समय यसरी अनि यती छिटो बद्लिन सक्छ र त्यो पनि आफ्नो प्रतिकूल? मेडिकल कलेज सञ्चालकले सोचेर पनि उत्तर पाउन सकिरहेका छैनन् अहिले यो प्रश्नको ।
गत वर्षसम्म मोल बढाबढ शैलीमा टेन्डर आह्वान गरे जस्तो गरी बिक्री हुने एमबीबीस र बीडीएसका सीटहरु यसपाली खासै बिक्री भएनन किनकि भर्ना हुन विद्यार्थीहरु नै गएनन्। किन गएनन् भनेर अहिले सर्बत्र छलफलको विषय भएको छ ।
यो विषयको उत्तर पाउन हामीले धेरै कुर्नुपर्ला जस्तो मलाई लाग्दैन तर म यस्को कारण यो हो भनेर भन्न पनि चाहन्न, किनकि कतिपय प्रश्नको जवाफ समय सँगै आउँदा बढी चाखलाग्दो हुने गर्छन्।
आम मनिसहरुले यसपली देखि विद्यार्थीहरूमा डाक्टरी पढ्ने रूची हराएकै हो त? भनेर प्रश्न गर्न थालेका छ्न्। नगरून् पनि कसरी यथार्थ त यो छ कि पटक पटक भर्ना गर्न आव्हान गर्दा पनि विद्यार्थी भर्ना हुन नै गएनन् तर गत वर्षको इतिहास हेर्दा मात्रै पनि तछाडमछाडको स्थिति थियो।
आखिर के फेरियो यस पटक? सबैलाई विद्यार्थी भर्ना भएनन् भनेर जिज्ञासा लाग्ने तर पर्दा पछाडिका खेलाडीका बारेमा जिज्ञासा नराख्ने प्रवृतिले आजको समयमा उब्जेको प्रश्नको जवाफ नआएको हो।
म आफैं पनि नेपालकै मेडिकल कलेजबाट पढाइ सकेर हाल नेपालकै एक स्वास्थ्य संस्थामा कार्यरत छु। हालको अवस्था आउनुमा मुख्य दोषी मेडिकल कलेज नै हो।
विद्यार्थी बाहिरबाट जस्तो सोचेर यो क्षेत्रमा आउँछन् त्यहाँ पुग्दा विभिन्न बहानामा विद्यार्थीमाथि शोषण हुन्छ। त्यो कुनै पनि हालतमा एउटा असल विद्यार्थीले सहन सक्ने हुँदैन। जब आफ्नो भविश्य तिनै सञ्चालकको हातमा छ भन्ने थाहा पाउछन् अनि चुपचाप सहेर बाँकी दिन गुजारिरहेका हुन्छन्।
अस्पातलको आम्दानीमा कम अनि विद्यार्थीकै भरोषामा अधिकांश निजी मेडिकल कलेज हुन्छन् । यद्यपी विद्यार्थीका समस्या बरेमा कुनै सुनवाइ हुन्न। आखिर किन? जवाफ प्रष्ट छ- तिनले विद्यार्थीका कुरा नसुने पनि उनीहरुको काम चलेकै छ।
उदाहरणका लागि म आफैं पढेको कलेजमा कर्मचारीहरूको दबदबा थयो, उनीहरूको तलब-सुबिधा बढ़ेंन भने तालाबन्दी जस्ता काम सुरू भैहाल्थ्यो। सायद त्यही भएर होला प्रशासनले बेला बखत तिनीहरुलाई खुशी पार्ने काम गर्ने अनि तीनका कुरा सुन्ने र बुझ्ने काम गर्ने गर्थ्यो। तर विद्यार्थीको कुरा कहिले सुन्दैनथ्यो।
यती सम्म कि राति डिउटी पर्ने इन्टर्न डाक्टर र रेजिडेन्ट डक्टरलाई बस्ने प्रबन्ध गर्न आग्रह गर्दा पनि सुनुवाई हुँदैनथ्यो। अनि रेजिडेन्ट डाक्टरलाई विद्यार्थीभन्दा बढी कामदारको रूपमा प्रयोग गरिन्थ्यो। यतिसम्म हुन्थ्यो कि मेडिकल कलेजमा विद्यार्थीको सिट संख्यामा वृद्धि हुनासाथ कर्मचारीको बिभिन्न मागहरु प्रश्तुत हुन्थे तर विद्यार्थीहरुको कुनै पनि माग सम्बोधन हुँदैनथ्यो ।
अधिकांश मेडिकल कलेजहरू इन्टर्न र रेजिडेन्ट डाक्टरहरुले धानेका हुन्छन् तर, तीनकै कुराको कहिलै सुनवाई हुँदैन। आखिर कहिले सम्म?
मेडिकल कलेजको सम्पूर्ण आम्दानीको स्रोत भनेकै विद्यार्थी (शुल्क तिरेर तथा सेवा दिएर) हुन्।
केही समय पहिले एक निजी मेडिकल कलेजमा इन्टर्न डाक्टरहरुले तलब समयमा दिनुपर्ने माग गर्दा तिनीहरुलाई छात्राबासबाट निकालेर गुन्डा लगाई पिटिएको कुरा पनि बाहिर आएको थियो।
कस्तो बिडम्बना आफ्नो श्रमको पारिश्रमीक माग्दा कुटिनु पर्ने, मेडिकल स्कुलमा गुन्डागर्दीको राज चल्ने। यस्तो अव्स्थामा कसरी विद्यार्थीमैत्री हुन सक्छन् हाम्रा मेडिकल स्कुलहरू?
केही समय पहिलेदेखि मैले पनि लेख लेखेकै भरमा हप्की दप्की खेप्नुपरेको छ। कतिपयले कसैले मतलब नगरेको कुरामा तिमीलाई किन टाउको दुखाउनु पर्ने भने, कसैले तिमीले कतै जागिर खानु छैन, जे होस अधिकांश नकारात्मक नै थिए। यस्तो भन्नेमा कलेजका प्रतिनिधिनै थिए।
मैले त लेखेँ। तर म भन्दा पीडित अधिकांश साथीहरू चुप छन्। आखिर यो मौनता कहिलेसम्म?