सुरुमै भन्नु पर्ने कुरा–यो स्टोरीमा मेरो सिनेमासम्बन्धि चकचक उत्खनन भएको छ।
यसमा बरहथवा नाम गरेको छोटेमोटे सहर र हजारिया नाम गरेको सरल सिधासाधा गाउँ छ।
यी दुइ ठाउँ जोड्न पैतालाले पैँतालिस मिनेट लाउँछ।
...
बरहथवा बजार!
राजधानीको यात्रामा यहाँबाट नाइट बस निस्कन्छ। फुच्चेफाच्चे रोगका चर्चित अहेबहरु छन्। लोकल स्वादको सिनेमा घर छ। पक्की घरहरु छन्। एउटा बैंक छ। इँटा छापिएर चिटिक्क बनेको बाटो छ। मर्दापर्दाको सम्पूर्ण सर्जाम यही सहरमा पाइन्छन्।
बिजुली बत्ति बल्छ। पुस्तक पसलहरु छन्। जलखाइ पाइने दुकानहरु छन्। अबेरसम्म खुल्ने भट्टीहरु छन्।
प्रमुख व्यापार गार्इ, गोरुको हुन्छ।
मासु खानेहरुका लागि खसीशाला, राँगाशाला, सुँगुरशाला, माछाशालाका स्टलहरु छन्।
सहर हुनको लागि चाहिने अन्तिम मापदण्ड नुनदेखि सुनसम्मको कारोबार यही सहरमा हुन्छ।
यहाँ मेरो आधा किशोर उमेरको अनेकन हर्कतहरु छ्यालब्याल भएका छन्।
...
हजारिया!
म उदयपुर ठानागाउँबाट भर्खरै मधेश झरेको हुन्छु। मेरो ठेगाना सर्लाही हजारिया हुन्छ। जहाँ मेरो दिदी भिनाजुको घर छ। जसमा बेलाबेला ‘शुभआशिर्वाद छोरा१’ सम्बोधन भएको बा आमाको चिट्ठी आउँछ।
ठेगानासँगै मेरा साथीहरुको अनुहार फेरिन्छ। जिब्रोको भाषा फेरिन्छ। हावा फेरिन्छ। पानी फेरिन्छ। आँखाको सौन्दर्य फेरिन्छ।
हजारिया स्कुलमा मैले पढ्ने कक्षा हो चार।
स्कुलमा धेरै साथीहरु मैथिली भाषा बोल्छन्। म बुझ्दिनँ।
मेरो जिब्रो आमाले सिकाएको भाषामा मात्र चल्छ। मगजले आमाको भाषा मात्र बुझ्छ। दुनियाँमा अरु भाषा छ भन्ने म फुच्चेलाई के थाहा१
मेरा लागि हजारियाको पहिलो अचम्म–मै जस्तो भुरो साथीले अर्कै भाषा बोल्छ।
दोस्रो अचम्म–त्यही मजस्तो भुरो साथीले फिल्मको कहानी सुनाउँछ। मेरो हजुरआमाले सुनाउने लोककथाको राजकुमार जस्तो बलियो मान्छेलार्इ हिरो भन्छ।
एक दिन स्कुलबाट घर फर्कँदा भुरो साथीले भन्यो, ओर्इ तैंले फिल्म हेर्या छस् बे!’
मैले फिल्म भन्ने शब्दै बुझिनँ। हेरेको छुमा उत्तर दिने कि छैनमा! अकमकाएँ। छैन भन्ने उत्तर फ्याट्ट मुखमा तयार भयो।
‘अहिलेसम्म फिल्म पनि हेर्या छैन बे!’ खिस्याउँदै भन्यो।
‘फिल्म भन्या के होर?’ बालाई सानामा हात्ती भन्या के हो बा भनेर सोधेझैं सोधेँ।
‘फिल्म भन्या फिल्म हो।’
भुरो साथीलाई परिभाषित उत्तर कहाँ आउँछ र!
‘सुन बे! फिल्मको कहानी।’
उसले फिल्मको नाम भन्यो–सीमाना।
हिरोको नाम भन्यो–राजेश हमाल।
हिरोइनको नाम थाहा पाएन। थाहा पाएको भए पक्कै भन्थ्यो!
भिलेनको नामसँगै अरु कलाकारको नाम पनि भन्न जानेन।
उसले फिल्मको कहानी कतै नबिराइ सुनायो! मानौं कक्षाको सबैभन्दा खतरनाक राजदेव सरले घोक्न दिएको पाठ हो फिल्मको कहानी।
हिरो र गुन्डाको फाइट सुनाउँदा मेरो घाँटी न्याक्ने र लात्ती हान्नेसम्म गर्न भ्यायो।
बन्दुक पड्काउने सिनमा तीन औंलाको मुठ्ठी पार्यो। चौर औंला मतिर तेस्र्यायो। बुढी औंला आफ्नो दायाँ आँखाको छेउमा राख्यो। बायाँ आँखा बन्द गर्यो। सिकारीले मृग ताके झैं मलाई ताक्यो। ढिस्यौं ढिस्यौं गर्यो।
एक छिनमा भिलेन मर्यो भन्ने जानकारीसहित कथा अगाडि बढायो।
मेरो हजुरआमाले सुनाउने कथाहरु भन्दा फिल्मको कहानी काइदा लाग्यो मलाई।
फिल्म हेर्न कहाँ पाइन्छरु मैले सोधें।
भुरो साथीले टाठो स्वरमा भन्यो, ‘बरहथवामा।’
...
म हजारिया आएको तीन महिना भयो। बरहथवामा फिल्म हेर्ने ठाउँ देखें।
टिनको छानो भएको अग्लो र लामो घर। जसको अगाडि भित्तामा टाँसिएको छ, भुरो साथीले कहानी सुनाएको सीमाना फिल्मको पोष्टर।
साथीले भनेकै जस्तो हिरोको लामो कपाल छ। साथीले भनेकै जसरी हिरोले हातमा बन्दुक समातेर भिलेनलाई ताकेको छ।
फिल्म हेर्ने हुटहुटीले खुब पिरोलिन्छु।
त्यो भुरो साथीले मलार्इ अरु अरु फिल्मको कहानी सुनाएर बलिरहेको मेरो मनमा घ्यू थप्ने काम गरेको छ।
उसलार्इ चार फिल्मको कहानी आउँछ।
मैले चार फिल्मको कहानी अनेकन पल्ट सुनेको छु।
मेरो फिल्म हेर्ने इच्छा पुरा हुन सक्दैन। त्यो हल त उहिल्यै बन्द भएको रहेछ। हलको एकापट्टीको गारो भत्किएको छ। कुर्सीहरु ल्यांगफ्यांग छन्। भित्र लोकल कुकुरले आराम कक्ष बनाएको छ।
म निराश हुन्छु।
...
पुरानो हल बन्द भएपछि बरहथवामा अर्को नयाँ फिल्म हल बन्छ, दीपक चलचित्र मन्दिर।
हल बने पनि फिल्म हेर्न पाइनँ। फिल्म हेर्न पैसा चाहिन्छ। मसँग पैसा छैन।
घरबाट, स्कुलबाट, भागेर छपल्ट फिल्म हल पुगेर फर्किसकेको छु। टिकट नकाटी भित्र पस्ने कुनै आइडिया छ कि भनेर खोजी गरेँ। तर, आइडिया पत्ता लागेन। टिकट काट्ने पैसाको जोहो गर्न सकिनँ। घरमा दिदी भिनाजुसँग फिल्म हेर्न पैसा माग्ने बल भएन।
गाउँमा दुध डेरी छ। त्यस डेरीको सचिव मेरो भिनाजु। पन्ध्र पन्ध्र दिनमा कृषकको नाममा पैसा आउँछ। भिनाजुले पैसाको मुठा खोलेर पैसा बाँड्नुहुन्छ।
मेरो आँखामा साथीले कहानी सुनाएको हिरो नाच्छ।
एकदिन दराजको साँचो पत्ता लाउँछु। पहिलोपल्ट कामेको हातले कुनै कृषकको नामको रु. दश चोर्छु।
मुट्ठीमा पैसा च्यापेर सिधा फिल्म हल पुग्छु।
टिकट काउन्टरमा ठूलै भीडभाड हुन्छ। मान्छेको टाङमुनिबाट टाउको छिराउँदै बल्लतल्ल टिकट किन्ने ठाउँमा पुगें तर पाँच रुपैयाँमा टिकट आएन। खुब दुःखी भएँ। निचोरेको कागती जस्तो अनुहार लिएर घर फर्कन्छु।
फिल्मको एउटा टिकट किन्नको लागि अब रु। तीन पुगेन। थुप्रै संघर्ष गरेँ, तर अर्कोपल्ट रु. तीन चोर्ने अवसर नै आएन।
चोरेको रु. दशचाहीँ मेरो कट्टुको इजारभित्र छ। बेलाबखत नुहाउँछु त्यस बेला रु. दश घरको पालीमा हुन्छ।
त्यो रु। दशको जतन जुन ढंगले गरेँ, त्यसरी नै जिन्दगी जतन गरेको भए क्या सानदार बन्थ्यो होला जिन्दगी।
स्कुल छेउमा बजार लाग्छ। बजारमा एक दिन सर्प नचाउने सपेरा आउँछ।
मलाई सर्पसँग भंयकर डर लाग्छ। अहिले पनि डरको पारो जस्ताको तस्तै छ। सपेराले विन बजायो सर्प नाच्यो। मेरो मुटु पाउरोटीझैं ढक्क फुल्यो।
सपेराले एउटा बुटी देखाउँदै भन्यो, ‘यो सर्पको हड्डीबाट बनेको बुट्टी हो। यो लाए मान्छेलाई सर्पले कहिल्यै टोक्दैन। यसको मुल्य रु. दश मात्र हो। बुटी लाउनुस्, सर्प भगाउनुस्।’
मैले मधेसमा डरलाग्दा सर्प देखेको थिएँ। सर्पले टोकेर मान्छे मर्या भन्ने सुनेको थें।
मलाई मृत्युसँग डर लाग्छ। सर्पले टोकेर मरें भने फिल्म हेर्न पाउँदिन भन्ने ज्ञान हुन्छ।
मेरो कट्टुको इजारसँग बुटीको मुल्य मेल खान्छ। बुट्टी किन्छु। रु. दश सकिन्छ।
...
म हजारिया आएको आठ महिना भयो। दशैं आयो।
मेरो साइँलो दाजु जुनसुकै दुनियाँमा पुगे पनि दशैंको बेला घर फर्कनु हुन्छ।
अपवाद, म मधेश झरेको वर्ष दाजु घर जानु भएन।
दशैं मनाउन मेरै ठेगानामा आउनुहुन्छ।
सामान्यतयाः दशैंको बेला केटाहरु साह्रै अभागी हुन्छन्। टीका लाएर पैसा पाउँदैनन्। त्यस दशैंमा म खुब भाग्यमानी भएँ। दाजुले मलार्इ टीका लगाएर पैसा दिनु भयो। भान्जा भान्जीलार्इ जस्तै।
मेरो हातमा रु. पचास पर्छ।
म धनी हुन्छु। टन्नै धनी।
रु. पचासले धेरै कुरा गर्न पुग्थ्यो। टन्नै जेरी, पुरी, समोसा खान पुग्थ्यो। फिल्म हेर्न पुग्थ्यो। बचेको एक दुर्इ रुपैयाँले खडखडे (डायस) खेल्न पनि पुग्थ्यो। मसँग योभन्दा ठूलो सपना थिएन। सपना पुरा भएको दिन मान्छे धनी हुन्छ। ठूलाहरुको सपना अनेक हुन्छन्, यसकारण ठूलाहरु कहिल्यै धनी हुँदैनन्। म फुच्चे थिएँ। छिटै धनी भएँ।
भागाभाग गर्दै फिल्म हल पुग्छु।
अग्ला मान्छेको भिडलार्इ टाङ मुनिबाट छिचोलेर टिकट बेच्ने मान्छेसम्म पुग्छु। एउटा खोपाबाट हात छिराएर रु. तेह्रको टिकट किन्छु।
हल पुरै औंसीको रात जस्तो छ। हटियाको माछाबजार जस्तो कल्याङ्मल्याङ् छ।
एकछिनमा फिल्म सुरु हुन्छ। हिन्दी फिल्म माफिया।
अगाडी सेतो पर्दामा अक्षरहरु हिँड्न थाल्छ। सबै अक्षर पढ्न भ्याउँदिनँ हातमा माछा चिप्लै झै आँखामा अक्षर चिप्लिन्छ।
एकछिनपछि फिल्म सुरु हुन्छ।
म चकित हुन्छु।
साथीले भने जस्तै मारपिट हुन्छ। बन्दुक हानाहान हुन्छ। घरमा आगो लाग्छ। बम पड्कन्छ।
दर्शकदीर्घाबाट बेला बेलामा परररर तालि बज्छ। सिठ्ठी बज्छ।
म कुनै अलौकिक दुनियाँमा पुग्छु।
मलार्इ रमाइलो मात्र लाग्दैन डर पनि लाग्छ। बन्दुक पड्कँदा डर लाग्छ। बम पड्कँदा डर लाग्छ। मान्छेको छातीमा छुरी रोप्दा डर लाग्छ।
घरिघरि अतालिन्छु। निस्केर भाग्न खोज्छु। अँध्यारो हलमा बाटो भेट्दिनँ।
फिल्ममा एउटा बलियो मान्छेले अर्को बलियो मान्छेलार्इ कुटेर मार्छ त्यसबेला खुब डराएँ। सिटबाट जुरुक्क उठें।
पछाडिको मान्छेले मेरो टाउकोमा प्याट्ट हान्यो। ठूलो स्वरमा चिच्यायो, ‘बैठ रे साला।’
मलार्इ लाग्छ, त्यही फिल्मको बलियो मान्छेले मेरो टाउकोमा झापट मार्यो।
म कुर्सीमा खुम्चिँदै बस्छु।
छेउको सिटमा बस्ने एकजना दिदी बेला बेला रुँदै छिन्।
म हिन्दी पटक्कै बुझ्दिनँ। एक शब्द पनि। त्यो फिल्ममा दिमागले भाषा म्युट गरेर आँखाले मात्र दृष्य हेर्यो। आँखा रमायो। आँखाको भरमा म रमाएँ।
पुरै फिल्म सकियो। दुर्इ कुरा बुझिनँ।
एक : छेउको सिटमा बस्ने दिदी किन रोइन्?
दुर्इ : फिल्ममा भयंकर मारपिट के कारण भयो?
अरु साथीहरु फिल्म हेरेर कहानी सुनाउँछन्। मैले फिल्म हेरेर कहानी सुनाउन सकिनँ। कहानी नसुनाए त फिल्म हेरेको कुरा कसले पत्याउने। म लुकेर फिल्म हेर्न गएको हुँ। लुकेको कुरा कसले देख्ने?
मैले फिल्म हेरेको कुरा मेरा साथीहरुले पत्याएनन्।
धेरै दिन खिन्न बनें।
...
त्यसपछि कुन फिल्म हेरें।
बिर्सेँ!
गाउँमा टेलिभिजन युग सुरु भयो।
बिहेमा टेलिभिजन दाइजो दिने चलन चल्यो। अलिकति हुनेखाने परिवारमा कसैको बिहे भयो भने अनिवार्य त्यो घरमा ब्ल्याक एण्ड ह्वाइट टिभी आउँछ।
ती घरहरु विशेष शनिबार साना हलहरुमा फेरिन्थे। गाउँभरिका मान्छेहरु फिल्म हेर्न जम्मा हुन्थे।
गाउँमा आएको यस्ता अदलबदलको कारण फिल्म हेर्ने लतमा फसें।
गाउँको टिभी क्रान्तिले मलार्इ हिन्दी सिकायो।
बोल्दैनबोली, लेख्दै नलेखी, पढ्दैनपढी हिन्दी भाषा बुझ्न सक्ने भएँ।
सलमान खानको तेरे नाम फिल्मको प्रभाव यति खतरनाक पर्यो कि भान्साको भुटुन टाउकोमा दलेर बीचबाट सिउँदो फर्काएर हिँड्ने नयाँ फेसनको उत्पत्ती त्यसैबेला भएको हो।
त्यो फेसनको फोटो मसँग अझै छ।
त्यो हेयर स्टाइलको माया अझै लाग्छ।
...
बरहथवामा दुर्इओटा फिल्म हल बन्यो। नेपाली पुराना नयाँ फिल्महरु बाक्लै चल्न थाल्यो।
अलिक हुर्कंदै गएपछि दिदी भिनाजुसँग पैसा माग्ने नयाँ नयाँ तरिका फुर्दै जान्छ। चोर्नु पर्दैन।
कक्षा आठमा, अन्तिम महिनाको ट्युसन क्लास चल्नु र हलमा दर्पण छायाँ चल्नु एकैपल्ट हुन्छ। दर्पण छायाँको कहानी सुनाउने साथीहरुले मलार्इ धुरुक्कै पार्छन्।
मन थाम्न सकिनँ। घरमा ट्युसन फि माग्छु।
स्कुलबाट एक्लै भाग्छु। किताब मकैबारीमा फाल्छु। ट्युसन फि तिर्ने पैसाले फिल्म हेर्छु।
कहिलेकाहीँ स्कुलमा छड्के जाँच हुन्छ। टिफिनपछि को को भागे भनेर दोहोरो हाजिर हुन्छ। खासगरी हलमा चर्चित सुपरहिट फिल्म चलेको बेला धैरै विद्यार्थी छड्केमा पर्छन्।
म छड्केमा परेँ।
भोलिपल्ट स्कुलको चौरमा उभिएर सयपल्ट कान समातेर उठबस गर्ने सजाय पाउँछु। यो फिल्म हेरेबापत सबैभन्दा ठूलो सजाय थियो।
सरकारी स्कुल पढ्दाको फाइदा के भने स्कुलमा हुने यस्ता सानातिना हर्कतबारे अभिभावकले चाल पाउँदैनन्। दोहोरो सजायबाट बचिन्छ।
कुनै निजी स्कुल थियो भने घरमा मेरो हालत के हुन्थ्यो कल्पनै काफी छ।
पछि ट्युसनको सरले एक दुइ पल्ट फि माग्नु भयो। भोलि भोलि भन्दै टारेँ।
सरहरु भनेको ज्ञानी हुन्छन्। ज्ञानी मान्छे पैसामा किचकिच गर्दैनन्। ज्ञानी मान्छेलार्इ ठगेँ। पैसा तिरिनँ।
...
अब म र मेरो साथी, भुरो रहदैनौं।
ऊ पन्ध्र वर्षको ठिटो दामु बन्छ। म पनि पन्ध्र वर्षकै ठिटो सायन बन्छु।
हाम्रो ओठमा जुँगाको रेखी बस्छ। मनमा रहस्यमय तरंग उत्पत्ती हुन्छ। मगजले उल्टो बाटो मन पराउँछ। विकासे खालका चकचाक र हर्कतहरुको पत्ता लाग्छ।
यसैबीच हजारिया गाउँमा डिभिडी/भिसिडी क्रान्ति सुरु हुन्छ।
भाडामा पाइन्छ डिभिडी/भिसिडी प्लेयरहरु। दुर्इचार जना तन्नेरी मिलेर गाउँमै देखाउन सक्छन् फिल्म।
एकै बसार्इमा थुप्रै फिल्म। थोरै दाममा। आइडिया किफायती बन्छ।
यो डिभिडि/भिसिडी क्रान्तिले मलार्इ अर्को अलौकिक दुनियाँमा धकेलेको छ।
एक बिहान राताराता आँखा लिएर मेरो भूतपुर्व भुरो साथी ओछ्यानमा आएर फुसफुसाउँछ, ‘आज दिनभर फिलिम हेरम् बे। स्कुल हापदे। हाम्रोमा डेग ल्याछ हिँड्।’
त्यसबेला गर्मी याम थियो। स्कुलको पढार्इ बिहान हुन्थ्यो। काखीमा किताब च्यापेर स्कुल हैन, फिल्म हेर्न गएँ।
उज्यालो भएपछि गाउँमा ठूलाहरु मेला जान्छन्। फुच्चेहरु स्कुल जान्छन्।
दामुका घरका ठूलाहरु मेला गए। घर खाली भयो।
झ्याल ढोका थुनेर कोठा अँध्यारो बनाएपछि दामुले फिल्म चालु गर्यो, ‘पोर्न फिल्म।’
मैले फिल्म अनगिन्ती हेरिसकेको थिएँ, तर पोर्न हेरेको थिइनँ। स्कुलमा साथीहरु पोर्नको दृष्य बिना संकोच सुनाउँथे। म लजाउँथें।
म अलिक लजालु टाइपकै छु। खुल्न सक्दिनँ।
यस्तो बानीलार्इ म आफैचाहिँ घुसघुसिया टाइपको भन्छु। साथीहरुले जे कुरा गरेका छन्, त्यो कुरामा मलार्इ औधी लोभ छ। रहर पनि छ। गहिरो इच्छा पनि छ। तर बाहिर खुलेर देखाउन सक्दिनँ। घुसघुस पारामा सुन्न रहर गर्छु।
दामुले मेरो बानीलार्इ निस्तेज पार्न नियोजित तरिकाले मलार्इ पोर्न फिल्म देखायो।
सुरुमा त म अतालिएँ। पछि अतालिनु परेन। सुरुमा लजाएँ। पछि लजाउनु परेन। लाज आफैं बाफझैं उड्यो। म पानी भएँ।
समुद्रमा डुबेको फलामको टुक्रोजसरी फिल्ममा गहिरीँदै जान्छु।
फिल्म सकियो।
दामुले जिस्क्याउँदै सोध्यो, ‘फिल्म कस्तो लाग्यो बे!’
कम्तिमा एक हप्ता मेरो गिदी हल्लियो। म रोगी भएँ। दिमागमा घातक असर गर्यो। एक हप्तासम्म प्रत्येक कक्षामा पिटाइ खाएँ।
मैले कुनै विषयको होमवर्क गर्न सकिनँ।
मेरा अरु चकचकहरु थला परे। हप्ता दिन शिथिल भएँ।
...
मैले फिल्म हेरेरै थाहा पाएको हुँ, ‘दुनियाँ ठूलो छ। खराब छ। असल छ। रहस्यमय छ। कलात्मक छ भन्ने कुरा।’
यी कुरा थाहा पाउन मैले जुन समय कुर्नु पर्थ्यो त्योभन्दा अगाडि नै फिल्मले बुझायो।
ट्वीटर-@rashayans