अगेनोमाथि फत्किरहेको ढिँँडो ओडाल्न थालिन् र भनिन् ः छोरी छोरी पाको मान्छेलाई त हेला हुने के बैनी, गाउँसमाज नै हाँस्नी, छोरो कैले पाउने भनेर सोध्ने, यै समाजकै कारणले गर्दा मैले छोरो पायो, मेरो श्रीमान त ज्ञानी छ, चारवटी छोरी भएपछि भैगो बुढी मलाई छोरो चाहिदैन अब पुग्यो भन्यो तर मेरै जवर्जस्तीले गर्दा उसले पनि नमानी सुखै पाएन।
मकवानपुर नामटारकी उर्मिलाले चार वर्षको छोरो देखाउँदै भनिन् ः यै छोरो नजन्मिनाले कति रोयो रोयो, अब त ढुक्कै भो।
पोहोर साल बसन्त ऋतुको मध्यतिर रेकर्डर बोकेर म उर्मिलाको गाउँ पुगेको थिएँ। आलुबखडा ढकमक्क फुलेर सेताम्मे बनेको उनको गाउँ साह्रै सुन्दर थियो। तर छोरालाई काखा छोरीलाई पाखा गर्ने चलन सुन्दर गाउँलाई कुरुप पार्ने गरी जगडिएको रहेछ।
उर्मिलाको गाउँभन्दा धेरै टाढा, म बस्ने शहरमा छोराको रहरको कुरा गर्छु अब।
‘एउटा छोरो चै पाइहाल्न प¥र्यो के, ढिलो गर्न भएन।’ बाफ उडिरहेको तातो भातको थाल मेरो अगाडि राख्ने बेला उनले कानैमा आएर भनिन्।
‘छोरी पनि त हुन सक्छ नि’, मैले दालको कचौरा सार्दै प्वाक्क बोलें।
‘अलाच्छिना किन लाउनु, छोरै भने पो छोरो हुन्छ त,’ उनले नसोचेको जवाफ दिइन्।
हामी श्रीमान श्रीमती ट्वा प¥र्यौं।
पाहुना बनेर अर्काको घर खान गाको, छोरो शब्दले कुरो बिग्रियो, सिपालुले पकाएर दिएको खान्की पनि खल्लो भो ।
बिहेपछिको सबैभन्दा ठुलो प्रेसर बच्चा (खासमा छोरो नै) पाउनु पर्छ भन्ने कतिपयको मानसिकता कस्तोसम्म रहेछ भन्ने कुरो बल्ल बुझ्दैछु।
बिहे हुनुभन्दा ठ्याक्कै हप्तादिन अघि, महिनावरी चल्दै थियो। हजुरआमाले मेरो हात समातेर भनेकी थिइन्–ब्या अघि नै पर सरी हालिस्, अब ज्वाइँको घर गएपछि सुरुमै एउटा पनाति पाइदिहालेस्, ढुक्कै हुन्छ।
छोरो जन्मिएको पारिवारको शान र सामाजिक सम्मान आफ्नो जीवनकालभरी आफंैले भोगेर देखेर आइसक्नुभएकी हजुरआमाले मेरो पनि त्यस्तै होस् भनेर कामना गर्नु कुनै नौलो कुरा थिएन।
मैले हजुरआमासँग जति नै कचकच गरेपनि पहिलो सन्तान पलाती नै होस् भनेर कामना गर्नुहुन्थ्यो र गर्नुहुन्छ किनभने हजुरआमा र म बाँचेको समाज छोराको विषयमा झण्डै झण्डै उस्तै छ।
भर्खर भर्खर बिहे भएको बुहारी भेट्न पुगेका पाका उमेरका छर छिमेक वा पाहुनाले दिने एउटै साझा सुझाव जस्तै आशिष हुदो रहेछ ः ल अब छिट्टै छोरो पाउनु, कुलको शान बढाउनु।
जब पुरानो हुँदै गइन्छ बिस्तारै सबैतिरबाट छोरोको माग बढ्दै जान्छ।
अप्रत्यक्ष रूपमा कसैलाई छोरो नै, कसैलाई नाति, कसैलाई पनाति, भान्जा, भतिज जे भनौं आफूभन्दा सानो उमेरको छोरामान्छेलाई नाताअनुसार बोलाउने शब्द के हुन्छ त्यही शब्दको नाता जोडेर भनिदिन्छन्।
सन्तान जन्माउने हतारो नभएका हामी जस्ता थुप्रै विवाहितहरू भने सबैको घोर्ले छोरो पाउनु पर्ने माग सुन्यो, बस्यो।
हुन पनि बिहे भएदेखि सुरु हुने छोरा पाउनुपर्ने दबाब झन् दुई वटा छोरी हुनुपर्छ बुझपचेका श्रीमान्ले श्रीमतीको विजोगै पारेर भएपनि छोरा जन्माउन लगाउँछन्।
देखेको एउटा उदारहण–चार पटक गर्भपात गरेपछि पाँचै पटकमा उनको गर्भमा छोरो बस्यो। मैले भेट्दा उनी छोरालाई जन्मदिने अन्तिम हप्ताताका थिइन्। पटक पटक गर्भपतनले थिलोथिलो बनेको उनको शरीर र बिग्रिएको स्वास्थ्य अवस्थाबीच पनि छोरो पाउने हर्कले उनी फुरुङ्ग देखिन्थिन्। पहिलेका दुई छोरीहरू उनका गडेका आँखा र सुन्निएका हातखुट्टा हेर्दै भाइको प्रतिक्षामा थिए।
‘ज्यानै धरापमा राखेर छोरो पाउन लाग्नु भो है?’, उनलाई देखेपछि सोध्न मन लागिहाल्यो।
‘के गर्ने त बाबै, श्रीमानलाई जसरी पनि छोरै चाहियो रे।’
‘दुखै गरेर भएपनि अब त ढुक्क भो नि।’
श्रीमतीको जीन्दगीसँग खेलवाड गरेर छोरो पाउन लगाउने श्रीमान देखेर साह्रै नमज्जा लाग्छ अनि त्यस्तै श्रीमानहरू र छोरै खोज्नेहरू मिलेर बनेको समाज यस्तै गरी अघि बढ्ने हो भने उफ्।
हालसालै फेसबुकमा एउटा भिडियो सेअर भएको थियो, त्यसमा नायक राजेश हमाल र उनकी श्रीमती मधु भट्टराईसँगै देखिन्छन्।
प्रश्न सोध्नेले ठूलो आवाजमा सोध्छन् ः सधै दुई जना मात्रै हुने कि तीन जना पनि हुने हो?
क्यामराको पछाडि उभिएकालाई बोलाउँदै राजेश हमालले भनेका छन्– भाइ, तपार्इँ आइदिनुस् त।
घाँटीमा क्यामरा भिरेका उनी दम्पतीकोबीचमा आइपुग्छन्।
त्यस्तो जुङ्गा भाको होइन के जुङ्गा बनाउने वाला, त्यो मान्छे बोल्न थाल्छ।
‘कोसिस गरिरा’छांै हैन?’, मधुतिर हेर्दै हमाल मुस्कुराउँछन्।
त्यसपछि हाँसो र ठट्टा चल्छ।
प्रश्न सोध्नेको खसखस अझै मेटिदैन।
उनले उदाहरण पेश गर्न थाल्छन्– भुवन दाइको एउटा छोरो थियो र एउटा स्टार भा छ भने राजेश हमालको पनि त्यस्तै बेलैमा छोरो भइदिएको भए इन्डस्ट्रीलाई अर्को एउटा स्टार हुन्थ्यो भन्ने धेरैलाई लाग्छ। स्टार नै चाहिएन एक्ट्रेस नै भए पनि हुन्छ। (अन्तिममा बल्ल यसो पनि भन्छन्।)
छोरो पाइदिन प¥र्यो भन्नेलाई हमाल दम्पतीले छोरी पनि त हुन सक्छ नि भन्दैनन, बरु उल्टै हमाल मधुसँग जिस्की बस्छन् ।
एउटा सेलिब्रेटीसँग सिधै छोरो नै माग्ने त्यस्ता शिक्षित (सम्भवत) प्रश्नकर्ताले त लाजै नमानी हमाल दम्पत्तिसँग सन्तान पाउने कुरा होइन छोरै पाउने कुरा गर्छन् भने सामान्य मान्छेले छोरो कहिले पाउने भनेर किन नसोधुन्।