धुलिखेल अस्पतालका सर्जक एवम् काठमाडौं विश्वविद्यालयका निवर्तमान उपकुलपति रामकण्ठ मकाजु पछिल्लो समय व्यापक बहसको विषय बनेका छन्। त्यो बहस पटक्कै सकारात्मक छैन। एउटा मेडिकल कलेजलाई सम्बन्धनको सौदावाजी गरेर उनी फेरि केयूको उपकुलपति बन्ने सूचना आएसँगै उनी अहिले विवादमा छन्।
यसैबीच डा.मकाजुको कतै अनाहक बदनामी त गरिंदै छैन भनेर पनि छिटपुट प्रश्नहरु गरिन थालेका छन्।
डा मकाजुलाई म व्यक्तिगत रुपमा चिन्दिनँ। उनीसँग आत्मीयता र द्वेष दुवै नभएका कारण उनीबारे लेख्न र बोल्न मलाई सहज छ किनकि सार्वजनिक पदमा रहेको मान्छेबारे टिप्पणी गर्दा त्यसको आधार उसको कार्य सम्पादन हुनुपर्छ, व्यक्तिगत अनुराग वा वैमनस्य होइन।
डा मकाजुको चिकित्सकीय करिअर र धुलिखेल अस्पताललाई अहिलेको अवस्थामा पुर्याउन उनले खेलेको भूमिकाबारे मलाई गहिरो जानकारी छैन तर जति छ, त्यसको आधारमा म उनलाई अत्यन्तै श्रद्धा गर्छु। मैले मानेका र विश्वास गरेका धेरैले डा मकाजुलाई त्यस कामका लागि श्रद्धा गर्छन् र आफैं जानकार नभए पनि त्यत्तिको आधारमा म उनको त्यस खालको भूमिकाको उच्च मुल्यांकन गर्छु।
तर विश्वविद्यालयको उपकुलपतिका रुपमा मकाजुको भुमिका हेर्यो भने उनीप्रतिको दृष्टिकोण उस्तै राख्न असम्भव हुन्छ।
एउटा उदाहरण हेरौंः अघिल्लो वर्ष (२०१५) मार्च २८ मा केयुका डिनलाई एक जिम्मेवार डाक्टर प्रतिनिधिले एउटा मेडिकल कलेजको डेन्टल कार्यक्रमको दयनीय अवस्थाबारे यस्तो चिठी लेखेः
‘अहिलेसम्म विद्यार्थीहरु चौथो वर्ष पुगिसके तर अहिलेसम्म क्लिनिकल विभागहरु छुट्याइएका छैनन्। विद्यार्थीहरुले स्केलिङसमेत गरेका छैनन्, अरु काम गर्ने त कुरै छैन। ओपीडीमा जम्मा ४ वटा डेन्टल चेयर छन् र आज हामी जाँदा त्यहाँ एउटा डेन्टल हाइजिनिस्ट र एउटा रजिस्ट्रारबाहेक कोही थिएनन्। यो विश्वविद्यालयको मापदण्डको ठाडो उल्लंघन हो। बन्दै गरेका भनिएका प्रस्तावित विभागहरुको फोटोहरु हामीले यसै इमेलमा पठाएका छौं।’
रामकण्ठ मकाजु नेतृत्वको काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको राम्रो नमुना हो यो। यो इमेल पठाइएपछि त्यहाँका डिन डा एनबी राणाले आवश्यक कारवाही गर्ने भनेर जवाफी इमेल लेखेका छन् तर त्यसले महिनौंसम्म कुनै परिणाम ल्याएन।
केही महिनापछि डा गोविन्द केसी यस्तै मुद्दा लिएर आमरण अनशन बस्ने भएपछि सेतोपाटीले उल्लिखित कलेजको स्थलगत भ्रमण गरेर ६ बेडमा सयौं बीडीएस विद्यार्थीहरु पढाइएको भनेर बिस्तृत रिपोर्ट गरेपछि हल्लीखल्ली भयो। यस्तो गएगुज्रेको अवस्थामा डिग्री बेचिइरहँदा डाक्टरका पेशागत संगठन किन मौन भनेर हंगामा भएपछि आफूहरुले काम गरिरहेको भनेर प्रमाणस्वरुप माथिका इमेलहरु सार्वजनिक गरिएका थिए।
एक पल्ट, एक ठाउँमा हुने कमजोरी क्ष्यम्य हुन सक्थ्यो, तर केयुमा मकाजुको प्रशासन सबै निजी मेडिकल कलेजसँग सधैं यसरी नै चुकेको प्रस्टै देखिन्छ।
बीसौं जना एमडीएस गरेका फ्याकल्टी चाहिनेमा एक जना हाइजिनिस्ट र एक जना डेन्टल सर्जनको भरमा काम चलिरहने, विद्यार्थी पढ्न आइरहने, विश्वविद्यालयले सिट दिइरहने अवस्थामा मेडिकल कलेजले किन विशेषज्ञहरु थपेर खर्च बढाओस्? एकाधबाहेक केयूअन्तर्गतका मेडिकल कलेजहरुको प्रवृत्ति अहिले पनि यही छ।
त्रिवि अन्तर्गत आइओएमले जसरी माथिबाट वा ‘भर्टिकल कन्ट्रोल’ गरेर गुणस्तर कायम राख्ने प्रयास गरेको छ, केयुमा त्यो अवस्था छैन। चिट चोरी लगायतका तिकडम अपनाइए भनेर बारम्बार बोर्ड परीक्षा धुलिखेलमा राख्ने प्रयास गरिए पनि छोटेमोटे नेताको सन्तान परीक्षामा बस्ने भयो भने रातारात नियम बदलिएर उसको अनुकुलको केन्द्रमा परीक्षा हुन्छ। कति प्रभावशाली व्यक्तिका छोराछोरीका लागि त रोजिएको केन्द्र मात्र हैन, तिनलाई सिकाउनकै लागि प्राध्यापकहरु खटिने गर्छन्।
एमडी एमएसको परीक्षामा नियमित रुपमा हुने अनियमितता र सिट प्लानिङमा गरिने घोटालाजस्ता कुरा त सामान्य हुन् नै, प्रश्नपत्र बनाउने मान्छेको छोराले प्रवेश परीक्षा टप गर्ने चर्तिकला पनि यो वर्ष हेर्न पाइयो। अख्तियारले हस्तक्षेप त गर्यो तर केयुमा निरन्तर बदमासी गरिरहेका पदाधिकारी नै पीडित देखिएर सहानुभुति पाउने गरी। संवैधानिक म्यान्डेट बमोजिम पहिले भ्रष्टाचार वा अनियमितता हुन दिएर, त्यसको प्रमाण जुटाएर छानविन गर्नुपर्नेमा भ्रष्टाचार हुने अनुमानका आधारमा विश्वविद्यालयको काम नै आफैं गर्न खोज्दा अख्तियार पदाधिकारी चिप्लिने र केयुका पदाधिकारीको अनियमितता छोपिने अवस्था आयो।
केही हप्ता अगाडि डा केसी अनसन बसेकै बेला मकाजुले यस्तो दुस्साहससमेत गरेः भर्ना हुने विद्यार्थी नपुगेपछि विदेशी विद्यार्थीहरुका लागि प्रवेश परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था हटाउने।
यी सबै उदाहरणले प्रस्टै देखाउँछन्ः केयु अहिले आफूअन्तर्गतका निजी मेडिकल कलेजहरुलाई नियमन गर्ने भुमिकाबाट पूर्ण रुपमा च्यूत भएको छ र आफूलाई तिनै मेडिकल कलेजको कार्टेलले गर्ने जस्तो सुकै लज्जास्पद निर्णयमा पनि लालमोहर लगाउने निरीह निकायमा परिणत गरिसकेको छ।
सिंगो केयुमा एक्लो मकाजु दोषी भन्ने कदाचित होइन तर संस्थाको सर्वोच्च पदमा बसिसकेपछि पाइलैपिच्छे सम्झौता गरेर त्यसलाई पंगु बनाउने दुष्कर्मको जिम्मेवारी उनले लिनैपर्छ।
त्यसबाहेक, नियुक्ति लिने बेला नै फलानो मेडिकल कलेजलाई सम्बन्धन दिन्छु, नियुक्ति पाऊँ भनेर सौदावाजी गरेर आउने , रत्तिभर स्वाभिमान र लोकलाजको भावना नभएको मानिसबाट यसभन्दा बढी अपेक्षा पनि के गर्न सकिन्छ?
मिडियामा होहल्ला भएपछि अब माथि उल्लिखित कलेजमा समेत सुधार भएको छ तर शुरुका पाँच वर्ष बिरामी नै नदेखी जुन विद्यार्थीले डिग्री लिए, तिनको अब कसरी क्षति पुर्ति हुन्छ? तिनले उपचार दिने मानिसहरुको स्वास्थ्य के हुन्छ?
डा मकाजुको देनका रुपमा रहेको धुलिखेल अस्पतालले अहिले दिइरहेको सेवालाई कसै गरे पनि अवमुल्यन गर्न सकिंदैन तर उनको नेतृत्वमा आधारभुत सिकाइ पनि नगरी विभिन्न निजी मेडिकल कलेजहरुबीच साँठगाँठमार्फत् सरासर उत्तीर्ण भएका विद्यार्थीहरुले सेवा दिने लाखौं नेपालीको स्वास्थ्यबारे हामी चिन्तित हुनु पर्छ कि पर्दैन?
अघिल्लो वर्ष राज्यले काठमाडौं उपत्यकामा एमबीबीएस शुल्क ३५ लाख तोकेर उपत्यकाबाहिर थप रकम तोक्ने काम विश्वविद्यालयहरुलाई छाडिदियो। आइओएमले मेरिट लिस्ट बनाएर त्यस्तो शुल्क तोकेर भर्ना अनिवार्य गर्दा निजी मेडिकल कलेजको दबाबमा आएर मकाजुले शुल्क तोक्ने आँटसमेत गरेनन्। मेडिकल कलेजहरुले हाकाहाकी दोब्बरसम्म रकम असुले। अर्बौंको कालोबजारी भयो।
ती अभिभावक जो घरखेत बेचेर दोब्बर शुल्क तिर्न बाध्य भए, तिनलाई मकाजुको धुलिखेल अस्पतालसम्बन्धी राम्रो ट्रयाक रेकर्डले के गर्छ?
ती सयौं योग्य विद्यार्थी, जो दोब्बर शुल्क तिर्न नसकेका कारण भर्ना हुन सकेनन् वा एक वर्ष गुमाए, तिनको क्षति पुर्ति कसरी हुन सक्छ?
मकाजु र उनको टिमले नियमन नगरेका कारण जो हजारौँ विद्यार्थी अहिले भर्ना भएर पश्चात्तापपूर्वक खाली वार्डमा बसेर गाइड घोकिरहेका छन्, के तिनको भविष्यभन्दा रामकण्ठ मकाजुको करिअर ठूलो हो?
‘थ्री इडियट्स’ चलचित्रमा अमिर खानको विख्यात संवाद छः यदि सचिन तेन्दुलकरलाई गायक बन्न बाध्य पारिन्थ्यो वा लता मंगेशकरलाई फास्ट बलर बन्न बाध्य पारिन्थ्यो भने के हुन्थ्यो होला? शायद रामकण्ठ मकाजूको उदाहरणीय चिकित्सकीय करिअर हेरेर विश्वविद्यालयको उपकुलपति बनाउनु लता मंगेशकरलाई फास्ट बलर बनाएर मैदानमा पठाउनुजस्तै थियो।
अब त्यो गल्ती दोहोरिनु हुँदैन।
लेखक South Asia and Beyond नामक ब्लगमा नियमित लेख्छन्।