महिलाको कानूनी अधिकार तथा लैगिंक हिंसा सम्बन्धि विभिन्न कार्यक्रममा भाग लिदाको क्रममा होस वा तालिम सन्चालन गर्न विभिन्न जिल्लामा जाने क्रममा होस प्राय सबै फोरममा महिला तथा पुरुष दुबै सहभागीहरुबाट एउटा साझा सवाल सधै उठ्ने गर्दछ । अहिले वैदेशिक रोजगारको नाममा विदेश गएका पुरुष विरुद्ध.अत्याधिक हिंसा भएको छ । वैदेशिक रोजगारीमा गएका पुरुषले आफ्नो ज्यान हत्केलामा राखेर परिवारका लागि भनि पठाएको पैसा वैदेशिक रोजगारबाट फकर्रे आउदा सम्पूर्ण पैसा समेत लिई श्रीमती अकैसँग दोस्रो विवाह गरि गएकी र बालवच्चाको समेत विचल्ली बनाएको धेरै उदाहरण सहित महिलाले पुरुषमाथि हिंसा गरेको तथ्यहरु राख्नुहुन्छ सहभागीहरू।
श्रम तथा रोजगार मन्त्रालयद्धारा प्रकासित वैदेशिक रोजगारका लागि श्रम आप्रवासन, नेपालको स्थिती प्रतिवेदन २०१४।१५ अनुसार आर्थिक बर्ष सन् १९९३/१९९४–२०१४/२०१५ को अवधिमा सरकारद्धारा (भारत) बाहेक वैदेशिक रोजगारका लागी ३८ लाख भन्दा बढी श्रम स्वीकृति गरिएको कुरा प्रकाशन गरेको छ।
जसले वर्तमान जनसंख्याको १४ प्रतिशतलाई जनाउँछ। जसबाट आउने रेमिटेन्स मात्र २०१४/२०१५ सम्ममा नेपाली रुपैया ५८९.५ अर्व पुगेको छ । जसले देश विकासको अर्थतन्त्रमा मुख्य योगदान पुर्याएको छ। देश विकासको लागि अर्थतन्त्रमा यतिको योगदान पुर्याउने समूहमा भइरहेको श्रम शोषण लगायत लैगिंक हिसा प्रति राज्यले गम्भिर तरिकाले सोच्न आवश्यक छ । हामी महिला विरुद्ध हुने हिंसाबाट रुपान्तरण हुदै लैगिंक हिसा विरुद्धको अभियानको क्रममा रहेका छौं र एक सभ्य नागरिक भएको हैसियतले यदि हिंसा भएको हो भने पुरुष विरूद्ध हुने हिंसाको सम्बन्धमा पनि वोल्नु हाम्रो कर्तव्य हो जस्तो लाग्छ मलाई।
सिन्धुपाल्चोकको चौतारामा महिला सशक्तीकरण तथा नेतृत्व विकास तालिम चलाउने क्रममा वैदेशिक रोजगारीमा गएका श्रीमानको श्रीमतीले अर्को विवाह गरेको प्रसंगमा एक सहभागीले अहिले महिला भन्दा बढी पीडित पुरूष रहेको तर्क अघि सार्नु भयो। सहभागीको उक्त रायमा प्राय सबै सहमत हुनुहुथ्यो यद्यपि सबै महिला सहभागीहरु हुनुहुन्थ्यो । तर एक जना सहभागीले सो विषयमा कुनै तर्क नराखी केवल अध्यारो अनुहार बनाएर छलफल सुनि रहेकी थिईन्। मेरो ध्यान उपरोक्त सहभागी तिर आकर्षित भयो र उनको विचार बुझ्न कोशिश गर्दै बोल्न प्रोत्साहित गरे तर उनी बोल्न चाहिनन् त्यसकारण जवरवस्ती गरिनँ।
कार्यक्रम सकिए पछि निजसँग एकान्तमा कुरा गर्ने मौका पाएँ। पहिला त त्यति नखुले पनि विस्तारै उनले आफ्नो समस्या राखिन्। उनका श्रीमान वैदेशिक रोजगारीका लागि विगत दुई वर्षदेखि मलेशियामा बस्दै आएका रहेछन्। श्रीमानको राम्रै कम्पनीमा जागिर भएको कारण आम्दानी पनि राम्रै रहेछ। दुवै श्रीमान श्रीमतीको सल्लाहले छोराछोरी पढाउन भनि उनी बजारमा डेरा लिई बसिछन्।
छोराछोरीको पढाई शहरको बसाई अहिलेको महंगी वैदेशिक रोजगारीबाट आएको पैसा खर्च हुने क्रम जारी रह्यो। केही महिना अघि श्रीमान घर बिदा लिएर आएछन्। उनी आफूले दुई वर्षमा पठाएको सात लाख रुपैया मागेछन्। आफूले खर्च गरेर बचेको पैसा देखाउँदा कुसलाई खुवाईस भनि बात लगाउने गरि श्रीमती माथि हिंसा गरेछन् र बिदा सकेर फर्के पछि श्रीमती तथा छोराछोरी संग सम्पर्क विहिन भएर बसेकोले चिन्तित रहिछन्।
बुहारी नाती नातिनी लिई शहर बसेकी र छोराले कमाएको पैसा सकेको भनि सासु ससुराले पनि गाउँमा बस्न दिएनछन्।
त्यसै गरी कानूनी सहायता दिने क्रममा भेट भएकी नाम परिवर्तन गरिएकी गीता २२ वर्षको पनि कथा आफ्नै रहेछ। तीन वर्ष अगाडि उनको परिवारको सल्लाहबाट मागी विवाह भएको रहेछ। विवाह भएको तीन महिनामा श्रीमान वैदेशिक रोजगारीमा मलेशिया गएछन्। श्रीमान गएपछि परिवारले सहमति नदिएता पनि श्रीमानको साथले कलेज पढ्न डेरा गरि बस्न थालिछन्।
श्रीमानले पैसा पठाई दिएकोले उनलाई शहरमा बसेर पढ्न खासै समस्या थिएन। तर परिवारको ईच्छा विपरीत शहरमा बसेर पढेकीले श्रीमानको परिवारसँग भने सम्बन्ध हुन सकेको थिएन। यसै क्रममा उनले प्लस टु को जाँच दिएपछि मार्केटिङमा जागिर गर्न थालिछन् यसै क्रममा सोही कम्पनीमा काम गर्ने एक पुरूष साथीसँग चिनजान भएकोले सँगै बाटोमा आउने जाने क्रम बढेछ।
शहरमा बसेर लवाई खवाई केही परिवर्तन भएकी निज गीताको पुरुष साथी सँग हिड्ने क्रम बढेपछि गाउँकै कसैले श्रीमानको कानमा सो कुरा पारी दिएछन्। श्रीमानले मलेसियाबाट बारम्बार फोन गरि गाली गलौज गर्ने बात लगाउने क्रम अब उनको दिनचर्या बनेछ।
श्रीमान र निजका परिवारले साथ नदिए पनि उनीहरुको बिचमा साथीको भन्दा बढी कुनै सम्बन्ध छैन भन्ने कुरामा आमा बाबु तथा दाजु भाउजुले साथ दिनु हुन्छ भन्ने विश्वासमा रहेकी गीताले माईतीको समेत साथ पाईनन्। उनी बाध्य भएर ती पुरुष सँग दोस्रो विवाह गरिछन्। विवाह पछिमात्र थाहा पाईछन् कि उ त पहिला नै विवाहित रहेछ, घरमा श्रीमती र एक छोरा समेत भएका ती पुरुषले उनलाई विवाह दर्ता गर्न तथा घरमा लगेर राख्न अस्वीकार गरेछन् र हाल गीता दोस्रो श्रीमानसँग समेत सम्बन्ध विच्छेदका लागि कानूनी सहायताका लागि ढोका ढकढक्याउन आएकी छन्।
दक्षिणकाली बस्ने सीता तामाड.(४०) (नाम परिवर्तन) विगत चार वर्ष अगाडि श्रीमान र छोरालाई घरमा छोडी सबैको सरसल्लाहले वैदेशिक रोजगारीका लागि गईछन्। काम त्यती सन्तोजनक नभए पनि कमाएको सम्पूर्ण रकम घरमा श्रीमान र छोरालाई पठाईन्। काममा उनी माथी यौन शोषण तथा श्रम शोषण भएकोले नेपाल फर्केर आईन, तीन वर्ष कमाएको रकम पठाएर घर फर्कदा उनले आफू बस्दै आएको सम्पूर्ण घर जग्गा अर्कैले भोग गर्दै आएको देखेपछि श्रीमान र छोरालाई खोज्दै जादा दुबैले मिलेर घरजग्गा बिक्री गरी श्रीमानले दोस्रो विवाह गरी बसेको अवस्थामा पाईन्।
लक्ष्मीलाई उनका पतिले वैदेशिक रोजगारीमा रहदा मालिकसँग यौन शोषणमा परेकोले आफूले स्वीकार गर्न नसक्ने भनि घरबाट निकाला गरिदिए पछि उनी न्यायको लागि कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) मा आएकी र हाल काठमाण्डौ जिल्ला अदालतबाट लिखत दर्ता वदर गरी एक भाग अंश तथा मानाचामल पाउने ठहर भएको अवस्था छ ।
त्यसै गरि महोत्तरीमा एक कार्यक्रममा एक २३ वर्ष वर्षीया महिलाले श्रीमान विदेश गएको पाँच वर्ष भइसकेको तर यस बिचमा तीन पटक गर्भपतन गराएकोले स्वास्थ्य अवस्था बिग्रेको कुरा सहभागीहरुले छलफलमा राख्नुभयो। घुँगटभित्र बस्ने ती महिला घरबाट बाहिर कहिल्यै निस्केको छिमेकीले समेत नदेखेको बताए। घरमा निजका ससुरा, देवर तथा सासु रहेछन। धेरै कोशिसका वावजुद पनि उनलाई भेट्न सम्भव भएन।
यी त यो समाजमा प्रतिनिधित्व गर्ने केही उदाहरणहरु मात्र हुन् । यस्ता हजारौ महिला तथा पुरुष यस्ता घटनाबाट प्रभावित भएका छन् । हजारौ परिवार पारिवारिक विखण्डनमा परेका भने हजारौ वालवालिका परिवार विहीन समेत बन्न पुगेका छन्।
हजारौ सम्बन्ध टुट्नका लागि अदालतको ढोकामा पुगेका छन्। यस्ता घटनाहरुमा महिलाहरुलाई नै दोषि मान्ने जमात मात्र देखिएको छ यदि कसैले महिलाको पक्षमा बोल्ने हिम्मत गरि हाले पनि विदेशमा श्रीमान भएको अवस्थामा महिलाको पनि त शारीरिक आवश्यक्ता हो नि त भनि केही सस्तो सहानुभूती प्रर्दशन गर्न खोजेको देखिन्छ।
वैदेशिक रोजगारीमा गएका परिवारलाई नजिकबाट नियाल्दा जोखिममा रहेको परिवार भनेको वैदेशिक रोजगारमा गएका पुरुषका परिवारका सदस्य विशेष गरि श्रीमती र वैदेशिक रोजगारीमा रहेका महिला रहेका छन्।
श्रीमान विदेश गए पश्चात सम्पूर्ण पारिवारिक जिम्मेवारी काधमा लिएर हिड्नु पर्ने, छोरा छोरी पढाउने बढाउने, दुःख बिराम सम्पूर्ण जिम्मेवारी एक्लैले उठाउनु पर्ने दायित्व थपिएको छ।
महिलाले महिला तथा पुरुषको दोहोरो भूमिका बहन गर्ने क्रममा जिम्मेवारी पनि दोहोरिएर नै गएको छ । यस्को सकरात्मक पक्ष भनेको महिलाहरुको जिम्मेवारीको दायरा फराकिलो भएको छ भने लैंगिक भूमिकामा पनि केही परिवर्तन आएको छ जस्को कारणले महिलाहरुमा आत्मविश्वास पनि वृद्धि भएको छ।
श्रीमान वैदेशिक रोजगारीमा गए पश्चात निजको श्रीमतीको जीवनशैलीमा भएको परिवर्तन अर्थात निजले लगाएको, खाएको, हिडेको हरेक कुराहरुमा छर छिमेकी आफन्त सबैको लागी चासोको विषय बन्ने बताउँछन् यसका प्रभावितहरू। श्रीमान वैदेशिक रोजगारमा गएपछि कुनै पुरूषसँग बोल्यो भने बात लाग्ने डर नवोलु कति ठूली भएकी भने आरोप लाग्ने डर केही गर्दा सुख छैन।
दुई चारजना गलत मानसिकता भएका ब्यक्तीका कारण कसैसँग बोल्यो हिड्यो भने कस्ले श्रीमान र सासु ससुरालाई कुरा लगाई देला र मानसिक यातना शुरु होला भन्ने त्रास । श्रीमानले विदेशबाट दुःख गरि कमाएको पैसा एकमुष्ठ माग्ने तर घरमा भएको खर्चको चाही हिसाब किताब नै नगरी कस्लाई लगेर खुवाईस भनी विभिन्न शंका उपशंका गर्ने। बिना कारण वैदेशिक रोजगारीमा गएका श्रीमानले अरुका कुरा सुनी फोनमा धम्कीको त्रास दिनचर्या बन्छ भनि बताउँछन् प्रभावितहरू।
त्यती मात्र नभएर अर्को सबैभन्दा डरलाग्दो पाटो भनेको त्यस्ता महिला माथि सहानुभूती, माया देखाउने, बारम्बार फोन गर्ने, प्रलोभन देखाउने आफ्नो बनेर महिला माथि यौन शोषण तथा आर्थिक शोषण गर्ने र अन्त्यमा अर्काको घर नै बिगारेर महिलालाई न घरको न घाटको बनाएर छोडीदिने पुरुष पनि यही समाजमा विद्यमान छन्।
समाजमा त्यस्ता पुरुष जसले श्रीमान घर नभएको अवस्थामा अर्काको श्रीमतीलाई फकाई उस्को धनमा मस्ती गरेर हिड्ने र उस्को एक्लोपनको फाईदा उठाई शारीरिक शोषण गर्ने गरेका उदाहरण प्रशस्तै छन् । महिलाहरु पनि आफूहरु शोषणमा परेको महसुस नै नगरी पूर्ण विश्वासमा परि सर्वस्व सुम्पने, श्रीमानले दुःख गरी पठाएको पैसा समेत त्यस्ता व्यक्तीलाई सुम्पने अन्ततः आफू सडकमा पुगे पछि मात्र आफू शोषित भएको महसुस गर्ने गरेको पाईन्छ।
यसरी अर्काको श्रीमती माथि यौन शोषण तथा आर्थिक शोषण गर्ने पुरुषलाई त समाजले सजिलै स्वीकारीदिन्छ र विना आक्षेप पुर्नस्थापित हुन्छन्।
तर महिलाकाका लागि भने समस्या थपिन्छ। उनीहरूलाई न पहिलो श्रीमानले स्वीकार्छ न दोस्रो पुरुषसँग नै घरबार हुन्छ, न माईतीले नै साहारा दिन्छन्। उनलाई त वैदेशिक रोजगारमा गएको श्रीमानलाई पीडा दिने पिडक र एउटा चरित्रहिन महिलाको छाप लगाएर छोडीदिन्छ समाजले। तर, त्यो पुरुष जस्ले एउटा महिलालाई माध्यम बनाएर अर्को पुरुषले कमाएको सम्पूर्ण पैसा खाईदिन्छ। परिवार विखण्डन गरी छोराछोरीलाई बाबुआमा बिनाको टुहुरो बनाएर सडकमा हिड्न बाध्य बनाईदिन्छ। एउटी महिलालाई न घरको न घाटको बनाएर छोडीदिन्छ तर पनि समाजले उस्लाई दोषी मान्दैन।
यसरी परिवार विखण्डन हुनुमा पुरुषको मात्र दोष छ भन्ने मेरो पनि ठम्याई होइन । महिलाहरु तुरून्तै कसैले माया दया देखाउदैमा उस्को विश्वासमा परेर जिउ धन नै सुम्पनु महिलाको पनि सबै भन्दा ठूलो कमजोरी हो।
अधिकांश महिलाले श्रीमानले दुःख गरी पठाएको पैसाको उचित व्यवस्थापन गर्न नसक्नुमा हामीले छोरीलाई दिएको शिक्षा तथा जिम्मेवारीमा नै कमजोरी छ।
विवाह अघि घरको सम्पूर्ण कारोबार बाबुले धानिदिएको हुन्छ भन्ने विवाह पछि श्रीमानले। १५ वर्षकी छोरीलाई एक हजार दिएर कुनै सामान किन्न पठाईयो भने ५ वर्षको छोरा साथी पठाउने हाम्रो नेपाली समाजमा छोरीलाई यदाकदा बाहेक कुनै आर्थिक कारोवार गर्न दिईएकै हुँदैन भने एकाएक श्रीमानले विदेशबाट पठाएको लाखौं रूपैयाको व्यवस्थापन गर्ने कुराको आशा राख्नु हाम्रो मुर्खता हो। जस गलत फाइदा उठाईरहेका छन् केही गलत मनसाय भएका व्यक्तीले ।
अतः वैदेशिक रोजगारीमा भएका ब्यक्तीहरुले पनि आफ्नो परिवार विखण्डन हुनबाट जोगाउन परिवारको विश्वास गर्ने कागले कान लग्यो भन्दैमा काग पछि दौडनु भन्दा कान छामी वास्तविकता पत्ता लगाउनाले समस्याले विकराल रुप नलिन सक्छ।
यदि कुनै महिला यौन शोषणमा परेको छ भने उस्लाई परिवारको मायाको, सहयोगको आवश्यक्ता हुन्छ न की दुव्र्यवहारको । दुर्घटना जो कोही माथी पनि घट्न सक्छ । परिवारका सदस्यहरुले पनि संवेदनसिल भएर बुहारीलाई परिवार कै सदस्य मानेर माया दिएर संरक्षण गरि दिए पारिवारीक विखण्डन रोकिन सक्छ।
त्यसै गरि विशेष गरी महिला दिदीबहिनीले सचेत भई श्रीमान नभएको अवस्थामा आफूलाई शोषण हुनसक्ने र सो पश्चात आउने परिणामको समेत अनुमान लगाउने र सोबाट बच्ने उपाएको बारेमा सोच्नु अत्यन्त जरुरी छ।