सिनेमाको सौख मभित्र मेरो बाबाटै आएको हो। खुब सौखिन हुनुहुन्थ्यो मेरो बा। कतिसम्म भने मान्छे कम्युनिस्ट विचारधाराको भएर पनि ख्वै के मजाले हो, धार्मिक सिनेमा पनि हेर्न गइदिने।
त्योबेला हिजोआजको जस्तो थुप्रै सिनेमा हल र तिनमा लगातार फेरिने सिनेमा हुँदैन थिए। एक त मुम्बईमा बनेको वर्षौंपछि काठमाडौंका हलमा चल्थे। त्यसबाहेक यहाँ हलमा चल्ने सिनेमा फेरि वर्षौंसम्म पनि लागिरहने भएकाले सिनेमाका पारखीहरुलाई जेजस्तो सिनेमा पनि हेरेर चित्त बुझाउनुपर्ने परिस्थिती थियो।
हलहरु भनेका त्यही पाटनको अशोक, काठमाडौंका रन्जना, विश्वज्योती, जय नेपाल र भक्तपुरको नवदुर्गा। सिनेमा हेर्न भक्तपुर जानु भनेको दिनभरिको काम हुन्थ्यो भने पाटन आधा दिनको।
यति हुँदाहुँदै पनि मैले सबैभन्दा पहिले हेरेको सिनेमा पाटनमै हो। बुवासँग गएको थिएँ ‘हिमालयकी गोदमेँ’ हेर्न। शहीदगेटबाट बस चढेर गएको अहिले पनि सम्झँदा रमाइलो लाग्छ।
केटाकेटी छँदै मेरो क्रान्तिकारी बाले मलाई रन्जनामा एउटा धार्मिक सिनेमा हेर्न लैजानुभएको थियो। फिल्मको नाम त याद छैन। तर, त्यसमा भगवान राम र रावण थिए। म केटाकेटी मान्छे, त्यसमा रावण आयो कि अत्यास लाग्थ्यो। कतिसम्म डर लाग्यो भने, सिनेमामा जब जब रावण उपस्थित हुन्थ्यो तब तब म कुर्सीबाट तल झरेर लुक्थेँ, हेर्दिन थिएँ। यसरी सातो गएर सिटमुनी बसेको छोरालाई देखेर बालाई पनि माया लागेछ। पहिले त ‘तँ फिल्म हेर्न आएको कि लुक्न आएको?’ भनेर मायाले हप्काउनुभयो। त्यसपछि ‘केहि गर्दैन नडरा’ भन्नु भयो। बुवाले सम्झाउन खोज्दा पनि त्यो सिनेमा मैले सिटमुनी बसेरै सिध्याएको थिएँ।
पछि पछि त आफै सिनेमा हेर्ने बानी भयो। त्यो बानी कतिसम्म भने लतै बस्न थाल्यो। जतिबेला पनि सिनेमा हेर्न मन लाग्ने।
त्योबेला फेरि एक से एक हिन्दी सिनेमाको दौर चलेको थियो। राजेश खन्ना सबैभन्दा अग्ला हिरो थिए। ‘आराधना’, ‘अमरप्रेम’ जस्ता सिनेमाहरु चल्थे। बल्ल बल्ल जम्मा गरेर ल्याएको पैसा सिनेमामै जान्थ्यो। त्यसमा पनि पुरा सिनेमा हेर्न नपाउनुको छटपटी रहन्थ्यो नै। किनभने तीन घन्टा लामो सिनेमा हेर्नेबित्तिकै घरमा पिटाइ खानुपथ्र्यो। त्यसैले हाफ टाइममै सिनेमा छोडेर भागिन्थ्यो।
त्योबेलामा सिनेमा थर्ड क्लासमा सिनेमा हेरेको पच्चीस पैसा पथ्र्यो। टाउकोलाई पुरै माथि उत्तानो पारेर हेर्नुपथ्र्यो। त्यसमाथि हिरो हिरोइनका अनुहार र शरिर पनि गतिलो नदेखिने। तर, केहि उपाय पनि त थिएन।
यसरी सिनेमा हेरेर हाफ टाइममा छाडेपछि त्यसलाई पुरा गर्न अर्कोपटक हलमा पुगेर फेरि ढोका पर्खेर बस्नु पथ्र्यो, हाफ टाइमपछिको छुटेको शो हेर्नलाई। त्यो बेलामा यस्तो चलन धेरै नै थियो। हाफ टाइममा सिनेमा छाडेर हिँड्ने मान्छेले दस पैसामा उसको टिकट बेच्थ्यो। त्यस्तो टिकट लिएर बाँकीको मनोरन्जन पुरा हुन्थ्यो।
भक्तपुरमा सिनेमा हेर्नचाहिँ घरबाट अनुमति लिएरै गइन्थ्यो। त्यहाँचाहिँ निकै नै पुराना सिनेमा चल्थे। यता रंगीन सिनेमाको जमाना आइसक्दा पनि भक्तपुरको हलमा ब्ल्याक एण्ड ह्वाइट नै चलिरहेको हुन्थ्यो। जे होस्, घरमा भनेर हिँडेकोले भक्तपुरमा चाहिँ पुरा सिनेमा हेर्न पाइन्थ्यो। त्यहाँ फेरि लोकल केटाहरुको अर्को आतंक थियो। काठमाडौंबाट आएको भनेपछि हेपिहाल्ने। विशेष गरी ठिटौले उमेरका केटाहरु अलिक बढी नै दुश्मनी गर्थे। खर्पन बोक्ने नोलले नै हिर्काएर पठाउँथे। त्यो नोलले एकपटक बजाएपछि मान्छे भुक्लुक्कै हुन्थ्यो। त्यसैले उता सिनेमा हेर्न जाने बेलामा अलिक सतर्क रहनु पथ्र्यो। त्यो बेलामा ख्वै के कारणले हो, सिनेमाहल भनेकै मारपिट अत्यधिक हुने ठाउँ मानिन्थ्यो। त्यसमाथि छ बजे काठमाडौं आउने अन्तिम बस छुट्थ्यो। त्यो छुटिदियो भने पुरै बाटो पैदलै आउनुपथ्र्यो।
पछि साइकल आएपछि त फेरि कुरै अर्को भयो।
रन्जना र विश्वज्योती त आफ्नै ‘एरिया’ थियो।
हामीले भर्खर एसएलसी दिँदाखेरि राजेश खन्नाको ‘प्रेमनगर’ भन्ने सिनेमा चलेको थियो। त्यो सिनेमा चल्दा त सिँगै काठमाडौंमै हलचल मच्चिएको थियो। त्यो सारा हलचलको केन्द्रविन्दु चाहिँ त्यही सिनेमाहल हुन्थ्यो। त्यो बेलामा टिकटको मूल्य डेढ सयसम्म पुगेको थियो। फस्र्ट क्लासको त्यो टिकटको वास्तविक दाम त सायद पाँच रुपियाँ थियो। तर, त्यो दाममा टिकट पाउने कस्ले? साराका सारा टिकट त ब्लैकीको हातमा पुगिसकेको हुन्थ्यो। पाँच मिनेटजस्तो टिकट काट्ने दुलो खुल्थ्यो र लगत्तै ‘सकियो’ भनेर बन्द भइहाल्थ्यो।
त्यो जमानामा ब्लैकीहरुको जगजगी नै अर्को थियो।
एकथरि दुईचारवटा टिकट जोहो गरेर ‘एकको पाँच, एकको पाँच’ भन्दै कराउँदै हिड्थे। तिनीहरु अलिक ‘भस्मे डन’ पाराका हुन्थे। यस्ताहरुको पुलिससँग जहिल्यै लुकामारी चलिरहेको हुन्थ्यो। तर, जतिसुकै प्रहरीले लखेटे पनि उनीहरुको कारोबारमा खासै असर परेको जस्तो लाग्दैन थियो। प्रहरी पनि त्यहीँ रहन्थे, ब्लैकी पनि त्यहीँ बाँच्थे। यो बीचमा कुन सन्धि सम्झौताले काम गरेको हुन्थ्यो भन्ने कसैले बुझ्दैन थिए। ती भस्मेहरुले आफुसँग भएका टिकट कुनै तवरबाट बेचेरै छाड्थे र अर्को शो सुरु नहुन्जेलसम्मका निम्ति हलबाट लापता हुन्थे।
तर, अर्काथरि भने अलिक डरलाग्दै ब्लैकी हुन्थे। तिनीहरुको यश र कीर्ति सहरभरि फैलिएको हुन्थ्यो। मानिस डराउँथे र दाइ भन्थे। कालो चश्मा लगाउने, सर्टको कलर ठाडै पारेर राख्ने, घाँटी र नाडीमा रुमाल बाँध्ने र स्टाइल स्टाइलले चुरोटको सर्को तानेर देखाउने।
हामी पहिले त सकभर यस्ता ब्लैकीको चक्करमा पर्नु नपरोस् भनेर अनेक जुक्ति लगाउथ्यौं। मेरा केहि साथीहरुले टिकटका लागि लाइन लागेर उभिएका मानिसहरुको काँधै काँध चढेर टिकटको झ्यालसम्म पुग्ने कला पनि जानेका थिए। झ्यालको अगाडी पुगेर त्यहीँ पोको परेर बसिदिएपछि पछाडिको मानिसले हात घुसार्नै सक्दैन थियो। यसरी टिकटसम्मको पहुँच बन्थ्यो। यस्तो जुक्ति लगाउने मानिस यदि समूहमा गएको छैन भने फेरि ढुट्टो बनाएर कुट्ने घटनाहरु पनि त्यहाँ हुन्थे नै। यस्तो जोखिम पनि थियो। कतिपय बेला चाहिँ यस्ता तरिकाहरुबाट पनि टिकट हात लाग्दैन थियो र ती ब्लैकीहरुलाई ‘दाइ’ भन्दै जानुपथ्र्यो।
उनीहरु पनि सकभर बढी पैसा दिने मानिसकै खोजीमा हुन्थे। अन्तिममा लगानी नै डुब्ने अवस्था देखियो भने मात्र, त्यो पनि सिनेमा सुरु भइसकेपछि बल्ल हामीलाई अलिक दाम घटाएर बेचिदिन्थे। एकप्रकारले भन्ने हो भने हामीमाथि दया राखिदिन्थे। तर, त्यसमा पनि अलिक सजिएर गएका युवतीहरु छन् भने हामीभन्दा निकै माथिको प्राथमिकतामा परिहाल्थे।
यस्ता ब्लैकीहरुको रजगज त्यो जमानामा खुब चल्थ्यो। रन्जनामा त्यतिबेला प्रेम नामका ब्लैकी त्यस्तै थिए। उनलाई सिनेमा हेर्न गइरहने सहरभरिका अधिकांश मानिसले चिन्थे। प्राय कालो सर्ट लगाउने, रातो स्कार्फ, कालै चश्मा, कालो पाइन्ट र हातमा चाँदीको बाक्लो चेन। त्यो भित्र जस्ता हिरोहरुको चालामाला हुन्थ्यो, त्यसको छाप बाहिर यस्ता ब्लैकीहरुमा पनि कता कता परेको देखिन्थ्यो। एकप्रकारको विशेष भान पार्थे उनीहरु।
मानिसहरु फेरि ‘प्रेमदाइ प्रेमदाइ’ भन्दै पछि लागिरहने। बच्चादेखि बुढासम्मकै दाइ थिए उनी।
त्यो बेलामा रन्जनाले तुलनात्मक रुपमा अलिक राम्रो सिनेमा चलाउने गरेको हिसाबले हेर्ने हो भने प्रेम ब्लैकीले पक्कै पनि राम्रै आर्थिक उन्नति गरेको हुनुपर्छ।
उता विश्वज्योतिमा भने उस्तै अर्का थिए, बेखा दाइ।
आजभोली त्यही काठमाडौंमा आएको परिवर्तन देख्दा एक किसिमको अनौठो लाग्छ। मानिसहरु मल्टिप्लेक्समा सिनेमा हेर्न थालेका छन्। टिकटको अनलाइन बुकिङ हुन्छ। यसले सिनेमा हेर्ने मानिसलाई धेरै सहज बनाइदिएको छ।
तर, मलाईचाहिँ कता कता त्यो बेलाका धेरै मजाहरु छुटिरहेको छ कि भन्ने लाग्छ। त्यतिबेला सिनेमा हेर्नु केवल तीन घन्टाको मनोरन्जन मात्र नभएर एउटा ठूलै प्रकियाको ‘प्याकेज’ जस्तो थियो। कसैले सिनेमा हेरेर फर्किएको छ भने साथीभाइलाई सुनाउन फिल्मको कथा मात्र होइन एकदमै धेरै कुराहरु हुन्थे। रिल बीचमा कटेको छ भने हुने होहल्ला, बत्ती गइदिएको खण्डमा कुर्सी तोडफोड यी सब गतिविधिले सिनेमा हेर्न पुगेका हिरो र भिलेनका प्रतिरुपहरु पर्दामा मात्र होइन पर्दा बाहिरै पनि देख्न पाइन्थ्यो। सत्तरीको दसकमै एकपटक जयनेपालमा ‘खोटे सिक्के’ हेर्दाहेर्दै रिल जलेपछि मजा लिन नपाएका दर्शकले झण्डै चालिस पचासवटै सिट भाँचिदिएका थिए। यसरी भाँच्नेहरुमाथि कहिल्यै कुनै कारवाही पनि हुँदैन थियो। बरु उल्टो हलमालिकले सबै दर्शकलाई टिकटको पैसा फिर्ता दिएर ससम्मान विदा गरेको थियो। सिनेमा हेर्न जानेदेखि फर्किँदासम्मका संघर्ष हुन्थे। यी सबैको स्वादलिएर रोचक वर्णन गरिन्थ्यो, सुनिन्थ्यो। हिजोआज त्यो सबै हराएर गयो।