काठमाडौंबाट नौबिसे निस्किने २.६ किलोमिटर लामो सुरुङ मार्गबारे जानकारी लिन म सोमबार भौतिक योजना तथा यातायात मन्त्रालय गएको थिएँ। मन्त्रालयका एक जना उप-सचिवसँग कुराकानी भयो। उनी आएको २० दिन मात्र भएको रहेछ।
‘यहाँ यस्तो झुर सिस्टम छ, कुनै इञ्जिनियरले केही सूचना दिँदा रहेनछन्,’ उनी भन्दै थिए, ‘त्यसमाथि म नयाँ मान्छे परेँ।’
म त्यहाँबाट प्रवक्ताकहाँ पुगेँ। मन्त्रालयका सबै गतिविधि थाहा पाएर सूचना दिने जिम्मेवारी बोकेका प्रवक्ताले पनि त्यही भने, ‘लौ, यसबारे त मलाई पनि कहाँ थाहा छ र? इञ्जिनियरकहाँ जानुस् न।’
म उनले भनेको इञ्जिनियरकहाँ गएँ। उनलाई पनि सुरुङ मार्गबारे थाहा रहेनछ।
यत्रो तीन-चार वर्षदेखि सुरुङ मार्गको चर्चा छ। सबै काम भौतिक योजनाबाटै हुने हो। तर, त्यहीँका कर्मचारीलाई थोरै पनि सूचना छैन।
ती इञ्जिनियरले सह-सचिव विष्णुओम बादेलाई देखाए। ‘बादे सरकहाँ जानुस्, उहाँलाई सबै थाहा छ,’ उनले भने।
म उनको कोठामा पुगेँ।
‘सर हुनुहुन्न,’ बादेका सहयोगी युवकले भने।
‘कतिबेला आउनुहुन्छ होला?’ मैले सोधेँ।
‘हामीलाई थाहा हुँदैन,’ ती युवकले जवाफ दिए।
म बादेको ढोकाबाहिर केहीबेर त्यसै बसिरहेँ। कर्मचारी आउने-जाने चलिरहेको थियो। कोही-कोही बादेलाई ‘हेल्लो सर, नमस्ते सर, हाई सर’ भन्दै आउने-जाने गरिरहे। जबकि, ती सहयोगी युवकले मलाई बादे छैनन् भनेका थिए।
बादेसँग भेट सम्भव नभएपछि मैले मन्त्री रमेश लेखकको खोजी गरेँ। उनी कार्यालयमै रहेछन्। उनले सुरुङ मार्गबारे जानकारी देलान् भन्ने लाग्यो। म लेखकको सचिवालय पुगेँ।
लेखकको सचिवालय खचाखच थियो। कार्यकर्ता टम्म थिए। ‘सर म मन्त्रीज्यूलाई भेट्न आएको,’ मैले परिचय खुलाएर भनेँ।
‘टाइम लिनुभएको छ?’
‘छैन।’
‘त्यसो भए मिल्दैन।’
ती सबै कार्यकर्ता समय लिएर आएका होलान् र? फेरि त्यत्रा कार्यकर्तालाई सजिलै भेट दिइरहेका मन्त्रीले मलाई एक छिन समय दिँदा के बिग्रिन्छ? प्रश्न खेलाउँदै म सचिवालयको अर्को कोठातिर लागेँ।
दुई जना फुर्सदिला देखिन्थे। ‘मन्त्रीज्यूलाई भेट्न के गर्नुपर्ला? यत्राविधि मान्छेले भेटिरहेका छन्, मलाई जरुरी थियो,’ परिचय पनि सँगै दिएर मैले भनेँ।
एउटाले चिट झुन्ड्याएको ठाउँ देखाउँदै भन्यो, ‘त्याँ गएर चिट भर्नुस्, मलाई दिनुस्।’
हतारो गरेर चिट भरेँ र उनलाई थमाएँ। उनी सरासर मन्त्रीको कोठाभित्र गए। फर्किँदा ‘तपाईं जान सक्नुहुन्छ’ भन्ने सन्देश पनि लिएर आए।
म छिरेँ। नमस्कार गरेँ। परिचय दिएँ। उनले आफ्नै कुर्सी अगाडि आएर कुरा गर्न भने।
मैले कुरा यसरी सुरू गरेँ, ‘हिजोमात्र क्याबिनेटबाट निर्णय भएको सुरुङ मार्गको योजना अब कसरी अगाडि बढ्छ भन्ने जिज्ञासा बोकेर आएको, मैले यहाँ धेरैतिर प्रयास गरेँ, कतैबाट पार नलागेपछि तपाईंकहाँ नै आउन बाध्य भएको हुँ।’
‘यस्तो प्राविधिक कुराको सबै जानकारी मन्त्रीलाई कहाँ हुन्छ र, इञ्जिनियरलाई भेट्नु न,’ उनले स्वाभाविक रुपमा भने।
‘तपाईंको मन्त्रालयका धेरै इञ्जिनियरलाई भेट्न र सोध्न खोजेँ, तर सम्भव भएन,’ मैले भनेँ, ‘तपाईंलाई पनि थाहा छैन, अब यो सूचना बाहिर ल्याउन सकिएन?’
उनी गम्भीर भए। छेउमा एक जना कर्मचारी थिए, उनलाई बोलाए।
‘उहाँलाई लिएर बादेकहाँ जानुस्, मन्त्रीज्यूले उहाँले के-के सोध्नुहुन्छ सबै जानकारी दिनू भन्नुभएको छ भन्दिनुस्,’ लेखकले निर्देशन दिए।
म ती कर्मचारीसँग बादेलाई भेट्न हिँडेँ।
बादे भित्रै रहेछन्। ती कर्मचारीसँग गएपछि सहयोगीको अनुमति लिनुपरेन। ती कर्मचारीले ‘मन्त्रीज्यूले यसो भन्नुभएको छ है, उहाँलाई जानकारी दिनुस्’ भने।
बादेले हतारो गरेर भने, ‘यो त मलाई पनि थाहा भएन, तपाईं सडक विभाग जानुस्, त्यहाँ वैदेशिक महाशाखा छ, थाहा हुन्छ है।’
अरू केही सोधिरहन जरुरी भएन।
‘कुरो यति नै रहेछ, अघि भेटेर भनिदिएको भए सकिहाल्थ्यो नि,’ ढोकाबाट निस्किँदै गर्दा मैले मनमा कुरा खेलाएँ, ‘एक जना सह-सचिव भेट्न मन्त्रीको सोर्स लाउनुपर्ने कस्तो बिडम्बना मैले भोग्नुपर्यो।’
बादेकहाँ मलाई लगेका कर्मचारी पनि छक्क परे।
‘सर, हाम्रो कर्मचारीतन्त्र यस्तै छ, तपाईंले त यति दुःख पाउनुभयो, जनताले कति दुःख पाइरहेका होलान्, अनुमान लगाउनुस् त,’ विदा हुनेबेला उनले भने।
‘हो नि,’ मैले भनेँ।
म सरासर यातायात विभाग पाटनढोका पुगेँ। सोधिखोजी गर्दा त त्यो वैदेशिक महाशाखा कोठा अभाव भएर अन्त कतै बसाइँ सरिसकेको रहेछ।