हिजोआज जता पनि महिला सशक्तिकरण र महिला अधिकारको मात्र कुरा हुन्छ। मिडियामा त्यस्तै, अड्डा अदालतमा त्यस्तै, राजनीतिक दलमा त्यस्तै, गैरसरकारी संस्थाको त झन् खेती नै यही। हामी महिला अधिकारको विपक्षमा पक्कै पनि छैनौं तर महिलालाई सशक्तिकरण गर्दैगर्दा कतै पुरुषलाई निसक्तिकरण त गरिरकेका छैनौं? महिलाको अधिकार खोजिरहँदा पुरुषको अधिकार हनन भैरहेको त छैन? समाजमा महिला र पुरुष दुबैको मानवअधिकारको सुनिश्चितता चाहिएको हो कि महिला अधिकारको मात्र सुनिश्चितता चाहिएको हो?
सरोकारवाला प्रश्नको उत्तर खोज्न तथा महिला सशक्तिकरणको मेसिन चलिरहँदा त्यसमा पिसिएका घुनहरूको दुखाई नजिकबाट बुझ्न यस स्तम्भकारले काठमाडौंका ख्यातिप्राप्त केही कानुनी परामर्श केन्द्र, केही अदालत, प्रहरी कार्यालय र मध्येपश्चिमका केही ग्रामीण भेगहरूका सेरोफेरोमा रही केही केसहरूको अध्ययन गरेको थियो।
सर्वप्रथम दाङ जिल्लामा घटेको एउटा घटना प्रस्तुत गर्न चाहन्छु।
घटनानम्बर १.
कुरा २०७२ साल कात्तिक महिनाको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरमा देवकी खत्री-३२ (नाम परिवर्तित) ले आफूलाई आफ्नै गाउँको केशव शर्मा-३० (नाम परिवर्तित)ले एक हप्ताअघि रातको १२ बजे ढोकाको जालीको भ्याण्टिलेसन च्याति हातभित्र छिराई, भित्रबाट लगाइएको छिस्किनी खोली भित्र छिरी आफूलाई बलात्कार गरेको व्यहोराको जाहेरी प्रहरीमा दर्ता गराइन्।
लगत्तै प्रहरीले केशवलाई पक्राउ गर्यो। केशव पक्राउ भयको खबर सुन्नासाथ उसको टोलबाट करिब ५०-६० जनाको संख्यामा छिमेकी र परिवारजन इलाका प्रहरीमा आएर प्रहरीलाई केस यहीँ मिलाउन र अदालतसम्म नपुर्याउन अनुरोध गर्यो तर प्रहरीले मानेन। केशवकै घर छिमेकी सुरबहादुर घर्ती -६७ ले एक हातले लठ्ठी टेक्दै र अर्को हातको चोरी औंलो ठडाउँदै भने, ‘पहिले आफूलाई चाहिँदा आफैं घरमा बोलाई बोलाई सँगै सुती, अहिले दुस्मनी बढेपछि जबर्जस्ती गर्यो भनेर यसरी फसाउन पाइन्छ? भोलि हाम्रा छोराहरूलाई पनि यसले फसाउन सक्छे।’
केशवको केस निष्पक्ष बुझ्न यो स्तम्भकारले उसको टोलमा पुगेर केही दिन सूक्ष्म अध्यन गर्ने निर्णय गर्यो। महिलाको श्रीमान वैदेशिक रोजगारीमा रहेछन्। केशव जग्गा कारोबार गर्दा रहेछन्। करिव एक वर्षअघि देवकीले केशवसँग एउटा घडेरी किनिन्।
करिब एक लाख पचास हजार पैसा अपुग भयपछि विस्तारै तिर्ने सर्तमा दुबै मन्जुर भए। जग्गा कारोबारपछि उनीहरू विस्तारै नजिकिन थाले। श्रीमान घरमा नभएको र बच्चाहरू साना रहेकाले उनीहरू देवकीकै घरमा निर्धक्क बस्ने खाने र कहिलेकाहीँ रातै बिताउने गर्न थाले। गाउँलेहरूले बताएअनुसार उनीहरू दुबै जना मदिरा र चुरोट पिउँथे। १-२ दिन केशव उनको घरमा आएनन् भने देवकी फोन गर्थिन्, ‘कता व्यस्त आजभोलि? मभन्दा राम्री भेटियो कि क्या हो? मासु पकाउँदै छु, त्यो सिसी चाहिँ आफैं लिएर आउनु है।’
देवकीले केशवसँग यस्तो अनैतिक सम्बन्ध राख्दा पनि उनमा कुनै हिनताबोध वा डर थिएन। उनी फोनमा पनि गाउँलेले सुन्नेगरी निर्धक्क केशवसँग यसरी नै कुरा गर्थिन्। गाउँकै ५७ वर्षीय मनमाया भण्डारी भन्छिन्, ‘बुढो सोझो छ यसको, बुढीको अगाडि छुलुक्कै मुत्छ। एक त त्यस्तो नामर्द पोई, त्यसमाथि अहिले घरमा छैन यसलाई त राजाको घोडो फुकिएको जस्तो भाको छ।’
करिब छ महिनासम्म रंगिन रहेको उनीहरूको सम्बन्धमा तब दरार उत्पन्न हुन थाल्यो जब केशवले उनीहरूको हिसाबको कुरा उठाउन थाले। केशवका साथि कुबेर डाँगी भन्छन्, ‘उसले प्यारमा पैसा साट्न खोजेकी रहिछे, केशवले मानेन। पैसा चाहिन्छ बरु अलिअलि छुटँ दिउला भन्यो। त्यसपछि यिनीहरूको झगडा सुरू भएको हो।’
प्रहरीले देवकीको उजुरीअनुसार उनीहरूको मेडिकल टेस्ट गर्न राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पठायो। अस्पतालले महिलाले दावी गरेअनुसार कुनै प्रमाण फेला नपरेको रिपोर्ट दियो।
अब त केस प्रहरीमै मिल्छ कि भन्ने आशा केशवपक्षले गरे तर प्रहरीले थप परीक्षण गर्नुपर्ने भन्दै प्रहरी अस्पताल महाराजगञ्ज, काठमाडौं पठायो। त्यहाँबाट समेत पहिलेकैजस्तो रिपोर्ट आयो तर प्रहरीले केस मिलाएन। जिल्ला अदालत दाङमा मुद्दा दर्ता गर्यो।
आफ्नो नाम बताउन नचाहने दाङकै एक प्रहरी अधिकृतले भने, ‘बलात्कारको केस आफैं नमिलाउन हामीलाई माथिबाट ठूलो दबाब छ, त्यसैले उतै (अदालत) बुझाउदा सेफ साइड हुन्छ।’
मुलुकी ऐनमा उमेर पुगेकी महिलालाई बलात्कार गरे ५ देखि ७ वर्ष कैद तोकेकोमा जिल्ला अदालत दाङले आरोपीलाई अत्यधिक सजाय ७ वर्षनै तोक्यो। उनको पक्षमा बहस गरेका अधिवक्ता अशोक कार्की आक्रोशित मुद्रामा भन्छन्, ‘अदालतमा आएर रोइकराई गरी, न्यायाधीशको खुट्टै समाउँलाझैं गरी, महिला रोएपछि न्यायाधीशलाई अरु प्रमाण किन चाहियो? दुई-दुई ठाउँको मेडिकल रिपोर्ट ‘निल’ आउँदा पनि यस्तो अत्यधिक सजाय तोक्ने पनि हुन्छ र भन्या? त्यसमाथि महिलाको वयान नै पटक-पटक बाझिएको छ।’
महिलाले ‘प्रहरीसँगको वयानमा मलाई चार पाँच पटक करणी गरेको याद छ। त्यसपछि म बेहोस भएँ, बिहान ४ बजे ब्यूझिँदा ऊ भागिसकेको थियो’ भनेकी रहिछन्। अदालतको बयानमा १२ बजेदेखि ४ बजेसम्म करिब ५-६ पटक करणी गरेको र ४ बजे कसैलाई भनिस् भने मारिदिन्छु भन्दै निस्केर भागेको भनेकी छन्।
केशवका आफन्त जिल्लाको फैसला पुनरावेदनका लागि पुनरावेदन अदालत तुलसीपुर पुगे, स्थानीय कानुन व्यवसायीहरूको बहस गर्ने क्षमता नपुगेको हो कि भन्दै काठमाडौंबाटै खर्च गरेर वरिष्ठ अधिवक्ता झिकाइयो। तर, पुनरावेदनको फैसला पनि केशवको पक्षमा आएन।
साक्षी प्रमाण खासै दरिलो नरहेको, मेडिकल रिपोर्टमा आरोप अनुकूल केही नदेखिएको, जाहेरीकर्ताको वयान विरोधाभाषपूर्ण रहेको हुँदाहुँदै पनि किन यसरी फैसला भयो भन्ने अनौपचारिक जिज्ञासामा आफ्नो नाम उल्लेख गर्न नचाहने एक न्यायाधीश भन्छन्, ‘जक (जबर्जस्ती करणी) केसमा महिला नै अदालतमा उपस्थित भएर ‘हो करणी गरेकै हो’ भनिन् भने आरोपीलाई छोड्न मिल्दैन, छोड्यो कि विभिन्न आशंका हुन्छन्। विभिन्न महिलावादी संघ-संगठन छन्, हामीमाथि केही व्यक्तिगत स्वार्थ थियो कि भन्ने दृष्टिले हेर्न सक्छन्। त्यसमाथि तल्लो तहको अदालतले दोषी ठहर गरिसकेको केसलाई माथिल्लो तहको अदालतले उल्ट्याउने भनेको एकदमै कम मात्रामा हुन्छ।’
तर, उनको यो भनाइ खण्डन गर्दै अधिवक्ता अशोक कार्की भन्छन्, ‘तल्लो तहका अदालतले गरेका हरेक निर्णय सदर गर्ने मात्र माथिल्लो तहको अदालतको काम हो भने हामीलाई किन चाहियो तीन तहको न्यायप्रणाली ? एकै तहको अदालत मात्र राखे भइहाल्यो नि।’
महिलाकै आग्रह र सहमतिमा गरिएको कार्यबाट आज उनी (केशव) ७ वर्षे जेलजीवन बिताइरहेका छन् तर महिला (देवकी) निर्धक्कको जिन्दगी बिताइरहेकी छिन्।
यहाँनेर केही गम्भीर प्रश्नहरू उठेका छन् जस्तो कि:
- के एक जना पुरुषले बिना कुनै हतियार वा बल प्रयोग गरी एउटी महिलालाई बलात्कार गर्न सक्छ? बल प्रयोग गरेको भए महिलाको शरीरमा घाउचोट देखिनुपर्ने। ल मानौं बलात्कार गरिहाल्यो रे, १२ बजे देखि ४ बजेसम्म चार घण्टामा कतिपटक बलात्कार गर्न सक्छ? स्मरण रहोस् सामान्य सहवासको समयभन्दा बलात्कारको समय स्वभाविक रुपमा बढी लाग्नुपर्ने हो। आरोपीको कथन छ त्यो समयमा ५-६ पटक बलात्कार भयो।
- के एउटा ३२ वर्षकी दुई बच्चाकी आमा एउटा ३० बर्षको युवकले बिनाकुटपिट सम्भोग गर्दा बेहोस हुन्छिन्? यसको व्यावहारिक पाटोलाई किन बेवास्ता गरिएको होला?
- त्यस्तै अर्को प्रश्न छ यदि मेडिकल रिपोर्टको कुनै अर्थ छैन भने परीक्षणको लागि किन पठाइन्छ? के नेपाली न्याय प्रणालीले विज्ञान प्रविधिलाई स्वीकार गर्न नसकिरहेको हो?
घटनानम्बर२.
केशवको केस अध्ययनका क्रममा मेरो एक जना धेरै दुब्ली, कुप्री परेर हिँड्ने करिब ६५ वर्षकी तर ८० वर्षजस्ती लाग्ने बुढी आमासँग भेट भयो। उनीहरूको सम्बन्धको बारेमा हजुरलाई केही थाहा छ कि भन्ने मेरो जिज्ञासामा उनले भनेकी थिइन्, ‘आफैं त महादेव, उत्तानो पर कसले देला बर।’
सँगै रहेका पुरुषले भने, ‘उहाँलाई अहिले ठूलो चोट परेको छ।’ कुरो बुझ्दै जाँदा थाहा भयो उनको छोरा १७ महिनाअघि घरमा बुढी आमा र श्रीमतीलाई छोडेर वैदेशिक रोजगारीमा गएका रहेछन्।
उनी हिँडेपछि बुहारीको गाउँकै गोरे भनिने एक जना हट्टाकट्टा अधवैसेसँग लसपस बढेछ। आमाले छोरालाई फोन गर्न नजान्ने। छोराले घरमा फोन गर्नुपरे श्रीमतीलाई मात्र गर्ने र पैसा पनि श्रीमतीको नाममा मात्र पठाउने। श्रीमतीले छोराले पठाएको पैसा सासुलाई नभन्ने र उल्टो ‘तिम्रो छोराले पैसा नै पठाउँदैनन्, म काम खोज्न जान्छु’ भन्दै गोरेसँग घुम्न जाने।
एक दिन बुढीलाई सबैकुरो छिमेकीले भनिदिएछन् र बुढीले बुहारीलाई गाली गरिन्। आइन्दा घरबाहिर नजान भनिन्। तर, बुहारीले उनको कुरा मानेर सुध्रिनुको सट्टा बुढीलाई देखाइदिने रणनीति अपनाइन्। सासु-बुहारीको दिनदिनै भनाभन हुन थाल्यो। एक दिन बुहारीले विभिन्न महिला अधिकारकर्मीहरू लाई गुहारेर घरमा ल्याइन् र सासुले आफूलाई खान लाउन नदिएको, सधैं हेला गरेको, घरबाट बाहिर निस्कन नदिएर बन्दी बनाएको आदि आरोप लगाइन्।
बुढी सासु र एक दुई गाउँलेले अधिकारकर्मीसामु बुहारीको चर्तिकलाका बारेमा नबताएका होइनन् तर उनीहरूले प्रमाण के छ भनेर सोधे र बिनाप्रमाण कसैलाई आरोप नलगाउन चेतावनी दिए। साथै सासुलाई आइन्दा बुहारीलाई सदा सम्मान गर्न र अहिलेसम्म गरेको व्यवहारको लागि माफी माग्न भनियो। बुढीले माफी मागिन् र केही दिनपछि घर बुहारीलाई नै छोडेर आफू पल्लो गाउँको भाइको घरमा गई बस्न थालिन्। स्थानीय रमेश भूसाल भन्छन्, ‘एउटी २५ वर्षे लक्का जवान बुहारीका अघि सुकेनास लागेकी जस्ती सासु झुकेर माफी मागेको पनि देख्नुपर्यो।
यतिबेलासम्म घरमा केही गडबडी छ भन्ने कुरा छोराले थाहा पाए र तीन महिनापछि घर फर्के। उनी काठमाडौँ नयाँ बसपार्कको गेस्ट हाउसबाट बुढीलाई फोन गरे, ‘म काठमाडौं आइसके भोलि बेलुकी त घरमै आइपुग्छु।’ तर, भोलि बेलुकी उनी घर आइपुदा श्रीमती गोरेसँग भागिसकेकी थिइन्। पछि थाहा भयो उनले पटक-पटक गरी अहिलेसम्म श्रीमतीका नाममा १३ लाख पठाइसकेका रहेछन्। हाल उनीसँग आफ्नै कमाई पनि छैन र श्रीमती पनि छैन।
घटनानम्बर३.
अब लागौं काठमाडौंतर्फ।
मिति २०७३ साल साउन ७ गते दिउँसोको ३ बजे करिब ४५-४६ वर्षका एक जना पुरुष निजामती कर्मचारीको भेषमा बबरमहलको एउटा ल फर्ममा छिरे उनको अनुहारमा गहिरो पीडा दबेको प्रष्ट बुझिन्थ्यो। कानुन व्यवसायीले आफ्नो समस्या बताउन आग्रह गरे तर उनी अन्कनाइरहे। फर्ममा अरु पनि ग्राहकहरू थिए, ती भलादमी कहिलेभित्र कहिले बाहिर मात्र गरिरहे। पछि सम्पूर्ण ग्राहक हिँडेपछि उनले बडो अफ्ठ्यारो मान्दै आफ्नो समस्या सुनाए।
उनले सरकारी जागिर खान्थे भने उनकी श्रीमती एउटा गैरसरकारी संस्थामा जागिर गर्थिन्। श्रीमती निकै शंकालु थिइन्। कहिलेकाहीँ श्रीमान अफिसबाट ढिला आए भने उनी भन्थिन्, ‘आज … लाई भेटेर आइस्?’ कहिले उनी छिटो घर पुग्थे त उनी सोध्थिन्, ‘आज तेरी … सँग भेट भएन?’
श्रीमानलाई सहवासको इक्छा जाग्दा उनी भन्थिन्, ‘आज बाहिर मिलेन?’ त्यस्तै उनी आफूलाई सहवासको इक्छा जाग्दा र श्रीमानले आलटाल गर्दा भन्थिन्, ‘आज बाहिरै अघाएर आएको होला नि।’
उनी कहिलेकाहीँ आफूले जागिर छोडिदिने धम्की दिन्थिन श्रीमानलाई। श्रीमानले ‘हुन्छ गाह्रो भयो भने छोड न त’ भन्यो भने ‘ए मैले गरिखाको देखेर डाह लाग्यो?’ भन्ने उनको प्रतिप्रश्न हुन्थ्यो। ‘नछोड न त मैले छोड कहाँ भनेको छु र?’ भन्यो भने ‘ए, मेरो कमाई सधैंभरि खाएर मोटाउला भनेको होलास्’ भन्ने उनको उत्तर हुन्थ्यो।
ती भलादमी रुन पो थाले, ‘हे भगवान मैले मेरी श्रीमतीलाई कसरी खुसी पारौं?’
‘म सम्बन्धविच्छेद गर्न चाहन्छु तर पुरुषले चाहँदैमा सजिलै हुँदैन भन्छन्। म मेरो पीडा कसैलाई सुनाउन पनि चाहँदैन, म स्वास्नीपीडित हुँ भनेर कसरी भन्दै हिँडौं? म विस्फोट हुन मात्र बाँकी छ वकिल साब।’
घटनानम्बर४.
काठमाडौंका एक घर जग्गा व्यवसायी प्रज्वल प्रधान-४८ (नाम परिवर्तित)लाई तीन महिनाअघि फेसबुकमा एक आकर्षक फोटो राखेकी युवतीको रिक्वेस्ट आयो। ४८ वर्षे अधवैसे दङ्ग परेर एसेप्ट गर्दिए त्यसमाथि युवती देख्दा हुरुक्कै हुने स्वभावका व्यापारी थिए उनी। त्यसपछि एक हप्ता उनीहरूको लगालग च्याटमा बातचित भयो, अर्को हप्ता त भेट नै भयो, त्यो पनि नगरकोट स्टे। त्यसको करिब १५ दिनपछि दुबै जना पोखरा घुन्म गए र ३ दिन बिताए।
पोखरामा रहँदा युवतीले आफूलाई पैसाको अत्यन्त जरुरी परेको, बिरामी आमाको अपरेसन गर्न १५ लाख र पुरानो ऋण तिर्न ५ लाख जरुरी भएको भन्दै २० लाख रुपैयाँ प्रज्वलसँग मागिन्। पछि उनको भाइ अमेरिकाबाट फर्केपछि तिरिदिने उनको कथन थियो। प्रज्वलले त्यति ठूलो रकम एकैपटक दिन नसक्ने बरु अहिलेलाई दुई लाखले काम चलाउँदै जान भने र दुई लाखको चेक काटेर दिए।
काठमाडौं फर्केपछि प्रज्वल ती युवतीसँग अलि सतर्क रहन थाले। तर, युवतीले पछ्याउन छोडिनन्। उनी बाँकी पैसा कहिले दिने अनि अब हामी कहिले भेट्ने भन्दै फोन गरिरहिन्। उनले फेरि एकपटक ५० हजार र अर्कोपटक २५ हजार रुपैयाँ उनलाई बुझाए र अब आफूले पैसा दिन गाह्रो हुने बताए। त्यसको करिब १५ दिनपछि प्रज्वललाई काठमाडौं जिल्ला अदालतबाट चिठी आयो। उनी झस्किए, छाँगाबाट खसेझैं भए। ती युवतीले त प्रज्वलसँग आफ्नो श्रीमती नाता कायम गराइपाउँ भन्दै मुद्दा दर्ता गरेकी रहिछन्। प्रमाणस्वरुप पोखरामा सँगै सुतेका फोटाहरू, प्लेन टिकट, च्याट म्यासेजहरू आदि पेश गरेकी रहिछन्।
आफूलाई मन्दिरमा सिन्दुर हालेर पछि घर लान्छु भन्दै चार महिनादेखि बाहिर कोठा लिएर राखेको तर घर नलगेको भन्ने उनको आरोप रहेछ। अदालतले नाता कायम गरिदियो। त्यसपछि उनले अंश तथा मानाचामलको मुद्दा हालेकी छिन् अहिले मुद्दा चलिरहेको छ। प्रज्वल भन्छन्, ‘न्यायाधीशहरू महिलाले झुटो बोल्दैनन् भन्नुहुन्छ, यहाँ मलाई महिलाले नै यसरी सक्काई। मैले जित्ने सम्भावना एकदम कम छ। मलाई कंगाल बनाउने भई म त फसेँ अरुहरूलाई सचेत रहन आग्रह गर्छु।’
माथि उल्लेख गरिएका केही प्रतिनिधि घटनाहरू मात्र हुन्। अध्ययनका दौरान करिब २० वोटा महिलापीडित पुरुषहरूका घटनाहरू भेटियो। जुन सबै यहाँ चर्चा गरिरहनु सम्भव हुँदैन। अध्ययनका दौरान महिलापीडित पुरुषहरू मात्र भेटेको भने होइन। पुरुषपीडित महिलाहरू पनि भेटिएका थिए। तर, उनीहरूको पीडा सुन्ने प्रयाप्त ठाउँ रहेकाले यो स्तम्भकारले त्यति महत्वका साथ लिएन।
अध्ययनपछि हाम्रो समाज उल्टो दिशातर्फ हिँडेको भान पर्यो। पुरुषको नाम नै पीडक र महिलाको नाम नै पीडित हो जसरी गलत मान्यता स्थापित हुँदै छ, यो पक्कै पनि राम्रो होइन। के पुरुषलाई न्याय चाहिँदैन? अन्याय पर्दा उसलाई पीडा हुँदैन? पुरुषको आत्मसम्मानको कुनै मूल्य हुँदैन? महिलाको मात्र बेइज्जत हुने पुरुषको नहुने के पुरुषहरू बेइज्जत प्रुफ ज्याकेट लाएर जन्मेका हुन्छन्? कहाँ जाने पुरुषहरू न्याय खोज्न?
महिला र पुरुष विवादित धेरै मुद्दाहरूमा महिलाले झुटो बोल्दैनन् भन्ने दृढ मान्यताले काम गरेको पाइयो। यदि त्यस्तै हो भने त समाजका दोषी जति पुरुष र निर्दोषजति महिला भन्ने नै बुझियो अब हामीलाई किन चाहियो अदालत र प्रशासनको अनुसन्धान प्रक्रिया? आउनुहोस् हामी एउटा अनौठो कल्पना गरौं- हामी ठूला-ठूला जेलहरू निर्माण गरौं र समाजका सबै पुरुषहरूलाई छोप्दै जेल कोच्दै गरौं। अब समाजमा एक जना पनि पुरुष बाँकी रहेनन्। के अब यहाँ आपराधिक क्रियाकलाप नै हुँदैन त? समाज शान्त रहन्छ त? अध्ययनपछि महसुस हुन थाल्यो कैयौं पुरुषहरू पुरुषरुपी खोक्रो आदर्श जोगाउन दिन-रात आँशुमा बगेर मरेको जिन्दगी बाँचेजस्तो नाटक मात्र गरिरहेका छन् त्यो पनि आफूजस्तै एउटा मान्छेको कारण, महिलाका कारण, कठै पुरुष!