केही त होला भन्ने आशैआशमा २०१६ सकियो। संविधान आएपछि रामराज्य हुनेछ भन्थे। १५ महिना वितिसकेछ। देश अगाडि जान्छ भन्थे। अगाडि गयो कि उँही छ मेसो पाउन सकिएको छैन। शंका लाग्छ पछाडि पो हट्यो कि !
भन्नेहरु भन्थे। यो देशमा राजतन्त्र भएर विकास भएन। १ दशक पुरा भयो राजतन्त्र विदाई गरेको। जनताले आफैं संविधान बनाएपछि अग्रगमनको यात्रा सुरु हुन्छ भन्थे। भनेजस्तो विकास भएको छैन। बरू भन्नेहरुका भाखा फेरिन लागेका छन्। अब संशोधन, चुनाव के के भन्न लागेका छन्। घटनाक्रमहरुले प्रमाणित गरिरहेछन् नेपालमा यसो भएपछि गज्जब हुन्छ; उसो भएपछि गज्जब हुन्छ भन्ने केवल बहाना मात्रै हुन्।
सबै कुराको निदान सम्भव छ बहानाबाहेक। टाउको दुखेको उपचार गराउन दन्त चिकित्सककहाँ गएर हुँदैन।
एक मित्रले बरोबर भन्थे लक्ष्य निर्धारण नगरेकाहरु जति हिँडे पनि कँही पुग्न सक्दैनन्। नेपाल राज्यको सन्दर्भमा कुरा गर्दा हामीलाई चाहिएको कुरामा हामी लगभग स्पष्ट छौं। हामीलाई चाहिएको विकास, शान्तिसुरक्षा, आर्थिक प्रगति, आफ्नै देशमा रोजगारी लगायतका विषय हुन्। वाद, तन्त्र त्यसपछिका प्राथमिकता हुन्। नेपालका सबैलाई हाम्रो आवश्यकता थाहा छ। सबै कुरा थाहा भएर पनि हामीले गन्तव्य भेटाउन सकेका छैनौं। हामी जाने बाटोमा अझै अलमल छौं। यहाँ जाने भन्ने मात्र थाहा भएर हुँदैन। त्यहाँसम्म पुग्नका लागि दृढसंकल्प पनि हुनैपर्छ। नेपालका नेताहरुमा जुन ठाँउमा गयो उसलाई उचाल्ने र अरुलाई पछार्ने काममा स्वयं प्रधानमन्त्री लागेका छन्। यहाँ अरु उफ्रिए भनेर चिन्ता गर्नु नै बेकार छ।
पृथ्वी जयन्ती आउँदैछ। सम्मान गर्ने कि अपमान गर्ने भनेर समाज विभाजित छ। इतिहास गलत थिएन भने उनले काठमाडौं राजधानी सारे। आफ्नै संस्कार संस्कृति स्थानीयमा लाद्ने प्रयास गरेनन्। बरू स्थानीयले वर्षौंदेखि मानेर आएको कुमारी प्रथालाई स्वीकार गरे। तत्कालिन अवस्थामा कुमारीको खुट्टा ढोगे। यसले गर्दा स्थानीय र राजपरिवारको सम्बन्ध सुमधुर भएकै हो।
नेपाल बन्न नसकेको श्रोत साधनका अभावले हैन। नेतृत्वको बेइमानीले हो। यस्तो बेइमानीका कारण नेपाल बन्न नसक्नुमा यो वा त्यो दोष देखाएर हामी रमाइरहेका छौं।
सति प्रथामा सति जल्दै गर्दा नौमती बाजा जोडले बजाउने गरिन्थ्यो रे। त्यसका लागि तर्कहरु जेसुकै प्रयोग भए पनि आगोमा जल्दाको सतिको चित्कार त्यही बाजाका आवाजमा हराओस भन्ने नै थियो। नेपालमा पनि विकास नहुनुको मूख्य कारण भनेको राजनीतिक नेतृत्व नै हो। यसबाट ध्यान अन्यत्र मोड्नका लागि उसले कहिले राणाशासन देखाउँछ। कहिले १७ साल देखाउँछ। पञ्चायत बहुदल सबै उसले देखाइरहेकै छ। यीनै बहानामा उसले देशलाई झन् झन् बर्वादीतर्फ धकेलिरहेको छ।
नेपालमा गरिबी छ। अशिक्षा छ। बेरोजगारी छ। विभेद छ। समस्याहरुकै चाङ छ। यस्ता चाङलाई देखाएर यहाँ सबै दलको राजनीति चलेको छ। यस्तै केही वर्षसम्म चल्ने निश्चित छ।
वालुवा नै वालुवा भएको देशमा मान्छे बोका काट्दाझै काटिन्छन्। विकास रोकिएको छैन। महिलाले केही वर्ष अघिमात्रै चुनावमा मतदानको अवसर पाए। श्रीमान बिना पसलमा सामान किन्न जाँदा कारवाही हुने देशमा महिलाअधिकारको कुरा सुनिन्न। यहाँ भने महिला अधिकारका नाममा रोईलो चलिरहेको छ। चल्दै रहनेछ।
सबै कानुनका दृष्टीमा समान भन्ने अवधारणाका बिचमा पनि केही समुदाय अगाडि गएको पक्कै हो। यसका बारेमा न गम्भीर छलफल हुन सक्यो न विमर्श। केही वर्ग उत्थानका नाममा संविधानमै तोकेर अग्राधिकारको बहस चलेकै हो। अझै पनि क्रान्तिकारी कमरेडहरुमा यसको अवशेष बाँकी छ।
लेखको अन्त्यमा एउटा घटना उल्लेख गर्नु सान्दर्भिक लागेको छ। देश परिवर्तनको उत्कट चाहना पालेका एक युवा माओवादी युद्वमा सामेल भए। त्यहाँ हुने प्रशिक्षणले आफ्नै बाबुलाई सामन्त देखे। उनका बाबु पूर्व पञ्च थिए। क्रान्ति सफल गर्न सामन्तिहरूको सफाया गर्नु पर्थ्यो। नसके सम्पत्तिमा क्षति। उनले सामन्तका घरमा बम राखे। सामन्तको सम्पति नष्ट गरेकोमा हर्षबढाँइ गरे।
युद्वविराम भयो। माओवादीले चुनावमा भाग लियो। नेताहरुको जीवनस्तर फेरिन लाग्यो तव उनलाई पनि आफूसँग सम्पत्ति चाहिने कुराको दिव्यज्ञान प्राप्त भयो। यो दिव्यज्ञानसँगै उनलाइ अर्को दिव्यज्ञान पनि प्राप्त भयो कि कुनै समय सामन्तको भनेर नष्ट पारिएको सम्पत्ती त आफ्नै थियो।
एउटा बसमा यात्राका क्रममा भेट भएथ्यो उनीसँग। उनले भने 'अहिले बुझ्दैछु। मेरा बा कसरी सामन्त हुन सक्थे र। उनले जीन्दगीमा बनाएको त्यही एउटा घर न थियो। त्यही पनि खरानी पारियो। अहिले साह्रै ग्लानी हुन्छ।'
उनको कुरा बेला बेला सम्झिन्छु। अहिले पनि नेपालमा त्यस्तै उन्माद बोक्ने युवाहरु छन्। नेताहरु छन्। देशको भलाइका लागि भनेर गरेका काम कतै तीनै युवाले सामन्तवाद अन्त्य गरेजस्तै त छैनन्! आँखा कहिले खुल्ला? खुलुञ्जेल के के गुमिसक्ला!