‘नेपाल’ नाममा मात्र होइन, आफूमा पनि निकै सुन्दरता बोकेको देश रहेछ। सधैं सोच्यो यो व्यस्त दैनिकीलाई थन्क्याएर कतै जाउँ। हङकङ जान पाए हुन्थ्यो। दादा, दिज्यू जसरी नै अमेरिका, लन्डन वा अष्ट्रेलिया जान पाए हुन्थ्यो भन्ने थियो यो मनलाई। आखिर घुम्ने इच्छा जो बोकेकी छु। सदाको उही रुटिन कलंकीको धुलो मैलो, भिडभाड, कलेज जाँदा टेकुदेखि थापाथलीसम्म हुने पट्यारलाग्दो जाम अनि घर फर्कंदा झमक्क साँझ परिसक्ने। घर आएपछि फेसबुकमा दादा, दिज्यू घुमेका आकर्षक तस्बिर बाहेक केहि नदेखेको मेरो व्यस्त दैनिकी साँगा पुग्दा छोडें अनि सिन्धुली हुँदै नेपालको पूर्वी भाग लागेँ। साँगाहुँदै धुलिखेलसम्म त निकै पटक पुगेको थिएँ।
जब धुलिखेल काटेर गाडी अघि बढ्यो अनि दंग पर्न थालें म। म सधैं सोच्थें निकै पिछडिएको देश हो मेरो। तर, बाटोमा पोज दिएर यात्रुहरुको तस्विरलाई साथ दिंदै गरेको सेल्फी डाँडाले मलाई गलत ठहर्यो। आखिर डाँडा नै आधुनिक नाम बोकेर उभिएको रहेछ। म पनि डाँडा सँगै लिप्त भएं तस्विर लिन। एकछिन रोकिएको मेरो गाडी फेरि गन्तव्य खोज्न थाल्यो। स्टेरिङ्गमा रहनु भएको मेरो दादापट्टि फर्किएं अनि मुस्कुराउंदै सानो स्वरमा भनें, ‘आइ एममिटेड आइ वाज एड दादा’ र अनि फेरि चोरी औंलाले ती घुमाउरो अनि हरियाली बाटो देखाउँदै फेरि भनें, ‘आवर कन्ट्री इज व्युटिफूल इजन्ट इट’? यति भनिसक्दा दादाले खित्का छोडेर हाँस्दै ‘निकै देख्न बाँकी छ नानु, यो त सुरुवात हो’ भन्नुभयो। म झन् दंग परेँ। मनको कुनै कुनामा कलेजको क्लास छोडेर गएकोमा पश्चाताप चाहिँ लागेको छँदैथ्यो। तर, अब ती सबै सोच मनका कुनाबाट हराए अनि म सोच्न थालेँ ‘आखिर पढिरहेकै हुँ नि म।’ फरक यत्ति, कलेजमा किताबका पाना पल्टिन्थो यहाँ जीन्दगीका। कलेजको ग्रेडसिटमा ए स्टार आउँदा मज्जा आउँथ्यो। यहाँ घुम्दा मज्जा आइरहेको छ। घुम्न जति मज्जा सायद केहीमा पाउँदिन होला।
हाइटमा अवस्थित सिन्धुलीलाई पछि पार्दै ओरालो लाग्न थाल्यौं हामी। हिन्दी गानाहरु बजिरहेका थिए। म रमाउँदै थिएँ। कहिले टाउको पुरै बाहिर निकाल्दै त कहिले सिसा नै फोडौंला झैं गरी दुईतिर जंगल साक्षी राखेर खोलाझैं बगेका चिल्ला सडक हेर्दे थिएँ। ती हरियाली अनि सुन्दरता देखेर लाग्दै थियो मेरो तन मन त्यहीं छोडेर जाउँ। यसरी रमाउँदै बर्दिवास पुगियो।
त्यहाँ उस्तै सम्म अनि फराकिलो बाटो। भिन्दै लवज भएका राता वर्णका मानिसहरु, अनि अलि गर्मी मौसम सुरू भयो। ती सबै मेरा लागि निकै नौलो भयो। फेरि एकछिन सोचमग्न भएँ। कति फरक छ है मेरो देश। भिन्नता एकै अंगालोमा च्यापेर मुस्कुराइरहेको रहेछ नेपाल।
उस्तै उस्तै खालको वातावरण, मानिस अनि बाटो पाइरहेँ इटहरीसम्म। त्यहाँ पुग्दा साँझ पर्यो। जति हिंड्यो उति हिडौं हिडौं लाग्ने तर पनि रिस उठ्दै थियो। लागिरहेको थियो पुरै देश घुमिसकेँ सबै देखेँ तर अँध्यारो। बास बस्न त पर्ने नै थियो। तर पनि यो जिद्धी मनलाई साथ दिँदै हामी धरानतर्फ बढ्यौं। धरान जाँदा जाँदै गुगलमा होटल हेरेर बुक गरिसकेका थियौं, ‘होटल यती’ मा बास बस्यौं।
ती होटेल, सपिङ्ग कम्ल्पेक्स, सिनेमा हल केही नौलो थिएन मलाई। कहिले बिहान होला र हिडिंहालौं भन्ने मात्र लागिरह्यो मनमा।
बिहान भयो, जस्तो पाएँ त्यही एक जोर सफा लुगा लगाएँ अनि टेबलमा रहेको गाडीको रिमोट बोकेर सुरुमै कार पार्क पुगेँ। हत्तार जो थियो मलाई। त्यही बिहानीको घामसँगै बुढासुब्बा मन्दिर दर्शन गर्यौं र लाग्यौं धनकुटातर्फ। अचम्म मान्दै नयाँ फरक अनि जोसिलो भएर रमाउँदै हामी भेडेटार पुग्यौं। निकै तस्विर कैद गरें। निकै भिडियो बनाएँ। एकछिन भेडेटार घुमियो अनि हिले गयौं। सुनेको थिएँ तुम्बा त्यहाँको विशेषता रे। म मनमनै सोच्दै थिएँ चाख्न पाए पनि हुने। फेरि अर्को तर्फ त्रास थियो दादाको।
डरले केहि पनि भन्न सकिनँ। ठूलो मूर्ति रहेछ तुम्बाको, त्यहाँ गएर पोज दिएँ। त्यसले पनि इच्छा केही हदसम्म पूरा त भइहाल्यो। केही समय त्यहाँ बितायौं। हाम्रो देश कति सुन्दर है भन्ने विषयलाई लिएर दाजु बहिनी निकै बेर गफियौं। अनि लाग्यौं इलामतर्फ। निकै उत्साह बोकेको थिएँ मनभरी। मन पनि यति भारी भएको थियो कि निकालेर पछाडि सिटमा राखौं अघिको गन्तव्य नपुगुन्जेलसम्म। नयाँ ठाउँ देख्ने, नयाँ मानिस देख्ने, नयाँ समाज अवलोकन गर्ने अभिलासाले गाडी बढ्यो धरान तर्फ। धरानबाट इटहरी गइयो, त्यहाँबाट बिर्तामोड हुँदै फिक्कल पुगियो। त्यहाँ पुग्दा शरीरले थकान महसुस गरिसकेको थियो। तर, मनले भने अलिकति पनि आलस्य महसुस गरेको थिएन। रमाउँदै थिएँ म।
अनि त्यस रात इलाम पुगेर बसियो। रात परेकाले केही देखिएन, होटेल ग्रीनभ्यू नाम गरेको होटलमा गएर बसियो। दिनभरको थकानसँगै सुतियो। भोलिपल्ट उज्यालो भयो र म आफू सुतेको बेडरुमको पर्दा खोलेर बाहिर हेरेँ। हेर्दा बल्ल पो बुझेँ त्यस होटलको नामको तात्पर्य। त्यहाँ त आँखाले देखुन्जेलसम्म हरियाली बाहेक केही थिएन। कागको हुलमा बकुल्ला भनेझैं बिच बिचमा स–साना घरहरु देखिन्थे। सयौं तस्बिर कैद गरेँ, निकै तस्विरलाई साथ दिंदै आफू पनि कैदी बने। त्यहाँबाट फिक्कल हुँदै कन्याम पुग्यौं र त्यहाँको दृश्य देखेर सायद पाँच मिनेटसम्म मेरा आँखा झिम्केनन्।
लाग्न थाल्यो ति विदेशका समुद्री किनार, चिल्लोबाटो अनि पार्क मेरो देशको यो सौन्दर्यसँग अतुलनीय छ। मलाई कहिले फर्किनु आउला र त्यो हयाण्डब्रेक तानेर गाडीबाट बाहिरिउँ झैं भइसकेको थियो। ती चियाबारी दुवै सडकको छेउमा लाम लागेर मेरै स्वागतमा बसे झैं लागिरहेको थियो मलाई। गाडी रोकियो र म हत्तार हत्तार त्यहाँबाट बाहिरिएँ। छेवैमा खैरो अनि सेतो छिर्विरे घोडा, देख्दै आकर्षक एक जना दाई छेवैमा आएर बैनी मेरो घोडा चढ्नुस म चियाबगान घुमाउँछु भन्दै आइपुग्नुभयो। त्यो ठाउँले मेरो तन मन खोसिकेछ।
आफूसँगै रहनुभएको दादाको होस नै नगरी हिँडेछु म। त्यस पश्चात निकै पोजमा उभिएँ म। त्यो ठाउँ छोड्नै पर्छ भन्ने कुरा मनको कुनामा भने छँदै थियो। त्यही सोच्दै निकै तस्विर लिएँ। याद स्वरुप घोडामा चढेर घुम्दा खुब रमाइलो भयो। केहि समय घुमे अनि ओर्लिएँ। त्यपछि दगुर्दै चियाबारी भित्र छिरें। पुरा मेरो तस्विरलाई साथ दिदै क्यामेरामा कैद भएँ कन्यामका चियाबगानसँगै।
लाग्दैथ्यो मेरो साथमा रम्दैछन् पूरा कन्याम। आँखाले देखुन्जेलसम्म सुन्दर देखिरह्यो कन्याम। त्यहाँबाट फर्कदा एउटी केटी बिहेमा अन्मँदा जति नरमाइलो लाग्छ त्यो भन्दा बढी नरमाइलो लागिरहेको थियो मलाई। फर्कन अवश्य परिहाल्यो। त्यहाँ हेर्दै कन्यामबाट झरेर चारआली हुँदै बिर्तामोड, इटहरी, कोशी, लहान, ढल्केबगरलाई पछाडि छोडेर जनकपुर गयौं र त्यही रात बस्यौं। होटल मनकीमा त्यस रात बस्यौं अनि फेरि फर्कन त त्यही धुलो र फोहोर भएकै शहर फर्कने तरखर गरेर बिहान जानकी मन्दिर दर्शन गरि आफ्नो बाटो ततायौं।
त्यहाँबाट हेटौंडा, दामन, पालुङ्ग हुँदै नौविसेबाट आफ्नो शहर छिर्यौं। त्यहाँ साँगामा छोडेको दैनिकीले नौविसेबाट त पच्छ्याइहल्यो।
फरक म जसको हङकङ घुम्ने सपना थियो, उसले पहिले देश घुम्ने, संस्कृति बुझ्ने सोच लिएर फर्किंएँ। हो ती पश्चिमी मुलुकहरु भन्दा निकै फरक छ नेपाल। निकै सुन्दर त्यसै कारणले अब कितावको पानासँगै जिन्दगीको पाना निकै राम्ररी अध्ययन गर्ने सोच बोकेर शहर भित्रिएँ। अब कलेजका ग्रेडसिटका साथसाथै जिन्दगीका ग्रेडसिटमा पनि ए ल्याउने सपना बुनियो। त्यही पनि घुमेर देखेर अनि अनुभव गरेर। भनिन्छ नदेखेको उज्यालो भन्दा देखेको अध्यारोले जित्छ।