अन्नपूर्ण हिमाल र खोप्रा लेकको काखमा लस्करै मिलेर बसेको सानो गाउँ। छेउमै छङछङ गर्दै झर्ने रुप्से झरना र संसारकै गहिरो अन्ध गल्छी। सुख्खा खरले ढाकेको भीर। माथि एउटा चुच्चो परेको ठूलो ढुङ्गा। मुक्तिनाथ जाने बाटो। उदाउँदो पर्यटकीय गन्तब्य।
त्यही ठूलो ढुङ्गामा रहेका स–साना ढुङ्गाका चुचुराहरु नौमति बाजा जस्तै बज्छन्। प्रकृतिले बरदानको रुपमा दिएको म्याग्दीको दाना गासिको १ र २ मा पर्ने काभ्रे गाउँ साँच्चै पर्यकीय दृष्टिकोणले अथाह सम्भावना बोकेको गाउँ हो ।
बेनी बजारमा माघे संक्रान्ति मेला चलिरहेको थियो। काठमाडौंबाट पुगेका हामी मगर समुदाय पुख्र्यौली नाँचमा झुम्दै थियौ महिला उद्यमीको पनि नाचगान थियो । त्यो रमाइलो माहोल छाडेर हामी काभ्रे गाउँको पर्यटन सम्भावना खोतल्न लाग्यौ।
म्याग्दी उद्योग बाणिज्य संघका महासचिव राजेश शाक्यले हामीलाई ‘बाजा बज्ने ढुंगा’को कथा सुनाएका थिए। त्यसैले हामी उत्साहित थियौं। दिउँसोको ३ बजिसकेको थियो बेनी बजारबाट निस्किँदा। हामी (दिनेश नारायण दाई, सन्दिप भाई, अमृतजी र म) बसेको जीप हुँइक्याए म्याग्देली ठिटो सूर्य केसीले।
कालिगण्डकी तिरैतिर ३० किमि दुरी पार गर्न हामीलाई साढे तीन घण्टा लाग्यो। गाडी हुईकिदै थियो, अँध्यारोले छोप्दै गयो। सानो गाउँ बजार पार हुँदै (तातोपानी) पुगियो। नौलो ठाउँ, जहाँ पुगे पनि राति केही देख्ने भए पो।!
साँझ ७.३० बजेतिर काभ्रे पुग्यौ, गाडी फनक्क मोडि हाले केसी भाईले, रात काभ्रेमै रात बिताएर बिहान माथि गाउँ जाने कुरा भयो। लौ ठिकै छ, सुनबहादुरजीले गोविन्द बरूवाल भाइकोमा खाना र बास बन्दोबस्त गरिदिएका रहेछन्।
भोलिपल्ट बिहानै चिया पिएर उकालो लागियो। १० मिनेटमै पुगियो गाउँ। हत्तेरी यति नजिक भए त बेलुकै यही गाउँमा आइन्थ्यो, गाउँमै खानपिन, बास, कथाहरू, रहन सहन त बुझिन्थ्यो! अलिक नजिकबाट अवलोकन गर्न पाइन्थ्यो भनेर हामी खिन्न भयौ।
गाउँ रमाइलो रहेछ, मगर जातिको बाहुल्य रहेको बस्ति साथै क्षेत्री, दलित, राई, लिम्बु, तामाङ, थकालीहरू मिलेर बसोबास गरेको चिटिक्क परेको समाबेसी गाउँ। मुस्ताङको सीमाना जोडिएको म्याग्दी जिल्लाको उपल्लो गाउँ, विश्वको सबैभन्दा गहिरो गल्छी अन्ध गल्छी (८००० मि. अग्ला दुई पहाड अन्नपूर्ण र धौलागिरि हिमाल मिल्ने खोच), रूप्से छहरा (७५मि.), र अनौठो ढुंगो (बाजा बज्ने ढुंगा), चारैतिर पहाड, उत्तरमा बाँदरजुङ पहाड, पूर्वमा अन्नपूर्ण हिमशृंखला, खोप्रा, नारच्याङ दक्षिणमा रुप्से छहरा, पश्चिममा सोलि घोप्ते (केही महिना अगाडि तारा जहाज दुर्घटना भएको पहाड) मुन्तिर कालीगण्डकी खोला, र नागबेली मुक्तिनाथ।
सडकबाट केही माथि छरपस्ट परेको दाना गाविसका १ र २ नम्बर वडालाई काभ्रे गाउँ भनिन्छ। त्यहाँ ६५ घर धुरी छन्। हामी पुग्दा गाउँका आमा समूह, बाबा समूह र युवा भेला भइसकेका थिए। उनीहरुले माला र तातो दुधले स्वागत गरे।
अनि पहिला बाजा बज्ने ढुंगा हेर्न जाने कुरा भो, आधा दर्जन स्थानीय भाइहरु र केही पाका तयार भए, २० मिनेटको हिँडाई, सुरुको केही तेर्सो, हल्का भिरको बाटो हुँदै पुगियो उक्त ठूलो चट्टान नजिक।
मन निकै उत्साहित थियो ढुङ्गामा नौमति बाजा बजाउँन। खरले ढाकेको भीर, नाक ठोकिने उकालो थियो । उकालो कटेपछि रुप्से छहराको शिरमा पुगियो। रुप्से छङछङ आवाज आइरहेको थियो। गाउँ चिटिक्क देखियो। तल अन्ध गल्छी देखा पर्यो। एकैछिन पछि थोरैमाथिबाट एकैछिन्मा आवाज सुनियो ‘गुन्न…. गुन्न….’ साँच्चै नौमति बाजा जस्तै ।
झट्ट हेर्दा केही देखिदैन पुरै ढुङ्गा जस्तो । तर त्यहाँ विभिन्न आकार प्रकारका बाजा थिए, सोही अनुरुप बज्थे । उनले बाजा चिनाउँदै क्रमशः ट्यामकुली, ढोलक बजाउन थाले। दमाह, ढोलक र ट्याम्कुली दुरुस्तै सुनीने । स्वयम् त्यो स्थानमा नपुगेसम्म पत्याउनै गाह्रो हुन्छ । एकछिन त मलाई पनि यो केही होईन जस्तो लाग्यो । त्यही ढुङ्गामा रहेको अर्को चुचुरो बजाए बजेन ढुङ्गाको ट्याक्क आवाज आयो । अनि ट्याम्कुली जस्तै देखिने ढुङ्गा बजाए दुरुस्तै ट्याम्कुली बज्यो । अनि पत्याउन कर लाग्यो ।
किंवदन्ती अनुसार, परापूर्वकालमा दर्शनार्थीले बाजा बजाउँदा भगवान खुसी भएर वर माग्न भनेछन्। वर प्राप्त गरेपछि उनीहरुले जमिनमा बञ्चरोले एकचोटी हान्दा सुनको चोइटो निस्केछ, दोस्रो चोटी हिर्काउँदा भगवान रिसाए। त्यसपछि रूप्से झरना बौलायो। बाढी आएर बाजा टोलीलाई बगायो।
‘परापूर्व कालमा त्यहाँ पूजा गर्ने बेलामा दर्शनेहरु(नौमति बाजा बजाउनेहरु)ले धेरै लामो समयसम्म बाजा बजाएपछि भगवान प्रशन्न भएछन् । त्यसपछि भगवानले के वर माग्छौ भाग भन्दा दर्शनेहरुले सुन मागेछन् । भगवानले त्यसो भए म रुप्से खोला एकैछिन् सुकाईदिन्छु भनेर खोला सकाएछन् । तिमिहरुले बञ्चरोले सुनको ढिकमा एक पटक हान्नु जति आउँछ त्यति लगेर जानु भन्ने आदेश भएछ । खोला सुकेपछि दर्शनेले एकपटक बञ्चरोले हानेछन् सानो चोईटा आएछ । त्यसपछि मानिसको जात न हो लोभले गर्दा पुनः अर्कोपटक पनि बञ्चरोले हान्दा भगवान रिसाएछन् रुप्से खोला बौलाएछ । त्यहाँ सबै दर्शनेलाई बगाएछ तर नौमति बाजा भने त्यही रहेछ । पछि त्यो ढुङ्गामा तीनै नौमति बाजाहरुका स्वरुप रहेको हो,’ स्थानीय शेरबहादुर पाईजाले नौमति बाजा ढुङ्गाको किंवदन्ती सुनाए।
चट्टानको चुचुरोहरु हिर्काउँदा चोईटेर फुटेको देखियो, समयमै यसको संरक्षण हुनुपर्छ । नत्र एक दिन अबशेष मात्रै हुनेछ बाजा ढुंगा।
स्थानीय अग्रज तुल प्रसाद गौचनले बिविध जातिको बसोबास, गाउँले कला संस्कृति, स्थानीय परिकारले काभ्रे गाउँमा होम् स्टे सञ्चालन गरि पाहुना स्वागत गर्न आतुर रहेको बताए।
त्यसैगरि शेर बहादुर पाइजाले जेठमा भब्य भुमे पूजा ४४ माना जाँड बानाएर भुमे देउतालाई चढाई गाउँलेलाई खुवाउने चलन पुर्खादेखि मनाउँदै आएको कथा सुनाए। उनले गाउँमा कोदो, मकै, फापर, भटमास, जौ, उँवा, उब्जनी हुने र मौसम अनुसार हरियो साग सब्जि, मुला, आलु, कुरिलो, टुसा, निउरो, ढकायो, बझाङ्गे, लसुने सागको साथै फलफुलमा सुन्तला र कागति प्रसस्तै पाइने पनि बताए। केहि बेर गाउँलेसँग होम् स्टेको बिविध पक्ष र सम्भावनाबारे छलफल गर्यौ।
पत्रकार भादगाउँलेले सफा गाउँ, मिलनसार र राम्रो आतिथ्य सत्कार, अग्र्यानिक खाना, मौसम अनुसार हरियो साग सब्जी, दुध दही प्रसस्तै पाईने हुनाले होमस्टेको प्रबल सम्भावना बोकेको बताए। त्यस्तै सामाजिक अभियन्ता दिनेश नारायण श्रेष्ठले होम् स्टेसँग सँगै अग्र्यानिक खेतीमा जोड दिन गाउँलेलाई हौस्याए।
अन्तरक्रिया कार्यक्रम पछि आमा समूहले स्वादिष्ट भोजन खुवाए । खानामा मकैको ढिँडो, सिस्नोको तरकारी, भाँगो र गोलभेडाको चटनी, साग, सिमीको दाल, लोकल कुखुराको मासु, र दुध, सबै टक्र्याए।
छोटो समयले गर्दा स्थानीय नाचगान हेर्ने रहर भने पुरा भएन, भुमे पुजामा पुर्खेउली नाँच हेर्न आउन निमान्त्रणा दिए गाउँलेहरुले। मुक्तिनाथ - जोमसोम सडकमा पर्ने सहज यातायात, प्राकृतिक दृश्यले भरिपूर्ण काभ्रे गाउँलाई पर्यटनसँग सरोकार वालाहरुले छिटै होमस्टे तालिम दिएर प्रचारमा सघाउनु पर्ने देखिन्छ ।
विगत केही वर्षदेखि सरकारले ग्रामिण भेगमा होमस्टेको अबधारणा ल्याएसंगै, देशका बिभिन्न ठाउँमा होमस्टे सञ्चालनमा आएका छन्। यसले गाउँलेको आर्थिक आर्जन र रोजगारी श्रृजना गर्नमा मद्दत पुगेको छ। घरायसी वाताबरण, अग्र्यानिक खाना, संस्कृति अवलोकन, प्राकृतिक भु दृश्यमा रमाउन पाउनुले आन्तरिक पर्यटकहरुको रोजाईमा होमस्टे परेको छ। काभ्रे गाउँ पनि नयाँ गन्तव्यका रुपमा चम्कने आशा गरौं ।