आदरणीय भूपी दार्इ,
तपाईँको भौतिक शरीर हामी बीच नरहेता पनि तपाईँका विचारहरुले मलाई सधैँ सधैँ सपनीमा तथा विपनीमा झकझकाइ रहन्छन्। हल्ला तथा कोलाहलको बीच आज शहिद दिवसको अवसरमा तपाईँलार्इ यो पत्र लेख्ने दुस्साहस गर्दै छु । आज माघ १६ गते, देशभर शहीद दिवसको बिदा छ। मेरो स्कुले जीवन भारतमा बितेको हुँदा त्यहाँका स्कुलहरुमा भगत सिंह जस्ता महान शहिदहरुको गाथा पढाइ हुन्थ्यो। उनको देशभक्तिबाट म निकै प्रभावित थिएँ। त्यसपछि कलेजको जिवन काठमाडौंमा शुरू भयो।
नेपालका चार शहिदहरु दशरथ चन्द, धर्मभक्त, गंगालाल र शुक्रराजका बारेमा पढ्दा उनीहरुलार्इ पनि भगत सिंहसँग तुलना गरेर हेर्ने गर्थेँ । उनीहरु प्रति श्रद्धाले शिर निहुरिन्थ्यो । जो अद्यपि छँदैछ। अन्य दिनहरुको तुलनामा माघ १६ गते मेरो शरीरको रगतको तापक्रम फरक भएको र दिमागको सोच्ने रफ्तार पनि बढी नै भएको महसुस हुन्थ्यो ।
शहिदहरुले देशका लागि दिएको निस्वार्थ बलिदानका बारेमा पढ्दा दिमागमा अनेक थरीका भावनाहरुको भल बग्ने गर्थ्यो । आजकल मलाई पहिलेको जस्तो हुँदैन। शायद शहीदहरुका नाममा अतिक्रमण भएर यस्तो भएको होला । आज मलाई शहीदहरुको अपमान भएको महसुस भइरहेको छ । शहीदहरुलार्इ सम्झनका लागि तपाईको कविता ‘शहिदहरुको सम्झनामा’ पढिरहेको छु । पहिलो हरफमै यस्तो लेख्नु भएको रहेछः
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुर्इ चार सपूत मरेर नगए।
मिर्मिरेमा तारा नझरुन्जेल बिहानी नहुने कुरा त शास्वत सत्य हो तर यहाँ त दुई चार मात्रै हैन बीसौँ हजार शहिदहरु मरेर जाँदा समेत मुलुक बनेन। जहाँको त्यहीँ रह्यो । त्यसैले भूपी दार्इ, हिजो आज मलार्इ कस्तो लाग्न थालेको छ भने मानिस मरेर जाँदैमा मुलुक बन्ने रहेनछ। ती आदरणीय शहिदहरु नमरीकनै बरु बाँचेरै लडेको भए शायद देशको अवस्था अहिलेको भन्दा राम्रो हुने थियो कि? गर्छु भन्ने जति मरेर जाने, नगर्नेहरु र गर्न नदिनेहरु उनै शहीदको लाशमाथी नाचेर र बाँचेर कसरी देश बन्ने हो र? बिगत अढाइ दशकको क्रियाकलापहरुले त यही कुरा दर्शाइरहेका छन्। तपाईँले कविताको अन्त्य तिर लेखेका हरफहरुले निकै मन छोयो।
हामीले आफ्नो कर्तब्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए ।
यहाँ कसैलाई शहीद रुनेमा चिन्ता भए पो त। जिउँदा मानिसहरु रुँदा त मन नपग्लने बज्रस्वाँठहरुलार्इ मरेर गएका शहीदहरु रोएर वा इतिहासले धिक्कारेर वा शहीदका लासले धिक्कारेर के पो फरक पर्ने हो र? इतिहास त भूत न हो। आफूलार्इ धिक्कारेको इतिहास पढ्नकै लागि भनेर को पो बाँचेका छन् र? ‘यावत जिवेत सुखी जिवेत, ऋणम् कृत्वम घृतम पिवेत’ को सिद्धान्तमा बाँचेकाहरुले आफूले खाने प्रत्येक गाँसमा शहीदको रगत भएको कहाँ देख्छन् र? आफूले फेर्ने प्रत्येक सासमा शहीदको रगतको गंध लुकेको कुराको कसरी अनुभुती होला र खै उनीहरुलार्इ? अनि आफ्नो मुटुको प्रत्येक चालमा शहीदको धड्कन भएको कुराको कसरी हेक्का होला र खै? भूपी दाई, तपाईले लेखेका सबैकुरा कृतज्ञहरुको देशका लागि शत प्रतिशत सही हो तर थोरै कृतज्ञ र धेरै कृतघ्नहरु बस्ने ठाउँमा कृतज्ञताको पाठ कसरी पढाउने होला? अहिलेको अवस्था हेर्दा तपाईका यी हरफहरु निकै घतलाग्दा छन् :
धरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हामीले आफ्नो ब्यक्तिगत उन्नति त प्रशस्तै गरेका छौं, नगरेको कहाँ हो र ? तर तपाईँले यहाँ देशको उन्नतिका बारेमा लेख्नु भएको हो । देशको उन्नति कस्ले गर्ने? तपाईँले २०१९ सालमा कविता लेख्दा देशका जनता यसरी देशै छोडेर बाहिरिएका थिएनन्। केही लाहुरे थिए तर उनीहरु आफ्नो गाउँ ठाउँलाई सम्झेर फर्की आएकै थिए। अहिलेको अवस्था फरक भइसकेको छ। उन्नति गर्ने पाखुरीहरु खाडी मुलुकमा संघर्ष गर्दैछन् र उता खिर्इ सकेपछि कोही काठका बाकसमा फर्किरहेका छन् भने कोही मुख र मुठी मात्र लिएर फर्की रहेका छन्। देशको विकास होला भनेर राज्यले अर्बौको लगानी गरी तयार पारेका अधिकांश दिमागहरु युरोप, अमेरिका, अस्ट्रेलिया तिर भासिइसके। यहाँ त ‘दलाल’हरुको मात्र बिगबिगी छ । देशमै केही गर्छु भनेर यहाँ बसेका युवाहरु हिनताबोधका कारण चाउरिएर बस्नु परेको छ। बाँकी रहेका केही कर्मठ पाखुरी र दिमागहरुलाई समेत पक्षाघात लाग्ने डर भइसकेको छ। हाम्रो देश अहिले तपाईँले भनेजस्तै हल्लै हल्लाको देशमा परिणत भएको छ। किनकि कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु संगीत प्रतियोगिताका जज अद्यपि छन्; आत्मामा पत्थर परेकाहरु काब्यका निर्णायक छँदै छन्; काठका खुट्टाहरु अहिले पनि रेसमा बिजेता हुन्छन् ; प्लाष्टर गरिएका हातहरुमा देशको सुरक्षाको संगित थमाइएकै छ; बाटो तथा अट्टालिकाहरुका ढोका अगाडि आत्माका मण्डि सजाइएकै छन् ; स्टक एक्सचेन्जका शेयरजस्तै आत्मा क्रय बिक्रय गर्न सक्नेहरु यहाँ नेता भएकै छन् ; निधारभरि कर्कटपाताजस्तै चाउरी परिसकेकाहरु तन्नेरीका अगुवा पनि भएकै छन् ; यहाँका स्वतन्त्र आमाहरुले अद्यपि लाहुरेहरु जन्माइरहकै छन् । त्यसैले भुपी दाइ यो देश अहिले पनि हल्लै हल्लाको देश हो । अहिले पनि यो देश हल्लै हल्लामाथि उभिइएको छ र हल्लै हल्लामाथि उठेको छ। २०२४ सालमा तपाईँले सुनेको भोगेको हल्ला घटेको छैन बरु बढेको छ।
भूपी दाइ, हामी अहिले पनि पानीकै थोपा छौं। २०१७ सालमा तपाईँले देख्नु भएका ‘हामी’ र २०७३ सालका हामी उही निर्बलिया पानीकै थोपा भन्दा बढ्ता केही छैनौ। उही पानीका थोपा जो सूर्यद्वारा माथि उचालिन्छौ, बादल बन्छौ र हावाको इशारामा यताउति दगुर्छौ, आफूलार्इ गतिशिल भन्ठान्छौ र माथि पुगेपछि हामी आफ्नो धरतीलार्इ बिर्सरहेकै छौं। धरतीलाई बिर्सने यो क्रम निरन्तर चलिरहेको छ र मलाई लाग्छ निरन्तर चलिरहने छ। कहिलेसम्म भन्ने कुरा थाहा छैन । बाहिरबाट उच्च देखिए पनि हाम्रो खिइने र घिस्सिने गति अहिले पनि बढ्दो क्रममा छ। तपाईँले भने जस्तै हीनताको सानो द्वीपमा पछारिएर हामीले आफ्नो पूर्वस्मृति गुमाइसकेका छौ र बिगतको आफ्नो उँचाइलाई बिर्सिएर सामान्य मानिसको उँचाइ देखि डर लाग्न थालेको छ। भूपी दाइ, तपाईले भने जस्तै अहिले हामी बास्तवमा लिलिपुटका लघुमानव भएका छौँ ।
भूपी दाई, तपाईँले हो-चि मिन्हलाई लेखेको चिठी पढेँ। तपाईँको ‘लेते खोला’ अद्यपी ठूला ठूला चट्टानहरुसँग पैठेजोरी खेलिरहेकै छ । आफूलाई पहरा तथा चट्टान भन्नेहरु एकथरीलाई उसले बगाइसक्यो। तर भूपीदाई, उदेक लाग्दो कुरो के छ भने यी घमण्डी पहराहरु त रक्तबीज जस्ता हुँदा रहेछन्। लेते खोलाको भेल त निरन्तर आइरहेकै छ तर यी भत्किएका, भास्सिएका र चोइटिएका रक्तबीज पहरा तथा चट्टानहरु त एकपछि अर्को गरी पुनर्जन्म लिइ आइरहेकै छन्। डलरको कात्रो बोकेर हो-चि मिन्हको देशमा आइलागेका बर्बरहरुलाई ‘लेते खोला’ ले त बगायो तर हिजोआज यिनीहरु डलरको कात्रो होइन डलरको झण्डा नै बोकेर हाम्रो देशमा आएका छन्। यिनीहरु खुलेआम हाम्रो देशमा जातियता, क्षेत्रियता, धार्मिक असहिष्णुता फैलाउन आइपुगेका छन्। हाम्रो भाषा संस्कृति र इतिहासमा धावा बोलेका छन्। यीनीहरु हामीहरुलाई शान्तिसँग बाँचेको देख्न रुचाउँदैनन् । भूपि दाई, मलाई बिश्वास छ यी डलरबादिहरुलाई पनि एकदिन तपाईको लेते खोलाले बगाएर लाने छ ।
दाई, अहिले पनि हामी आफूखुसी मिल्न जानेका छैनौ कसैले मिलाइदिनु पर्छ । अहिले त हामीलाई मिलाइ दिन भनौ वा छुट्याइदिन भनेर विदेशी महानुभावहरुको राँइदाइ नै छ। हाम्रो अस्तित्व अहिले पनि तपाईले बर्णन गर्नुभएको गति हराएका क्यारमबोर्डका गोटीमै सिमीत छ । खेलाडीमाथि आश्रित र एउटा स्ट्राइकरद्वारा सञ्चालित क्यारमबोडका गोटी । हामी अहिले पनि वीर नेपाली मै गनिन्छौं । त्यसैले त होला दश वर्षसम्म एक आपसमा लड्यौ । बुद्धु भएरै त होलानी हामी वीर भएको । दाइ, अहिले पनि हामी पाइताला नै छौं । हामी सधैं दौडमा प्रथम हुन्छौं तर हाम्रो घाँटीले माला थापेकै छ, छातीले तक्मा टाँसेकै छ, र निधारले टीका थापेकै छ । यहाँ घाँटी, छाती र निधारहरुकै बोलबाला छ । हामी गोर्खाली हैन गोरु-खाली भएका छौँ । गोरुखाली ।
अन्त्यमा तपाईको ‘मेरा साथीहरु’ कविता पढें
मैले पिएकोमा रिसाएका साथीहरु
पिएर त हेर पिउन झन गाह्रो छ ।
मरेर शहीद हुनेहरु
जिएर त हेर जिउन झन् गाह्रो छ ।
भूपी दाइ, यहाँ बाच्नु भनेको सास फेर्नु मात्र भएको छ । वास्तवमै भूपी दाइ, उहिले मात्र हैन, अहिले पनि यहाँ जिउन झन् झन् गाह्रो हुँदै गइरहेको छ भने शहीद हुन सजिलो ।
मनका कुरा लेख्दै गरौँला । आजलाइ बीट मार्ने अनुमति पाउँ ।