलबहादुर, कानी, डल्ले आदि। तिनको संख्या पनि झन्डै डेढ दर्जन होला।
२०६० सालपछि कथा, संस्मरण निबन्ध र उपन्यास पनि लेख्न थालेँ। म कविता, काव्य र निबन्ध घरमै बसेर लेख्थें तर उपन्यास लेख्न लाग्दा मैले आफ्नो अनुभवले मात्र नपुग्ने रहेछ भन्ने ठानें। जहाँको जे कथा उठाउन खोजिएको छ ती ती ठाउँ नपुगी लेख्न कलमले मानेन। रमिला नानी लेख्दा मैले बरबार पस्नुप¥यो। उर्मिला लेख्दा उनलाई भेट्नुप¥यो, जदौ मालिक लेख्दा बर्दियाको राजापुर पुग्नुप¥यो। अहिले लाटोको मनोविज्ञान, सारङ्गी बजाउने गाइने पात्रको कथामा आधारित उपन्यास तयार भएको छ। यो विषय पढ्न मनोविज्ञान वेत्ता गुरुआमाकहाँ पुग्नुप¥यो। प्रत्यक्ष पात्र राजेन्द्र तारकिणीसँग बसेर दुईदिन पढ्नुप¥यो।
मेरो लेख्ने बानी पनि आफ्नै तालको छ। कथावस्तुको कङ्काल तयार गर्न समय लाग्छ, त्यसमा पैसा पनि खर्च हुन्छ। मानसमा सामग्री तयार भएपछि लेख्न बसेपछि भने खास समय लाग्दैन। रमिला नानी, आमोई, जदौ मालिक र सारङ्गीको लेखन एक महिनामा सकेको हुँ मैले।
मैले आफ्ना विषयका गनथन किन गरेँ भने कुनै शास्त्र पढेर, विश्वविद्यालयका ठूला उपाधि हासिल गरेर मात्र लेख्न सकिने रहेनछ। म आफैं साहित्यको विद्यार्थी होइन। मैले संस्कृत भाषा पढेको पनि छैन तर आजभोलि मैले संस्कृत नपढेर ठुलो गल्ती गरेको रहेछु भन्ने लाग्दछ।