जाडो मौसम सुरू भएसँगै बालबालिकामा झाडापखाला बढ्न थालेको देखिन्छ। रोटा भाइरस नामको बिषाणुले गर्ने झाडापखाला साना बच्चाहरुमा हिउद्को बेला धेरै हुनेगर्छ। तर, यस्तो संक्रमण जुनसुकै मौषम र जुनसुकै उमेरका मानिसहरूमा पनि हुन सक्छ। धेरै बच्चाहरू सँगै रहने वा सामुहिक आवास भएका ठाउँमा एकजनालाई संक्रमण भएमा अरु धेरैजनालाई फैलने सम्भावना हुन्छ।
खाना, पानी, हात र बच्चाहरूले प्रयोग गर्ने खेलौना लगायत सामाग्रीमा दिशाबाट आउने आँखाले देख्न नसकिने निकै सुक्ष्म किटाणु मुखमा पुगेपछि बच्चामा संक्रमण हुन्छ। त्यसको एक देखि तीन दिन पछि बच्चालाई खान मन नलाग्ने, मन्द ज्वरो आउने, पेट दुख्ने र उल्टी आउने हुन्छ। केही पटक बान्ता भएपछि पखाला सुरु हुन्छ र त्यो तीनदेखि सात दिनसम्म रहन्छ। पखाला पानीजस्तै आउँछ, रगत वा मासी मिसिएको हुँदैन।
दिनभरिमा धेरै पटक पातलो दिसा गर्ने भएकाले शरीरमा पानी र नुन धेरै खेर जान सक्छ। यसले गर्दा सुरू-सुरूमा बच्चा झिजिने, धेरै तिर्खाएझैँ पियुन खोज्ने, आँखा गडेजस्तो देखिने र पेटको छाला तान्दा बिस्तारै फर्किने जस्ता केही जलाबियोजनका चिन्हहरू देखिन्छन्। झाडापखाला भइरहने तर पुनर्जलीय झोल वा आमाको दुध लगायत अन्य झोलिलो कुरा चाही नखाने गरेमा बच्चा सुस्त वा बेहोस हुने, दुध खान वा केही पनि पिउन नसक्ने हुन्छ जुन कडा जलाबियोजनको संकेत हो। ज्यान लिन सक्ने जटिलता भनेको यही कडा जलबियोजन हो।
बच्चामा झाडापखाला गराउने कारणहरू अनेक हुन्छन्। रोटा भाइरस बाहेक अरू भाइरल संक्रमण पनि हुन्छन्। तर एन्टीबायोटिक खानुपर्ने आउँ/ रगतमासी, टाइफाइड जस्ता ब्याक्टेरियाले गर्ने संक्रमण भने झाडापखाला भएका बच्चाहरु मध्ये धेरै कममा मात्र हुन्छ र तिनीहरुमा गम्भीरता जनाउने अरु लक्षणहरु पनि हुन्छन्। ती कारणहरु पत्ता लगाउन कहिलेकाँही दिशा, पिसाब, रगत आदिको जाँच गर्ने गरिन्छ।
झाडापखालाको कारण रोटा भाइरस नै हो भनेर निर्क्योल गर्न भने दिशामा भाइरस हेर्ने विशेष जाँच गर्नुपर्ने हुन्छ जुन हाम्रो देशमा हुने गरेको छैन। उपचारकै लागि यो जाँच गर्नुपर्छ भन्ने छैन।
भाइरसले गर्ने यस्तो झाडापखाला केही दिनपछि आफैं ठीक हुन्छ। आजसम्म रोटा भाइरसविरूद्ध काम गर्ने औषधि बनेको छैन। एन्टिबायोटिकले भाइरल संक्रमणमा काम गर्दैन। पखालाको अरु कारण पनि विचार गरेर गम्भीरता हेरेर कहिलेकाँही एन्टीबायोटिक, सलाइन लगाएत औषधि दिने वा भर्ना गरेर केही घण्टा वा दिन प्रत्यक्ष निगारानीमा राखेर हेर्नुपर्ने पनि हुन सक्छ।
रोटा भाइरल लगाएत जुनसुकै झाडापखालाको सबैभन्दा महत्वपूर्ण उपचार भनेको पुनर्जलीय झोल (जीवनजल) नै हो। बच्चालाई जलाबियोजन भएको छैन भने झाडापखालामा खेर गएको मात्रा बराबर उमेर अनुसार प्रत्येक पटक १०० देखि २०० मि.लि. जीवनजल दिनुपर्छ। तर ख्याल गर्नु पर्ने कुरा के छ भने जीवनजल बनाउँदा एक लिटर सफा पानीमा एक पुरिया पुरै राखेर बनाउनुपर्छ र त्यो बनाएको चौबिस घन्टाभित्र दिन सकिन्छ।
पुनर्जलीय झोलमा नुनको मात्रा कम वा बढी भयो भने ज्यानै खतरामा पर्ने पनि हुन्छ। यस्तो समस्या हुन सक्ने सम्भावना भएकोले नुन चिनी पानी आफैंले बनाएर दिने कुरालाई दुरुत्साहित गरिएको छ र जीवनजल सबै सरकारी स्वास्थ्य संस्थाहरुमा निशुल्क र किन्नु पर्दा पनि सस्तोमै पाइन्छ।
केही जलबियोजन भएको छ भने बच्चालाई अस्पतालमै राखेर जीवनजल दिदै निगरानीमा राखेर उपचार गर्नुपर्छ भने कडा जलाबियोजन भएको वा तारन्तार उल्टी गरेर जीवनजल पिउन सकिरहेको छैन भने सुइबाट सलाइन पानी दिनुपर्ने हुन्छ।
झाडापखाला लागेको बच्चालाई आमाको दुध पटक पटक साबिक भन्दा बढी खुवाउनु पर्छ। पुनर्जलीय झोल बाहेक केही मात्रामा सफा पानी, दाल वा गेडागेडीको रस दिन सकिन्छ।
रोटा भाइरल संक्रमणमा शुरुमा बान्ता हुने भएकोले उल्टी रोक्ने औषधि दिनुपर्छ, जुन धेरै जसो एक डोज भए पुग्छ। पखाला रोक्ने भने कुनै औषधि हुँदैन र त्यस्तो प्रयोजनको लागि भनेर आउने औषधिहरु प्रयोग गर्नु झन् हानिकारक हुन सक्छ।
ज्वरोको लागि कहिलेकाँही पारासिटामोल चाहिन सक्छ। झाडापखाला भएको पाँच वर्ष मुनिका बच्चाहरुमा जिन्क चक्की उपयोगी हुने देखिएको छ, त्येसैले छ महिनासम्मको बच्चालाई आधा चक्की र त्यो भन्दा बढी उमेरमा एक चक्की दिनमा एक पटक दस दिनसम्म दिनुपर्छ।
सुरूका दिनहरुमा उल्टी हुने र जिन्कले मतमत लाग्ने भएकोले उल्टी नारुकिन्जेल जिन्क चक्की नदिदा पनि हुन्छ तर त्यसपछि पुरा दस दिन दिनु महत्वपूर्ण छ।
धेरैजसो आमाबुबालाई बच्चालाई के खुवाउने र के नखुवाउने भन्ने दुबिधा हुने रहेछ। दुध, घिउ आदि पखाला लागिरहेको बच्चाले पचाउन अलि गारो हुन्छ, तर दिने नहुने भन्ने चाही होइन। जुस लगायत गुलियो बढी हुने पखाला बढाउन सक्ने पेय पदार्थ भने खुवाउनु हुँदैन। बिरामी हुन्जेल बच्चाले अलि कम खाने हुनसक्छ तर त्यस पछि थप आहार दिएर गुमेको तौल बढाउन सकिन्छ। बच्चाको रुची अनुसार जुनसुकै पोषिलो खानेकुरा दिन सकिन्छ।
दहीले आन्द्रामा राम्रा किटाणु मार्फत पखाला कम गर्न सहयोग गर्ने र केराले पखाला हुँदा खेर जाने पोटासियम पूर्ति गरिदिने हुँदा दही र केरा झाडापखाला लागेको बच्चालाई निकै फाइदाजनक हुन्छ। दही वा केराले चिसो लाग्छ भन्ने आम धारणा रहेकोले हाम्रा बच्चाहरू सबैको घरमा पाइने औषधिजन्य र पोषिलो खानेकुराबाट बन्चित रहने गरेको मेरो अनुभव छ।
यदि तपाईको बच्चालाई झाडापखाला लागेको छ भने चर्को ज्वरो आउने, दिशामा रगत देखिने, साह्रो गरी पेट दुख्ने, कम्पन आउने, बेहोस हुने, दुध चुस्न वा केही पनि खान नसक्ने, पिसाब कम हुने, तारन्तार उल्टी हुने, पेट फुल्ने जस्ता गम्भीर समस्याहरु देखिएको छ भने अस्पताल लैजानु र डाक्टरको सल्लाह लिनुपर्छ।
बाह्र महिनाभन्दा कम उमेरका, कुपोषण भएका, पटक पटक गम्भीर बिरामी परिरहने बच्चामा झाडापखाला भएको छ भने जटिलता आउने र ज्यान जाने सम्भावना बढी हुने भएकाले डाक्टरको सल्लाह लिनैपर्ने हुन्छ।
रोटा भाइरस संक्रमणबाट बच्चाहरुलाई बचाउन आजभोलि खोप पनि पाइन्छ। तर यस्तो खोप सरकारले निःशुल्क प्रदान गर्ने नियमित खोप भित्र नपर्ने हुँदा किनेर लगाउनुपर्ने हुन्छ। अधिकतम फाइदाको लागि यस्तो खोप १४ हप्तामा पहिलो डोज र त्यसपछि एक दोस्रो डोज लगाउन सिफारिस गरिएको छ। तर एउटा उमेर हदसम्म मात्र यो प्रभावकारी हुने भएकोले छुटेको खण्डमा धेरै पछिसम्म लगाउन सकिदैन।
रोटा भाइरस संक्रमण भएको ब्यक्तिले पखाला सुरु हुनभन्दा दुई दिन अगाडिदेखि आठ दिन पछिसम्म पनि अर्को ब्यक्तिमा रोग सार्न सक्छ। त्यसैले एस्तो बच्चालाई उल्टी वा पखाला रोकिएको कम्तिमा २४ घन्टासम्म स्कुल पठाउनु हुँदैन।
खानेकुरा, पानीको स्रोत लगायत बच्चाले प्रयोग गर्ने कुराहरुमा बिरामी बच्चाको दिशा पर्न नदिन सरसफाइमा थप ध्यान पुर्याउन आवस्यक हुन्छ। नियमित हात धुने बानी रोटा भाइरस संक्रमण फैलिन नदिने सबैभन्दा प्राभवकारी उपाय हो।
संसारभरीमै बच्चाहरु, विशेषगरी एक वर्षसम्मका शिशुहरुमा सबैभन्दा बढी झाडापखाला गराउने र जलाबियोजन गरि ज्यान लिने गरेको रोटा भाइरल झाडापखाला नियमित खोप लगाउने र खाना तथा पानीको सरसफाईमा धेरै ध्यान पुर्याउने गरेको ठाउँमा धेरै हदसम्म घटेर गएको देखिन्छ।
(बालरोग बिशेषज्ञ डा धरेल बि पी कोइराला स्वास्थ्य बिज्ञान धारानमा उप-प्राध्यापक हुनुहुन्छ।)