सिनेमाका सुरूका सम्झना विराटनगरका जलजला र हिमालय टाकिज वरपर घुम्छन्। मेरा बाल्यकालको सम्झनाको क्यान्भासमा अधिकतर सिनेमाका बिम्बहरू पोतिएका छन्, इस्टमेन कलरमा। जन्म काठमाडौं भएपनि निजामति कर्मचारीका सन्तान भएकाले तेल, तोलेबोली र ताराबाजीका पछिका मेरा बाल्यकालका उत्सवपूर्ण दिनहरू विराटनगरबाट प्रारम्भ भएका हुन्। कुनै माझीले जालमा ढडिया पारे झैं वा कुनै बैज्ञानिकले प्रयोगशालामा ‘युरेका’ भनेर चिच्याएझैं कुनै भर्चुअल स्पेश वा मायावी छायाँछविले मेरो बाल्यकाललाई उल्लासमय बनाएका थिए।
सम्बत् ३० को दशकका सुरूका वर्षहरू, जागिरको सिलसिलामा बुबाको सरुवा विराटनगरस्थित कोशी अञ्चलाधीशको कार्यालयमा भएको थियो। काठमाडौंको चीसो तर घमाइलो हावापानीमा हुर्किएको हाम्रो परिवार विराटनगरको उष्ण र वाफिलो आवहवामा अकस्मात् पुग्दा सुरूमा बालुवामा परेका माछा झैं अनुभूति गर्यौं। तिनताका म जन्मिएको काठमाडौंको बानेश्वर गाउँले रहन-सहनको कुनै एकान्तिक काठ क्षेत्र समान थियो। उता बुबाको सरुवापछि सरकारी डेरा रहेको शनिहटिया पूर्वको खद्रा टोल र त्यसको सेरोफेरो नगर पञ्चायतवाट ढुंगा फालिने दूरीमा रहेता पनि चरित्रगत हिसाबले देहात समान थियो।
त्यस सुनसान देहातलाई हप्तै पिच्छे चर्को माइकको आवाजले चिर्दथ्यो, जुन देहातवासीका लागि कर्कशभन्दा पनि सुरुचिपूर्ण हुन्थ्यो। माइकवालाको रवाफिलो आवाजले सुन्नेहरूका श्वास एकछिन बन्द हुन्थे, शरीरमा कम्पन छुट्थ्यो, रौं सरररर् ठाडा हुन्थे। त्यहाँ बोल्नेले पीठो होइन सिनेमा बिकाइरहेको हुन्थ्यो, सुन्नेहरू सिनेमाको रूमानी कल्पनमा पुगिसकेका हुन्थे। माइकवाला रवाफिलो बया-ए-अन्दाजमा राजेश खन्नाका प्रेम, अमिताभ बच्चनका क्रोध, डेनीका दुश्मनी, रेखा र हेमाका अदा, असरानी र जोनीवारका जोक्स सुनाइरहेको हुन्थ्यो। उता, रमितेहरू डल्लै बलिउड आफ्नो दैलोबाहिरै भेटिरहेका हुन्थे।
खद्रा टोलको फुच्चे खरेलको नाभी त सिनेमासंगै जोडिएको हुन्थ्यो। बाँकी सारा टोलका लागि ‘सस्पेन्स’ ती मायावी पर्दाका कहानी उसले कुनै भान्छेको भाती पहिलै चाखिसकेको हुन्थ्यो। ती माइकमा फलाकिने सिनेमाका ऊ पहिलो दर्शक बनिसकेको हुन्थ्यो। गाँठी कुरा के थियो भने, शहरका टाकिजहरूमा चलाइने सिनेमाहरूले एउटा सरकारी खड्गोको अनिवार्य सामना गर्नुपर्ने हुन्थ्यो, जसलाई सेन्सर भनिन्थ्यो। सेन्सर पासका लागि अञ्चलाधीश कार्यालयले आफ्ना अधिकारीलाई सिनेमाहल पठाउथ्यो।
संयोग चाहिँ, सिनेमा-उन्मादी त्यो फुच्चे बुबाको दौराको फेरो समाउँदै सेन्सरको मौकामा चौका हान्दै सिनेमाको पहिलो दर्शकमा दरिन्थ्यो। उसलाई सेन्सरीय संसारमा डोहोर्याउने अर्को जिनिस पनि हुन्थ्यो, सिनेमाका दौरान हल मालिकको चमेनाको सत्कार। सेन्सरको मेनुमा अनिवार्य हुने गर्थ्यो ‘ठण्डा मतलव कोकाकोला’। वोतलको बिर्को जसै उघारिन्थ्यो, उकुस-मुकुसिएका कार्वन-डाइअक्साइड गुजगुजी ध्वनीका साथ वातावरणमा मिसिन्थे। जसै कोक घाँटिबाट तल झर्दथ्यो त्यसको तिख्खर हरक चाहिँ उर्ध्वगामी बन्दै नाकका पोराहरूवाट जापानी वासावी निले झै गरी धुवाँ जसरी निस्कन्थे।
सम्बत: ३२ देखि ३६ सम्म, चार-साढे चार वर्षको विराटनगरको बसाइ सिनेमासंगका अभिसारका वर्षहरू अर्थात् ‘माई ट्रिस्ट विथ फिल्मस्’ थिए। विराटनगरबाट सुरू भएको सिनेमाको चस्का त्यस यता एउटा आदतकै रूपमा विकसित भइसकेको छ। जलजला र हिमालय टाकिजका सिनेमा हेर्नु शायद एक प्रकारले स्वास्थ्य केन्द्रमा खोप दिनु सरह थियो। जसको दाग र असर आजपर्यन्त छ।
‘हिरो’ को ब्ल्याक-धन्दा
प्रसंग सिनेमाकै रहेकाले यस आलेखमा जानाजानी भएको एउटा गोरखधन्दाको स्वीकारोक्ति गर्नु सान्दर्भिक देख्छु। काठमाडौंमा नयाँ खुलेको कुमारी चलचित्र घरमा ज्याकी श्राफको डेब्यू फिल्म ‘हिरो’ ले धुम मचाइरहेको थियो। ‘हिरो’ को वासुरीको धुन, गीत र सबैभन्दा बढी ज्याकीको क्रेजका कारण फिल्म कतिपल्ट हेर्ने भन्ने शहरमा होडबाजी नै चलेको थियो। फिल्म छुटाउनु भनेको समाजमा एक्लिनु बराबर थियो। तर, फिल्म हेर्नु सजिलो थिएन, किनकि टिकटका निम्ति घन्टौं लाइन बस्दा पनि पाइने कुनै निश्चितता हुँदैनथ्यो।
यसको विकल्प ब्ल्याक अर्थात् कालोबजारीसंग कैयो गुणा बढी मूल्यमा टिकटको खरीददारी हुन्थ्यो। असलमा सिनेमा हल कुनै पहलमानी अखडा जस्ता हुन्थ्ये, जहाँ टिकट लिनु पनि बहादुरीको विषय हुन्थ्यो। पाखुरा देखाउनु, सुर्काउनु, हुलहुज्जत गर्नु टिकट हत्याउनुका हतकण्डा हुन्थे। यदा-कदा सिनेमा हलमा प्रहरीको पहरामा लाइन पनि लगाइन्थ्यो। त्यस्तै एउटा शनिबारको दिन मेरा भान्दाइका साथी सर्लाही, पोखरीटोल निवासी जगतनारायण दाइ र उनकी पुरानो बानेश्वरस्थित घरपेटी दिदीका साथ कुमारी हलमा पुगियो।
प्रहरीको पहरामा टिकट बाँडिने ब्यवस्था मिलाइएकाले हामी तीनै जना महिला र पुरुषका अलग लाइनमा बस्यौं। हामीबीच कुनै सल्लाह थिएन, तर सहजरूपमा टिकट मिलेको अवस्थाको फाइदा लिदै हामीमध्येका प्रत्येकले दुई-दुई गोटा टिकट लियौं। केही बेरभित्रै काउण्टर बन्द भएपछि हलमा टिकट हुनेभन्दा पनि टिकट खोज्नेहरूको हुल बाक्लिन थाल्यो। हामीसंग तीनवटा टिकट एक्स्ट्रा थिए। परिवारकासाथ सिनेमा हेर्न आइपुगेका एक सज्जन धुईं पडताल टिकट खोजिरहेका रहेछन्। उनी हाम्रो सम्पर्कमा आए, र हामी जगेडा तीन टिकट दिन राजी भयौं। जब भुक्तानीको कुरा आयो, हामीले उनीसंग वास्तविक मूल्यको तीन गुणा बढी असुल्यौं, जुन रकम उनले बिना कुनै झिझों हाम्रा हातमा थमाइदिए।
तर, एक भलादमी देखिने वयस्क, एक गृहिणी र अर्का एक किशोरको मिलिभगतमा मूल्यभन्दा चर्को भुक्तानी गर्नु परेकोमा ती भलाद्मी धेरै अचम्भित र थोरै विस्मित हुँदै प्रतिक्रिया जनाए, ‘तपाईंहरू हेर्दा त ब्ल्याक जस्तो देखिनु हुन्न।’ पैसा हातमा लिइसकेकाले हामी निरूत्तर थियौं। हुन त त्यस दिन ‘बल्याक’ को पैसाले हामीले चिया-चमेना खायौं, ट्याक्सीमा घर फर्कियौं। तर, त्यस घटनाबाट धेरै पछिसम्म हामीलाई लज्जाको अनुभूति भइरह्यो। केही वर्षअघि ‘रेन्बो ओभर मुम्बई’ वृत्तचित्र निर्माणका दौरान संयोगले मुम्बईमा ‘हिरो’ का वास्तविक हिरो ज्याकी श्राफ भेटिदा ‘हिरो’ को टिकट ब्ल्याक गरेको सम्झना एकाएक बौरिएर आयो।
वृत्तचित्रले कोरेको गोरेटो
बाल्यकालको सिनेमाको प्रभाव उमेरसंगै झ्याङ्गिदै गए पनि फिल्मप्रतिको रुचि अनि छनौट समयक्रममा विस्तारित हुँदै गयो। बलिउडमा बन्ने मायावी, तिलस्मी र धुमधडाक भन्दा फरक पनि चलचित्र हुँदा रहेछन् भन्ने वोध भयो। काल्पनिक र कथानक (फिचर) फिल्मका अतिरिक्त गैर-आख्यान वृत्तचित्र (डकुमेन्ट्री) पनि बन्दा रहेछन् र ती जीवनका सन्नीकट हुन्छन् भने आत्मवोध दक्षिण एसियामा डकुमेन्ट्री फेस्टिवलको केन्द्र बनेको काठमाडौंमा देखाइने डकुमेन्ट्रीहरू नियमित हेर्दै गर्दा भयो।
नेसनल जियोग्राफिकलगायत स्याटेलाइट च्यानलहरूमा देखाइने डकुमेन्ट्रीसंग टेलिभिजनको पर्दाको साक्षात्कारले निकै हदसम्म फिल्मप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याइदियो। वेलायतमा अंग्रेजी साहित्यमा स्नातकोत्तर अध्ययनका बेला पाठ्यसमाग्रीका रूपमा कलेजमा देखाइने डकुमेन्ट्रीले नथापाउनेगरी फिल्ममेकिङ्को विजारोपण गरेको रहेछ भन्ने कुरा सन् २००३ तिर आइपुग्दा मात्र बोध भयो, जुन बेला विना कुनै योजना र तयारी मैले आफ्ना गुरु अभि सुवेदीको काठमाडौंको काव्यिक यात्रामाथि ‘काठमाण्डू ओडिसी’ शीर्षकमा डकुमेन्ट्री बनाउन पुगे।
लाटाको खुट्टा बाटामा भने जसैगरी पहिलो काम नै दक्षिण एसियाको प्रतिष्ठित नन-फिक्सन डकुमेन्ट्री फेस्टिवल ‘फिल्म साउथ एसिया’मा छनौटमा परेपछि आफू अगाडिको फिल्ममेकिङ्को वाटो सुगम र फराकिलो पाएँ। त्यस उप्रान्त आफ्नो रोजाइको थोरै र अरू (गैसस/दाता) का धेरै डकुमेन्ट्री निर्माणबाट सिर्जनात्मक व्यस्त र आर्थिक रुपमा आत्मनिर्भर राख्दै आएको छु।
कुनै बेला बलिउडले एकछत्र राजगरेको नेपाली सिनेमा हलको रजतपटमा अहिले बलिउड, हलिउड, नेपाली मूलधारका भनिने बलिउडे प्रभाव र अनुकरण फिल्म अनि अलगधार अर्थात कला र शिल्पमिश्रित सुरुचिपूर्ण नेपाली कथानक चलचित्रदेखि डकुमेन्ट्रीसम्म प्रदर्शन हुन थालेका छन्। सिनेमा संस्कृति नेपाली जनजीवनको अभिभाज्य पाटो बनिसकेको छ।
मुलुकभित्रै चलचित्र निर्माण र प्राविधिक ज्ञानका लागि तीन वर्षे स्नातक तह संचालन भइसकेको छ। डाक्टर, इन्जिनियर, बैंकर, जस्तै फिल्ममेकर, सिनेमाटोग्राफर, एडिटरको हैसियतमा आफ्ना पेशाधार खोज्नेहरू बग्रेल्ती देखिन थालेका छन्। गोर्खा सैनिक र शेर्पाहरूले त्यस अघि चिनाउदै आएको नेपाल राष्ट्रलाई स्वप्नशील फिल्ममेकरहरूले विश्व रंगमञ्चमा चिनाउन सुरू गरेका छन्।
सिनेमा बदलिए जस्तै यसको संस्कृतिमा पनि व्यापक बदलाव भएको छ। नाकको पोराबाट धुवाँ निस्कने कोकाकोला सायद बन्दैनन् अहिले। कोकलाई साथ दिन पपकर्न पनि आएको छ। सिनेमा हल परिसरमा मांशपेशी देखाउदै ब्ल्याक गर्नेहरू डायनोसर जस्तै विलुप्त भएका छन्। हल बाहिर सिनेमाका गीत बेच्नेहरू त्यसैगरी अलप भएका छन्।
अनि अलप भएका छन् तीन घण्टे सिनेमालाई चार घण्टमा सुनाउने वाचाल वाचकीहरू। केवल बचेका छन् त सिनेमाका स्मृतिदंश (नोस्टाल्जिया)। नदी झै सिनेमा नित्य प्रवाहित छ। किनकि, दि शोज गो अन, एण्ड दे मस्ट गो अन्...