बितेका केही वर्षमा मेडिकल क्षेत्रको यति चिरफार भयो कि यो विषयले चिया पसलदेखि संसद भवनसम्म नै प्रमुखताका साथ नै प्रवेश पायो। तर, यी छलफलबाट देशको स्वास्थ्य क्षेत्रमा के फाइदा भयो अनि के घाटा भयो भनेर हिसाब-किताब गर्ने बेला आएको छ। आखिर यत्रो छलफल र सरकारले गरेको विभिन्न निर्णयको अनि सम्झौताको अर्थ के? भनेर उत्तर खोज्ने बेला भने पक्कै आएको छ।
हरेक सरकारका प्रधानमन्त्री र तिनका कार्यकर्ताहरू किन आफ्नो सम्पूर्ण ध्यान मेडिकल कलेज खोल्नमा नै केन्द्रित छन्? आखिर किन? यसको जवाफ पनि खोज्नु पर्ने देखिन्छ। तर, आम नागरिकले पनि यसको जवाफ सजिलै पत्ता पाउनेछन्, के तिनले हाम्रो सुविधाको लागि तेसो गरेका हुन् त? पक्कै होइन, यदि हो भने किन नीति नियम मिचेर आफ्नो सत्ता र शक्त्तिको दुरुपयोग गर्नुपर्थ्यो?
विगतका प्रधानमन्त्रीहरूको इतिहास हेर्दा पनि तिनीहरू मेडिकल कलेजलाई सम्बन्धन दिने जालझेलमा फसेकै छन्। स्व. सुशील कोइराला प्रधानमन्त्री हुँदा विस्तारित कार्यक्रमका नाममा विराट मेडिकल कलेज र देवदह मेडिकल कलेजले स्वीकृति पाए। त्यसताका उक्त निर्णय गैरकानुनी रुपले गरियो भनेर व्यापक बिरोध हुँदा पनि विभिन्न प्रपन्च रच्दै तिनले आफ्नो कार्यक्रम चलाउन सफल भएकै छन्।
यसअघिका प्रधानमन्त्री केपी ओलीले पनि लामो समयदेखि सम्बन्धन पाउन असफल रहेको मनमोहन मेडिकल कलेजलाई प्रतिस्ठानको रुपमा स्थापना गर्न कसरत नगरेका भने पक्कै होइनन्। तर, जनदबाब र डा. गोविन्द केसीको अनसनको बलमा उनको प्रयास सफल हुन सकेन। हालका प्रधानमन्त्री पुष्पकमल दाहाल काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकन्ठ मकाजुलाई फेरि पनि उपकुलपति बनाइदिने प्रलोभन देखाउँदै आफूनिकट नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने तयारीमा छन्। यता माकजु उपकुलपति पदको ललिपपमा झुन्डिएका छन् भने उता प्रधानमन्त्री आफ्ना निकटका कलेजलाई सम्बन्धन दिलाउन दिलोज्यान दिन लागिपरेका छन्। ती दुबै प्रमुख पदमा बसेका व्यक्तिहरूले आ-आफ्नो क्षणिक लाभमा भुल्दा देशको मेडिकल क्षेत्रमा भने दुरगामी असर पर्ने छ।
हालका प्रधानमन्त्री त स्वयम् गरिब र निमुखाका हकहितका लागि भनेर लामो लडाइँ लडेर आएका हुन्। तर, उनको ध्यान भने ती क्षेत्रका जनाताका लागि हुन सकेको छैन। बरु उनी आफ्नो सत्ता र शक्तिको भरपुर दुरूपयोग गरेर आफ्ना कार्यकर्ताको इच्छा पूरा गर्न हरसम्भव प्रायसरत छन्। उनलाई यो हतारो किन? सरकारले देशको सम्पूर्ण चिकित्सा क्षेत्रको सुधारको लागि भनेर चिकित्सा ऐन बनाउने काम अन्तिम चरणमा पुर्याइसकेको अवस्थामा हालका प्रधानमन्त्रीको निर्णयले उनको नियतमाथि प्रश्न उठाउने प्रशस्त ठाउँ छन्।
विभिन्न बहाना र अवरोध गरेर चिकित्सा ऐन संसदबाट पारित हुन नदिने अनि अहिलेको तरल राजनीतिक स्थितिको फाइदा उठाउने प्रवृत्तिले लक्षित समूहलाई लाभ त पुग्ला तर त्यसले देशको समग्र चिकित्सा क्षेत्रमा भने दुरगामी प्रभाव पार्ने निश्चित छ।
सँधैंभरि आफ्नो स्वार्थपूर्तिका निम्ति मेडिकल कलेज खोल्ने परिपाटीले मेडिकल कलेजजति सबै सहरी क्षेत्रमा मात्रै थुप्रिने र ग्रामीण क्षेत्रका जनताहरू स्वास्थ्य सेवाबाट बन्चित हुने प्रवृत्तिले निरन्तरता पाउने छ। एकै ठाउँमा धेरै मेडिकल कलेज थुप्रिँदा त्यहाँ पढ्ने विद्यार्थीले प्रयाप्त बिरामीको अभावमा तिनले सिक्नुपर्ने जति सिक्न नपाउने स्थिति कायमै रहने छ। मेडिकल कलेजहरूको काम गुणस्तरीय चिकित्सकको उत्पादन गर्नुका साथै सस्तो मूल्यमा स्वास्थ्य सेवा पुर्याउनु पनि हो। तर, हाम्रो देशमा अहिले खुल्न लागेका र खुल्न भनेर तयारी अवस्थामा रहेका मेडिकल कलेजहरूको स्थिति भने भिन्नै छ।
ती कलेज खोल्नुको मानसिकता पनि भिन्नै छ। अर्थात् ती कलेजहरू लगानीकर्ताहरुले आफ्नो स्वार्थपूर्ति गर्नका लागि चोर बाटोबाट खोल्न लागिपरेका छन्। तिनले मेडिकल कलेजलाई गुणस्तरीय चिकित्सक उत्पादन गर्ने र सुलभ स्वास्थ्य सेवा दिने थलभन्दा पनि आफ्नो कमाइ गर्ने थलोमा परिणत गर्दैछन्। त्यसमा राजनीतिक दल अनि तीनका प्रधानमन्त्रीले मलजल गर्न सहयोग गरेका छन्।
विज्ञहरूको सुझावलाई कुल्चेर राजनीतिक दलहरूले नियम कानुन मिच्दै मनपरी मेडिकल कलेज खोल्दै जाने हो भने हाम्रो देशको स्वास्थ्य अनि चिकित्सा क्षेत्र तहस नहस हुने पक्कापक्की नै छ। जनताका लागि भनेर राजनीति गरेकाहरूले पनि सोच्नुहोस् आखिर किन तपाईंहरु नियम कानुन मिच्दै मेडिकल कलेजहरूलाई साथ दिँदै हुनुहुन्छ?
हालकै रफ्तार र स्थितिले मेडिकल कलेजहरू खुल्दै जाने हो भने भोलिको स्वास्थ्य सेवाको अवस्था नाजुक हुने लगभग निश्चित छ। तसर्थ, आम जनसमुदाय, समाजका अगुवा, जिम्मेवार सञ्चारमाध्यम अनि राजनीतिक दल र तिनका प्रतीनिधिले भयाभह स्थिति आउनबाट रोक्न जरुरी छ। किनकि देशको स्वास्थ्य स्थितिको सुधारको माग गर्दै आएका डा. केसीलाई साथ दिन जरुरी छ। आजका दिनमा हामीले त्यो गर्न सकेनौं भने त्यसको प्रतिफल भोग्न हाम्रा सन्तति बाध्य हुनेछन्। आखिरमा अहिले खुल्न लागेका नयाँ मेडिकल कलेज कसका र के का लागि?