पुनर्वासबाट उत्तरतिर हेर्दा नीला पहाड देखिन्छन्। सानो छँदा त्यही पहाडलाई हातका औंलाले देखाएर आमासँग सोधेको थिएँ, ‘आमा त्यो पहाड कहाँ पर्छ?’
‘पहाडमा।’
निरक्षर आमाले उत्तरमा पनि पहाड दोहो¥याउनु हुन्थ्यो र छिमेकीको घर देखाएर भन्नुहुन्थ्यो, ‘तिनीहरु पनि पहाडबाट आएका हुन्।’
छिमेकी डोटी जिल्लाबाट झरेका थिए। तिनीहरु घरमा डोटेली बोल्थे। घर, गाईगोठ र भान्छा सप्पैको घरमा हुन्थे। हाम्रो घरमा पनि थियो। तर तिनको घरमा एउटा थप सानो बाख्राको खोरजत्रो कटेरो पनि थियो। त्यो कटेरो घरभन्दा दश मिटर पर थियो।
प्रायः त्यो घरका छोरीबुहारी त्यो कटेरोको ढोकामा बसेको देख्थें। अनि बुझ्ने भएपछि थाहा पाएँ—तिनीहरु छाउ बार्न बसेका रहेछन् छाउगोठमा।
एक दिन तेह्र वर्षीय मामाकी छोरी काली पहिलोपल्ट नछुनी भएर हाम्रोमा लुक्न आइन्। बाहिरफेर घुमेपनि छोइछिटोमा कडै बार्न लगाउनु भयो आमाले कालीलाई। तर, हामीले हेर्नबोल्न मिले पनि दाजुभाइलाई कालीले हेर्न नमिल्ने कुरा बताउनु भयो आमाले। तिनले आमा सुत्ने पालीमा बाइस ओटा दिन, बाइस ओटा रात काटिन्। तर, छिमेकीका छोरीबुहारी छाउगोठ कयौं दिन रुँघेर बस्थे। चोखिन खोलामा नुहाउन जान्थे। गोठबाट प्रायः निस्कन्थेनन्।
बुझ्ने भएपछि थाहा पाएँ—छिमेकीकोझैं छाउ बार्ने चलन पुरै बेलौरी पुनर्वासभरि रहेछ। पूर्वी पहाडबाट झरेका पुनर्वासीहरुमा छाउ बार्ने दिन कम थियो। घरकै पालीमा सुत्थे। धाराको पानी हालिदिन्थे। कसैकसैले धारा पनि छुन दिन्थे। तर मध्य र सुदूरपश्चिमेली पहाडबाट झरेका पुनर्वासीहरुमा भने छाउ बार्ने चलन कडा थियो। तिनीहरुले पहाड छोडे पनि छाउपडी जस्तो कडा कुप्रथा छोडेका थिएनन्। अझै पनि कैलाली कञ्चनपुरका धेरै गाऊँमा गोठ भेटिन्छन्। छाउ बार्ने गोठ।
हिउँदमा अत्यन्तै जाडो र वर्खामा अत्यन्तै गर्मी हुने कैलाली, कञ्चनपुरमा छाउ बार्ने दिदीबहिनीहरुको विचल्ली आफ्नै आँखाले देखेर पनि मुकदर्शक भइन्थ्यो। साँप, कीरा, जङ्गली जनावर, तथा रातविरात आउने अन्जान परपुरुषको डरैडरमा लुक्ने गर्थे।
स्थानीय बुजुकलाई सम्झाए भने पनि—देउताको धाक लगाउँथे। देऊ उठाएर लगाइदिने डर देखाउँथे। यसरी पहाडबाट छाउपडी प्रथालाई ज्युँको त्युँ ल्याए बसाइसराईंका क्रममा। आज पनि पहाडी जिल्लासँगै कैलाली, कञ्चनपुर जिल्ला छाउपडी प्रथाले ग्रसित छ।
...
घर भन्दा सानो र केही पर बनाइन्छ गाईगोठ। त्यो भन्दा नि सानो र धे...रै पर बनाइन्छ छाउगोठ। त्यही गोठले मान्छे खान थालेको थुप्रो भयो। मान्छेले बनाएको गोठले मान्छेलाई निलिरहँदा पनि गोठ भत्किएन।
छाउगोठमै बसेर अछामकी शर्मिला भुलले २०६९ सालमा ज्यान गुमाएकी थिइन्। ठीक चार वर्षपछि (२०७३) डम्मरा उपाध्याय र रश्मी तिरुवाले समेत छाउगोठमै ज्यान गुमाउनु प¥यो। आखिर छाउगोठ मुक्त घोषणा गरिएपनि मध्य र सुदूरपश्चिमका अधिकांश महिलाहरु अझै पनि गोठमा बस्छन्। भौतिक रुपमा गोठको संरचना भत्किए पनि मानसिकतामा छाउगोठ भत्किएको छैन। त्यही मानसिकताको उपज थियो शर्मिला, रश्मी र डम्मराको मृत्यु।
अहिले पनि मध्य र सुदूरपश्चिमका केटीहरु नछुनी भएको बेला स्कुल जाँदैनन्। तिनीहरु स्कुलमा घृणाका पात्र बन्छन्। मन्दिरको बाटो हिँड्दैनन् । मन्दिर छोइयो भने देउताले श्राप दिन्छ भन्छन्। अझ पहिलोपटक नछुनी हुनेलाई त झुल्किँदो सुर्य र ‘मर्द’लाई हेर्नसमेत बन्देज लगाइन्छ।
देउता मनमा हुनु पर्ने, थानमा हुनुपर्ने, तर बाटोघाटो, खोलानालामा देउता अझै पनि छन्। तिनका स्वरुपले हृदयको चेतना ओगटेको छ। यत्रतत्र छरिएर बसेका देउताहरु बिटुलाउनु श्रापको भागिदार बनिन्छ रे। त्यसैले मध्य र सुदूरपश्चिमका घरहरुमा देउताको हैसियतमा महिलाहरु पुगेका छैनन्। देउले दुःख दिन्छन् कि! गाउँमा अनिकाल लाग्ने, माहामारी फैलिने, गाईभैंसीले दुध नदिने र बाढी पहिरो आउनसक्ने जस्ता शंकास्पद डरको भ्रमले सधैं सताइरह्यो।
बोटविरुवादेखि ढुङ्गामुडामा समेत देउताको वास हुन्छ भन्ने जनविश्वास छ सुप (सुदूर पश्चिम) का पहाडी जिल्लामा। त्यसैले महिनावारी भएका बेला—बजार, मेला, पूजाआजा, विवाहभोजमा जान पाउँदैनन। दुध, दही, मही, घ्यु, माछा, मासु इत्यादि पोषिलो खानेकुरा पनि दिइँदैन। त्यसको एउटै कारण थियो देउता (कुल)?
मान्छेले मानेको देउता मान्छेभन्दा कयौंगुना भयानक भइदिएका छन् यस समुदायमा। त्यसैले देउको हेरविचार र चोखोनितो गर्नैकै निम्ति सुत्केरी आमा र नछुनी बालिका गोठमा रात बिताउँछन् एघार दिन, पन्ध्र दिन, बाइस दिन, महिना दिन।
देउताको विरुद्ध बोल्नु पनि यहाँको बुज्रुकहरुको अपमान गरेसरह हुन्छ। म बाँचेको परिवेशमै धामी, झाँक्री, पण्डित, भगतजस्ता धार्मिकहरुले कहिल्यै महिनावारी भएका महिलाहरुलाई स्वीकारेनन्। सबैभन्दा ठूलो विभेद नै असली धर्मगुरु र पढन्ते शिक्षकहरुले गरे।
छाउगोठमा बसेरै शर्मिला र डम्मराले मात्रै होइन, अन्य धेरै दिदीबहिनीहरुले अकालमै ज्यान गुमाए। जसका कहिल्यै कुनै समाचार बनेनन्। गाईगोठमा बसेर कुपोषणका धेरै आमाहरुले नानी गुमाए। रक्तअल्पदाको कारण आफु रोगी भए। झोलिलो र तागतिलो खाने कुराको अभावमा बच्चा ख्याउटे र लुलालङ्गडा भए। समयमा दिन नपाएको खोपका कारण बच्चाहरु मानसिक रोगी भए। गोठको चिसोले सुत्केरी महिलाहरु गोठमै मरेको भेटिए। ती पीडा र दुःख गोठमै दबाइए। कयौं दिदीबहिनी बलात्कृत भए। तिनलाई गाऊँ समाजमै मिलापत्र गराइए। कतिले आफैंमा लुकाए। तैपनि आजसम्म बाँचेका दिदीबहिनीहरुले गाईगोठ, छाउगोठबाट छुट्टै बस्ने अधिकार पाएका छैनन्।
...
२०६३/६४ तिर एउटा संस्थाले (संस्थाको नाम नभनौं) छाउपडी प्रथाविरुद्ध जनचेतना जगाउन कैलाली, कञ्चनपुरमा अभियानै सुरु ग¥यो। जसमा धेरै वर्षसम्म छाउपडी प्रथा सम्बन्धी बहस र अन्तरक्रिया चलाइए। गाऊँ गाऊँका चोकमा स्थानीयलाई खेडेर सडक नाटकमार्फत् जनचेतना जगाए। तिनले आफ्नो प्रतिवेदनमा गोठ भत्किएको सार्वजनिक गरे। तर कागजी न्युनिकरण मात्रै भएको थियो। व्यावहारिक नतिजा हात लायो शून्य। फेरि पनि मानसिकतामा गडेर बसेको गोठले भौतिक गोठ निर्माण गरिरह्यो।
तिनै संस्थाहरुलाई स्थानीयका हैसियतले हामीले पनि सहयोग ग¥यौं। तिनकै भीडमा उभिएर महिलाहरुको अन्तरकुन्तर सुन्यौं। छाउको दर्दनाक अनुभूतिले जोकोहीलाई रुवाउँथ्यो। गोठको बसाइको संघर्षले हरेक मन छुन्थ्यो। तर, रितिरिवाजले दिएको विकृति बिसंङ्गतीमाथि परिवर्तनको धावा बोल्ने महिला दिदीबहिनीहरु नै सधैं डराए।
जब कुनै कुराले मन छुन्छ, त्यस काममा झुकाव पनि हुन्छ। यो मुद्दाले मेरो मन त छोएकै थियो, थप पीडा पनि दिएको थियो। आफ्नै घरबाट परिवर्तन हुनु आवश्यक देखें। आफ्नै जहानका दिदीबहिनीले छाउको दुःख भोगेका थिए। त्यसविरुद्ध मैले नै वकालत गर्नु थियो। तर आममान्छेको कुरा कसले सुन्ने?
छाउपडी मुद्दामा डकुमेन्ट्री बनाउन चाहें। तर मेरो दुर्भाग्य! मसँग डकुमेन्ट्री बनाउने स्रोत र साधन थिएन। र, मसँग एनजिओ–आइएनजीओ पनि थिएनन्। त्यही अधुरो इच्छालाई मैले आख्यानमा उतार्न चाहें। तर, चाहँदैमा सबै कुरा जुटाउन नसकिने रहेछ। त्यसको लागि भागदौडमा सामिल हुनुपथ्र्यो। मैले त्यही गरेँ।
सुदूरपश्चिमको कैलाली, कञ्चनपुरलगायत डडेल्धुरा, डोटी र अछामका गाउँहरु डुलें। पूर्वको पाँचथरको राईलाई भेटें। काठमाडौंकी नेवार्नीलाई भेटें। गुरुङ–मगरदेखि पश्चिमका थारुलाई पनि भेटें। आखिर कुन जातिले कसरी मान्छ त छाउपडी भिन्नाभिन्नै गाउँ र थरका दिदीबहिनीहरुसँग महिनावारीको अनुभव सुनाउन आग्रह/अनुरोध पनि गरें। कतिले सुनाउनै लाज माने। कसैकसैले रिसाएर गाली पनि गरे। कसैले कुचोले झटारो पनि हाने। तैपनि, मेरो कार्यलाई अघि बढाइरहें।
महिनावारी बार्नुको मुल कारण खोजें। व्यक्तिपिच्छे फरक मत पाएँ। हिन्दु धर्मका पण्डित तथा पुराणविज्ञहरुले फरकफरक कथा–कहानी सुनाए। मान्छेको आङमा काम्न सक्ने देउताहरुको शक्तिको बारे केही धामी–झाँक्रीहरुसँग छलफल गरें। देउताको उत्पत्ति कहाँबाट भयो? इसाइ धर्म र बुद्ध धर्ममा छाउ बार्नु पर्दैन भने हिन्दु परिवारमा मात्रै किन? विज्ञानले यसलाई किन स्वीकार्दैन? धर्मको बाटो लाग्ने कि विज्ञानको बाटो? यस्तै–यस्तै प्रश्नहरुको उत्तर खोज्दै क्रमशः उपन्यासका कच्चा पदार्थ बटुलेर खाका कोरें।
...
२०७० असारदेखि उपन्यास लेख्न बसें। बाहिर झरी परेको हुन्थ्यो, मभित्र पात्रहरुको बाढी आउँथ्यो। बाहिर आकाश गर्जिन्थ्यो, मभित्र प्रश्नहरुको स्वर गुन्जन्थ्यो। उपन्यासमा मलाई नारी पात्रहरु उभ्याएर ठूलै बहस गर्न मन थियो। तर बाह्र–तेह्र वर्षकी बालिका ‘म’ पात्र बनेर आइन् र मन–मष्तिक नै ओगटिन्। मैले चाहेर पनि छोडिन। तिनले पनि पुरै उपन्यासभरि साथ दिइरहिन्। तिनीसँगै आउँथे, जान्थे राम र हीरा। जो कलाका मिल्ने सखी थिए। जसलाई मैले पुनर्वासमा भेटेको थिएँ।
पात्रहरु लेखनक्रमभरि साथी भइदिन्छन्। तिनको साथ बडो रोमाञ्चक भइदिन्छ समय। तिनीहरुको संगतमा जति मजा हुन्छ, सायद भौतिक रुपमा नहोला। तिनैले भेट्टाइन् आफ्नो इजालाई, त्यसपछि क्रमशः बज्यै, बाज्ये, बा र बुदी पनि भेट्टाइन्। साँच्चै कलाले मलाई तीन पुस्ताको सिंगो परिवार चिनाइन्। तिनै परिवारको पाहुना भएँ उपन्यास लेखनभरि।
उपन्यासमा बडेमानका कुरा चुट्नु थिएन मलाई। भारी शब्दहरुको मोह पनि थिएन मलाई। मोह त केवल मलाई कलाको स्वभाव, किशोरी पाइला टेक्दाका आनीबानीमा थियो। तिनै बाल स्वभावहरुमा आफूलाई स्वीकार्दै गएँ।
बाह्र–तेह्र वर्षीया कला, जो कहिल्यै अरुको घरमा बास बसेकी छैन। अरु त अरु घरमा पनि एक्लै सुतेकी हुन्न। त्यस्ती बालिका जब पहिलोपटक नछुनी हुन्छे, त्यसपछि समाजले भिराएको विल्ला—छाउगोठमा पुग्छिन्। अनि सुरु हुन्छ, कलाको संघर्ष।
...
शर्मिला भुलको मृत्युको किस्साले मन पिरोलिएको थियो। प्रायः अन्तरक्रियाहरुमा उदाहरण बनेको थियो, शर्मिला भुलको मृत्यु। तिनकै छायाँ थिइन्, भागरथी भुल नामक पात्र। छाउगोठमा आएर डाकिन् तिनैले भरत काका र महादेवको सर्प। त्यहीँ हेरेँ, कला र भागरथीको संगत।
प्रायः गोठहरुमा आउने–जाने क्रम चलिरहन्छ महिनावारी भएका महिलाहरुको। फरक यत्ती थियो कि, कोही बाँचेर घर फर्किन्थे। कोही मरेर लास हुन्थे। पैंतालिस वर्षे फुपू आइन् गोठमा छाउ बार्न। गोपाल बाज्येकी बुहारी आइन््। ढोलिनी काकी आइन्। मंगली आइन्। र, सुत्केरी हुन् रुपा भाउजु आइन्। यी सबै पात्रहरुलाई गाऊँदेखि केही पर छाउगोठमा भेला गराएँ। तिनका दिनचर्या कलाका आँखाबाट चिहाएँ। तिनीहरुको आवाजमा आफ्नो आवाज मिसाएर रुँदैकराउदै लेखें—छाउघर।
छाउघर शीर्षकले पनि सजिलै अड्कल लाग्छ, यो उपन्यास छाउपडी प्रथा सम्बन्धी नै लेखिएको कृति हो भन्ने। एकादुईले सम्झाएका पनि थिए, शीर्षक परिवर्तन गर्नुस् भनेर। गरिनँ। किनभने शीर्षकले नै छाउगोठलाई भत्काउने पहिलो प्रयास गरेको थिएँ। गोठलाई हटाएर घर थपें। कृपया त्यसैले आफु बाँचेको परिवेशमा भेटिएको कुरितीलाई निमिट्यान्न पार्न सहयोग गरोस् भन्ने हेतुले छाउघर लेखें।
उपन्यासको विषय नै घाम अस्ताउने समाजको छाउपडी प्रथा लिएँ। यो कुरिती र अन्धविश्वासले भरिएको समाजका महिलाहरुको दर्दनाक आवाज उठाएँ। परम्परागत रुपमा जरो गाडेर बसेको कुप्रथालाई सरकारी–गैरसरकारी संस्थाहरुले आजसम्म हटाउन नसकेको समाचार आइरहेको बेला मैले आख्यानमार्फत् छाउपडी प्रथाविरुद्ध वकालत गर्ने प्रयास गरेँ।
तपाईंहरुलाई कस्तो लाग्छ कुन्नी!
(यसअघि 'चिम्नी' उपन्यासका लेखक राज सरगमको दोस्रो उपन्यास 'छाउघर' हालसालै बजारमा अाएको छ।)