“नागरिक समाज” हाम्रो लागि नयाँ शब्द होइन । यी शब्दहरु हाम्रो पुस्ताले २०४६ अनि २०६३ सालमा निकै नै सुनेका शब्दहरु हुन् । नागरिक समाजका अगुवाहरु भनेर हामीले धेरै नाम पढेका र सुन्दै आएका पनि छौ । नागरिक समाज राजनीतिक दल र संघ संगठनहरु जस्तो स्थायी सस्था नभएपनि समय अनुसारका नागरिक अगुवाहरुको रुपमा केहि अनुहारहरु हाम्रो अगाडी आउन पुग्दछन । नागरिकको रुपमा समाज अनि राष्ट्रको गन्तब्य निर्धारण गर्न हाम्रो भूमिका जहिले पनि महत्व पूर्ण हुन्छ । राजनीतिक दलहरु वा नेतृत्वपंत्ति लाइ सदैब खबरदारी गर्नु नागरिकहरुको जिम्मेवारी भएपनि, हामी नागरिक र हामीले बनाएको समाजको बारेमा पनि छलफल गर्नु पर्दछ । हामि कस्तो समाजका नागरिक बनेका छौ ? हाम्रो लागि यो ठुलो प्रश्न हो ।
हामि अति नै विभाजित समाजका नागरिक बनेका छौ । नेपाली समाज जात, धर्म, क्षेत्र, लिङ्गको रुपमा इतिहासमा यति धेरै विभाजित कहिल्यै पनि थिएन । डा. गोविन्द केसी र लोकमान सिंह कार्कीको पक्ष अनि विपक्षमा उभिएको जनमतले नेपाली समाजको विभाजित एनालाई नजिकबाट देखाउछ ।
डा गोविन्द केसी चिकित्सा सेवा सुधार र चिकित्सा शिक्षा क्षेत्रमा ब्याप्त भ्रस्टाचार तथा अनियमितता अन्त्यको माग गर्दै दशौ आमरण अनसनमा छन् । गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा हरेक नेपाली नागरिकको समान पहुच हुनु पर्दछ भन्ने उनका सबै मागहरुको सार हो । देशमा बिधिको शासन स्थापना गर्न उनलाई आफ्नो ज्यानको पर्वाह छैन । उनले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै बिधि र न्यायको आन्दोलन सुरुवात गरेका हुन् । जसको प्रभाब बिस्तारै अरु क्षेत्रमा पनि फैलिदै जान्छ भन्ने उनको विश्वास हो । उनले कहिल्यै पनि जातीय, क्षत्रिय वा धार्मिक बहसलाई महत्व दिएनन र त्यस्ता बहसमा आफु सामेल पनि बनेनन् । उनले सबैलाई “नेपाली”को एउटै चस्माले हेरे र सबैको समान हित र न्यायको लागि संघर्ष थाले।
नेपाली समाजमा बिभाजनका यति धेरै चिरा परि सकेका छन् भनेर सायद डा. गोविन्द केसीले अनुमान पनि गरेका थिएनन होला । केहि अपबादलाई छाडेर, जातीय, क्षेत्रीय, लैंगिक तथा धार्मिक मुद्दामा बढी झुकाब राख्नेहरु डा. केसीको समर्थनमा एक शब्द पनि बोलेनन् । बरु उल्टो डा. केसीमाथि शंका र अफबाह फैलाउनमा आफ्नो बिबेक र स्रोत खर्च गरे । उनको निष्ठा र आस्था माथि प्रश्न उठाएर मात्र बसे । डा. केसीलाई पहाडे खस डाक्टरको रुपमा हेर्दै उनको स्वार्थ आफ्नै जातीय पक्ष पोषण गर्नु हो भनेर तर्क गर्ने हरु पनि धेरै फेला परे । मधेशको मुद्दामा नबोल्ने, जनजातिको मुद्दामा नबोल्ने, धार्मिक राज्यको बारेमा नबोल्ने, महिलाको नागरिकताको वकालत नगर्ने डा. केसीको मुद्दामा किन साथ् दिने भन्दै तर्क गर्ने जमात पनि सानो छैन । बिडम्बना, डा. केसीको आफ्नो कुनै मुद्दा छैन । उनले चिकित्सा शिक्षा र स्वास्थ्य सबै नेपालीको साझा मुद्दाको रुपमा बुझे तर विभाजित समाजमा चिकित्सा शिक्षा र स्वास्थ्य पनि सबैको साझा मुद्दा बन्न नसक्ने परिस्थिति बनि सकेको छ ।
अर्कोतिर लोकमान सिंह कार्कीले समानान्तर सत्ता चलाएर खुलेआम बिधि र शासन ब्यबस्थाको चरम दुरुपयोग गर्दा पनि नागरिक स्तरबाट बिरोधको स्वर ठुलो सुनियन । एक अर्का प्रति जातीय, क्षेत्रीय, धार्मिक रोष बोकेर बस्दा सचेत नागरिकहरु सिमान्तकृत बने र संगठित रुपमा अगाडी बढन सकेनन । सबैले आफुलाई एक अर्का भन्दा फरक र कमजोर महसुस गरेर बसे । हामि माझ एक समुदायको मान्छेले अर्को समुदायसग कसरी संबाद सुरु गर्ने भन्ने नया अन्योल देखा परेको छ । जसको कारण नाजायज हिसाबले भ्रस्टाचारको अभियोग लगाएर व्यक्तिगत प्रतिशोध साधन खोज्दा पनि तै चुप मै चुपको स्थिति रहयो । एउटा बाहुनलाई कारबाही भयो, ठिकै त भयो । एउटा जनजातिलाई कारबाही भयो, ठिकै त भयो । एउटा मधेशीलाई कारबाही भयो, ठिकै त भयो । आम सर्बसाधारण यस्तो मानसिकताले ग्रस्त बनिरह्दा सम्पूर्ण राज्य संयन्त्र माफिया तन्त्रको हातमा पुगिसकेको छ ।
नेपालमा अहिले भ्रस्टाचारको तह हजार, लाखमा होइन, करोडौ, अरबौमा पुगेको छ । पैसाले सबै कुरा किन्न सकिन्छ अनि पैसा नै सब थोक हो भन्ने मान्यताले राज्यका संरचना, बिशेषगरि कानुनी राज, लाई कमजोर बनाएको छ । भ्रस्टचारीहरु धेरै पैसा भएका कारण नै समाजमा स्थापित र सम्मानित छन् । भ्रस्टचारीहरुसग असल र नैतिकवान मान्छेहरु डरायर, लुकेर हिड्नु पर्ने परिस्थिति सिर्जना भएको छ । राम्रा मान्छेहरु नेपाली समाजमा बिस्तारै एक्लिदै जान थालेका छन् ।
डा. गोविन्द केसी र लोकमान सिंह कार्की बर्तमान प्रवृतिको नेपाली समाजका ज्वलन्त उदाहरणहरु हुन् । डा. केसी सदाचार, त्याग र नैतिकताका प्रतिमूर्ति हुन् भने लोकमान सिंह कार्कीसग पैसाको भरमा जेसुकै पनि गर्न सक्ने तागत छ । उनि अख्तियार प्रमुखबाट हटेपनि पैसाको भरमा बाचुन्जेल एउटा शक्ति केन्द्रको रुपमा रही रहने छन् । दशौ अनसनसम्म आइपुग्दा डा. केसी राज्य संयन्त्रबाट एक्लिदै गएका छन् । एकातिर राज्यले डा. गोविन्द केसीलाई उपेक्षा गर्दै मार्ने रणनीति लिएको देखिन्छ भने अर्कोतिर लोकमान सिंह कार्कीको बिरुद्ध निर्णय लिन सिंगो सार्बभौम संसद थर्कमान बनेको छ ।
समाजमा विभाजित मानसिकताले जरा गाडीसके पछि हामि नागरिकहरु आफ्नो लागि हित र अहित पनि छुट्टाउन नसक्ने मानसिकताबाट ग्रसित हुदा रहेछौ । यो विभाजित मानसिकताको रोगले नागरिक तहमा सबैभन्दा बढी बेफाईदा अनि भ्रस्ट र माफियाहरुलाई सबै भन्दा बढी फाइदा भै रहेको छ ।
बिशेष गरि २०६२-६३ सालको आन्दोलन पछाडी हामी विभाजित मानसिकता बोकेका नागरिकको झुण्डमा रुपान्तरित बनेका रहेछौ । हाम्रा ६२-६३ सालका नागरिक अगुवाहरु पनि राजनीतिक दल र गुट उपगुटका आधारमा विभाजित बनेका छन् । कति नागरिक अगुवाहरु अहिले जातीय, क्षत्रिय अनि धार्मिक मुद्दाको अभियान चलाई रहेका छन् । आम नेपालीलाई जोड्ने शिक्षा र स्वास्थ्य जस्ता मुद्दाहरु पनि साझा रास्ट्रिय मुद्दा बन्न नसक्दा समाजमा एक अर्का प्रति शंका र अबिश्वाश मात्र बढेको छ ।
हामी शंका र अबिश्वाशले ग्रस्त नब नेपाली नागरिक बनेका छौ । एउटा मधेशीले हिमालको कुरा गर्यो भने वा एउटा पहाडे बाहुनले मधेशको कुरा गर्यो भने त्यो अबिश्वाश र प्रश्नको घेरा बन्दीमा परि हाल्छ । एउटा पहाडे खस डाक्टर भएकै कारण डा. केसी पनि प्रश्नको घेरा बन्दिमा छन् । कुरा सहि र गलतको भन्दा पनि कुन जात र समुदाएको मान्छे ले गरेको कुरा हो भन्ने सोच राख्न थाले पछि देश ठुलो संकटमा फसी सक्यो भन्न डर मान्नु हुदैन ।
बिभाजन, शंका, अबिश्वाशले थिचिएका नेपाली समाजका हामि कमजोर नागरिक बनि सकेका छौ । हाम्रो सामुहिक अवाज हराएको छ । खुले आम भ्रस्टाचार गर्ने हरु छाती ठुलो बनाएर गर्जन गर्दछन अनि हामि गलत लाइ गलत अनि सहि लाइ सहि भन्ने हिम्मत गुमाएका नागरिक बनेका छौ । विभाजनको दल दलमा फसेका हामिहरुलाइ जुटन भन्दा टुटन सहज बनेको छ । त्यसैले हामि एक अर्का सग स्वस्थ अन्तरक्रिया पनि गर्न नचाहने एकलकाटे समाजका नागरिक बनेका छौ । एउटा ठेकेदारले जति बर्ष लगाएर जति सुकै कमसल बाटो, पुल, भवन बनाय पनि हामीलाई चासो लाग्न छाडेको छ किनभने बिस्तारै हामि सोच्ने क्षमता गुमाएका नागरिकमा रुपान्तरित भै रहेका छौ ।
अब एक पटक सबैले छातीमा हात राखेर हामीले बनायको समाज र हामी आफु कस्तो समाजका नागरिक बनेर बाचेका छौ भनेर सोच्ने हो कि?