केही दिनअघि म हतारिँदै माइक्रो बस स्टेशनतिर हान्निएँ। घडीले बिहानको ८:१५ बजाउँदै थियो। बिहानीको समय भएकोले मनमैजु (रुट नं. २३, सामाखुसी) तिरको माइक्रोबस स्टेशनमा माइक्रो बसहरूको लाइन देख्न पाउनु कुनै नौलो कुरा थिएन। प्राय: ८:३० भन्दाअघि हाम्रोतिर माइक्रो बसको लाइन देखिनु स्वाभाविक हो तर त्योभन्दा पछाडि चाहिँ मान्छेको लाइन देखिन थाल्छ। तर, माईक्रोबस भने एउटा पनि देखिन मुस्किल हुन्छ।
म भने एउटा माइक्रो बस गुड्नको लागि ठिक्क परेकोले हत्तारिँदै दगुरें। पछाडिको एउटाबाहेक सबै सिट प्याक भइसकेको रहेछ। चार जनाको त्यो सिटमा पहिले नै एक जना दिदी, एक जना आमा र एउटा केटा थियो। बीचको एक जना आमा भने वजनको हिसाबले अलि मोटी थिइन्। मैले उनलाई अलि पर सर्न अनरोध गरेँ। सिट सबै प्याक भइसकेकोले माइक्रो हुइँकियो।
गाडीको स्पीड अलि बढी नै थियो। चालकतिर आँखा लगाएँ। भर्खरकै केटा रहेछ। उसको उमेर अनुसार उसको गति त्यति हुनुमा मलाई नौलो लागेन। आफू भने धन्न सिट पाएँ भन्दै माइक्रोमा बज्दै गरेको कर्ण दासको गीतमा रम्न थालें।
हाम्रोतिर खाल्डाखुल्डीले बाटो घच्याकघुच्युक हुनु स्वाभाविक हो तर मसँगै बसेकी ती आमा भने त्यस्तो बाटो भएकोमा अनि बिहानको यात्रा भएकोले गाडी ठाउँ-ठाउँमा रोकेको भनेर घरिघरि गुनासो गर्दै थिइन्।
अनि गाडीको गति धेरै भएकोले ठाउँ-ठाउँमा झन्डै नभएको डरलाग्दो दुर्घटनाको लागि उनी सुझाव पनि दिँदै थिइन्। तर, उनको कुरामा कसैले सहमति जनाइरहेको भने थिएन।
‘यो रुटमा त गाडी नै चलाउन दिन नहुने, बाटो यति साँघुरो, खाल्डाखुल्डी धेरै...।ʼ उनी स्टेसनदेखि नै यस्तै के-के बर्बराउदै थिइन्। म भने माइक्रोको गीत र उनको कुरा दुबैको मजा लिँदैथिएँ। अनि बेला-बेलामा उनीतर्फ हेरेर मुसुक्क हाँसिदिन्थेँ। यतिकैमा गाडी १५ मिनेटजतिमै लैनचौर पुगिसकेछ। आज मान्छे कोचाकोच नभएकोले गर्दा होला सायद सहचालकले त्यहीँबाट भाडा उठाउन सुरु गर्यो।
सदाझैं कार्ड हुनेहरूले दस रुपैयाँ दिए र नहुनेहरूले २० रुपैयाँ। यतिकैमा एउटा प्यासेन्जर र सहचालकबीच इन्स्टिच्युटको कार्ड गाडीमा चल्दैन भन्ने कुरामा सानो बहस पनि भयो। मेरो आँखा भने ठ्याक्क ती आमामा पर्यो। उनले भने १५ रुपैयाँ निकालिन् र अर्को हातमा पाँच रुपैयाँ राखिन्। मलाई अचम्म लाग्यो उतैबाट चढेको पन्ध्र रुपैयाँ मात्र दिइन् त! अनि सहचालकले ‘तपाईं उतैबाट चढेको होइन र?’ भनेर सोध्यो। उनले अर्को हातको पाँच रुपैयाँ देखाउदै ‘त्यसो भए गाडी भाडा ‘सत्र’ हो। पहिला मलाई तीन रुपैयाँ फिर्ता देऊ अनि म यो दिन्छु’ भनिन्।
उनी नेवारी पृष्ठभूमिबाट भएकोले गर्दा होला सायद उनको बोलि त्यति प्रष्ट थिएन तर उनको आशय मैले प्रष्टै बुझें र सायद सहचालकले पनि। कुनै-कुनै सहचालकहरु त्यसो भन्यो भने यतिकै हपार्ने गर्दछन्।
मैले अक्सर देखेको छु यो रुटको गाडीमा जसले यसो भन्छन् उसलाई के-के भनेर झगडा गर्ने निहुँ खोज्छन् सहचालकहरू। अनि धेरै जना ‘यस्ताहरूसँग बोल्नुभन्दा त बरु नबोल्नु बेश’ भनेर दुई/तीन रुपैयाँ फिर्ता कहिल्यै माग्दैनन् र उनीहरूले पनि यसकै फाइदा उठाउँदै कहिल्यै दिँदैनन्। हुँदाहुँदा सत्र रुपैयाँको भाडा अहिले बीस रुपियाँ नै हो कि जस्तो भइसक्यो त्यो रुटमा। सत्र रुपैयाँ त भाडा लिस्टको दर मात्रै हो। सहचालकहरूको रेट त समितिले नतोक्दै बीस रुपैयाँ पुगिसक्यो तर कसैलाई यसको वास्तै छैन, न समितिलाई, न सहचालकलाई न प्यासेन्जरलाई।
यो सहचालक भने उमेरले सानै थियो। चौध/पन्ध्र वर्षको। हँसिलो पनि। ती आमा कराउँछिन् भनेर हो कि के हो उसले खुरुक्क दुई रुपैयाँ फिर्ता दियो। आमा पनि ढिट स्वभावकी रहिछन्, उनी त्यतिले मानिनन्, ‘मेरो तीन रुपैयाँ हो। फिर्ता आउनु पर्ने बढी मागेको होइन क्यारे! तिमीहरूले चैं हामीलाई एक रुपैयाँ पनि छोड्दैनौं। नभएको बेलामा भने हामी किन छोड्ने? बराबर हुनुपर्छ’ भनिन्। सहचालक भने यति मात्र रहेछ पछिपछि मिलाउँला नि भन्दै पन्छिन खोज्दै थियो तर उनले जिद्दी छाडिनन्। अनि सहचालकले कता-कताबाट खोजेर एक रुपैयाँ जमल पुग्ने बेलासम्ममा दिएरै छाड्यो। त्यसपछि उनले हाँसेर भनिन्, ‘हो आफ्नो लाग्दो पनि लिनुपर्छ र अरुको पनि कटाएर फिर्ता दिनुपर्छ। कसैलाई नि पैसा बढी भएको छैन। यस्तो बानी बसाल्नु पर्छ।’
उनीहरू दुई जनाको यो कुराकानी भनौं या क्रियाकलाप मलाई भने रमाइलो र प्रेरणादायी लागिरहेको थियो। सायद त्यहाँ भएका धेरैले कार्डमा तिर्ने भएकोले उनीहरूलाई त्यति वास्ता नलागेको हुनसक्छ। अरुले मनन् गरे या गरेनन् थाहा भएन मलाई कुराकानी निकै घत लाग्यो।
पहिला-पहिला कहिलेकाहीँ बीस रुपैयाँ तिर्नुपर्दा म सत्र रुपैयाँ ठिक्क पारेर तिर्ने गर्थें। तर, प्राय: दिनहुँ कार्डमा तिरिन्थ्यो त्यही भएर खासै किचकिच गर्नु पर्दैनथ्यो। तर, अहिले दसैं यता हरेक दिनजसो दिनको दुई पटक बीस-बीस रुपैयाँको दरले दिनमा चालीस रुपैयाँ तिर्ने गर्छु। किनकि आजकल कलेज सकिसकेकोले गर्दा मसँग कार्ड छैन। पहिले चालीस रुपैयाँले चार पटकको दिनहुँ भाडा टर्थ्यो भने अहिले ठ्याक्कै दोब्बर तिर्नुपर्ने भएको छ। दिनहुँ कति किचकिच गरिरहनु भनेर प्राय: बीस रुपैयाँ नै तिर्ने गर्थें।
हिसाब गर्ने हो भने त दिनमा तीन-तीन रुपैयाँ गरेर छ रुपैयाँ छोड्नु भनेको महिनामा एक सय असी रुपैयाँ छाड्नुपर्ने रहेछ। दिनहुँ यो माइक्रो बसमा आवतजावत गर्नेलाई त ठूलै घाटा हो यो जुन हामीले दिनहुँ बेवास्ता गरिरहेका छौँ।
यसले प्रत्यक्ष फाइदा माइक्रोवाला, चालक र सहचालकलाई नै गरिरहेको छ र यसमा हामीले नै योगदान दिइरहेका छौँजस्तो मलाई लाग्छ। अनि उल्टो घाटा हामीलाई नै भइरहेको छ। हेपिरहेका छौँ हामी नै।
यसको बारेमा कसैलाई चासो छैन र भए पनि एक-दुई रुपैयाँको लागि कोही बोल्न रुचाउँदैनन्। फलस्वरूप सार्वजनिक सेवा-सुविधामा यो मनपरीतन्त्रलाई प्रोत्साहन दिँदैछौँ हामी दिनहुँजसो।
हुन त हामीलाई हाम्रो दैनिक जीवनमा आफै ठगिन बानी परिसकेको छ। माइक्रो बसमा मात्रै होइन जताततै प्राय: एक-दुई रुपैयाँको लागि हामी कर गर्दैनौं। पसल, डिपार्टमेन्ट स्टोरकै कुरा गरौँ न। ‘एक-दुई रुपैयाँको चकलेट लानुस् न’ भनेर पसलेले भन्यो भने ‘हुन्छ’ भन्छौं। पसलेलाई त त्यही एक-दुई रुपैयाँको चकलेट दिँदा पनि फाइदा नै छ भनेर हामी कहिल्यै सोच्दैनौं। त्यसैले हामी आफैं ठगिन तयार छौँ भने अरुले यसमा मिहिनेत गर्नै पर्दैन।
सहचालकलाई त के ‘खुजुरा छैन’ भन्दे भैगो। कहिलेकाहीँ ‘हामी पन्ध्र रुपैयाँ दिन्छौं तपाईं दुई रुपैयाँ छोड्नुस् न त, हामी किन तीन रुपैयाँ छोड्ने’ भनेर कहिल्यै प्रतिप्रश्न गर्न जरुरी ठान्दैनौं। गाडीमा खुजुरा नबोक्नु हाम्रो गल्ती हो कि उनीहरूको यो मैले कहिल्यै बुझिनँ। म एक रुट माइक्रो बस चढ्छु भने अर्को रुट टेम्पो पनि चढ्छु। टेम्पोले त त्यस्तो कहिल्यै गर्दैन। उसले एक-दुई रुपैयाँको लागि प्यासेन्जरसँग कहिल्यै बहस गर्दैन । एक रुपियाँ भएपनि आफूले पनि लिन्छ र अरुलाई पनि फिर्ता गर्छ भने माइक्रोबसलाई चाहिँ त्यो गर्न किन गाह्रो होला मलाई अचम्म लाग्छ।
यस्तो ठगतन्त्र, भ्रष्टाचार कहीँ कतै हाम्रै कारणले पनि मौलाइरहेको त छैन? जवाफदेहिता माग्न हामी नै हिच्किचाइरहेका छौँ कि? यतातिर हाम्रो ध्यान जान एकदम जरुरी छ। सधैं अरुलाई गाली गर्ने, यो भएन त्यो भएन भनेर गुनासो गर्नुभन्दा बोल्ने बानी गरौँ, प्रश्न गर्ने बानी बसालौं। हामीलाई पैसा फिर्ता पाउनु छ भने पैसै लिउँ भन्ने नभुलौं।
माइक्रो बसमा मैले भेटेकी यी आमा खासै पढेलेखेकी हैनन्। तर, उनले आफू ठगिनु हुन्न भन्नेमा धेरै सचेत रहिछिन्। तर, हामी धेरै पढेलेखेको भएर हो कि के हो एक-दुई रुपैयाँको बारेमा कहिल्यै ध्यान दिंदैनौं। नचाहिने ठाउँमा वाहियात कराउछौँ तर चाहिने ठाउँमा बोल्न हामीलाई लाज लाग्छ।