सुन्दर सुन्दर यौटा कुनै नाम लेखुँ कि!
गाउँ आउँदा सम्झनामा गाउँ लेखुँ कि!!
वारि खोला पारि खोला चाहनाले बगेका छन्
मनभरि उमङ्गका रहरहरु बढेका छन्
पहाड चढ्दा पहाडभरि नाम लेखुँ कि!
गाउँ आउँदा सम्झनामा गाउँ लेखुँ कि!!
खेतबारी घाम फुल्छ ज्योति छरेर
मनभरि सुवास चल्छ वतास बहेर
बादलभरि भरि कुनै नाम लेखुँ कि!
गाउँ आउँदा सम्झनामा गाउँ लेखुँ कि!!
केही वर्षअघि गाउँ पुग्दा लेखेको यस गीतले मेरो गाउँप्रतिको नोस्टालजिया बोल्छ।
आखिर, आफ्नो गाउँ कसलाई पो मनपर्दैन र!?
बाल्यकालको थोरै समय मात्र मेरो गाउँ (बाग्लुङ, जैदी) मा बितेको छ। तर, जति बितेको छ, त्यो मनमा अमिट गरी बसेको छ। चुपचाप सम्पूर्ण ममताले बसेको छ। सधैँ प्राकृतिक सौन्दर्यताले ढाकिएर बसेको छ। मेरा जराहरु जैदीकै माटोमा छन् भन्ने लाग्छ। यसका कुना–कन्दरा, बन–जंगल, गाउँ–पाखा मलाई सधैँ प्रिय लाग्छ।
गाउँ छोडेको तीन दशक नै भयो भन्दा हुन्छ। सहरको सुविधाले गर्दा मेरा बाबुले मलाई बजार झारेका हुन्। मेरो पढाइ र बढाइ पर्वत कुश्मामा भयो। अहिले काम विशेषले यताउता भए बेगर मेरो स्थायी बसोबास पर्वत कुश्मा नै हो। जबजब म गाउँ पुग्छु, गाउँको मायाले पोखिन्छु। ममी, बुवाको प्रेमले हृदय भरिन्छ। गाउँको दृश्यचित्रले मन विप्लवी बन्छ। गाउँको संस्कृति, जीवनशैली र स्थानीयपनले मनमुग्ध हुन्छ। मेरो जन्म जैदीको माटोमा भएकोमा म जहिल्यै गर्व गर्छु। यसप्रकार म मेरो जन्म गाउँप्रति बिनित छु।
मेरो गाउँ र मेरो बजार घर तीन घण्टाको दुरीमा छ। कुश्माबाट मैले प्रत्यक्ष गाउँको दर्शन गर्न पाइराखेकै हुन्छु। गाउँको यादले छोपिरहेकै हुन्छ। यसरी विचार गर्दा गाउँ मेरा लागि धरै थोक हो। जैदीले रचना गरेको मेरो जीवन आज जहाँ, जता भएता पनि म जैदीवासी एक गाउँले हुँ भन्नलाई कुनै हिचकिचाहट हुँदैन। म अहिले जे छु त्यसको सम्पूर्ण स्रोत मेरो गाउँ नै हो भन्ने लाग्छ।
गाउँ धेरै कारणले मनपर्छ मलाई। गाउँका कथा, इतिहास, संस्कृति, मिथक जहिल्यै बृहत्तर लाग्छन्। त्यसो त सिङ्गो देश पनि त गाउँ नै गाउँले बनेको हो। कहिलेकाहीँ गाउँ पुग्दा बिहान गाउँघरबाट चाँडै निस्किएर अबेर घर फर्कनु मेरो गाउँ पुग्दाको दिनचर्या हो। गाउँका आफूले आदर–सत्कार, सम्मान गर्नु पर्ने बुढा–बुढीहरु, वयश्कहरुसँग गफमा अलमलिनु गाउँको आनन्द हो। उनीहरुसँग पुराना स्मृतिदेखि केही आदर्श र ज्ञानका कुराहरु सुन्न, बुझ्न पाउँदा जीवनको उल्लेखनीय प्राप्ती लाग्छ। त्यसैले पनि म फुर्सद मिल्यो कि गाउँ पुगिरहन्छु।
०००
मैले बाल्यकाल र अहिले देखेको र अनुभव गरेको जैदीको भूगोल उही र उस्तै छ। गाउँका संघर्षशील मानिसहरुका विवश दिनचर्या देख्दा जीवनमा संघर्षशील र संवेदनशील बन्ने प्रेरणा मिल्छ। केही कुरा जान्न बुझ्न उत्सुक गराउँछ। अनेकन कल्पनाहरु आउँछन्। दृश्य–अदृश्य अनुभवहरु धेरै छन्। यो सब मेरो गाउँले नै बनाएको रहेछ भन्ने लाग्छ।
देशका धेरै गाउँहरु बुझ्न मलाई मेरै गाउँले प्रेरित गरेको हो। पाहुना भनेपछि मरिमेट्ने सरल हृदयी मेरा गाउँलेहरु जसलाई पनि आफन्त ठान्छन्। खुसी हुनलाई उनीहरुलाई केही चाहिँदैन। सधैँ उज्याला जस्ता लाग्ने गाउँलेहरुको न्यानो माया म कहिल्यै बिर्सिदिन। त्यसो हुदाँ पनि मलाई गाउँ धेरै मनपर्छ। गाउँ बिम्ब जहिल्यै शक्तिशाली लाग्छ मलाई। र, एक गाउँले धेरै गाउँहरु परिभाषित गर्न सक्छ भन्ने लाग्छ।
मैले गाउँलाई अनेकौं सन्दर्भमा लेखेको छु। त्यो कहिले निबन्ध, कहिले कविता त कहिले गीतमा विस्तार भएको छ। त्यो क्रम अझै जारी छ। मानिसहरु कसरी बाँचिरहेका छन्, कुन दुखले गुज्रिरहेका छन्, त्यो गाउँ पढेपछि मात्र थाहा हुन्छ। देशका धेरै गाउँघरहरु डुलेँ, तर मलाई मेरो गाउँ जैदी कुनै पनि दृष्टिले कम लाग्दैन। यहाँको मिश्रित बसोवास, पहाडी भूगोल, मौलिक गन्ध, प्राकृतिक सानिध्यता साँच्चिकै विशेष छ।
संसारले नयाँनयाँ आकार लिइरहेको बेला हाम्रा गाउँघरहरु किन अझँ पछि छन्, किन पछि पारिए? हाम्रा नेताहरुमा किन देश विकास गनुपर्छ भन्ने सोच पलाएन? आदि–आदि कुराले मलाई गाउँ पुग्दा पिरोल्छ। यस्ता अनेकन जिज्ञासा मलाई गाउँघरहरु डुल्दा हुन्छ। हाम्रा गाउँघरहरुलाई हामी बिर्सियौं भने, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। कारण, हामी सबैको अस्तित्व गाउँसँग जोडिएको छ भन्ने लाग्छ।
जब म निराशाको क्षणहरुसँग लडिरहेको हुन्छु, तब आफ्नो गाउँ सम्झँदा मात्रै पनि आनन्द आउँछ। त्यसो हुँदा गाउँ भन्नु मेरा लागि एक आस्था, विश्वास र प्रेम पनि हो। जसलाई म कहिल्यै बिर्सन सक्दिनँ। मेरो गाउँ एक सुन्दर संसार हो मेरा लागि।
घण्टाभरको दुरीमा पुगिने थान्थाप माई मन्दिर, मनग्य घाम लाग्ने निउरिनी चौर, कुइदाङ, लौवा र सु्म्साका उर्बर फाँटहरु, कालिगण्डकी किनारमा सुतेको बेलबगर, प्रसिद्ध सेल्टखानी विहारथला, हाँडीकोट र चोखेकको धुरी, पारिपारि क्षितिजमा टाँगिएका अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरी हिमश्रृङखलाका दर्जन बढी हिमाल र सम्पदास्थलका दृश्यले मलाई सधैँ आकर्षित गरिरहेका हुन्छन्। र, यी मेरा गाउँ पुग्दा पुगिरहने ठाउँहरु पनि हुन्। र, सपनाका प्रिय वस्तुहरु हुन् झैं लाग्छ। त्यसो हुँदा पनि म जन्मेको ३२ वर्षअघिको जैदी गाउँलाई गहिरो गरी महसुस गर्छु।
आध्यात्मिक खोजका लागि पनि म बेलाबेलामा गाउँ गैरहेको हुन्छु। कहिले आफूले खिचेका तस्वीहरुको एल्बम वा अर्काइभ ओल्टाइपल्टाई गाउँलाई मनमनै सम्झन्छु। गाउँ पुग्दा शारिरिकदेखि मानसिक आनन्द मिल्ने गर्छ। हाम्रा आँखामा कल्पना र ज्ञानको भोक छरिदिने पनि गाउँहरु नै हुन् भन्ने लाग्छ। मानिसका इच्छा, लक्ष्य र सपना पनि गाउँबाटै सुरु हुन्छ भन्ने लाग्छ। त्यसो हुँदा पनि मलाई गाउँ धेरै खाले प्रेरणाको स्रोत हो।
पहिले बिकट लाग्ने मेरो गाउँ अहिले सुगमतातिर उन्मुख छ। अहिले गाउँलाई कालिगण्डकी करिडोरले छोएको छ। कृषि सडक घर नजिकैबाट अगाडि बढेको छ। उच्च मावि, स्वास्थ्य चौकी, बिजुली, सिँचाइ कुलो, पानी धारालगायत सुविधाहरु घर नजिक पुगेका छन्। यसले गाउँ चक्मकाए झैँ लाग्छ। पहिले उभिएको गाउँ धेरै स्तरले विकसित भएको छ। र, परिर्वतन देख्दा खुसी लाग्छ। पहिले सोच्ने गाउँको भावना र संवेग पनि धेरै फरक छ। अहिले म ज्यादा पर्वत कुश्मा बजारमा बसे पनि म गाउँ जैदीकै पाखा पखेरामा उभिएझैँ लाग्छ। त्यो हुदाँ पनि मेरो गाउँ मलाई सधैँ सर्वप्रिय छ।