‘त्यतिका मान्छे किन मारिएका होलान्?’
पहिलोपल्ट फिल्म हेरेर बाहिरिँदा मेरो दिमागमा यही प्रश्न घुमिरहेको थियो। यो ४८ साल असारतिरको कुरा हो। त्यो बेला म ताप्लेजुङबाट इटहरी झरेको तीन महिना पनि पुरा भएको थिएन।
मैले एकाध पटक फिलिम वा सिनेमा भन्ने शब्द सुनेको थिएँ। मलाई ती शब्दसँग कुनै दिलचश्पी थिएन। त्यसदिन काठमाडौंबाट फुपूकी नातिनी आएकी थिइन्। साइनोले भाञ्जी पर्थिन्। तर, उमेर भने ठिक उल्टो। उनी जवान थिईन्, म आठ बर्षको बालक। भाञ्जी र भाञ्जीको साथीले सिनेमा हेर्न जाने निर्णय गरे। फुपूले मलाई पनि उनीहरुसँग पठाउनुभयो। त्यो दिन सिनेमा हेर्न जानु मेरो रहर थिएन। वास्तवमा सिनेमा के हो भन्ने पनि थाहा थिएन, तैपनि म फिल्म हल पुगेँ।
करिब अढाई दशकअघि हेरेको त्यो फिल्म र कलाकारको नाम के थियो, थाहा छैन। कथाकोबारे सम्झना त परै जाओस्। फिल्म हिन्दी थियो भन्नेसम्म थाहा छ। त्यो फिल्म हेराई मेरो निम्ति कागलाई बेल पाकेजस्तै थियो । करिब तीन घन्टा हलमा बसेर बाहिरिँदा हाँसो र खुशी कुनै अनुभुति थिएन। बस्, दुइटा कुराचाहिँ मलाई अचम्म लागिरहेका थिए। पहिलो कुरा थियो फिल्मको पर्दा। तर, त्यो पर्दा हो भन्ने कुरा धेरैपछि मात्र बुझेँ, तत्काल त मैले त्यसलाई अजंगको टेलिभिजन ठानेको थिएँ। त्यो पर्खालभरिको टेलीभिजनको मुल्य कति महँगो होला भन्ने कुराले मलाई सताई रह्यो। अर्काे खुल्दुली भनेको त्यो फिल्ममा धेरै हत्याका दृश्यहरु थिए। ती मान्छे किन मारिएका होलान्? मलाई अचाक्ली पीर प¥यो। त्यसपछि अर्काे फिलिम कहिले हेरेँ भन्ने ठिक सम्झना छैन। ग्याप भने लामै भयो। ग्याप दुई कारणले भयो। पहिलो फिल्ममा समेटिएका हत्याहिंसाको दृश्यले आजित बनाउनु। दोश्रो मेरो फुपूको घरमा फिल्म हेर्ने चलन नै थिएन। कहिलेकाहीँ बाहिरका मान्छेसँग जानुपथ्र्याे।
४८ सालकै पुष महिनादेखि भने फिल्मका किस्सा धेरै सुन्न पाएँ। पुसमा म ज्योति प्राथमिक विद्यालयको चार कक्षामा भर्ना भएँ। भगत चौधरी र निर्मलाल पासवान कक्षाको पहिलो र दोश्रो विद्यार्थी थिए। उनीहरु पढाईमा पहिलो र दोश्रो भएपनि बस्नचाहिँ कक्षाको पछिल्लो भागमा बस्थे। अनि फिल्मका कहानी सुन्न सुनाउनमा मस्त रहन्थे। भगत चौधरी सधैँ फिल्मको कथा सुनाइरहेका हुन्थ्यो। निर्मलाल भगतको राम्रो श्रोता थियो।
‘त हिरोइनलाई जंगलको रास्तामा गुन्डाहरुले लखेटिरहेको हुन्छ’ भगत आफ्नै शैलीमा फिलिमको कथा सुनाउँथ्यो, ‘चट्ट हिरोइनको साडी तान्दै, भिलेनले भन्छ, मुझसे कैसे बचोगी रे छोकरी?’
‘अनि के हुन्छ रे?’ निर्मलालले चासो दिँदै सोध्थ्यो।
‘अनि भिलेनले, हिरोइनको इज्जत लुट्न सुरु गर्छ,’ भगतले भन्थ्यो।
‘बाफ रे, इज्जत लुट्न सुरु गर्छ, त्यसपछि के हुन्छ रे?’
‘ढडेङ्गटेङङङ,’ ऊ मुखैले आवाज निकाल्थ्यो, ‘त्यसपछि त, अभिताभ बच्चन। ढिस्युम, ढिस्युम। सबको धुलाई गर्छ। भिलेनहरु टाप।’
एबम् रितले भगत चौधरी निर्मलाल पासवानलाई कथा सुनाइरहेको हुन्थ्यो। कुनैपनि खाली समय प्रायः ऊ कथा सुनाइरहेकै हुन्थ्यो। ऊ वास्तवमा हाम्रो कक्षाको राम्रो फिल्म न्यारेटर थियो। उसको मुखबाट मैले मिथुन चक्रवर्ती र अभिताभ बच्चन, रेखाको नाम खुब सुनेँ। सायद, त्यसको दुई वर्षपछि मात्र मैले ती कलाकारलाई तस्वीरमा हेर्दा चिन्न सक्ने भएँ।
जे होस्, भगतको कथा वाचनले, फिल्ममा हिरो हुन्छ भन्ने थाहा पाएँ। फेरि–फेरि एनमौकामा फिल्म हेर्न गएँ। तर ती हेरिएका फिल्म भगतले कथा हालेजस्तो सजिलो गरि बुझिएन। अनि उति राम्रो पनि लागेन, जति राम्रो भगतले भन्दा लाग्थ्यो। उसमाथि त्यो बेला फिलिम नबुझे पनि हल छिर्दा एउटा कामना गर्थेँ। त्यो भनेको खुन खराबा धेरै नहोस्। अनि हिरो जो छ, उसले कुटाई नखाओस्।
पहिले इटहरीमा एउटा मात्र सिनेमा हल थियो। चलिरहेको फिल्मको विज्ञापन गर्न बजारमा पोस्टरहरु टाँसिन्थे। मैले वास्तविक समय बिर्सेें तर ४०÷५० सालतिर हुनुपर्छ। बञ्जारण भन्ने फिल्मको पोस्टर टाँसिएको थियो। त्यो फिल्म हेर्न जाने मौका मिल्यो। त्यतिन्जेलमा म हिरो र भिलेनचाहिँ छुट्याउन सक्ने भएको थिएँ। भलै, त्यो पात्रमा खेल्ने वास्तविक कलाकारको नाम जान्दिन थिएँ।
केही मिनेट फिल्म निर्माण संलग्न वा योगदान पु¥याउनेहरुको नाम आएपछि फिल्म सुरु भयो। फिल्मको सुरुवात कुनै बञ्जर जमिनमा गाडी गुडिरहेको दृश्यबाट भयो। सुरुवातमा औधी खुशी भएँ। किनकि यहाँ हिरोसँग गाडी थियो। गाडी भएपछि गुन्डाहरुले आक्रमण गरेको बेला हिरोलाई भाग्न सजिलो हुन्छ भन्ने मेरोे बुझाई थियो। तर फिल्मको बीचमा नै म झस्किरहेँ। झस्किनुकोे कारण, हिरो हिरोइनको पछि लाग्दा आफ्नो गाडी ल्याइरहेको हुँदैन थियो। उसमाथि अन्तिमतिर हिरो त हिरोेइनको बाको बन्दुकबाट मारियो। हिरो मरेको शोकमा तत्काल हिराइनले पनि आत्महत्या गरी। फिल्म सुरुवात हुँदा उत्साहित मनलाई चिसो बनाएर हलबाट निस्किएँ। यद्यपि हिरोहिरोइन मरेकोबाहेक फिल्मको कथा खासै बुझेको थिइनँ।
इटहरी बसेको दुई वर्षपछि भने म फिल्मको ८० प्रतिशत कुरा बुझ्ने भएँ। त्यही क्रममा ५० सालको अन्त्यतिर फेरि बञ्जारण हेर्ने मौका मिल्यो। टेलिभिजन वा भिडियो हल के मा हेरेँ भन्ने चाहि कन्फ्युजन छ। त्यो बेला बुझेँ कि बञ्जारण फिल्म पुनर्जन्मको बारेमा थियो। जो फिल्म फ्ल्यासब्याक शैलीमा थियो। पहिले नै मरिसकेको हिरो—हिरोइनलाई कसरी मरे भनेर अन्तिममा देखाइएको थियो। जहाँ ऋषि कपुर र श्रीदेवी मुख्य पात्रमा थिए।
पचास सालसम्म आइपुग्दा मलाई फिल्म हेर्नमा रुची बसिसकेको थियो। तर नियमित फिल्म हेर्न जान भने पाउदिन थिएँ। फुपूको अनुमति मिल्दैन थियो। तर बस्, मेरो रुची बढेको थियो। तसर्थ शनिबार दुई बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने फिल्महरु हेर्न थालेँ तर ती फिल्महरु पुराना हुन्थे। अर्काेतिर फिल्मको विषयवस्तु प्रतिको रुचीमा पनि १८० डिग्रीमा परिवर्तन आयो। अब कुनै फिल्म हेर्न जानुप¥यो भने हिरो भाग्न सक्छ कि सक्दैन भन्ने चिन्ता थिएन। बस्, फिल्ममा फाइटको दृश्य कति छ? रुचीको विषय त्यही थियो। त्यो समय अजय देवगन, आक्षय कुमार र सुनील सेट्ठी एक्सन हिरोको रुपमा गनिन्थे। हाम्रो टोलका मजस्ता सबै यिनै हिरोहरुका फ्यान थिए। घरको सामुन्ने बस्ने एउटा नेवार साथी सुनीलको जबरजस्त फ्यान थियो, जो सायद उमेरमा मभन्दा तीन—चार वर्ष जेठो थियो। सुनीलको सेट्ठीको फ्यान भएकोले त्यो साथी पनि सुनीलको झैं ज्यान बनाउन लागेको थियो। त्यसैको लागि ऊ जिमखाना गइरहन्थ्यो।
५०, ५१ सालतिर म ११, १२ वर्षको थिएँ। मेरा साथी पनि प्रायः त्यही उमेरका थिए। हामी सबै फिलिमका पारखी थियौ। तर फिलिम मानक हाम्रो लागि कथा थिएन। कथा राम्रो वा नराम्रो जे भएपनि हामीलाई फरक पर्दैन थियो। द्वन्द्वका दृश्यसँग मात्र सरोकार हुन्थ्यो। जति धेरै फाइटको दृश्य, फिल्म उति नै राम्रो।
फिल्मको प्रभाव हामीलाई विभिन्न हिसाबले प¥यो। त्योबेलाका हाम्रा धेरै हरकत र व्यवहारमा फिल्मको प्रभाव देखिन्थ्यो। अक्सर मेरा साथीहरु अभिभावक र आफन्तले दिएको पैसाले हिरोहिरोइनका पोस्टर किन्थे। यो काममा म पनि अछुतो थिइनँ। फरक यति हो कि, इटहरीमा मेरा अभिभावक थिएनन्। तर, कोही न कोही आफन्त त आउँथे नै। केटाकेटी ठानेर मलाई मिठाई खानको निम्ति अलिअलि खर्च दिन्थे। सबै खर्चले मिठाई खान्न थिएँ। बचेको पैसाले मपनि एकाध भारतीय कलाकारको पोस्टकार्ड किन्थेँ।
नयाँ वर्ष र चाडबाडको बेला पोस्टकार्डहरु साथीभाईलाई शुभकामना आदान—प्रदान गर्न प्रयोग हुन्थे। त्यही बेला कसैले कसैलाई मन पराएको छ भने, प्रेम ईजहार गर्ने माध्यमपनि हुन्थ्यो। तर त्यो प्रेमको ईजहार नेपालको पहिलो लोकमार्ग जस्ता सिधा हुन्थेन। पहाडमा खनिएको सडक जस्तै नागबेली हुन्थ्यो। कति त यति घुमाउरो हुन्थे कि, जसलाई जे भन्न खोजिएको हो, त्यसले त्यो कुराको एक छेउ पनि बुझ्दैन थियो।
यस्तैमा सरोज भन्ने साथीलाई दशैंको छेकमा सँगै पढ्ने केटीले पोस्टकार्ड पठाइछे। त्यो कार्ड उसले हामीलाई पनि देखायो। कार्डको पछाडि एकजोर प्रेमिल सायरी लेखिएका थिए। खासमा त्यो केटीले सरोजसँग आफ्नो प्रेम ईजहार गरेकी थिई। त्यो केटीले सरोजलाई मन पराउँछे भन्ने हल्ला थियो। उसमाथि सरोजलाई मन पर्ने हिरोइनकै पोस्टकार्ड पठाएकी थिई।
सरोज रमाईलो पाराको थियो। ऊ माया—प्रेमको जोक बनाईरहन्थ्यो। भोलिपल्ट उसले पनि एउटा पोस्टकार्ड लिएर आएको थियो। उसले पनि कम मिहिनेत गरेको थिएन। त्यो केटीलाई मन पर्ने हिरोको पोस्टकार्ड लिएर आएको थियो। कुनै साथीमार्फत् पोस्टकार्डलाई त्यो केटीलाई पठायो। जसको पछाडि एउटा कमेडी सायरी हाम्रै अगाडि लेखेको थियो, जो यस्तो थियो।
मासु ईज मासु, हड्डी ईज हड्डी ।
यु लाईक्ड मि, द्याट ईज रड्डी ।
सायद त्यो बेलाको यादगार सायरी भनेको यहि उटपट्यांग सायरी मात्र हो। सायद यो सायरीले सरोजसँग प्रेम गर्न चाहेकी केटीको मन ज्यादै दुखाएको हुनुपर्छ।
हामी बसेको नजिकै नेपाल राष्ट्र बैंकको कार्यलय थियो। त्यसको दक्षिणपट्टि खाली जमिन थियो। त्यहाँ हामी वर्षभरिमा विभिन्न खेल खेल्थ्यौं। विशेष खेलचाहिँ फुटबल नै थियो। तर हामीले हेरेको फिल्मको प्रभाव त्यो जमिनले पनि भोग्यो। फुटबलबाहेक त्यही खेलिने अर्काे खेल थियो, फिल्मी फाइट। हामी यो खेलमा मारमार गर्दैन थियौं। खेल गजबको हुन्थ्यो। जति जना साथीहरु जम्मा भएपनि, त्यसलाई दुई भागमा बाँडिन्थ्यो। एउटा हिरो पक्ष, अनि अर्काे गुन्डाको पक्ष। हिरोको पक्षमा दुईवटा मात्र हुन्थे, मेन हिरो र साईड हिरो (मुख्य हिरो र सहायक हिरो)। बाँकि सबै गुन्डा। त्यो खेलमा गुन्डाहरुको काम कुटाई खानु हुन्थ्यो। अलि अलि साइड हिरोलाई कुट्न पाउँथे। मेन हिरोको काम हुन्थ्यो, गुन्डाहरुको धुलाई गर्नु। साइड हिरोले मेन हिरोलाई सहयोग गर्नुपथ्र्याे। तर कहिलेकाहीँ उसले गुन्डाको कुटाई पनि खानु पथ्र्याे। तर ठुलो चिन्ताको विषय हुन्थेन। किनकि उसलाई बचाउन मेन हिरो आइहाल्थ्यो। मुख वा प्रहार गर्दा गुन्डा हुने साथीको शरीरमा विस्तारै छुन मात्र पाइन्थ्यो। तर मुखबाट भने डिस्युम डिस्युम गर्दै आवाज निकाल्नु पथ्र्याे। गुन्डा हुने साथीचाहिँ चिच्याउँदै भुईमा लड्नु पथ्र्याे। एवम् रितले फिल्मको प्रभाव नेपाल राष्ट्र बैंक छेउको खाली जमिनले पनि देख्यो।
फाइट, जसको हामी नक्कल गथ्र्याैं। अनि चाहन्थ्यौं कि, फिल्म फाइट नै फाइटले भरिएको होस्। यही सोचका कारण अक्षय कुमार र सैफ अली खान अभिनित फिल्म साह्रो ‘बोरिङ’ लाग्यो। फिल्मको नाम थियो, ‘ये दिल्लगी’ । फिल्म इटहरीको हलमा लागेको थिएन। इटहरीभन्दा १७ किलोमिटर दक्षिण दुहबीमा लागेको थियो। म छिमेकी दिदीसँग त्यो फिल्म हेर्न गएको थिएँ। खासमा ती दिदीलाई फिल्म हेर्न जाने साथी चाहिएको थियो। दिदीले नै फुपूलाई भनेर मलाई फिल्म हेर्ने अवसर बनाइ दिएकी थिइन्।
म गाडीमा जाँदाजाँदै आक्षय कुमारको फाइटको परिकल्पना गर्दै थिएँ। त्यो बेला चलेकै एक्सन हिरो थिए, अक्षय कुमार। फिल्म चलेको १० मिनेटदेखि फाइटको व्यग्र प्रतीक्षामा थिएँ। फिल्म परेछ, लभ स्टोरी। मसँगै गएकी दिदीलाई फिल्म निक्कै मन परिरहेको थियो। सायद उसको जवानीको रहर र फिल्मको कथाले तादम्यता राखिरहेको थियो। म भने फाइटको दृश्य नआएकोले मुर्मुरी रहेको थिएँ। तर एक घन्टा बित्दा पनि फाइट आउने नाम निसान थिएन। मेरो छटपटी अत्याधिक भइसकेको थियो। मध्यान्तर हुने समयमा भने एउटा फाइट आएर मेरो छटपटीलाई कम ग¥यो।
मध्यान्तरपछि अब लगातार फाइटको दृश्य आउँछ भन्ने आश थियो। तर फिल्मले मेरो आसमा पानी फेरिदियो। अरु नभए पनि क्लाइमेक्समा त जरुर एउटा फाइट भन्ने आस थियो। अक्सर हरेक फिल्म फाइटको दृश्यबाट अन्त्य हुन्थ्यो। अफसोस्, कुनै फाइटको दृश्यबिना नै फिल्म सकियो। पर्याप्त फाइट नभएकै कारण मैले त्यो फिल्मलाई झुर फिल्मको श्रेणीमा राखेँ। आफ्ना कुनै पनि साथीलाई त्यो फिल्म हेरेर समय खेर नफाल्न सल्लाह दिएँ। किनकि त्यो समय हामी भन्थ्यौँ, ‘कथा जाए भाडमे, भन् फाइट कति थियो?’
त्यसपछि इटहरीका हलमा अनेकन फिल्म चले। ‘मोहरा’ फिल्म चलेको बेलाचाहिँ खुबै चर्चा भयो। चर्चाको कारण थियो, त्यो बेला चलेका तीन एक्सन हिरो मध्ये दुईवटा मोहरामै हुनु, अक्षय कुमार र सुनील सेट्ठी। तर हलमा गएर त्यो फिल्म हेर्ने सम्भावना थिएन मेरो। त्यसैले जो जो त्यो फिल्म हेर्न जाने कुरा गर्थे, उनीहरुसँग इश्र्या लाग्थ्यो। त्यसै बेला मैले त्यो फिल्मको बारेमा स्याल हुइयाँ सुनेँ। त्यो फिल्मको रिल बिग्रीएको छ। रिल बिग्रेकै कारण अगाडिको दृश्य पछाडि आउँछ। पछाडिको दृश्य अगाडि आउँछ। कति दृश्य त दोहोरिएर आउँछ। मैले यसैलाई अश्त्र बनाएर फिल्म हेर्न जानेलाई भड्काउन थालेँ।
यसैक्रममा कालु भन्ने साथी फिल्म हेर्न जाने कुरा गर्दै आयो। उसको वास्तविक नाम प्रदीप श्रेष्ठ थियो।
‘आज म मोहरा हेर्न जान्छु, नाइट शो’, उसले शानका साथ भनेको थियो।
‘नजा यार, रिल नै बिग्रेको छ रे’, मैले उसलाई भड्काउने तरिकाले भनेँ, ‘अगाडिको पछाडि, पछाडिको अगाडि छ रे, कति कुरा त दोहोरिन्छ रे।’
‘त्यो त झन् दामी नि’, प्रदीप आफ्नो इच्छामा दृढ रहँदै बोल्यो, ‘दोहोरियो भने त, एक–दुइटा फाइट पनि दोहोरीहाल्छ। झन् मज्जा आउँछ।’
मैले भड्काउन प्रयोग गरेको अश्त्र त उसको हौसला बढाउने औजार बन्यो। त्यो दिन प्रदीप ऊर्फ कालु फिल्म हेर्न गएरै छोड्यो। म उसलाई भड्काउन वा रोक्नको लागि असफल भएँ। भोलिपल्ट किस्ताबन्दीमा त्यो फिल्ममा फाइटका दृश्य र फाइट अघिका संवादहरु सुनाइरह्यो।
मोहरा इटहरीमा ५३ सालतिर चलेको थियो। इटहरीमा मैले फिल्म नबुझे पनि हेरेँ अनि बुझेर पनि हेरेँ। फिल्ममा फाइटका दृश्यलाई पहिला घृणा गरेँ अनि पछि प्रेम। ५३ पछि करिब चार वर्ष मेरो इटहरीसँग सम्बन्ध टुट्यो। त्योसँगै मेरो फिल्मप्रतिको दृष्टिकोण पनि बदलियो। आज मेरो निम्ति, एउटा सुन्दर फिल्मका मानक एक्सनले भरिपुर्ण दृश्यहरु हैनन्।