नरमाया उर्फ खुजी दिदीलाई समाधिको निम्ति आर्यघाटको ब्रम्हनालमा लिएर पस्नेबित्तिकै नदीको पारिपटिका सिंढीहरूमा सङ्गीतको ध्वनि उठ्यो। हजारौं नरनारीले अर्धशास्त्रीय तालमा गाए अनि नाचे। माथि आकाशमा चौसठ्ठी बर्षपछि सबभन्दा नजिक आएको जून, ‘सुपर मून’, त्यो उनन्तीस मंसिरको साँझ, एशियामा सबभन्दा नजिक आएर कुनै नरम दिनजस्तो छरिएको थियो। अहिले चीनमा राजदूत भएर गएका लीलामणि पौडेलको अगुवाइमा धेरै असल मानिसहरूद्वारा निकै सफा गरिएको अझै अर्धधूमिल बागमती नदीमा त्यो जून अनेकौं तरङ्गमा घोलिएर बग्दै थियो। समाचार हरूले भन्दै थिए, हजारौं मानिस त्यो साँझ समुद्री किनार, अग्ला भवनका छानाहरू र जून चिप्लिने उचाइहरूमा गएर जूनेलीको त्यो कोमल आतङ्क हेरिरहेका थिए। आतङ्क कोमल पनि हुन्छ किनकि त्यसले शान्त बसेका तरङ्गहरू पर्वतजस्तै चुलीमा उठाइदिन्छ। सागरहरूमा जूनेली पागलपनको उत्ताल लिएरउठ्छ। त्यो रात लाग्थ्यो त्यहाँ वारिपारि भेला भएका नरनारीहरू आ–आफ्ना मन र भावनाका ज्वारभाटाका सुखद आतङ्कमा उठेका थिए। रिचर्ड वाग्नरको अपेरामा सुनेको छु, यतातिरका शास्त्रीय रागहरूमा सुनेको छु, जूनले मनमा जन्माएको पीडाको ध्वनि कसरी भावनाको उन्माद बोकेर उठ्छ।
खुजी दिदी आफ्ना सक्रिय पचासी वर्षमा कतिपटक त्यो जूनले प्रताडित भइन्, थाहा पाउन सक्ने कुरै भएन। तर त्यो रातको त्यो उत्सव नाटककार दार्शनिक बालकृष्ण समले भनेजस्तो एउटा नियमित आकस्मितकता थियो। खुजी दिदीको सक्रिय जीवनको अन्त्य र त्यो रातको जूनेली जागरणको कहीं केही तारतम्य थियो कि त जस्तो लाग्यो। मलाई प्रिय लाग्ने गीतकार र कवि लियोनार्ड कोहेनको पनि केही समयअघि देहावसान भएको थियो। मेरी नरमाया दिदीको अवसानको त्यो जूनेली रातपछि गएर कोहेनको कविता पढें। ‘हिटलरलाई फूल’ किताबको एउटा कवितामा ती लेख्छन्, ‘मैले एकपटक ठानेको थिएँ, चिनियाँ कविताको एकै हरपले फूल कसरी झर्छन् भन्ने निर्णय गर्छ। त्यसैगरी त्यो हरपले रोइरहेका मानिसका शोकमाथि कसरी जून आफैं चढेर उठ्छ...’ भन्ने पनि निर्णय गर्छ। त्यो बेलाको तेजिलो जून मेरी दिदी नरमायाको शोकले चिरिएको मेरो शोकमाथि चढिरहेको मैले अनुभव गरें। जून मेरो आँखाका डीलमा बसेका थोपाहरूभित्र पनि त्यत्तिकै अटाएको थियो। ज्वारभाटाहरूउठेको थाहा पाएँ। जलराशी अतिरिक्त अङ्ग हो पृथ्वीको–आदिम, धेरै र चलायमान। जूनले त्यसलाई तानिबस्छ।
त्यो रातको खुजी दिदीको अन्तिम यात्राको उत्सवजस्तो परिवेश तिनको जीवनको स्मृतिमा जुटेको थिएन। ती एक साधारण सबाल्टर्न नारी थिइन् जसले जीवनभर देब्रेतिर लाग्ने आफ्नो जीवनको लय र निष्पृहताको बीचमा फ्युजन गराएकी थिइन्। ती एक साधारण ग्रामिण महिला थिइन् जस्को विवाह (विवाहले ती प्रसाईं थिइन्)को स्मृति सुखद थिएन। मैले थाहा पाएदेखि ती हामीसँगै थिइन् र हाम्रो शिक्षादीक्षाकी कारक भएकी थिइन्। बिदाको बेलामा उनले आयोजना गर्ने मनसुन यामको धान कृषिकर्ममा हामी विद्यार्थीले पनि समावेश भएर काम गर्नु पर्ने तिनको आदेश थियो।
एउटा यस्तै अवसरमा निकै ठूलो रोपाईंको उनले व्यवस्था गरेकी थिइन्। पुष्पलाल श्रेष्ठको भाषण तेह्रथुम म्याङ्लुङ् बजारमा हुने कार्यक्रम थियो। दाजु दयानन्द र म हाम्रो पालीको पढ्ने कोठाको झ्यालबाट हाम्फालेर तिनको भाषण सुन्न गयौं। जुलुसमा पनि सामेल भयौं। खुजी दिदीको डर लागेको थियो। साँझमा हामीले छडी खानु पर्ने भयो। उनले केरकार गर्दा पुष्पलाल आएको कुरा भन्यौं। दिदीको छडी यसै झर्यो। ती पुष्पलाल, विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंह, तुल्सीलाल अमात्यका नाम र तिनका पार्टीहरूसँग परिचित थिइन्। तिनमध्ये केहीको आतिथ्यसमेत गरेकी थिइन्। ती कुनै राजनैतिक दलमा सामेल भइनन्। तर तिनले भूमिगत भएर आएका नेताहरूलाई प्रहरीबाट जोगाउने र खाने व्यवस्था गरिन्। त्यसमा सैनिकले हत्या गरिएका कम्युनिष्ट नेत्र गुरागाईं र काङ्ग्रेस हरिप्रसाद दाहाल (अहिले नब्बे नाघेका दर्बेसा, मोरङ्मा बस्छन्) लाई मद्दत गरेको सम्झना छ।
साधारण पढेकी दिदीले नेपालको राजनीतिका अनेकौं परिवर्तन देखिन्। उनी योजना गरेर होइन व्यवहारले राजनैतिक प्राणी थिइन्। दक्षिण एसियामा सबाल्टर्न नारीको सचेत निजत्व वा ‘सब्जेक्टिभिटी’ छ कि छैन भन्ने विषयमा अनेकौं बहस चलेका छन्। गायत्री चक्रवर्ती यस चर्चामा प्रमुख पात्र छन्। मैले नरमाया दिदीको जीवन र कर्मबाट बुझेको विषय यस्तो छ। परिस्थितिअनुसार संघर्ष गर्दा अनि नारीको स्थानको निम्ति काम गर्दा परिस्थितिले निजत्व जन्माउने रहेछ दक्षिण एसियामा। दिदीले गाउँ र अलिक परका लिम्बु महिलाहरूसँगको सम्बन्धबाट त्यो ‘सब्जेक्टिभिटी’ बनाएकी थिइन्। तिनको गाउँमा नारीहरूको समूह हुन्थ्यो जसलाई मद्दत गर्नेदेखि लिएर चुनावको बेला राजनैतिक निर्णय गर्नेसम्म काम गर्थिन्। त्यो अनौठो फ्युजन तिनले पढेलेखेका भाइभदाहाहरूका राजनैतिक कर्मका केही अनुकरणबाट हासिल गरेकी थिइन्। तर ती नारीको कर्म अलग हुनुपर्छ भन्ने कुरामा विश्वास गर्थिन्।
पासाङ् ह्लामु शेर्पाले एभरेष्ट आरोहण गरेको कुराले ती खुसी थिइन्। मलाई तिनका पोस्टरहरू लिएर आउनु भन्ने दिदीको आदेश थियो। मैले लगेका पासाङ् ह्लामुका पोस्टर दिदीले बाँडिछन्। मैले गाउँमा लिम्बु भाउजूहरूकोमा चिया खान गएको बेला किञ्चित ओस लागेका पासाङ् ल्हामुका पोस्टरहरू भित्तामा टाँगिएका देखें र थाहा पाएँ, दिदीको नारीका जीतमाथि गर्व गर्ने मौनताको शक्तिले त्यहाँ मूर्तरूप लिएको थियो।
नरमाया दिदीको शक्तिबोध राजनीतिको सोझो चरित्रबाट बनिएको थियो। दिदी लहरहरूमा राजनीति र नेपाली इतिहास टिपेर पोल्टामा हाल्थिन् अनि हामीलाई त्यही देखाएर सोध्थिन् अहिले यो के भइरहेको छ? मैले निकै सिध्दान्त र शास्त्रहरु पढेको भए पनि दिदीले टिपेर राखेका अनि हामीतिर उत्तरको निम्ति फालेका प्रश्नहरूको अहिले त कुनै उत्तर नभेट्ने अवस्थामा पुगेको छु। इतिहास कसरी बनिन्छ र त्यसमा साधारण जनताको के भूमिका हुन्छ अनि तिनले कति बुझेका छन् भन्ने कुराको उत्तर राजनैतिक दलहरूले खोजेका छैनन्। दिदी समयको लहरमा उभिएर टिप्थिन् राजनीति। उनी घरबारी खेतको व्यवस्था हेर्थिन्। ती जोडदार कृषक थिइन्। म घर फर्केर साबला गाउँमा गइबस्थें। एक पटक घर पुगेपछि दिदीलाई देखिनँ। कहाँ छिन् भनेर सोधें। एक जनाले भन्यो, पार्टीको मिटिङ्मा छिन्। म त्यो थलोमा गएँ। दिदी गाउँका माओवादीहरूको मिटिङ्मा बसेकी रहिछन्। म पुग्दा सबै चकित भए। तर थाहा पाएँ, त्यो पनि दिदीको पार्टी थिएन। दलहरू भनेको स्थानीय मानिसको सहकार्य गर्ने विश्वास हो भन्ने दिदीको बुझाइ थियो। ती अलिक वृध्द भएपछि बिन्दुले गएर काठमाडौं लिएर आइन्। दिदी यतै बसिन्। म तिनका शान्त र ध्यानातित मुद्राहरू हेर्थें। थाहा हुन्थ्यो, तिनको मनमा उनले छोडेर आएको उनको संसारको चित्र घुमिरहेको हुन्थ्यो।
नरमाया दिदी हाँसिरहेको बुद्ध अथवा “लफिङ् बुद्ध” जस्तो बस्थिन्। ती विषाद लिएर कहिल्यै बसिनन्। उनले बुझेको नेपालको इतिहास यत्ति एउटा प्रश्नको पुनरावृत्तिमा बस्थ्यो।
सोध्थिन्, ‘भाइ, तँलाई थाहा छ कि छैन म र पृथ्वीनारयण शाह सात महिनामा जन्मेका हौं भन्ने कुरा?’ त्यो प्रश्न थिएन, एउटा निश्चित ज्ञान र जीवनको सहजदृष्टिको पुनरावृत्ति मात्र थियो।
यति सोधेर ती ‘लाफिङ् बुद्ध’, मानौं ती लामावतार, आफ्नो विशाल शान्तिको व्यक्तित्वमा फर्किन्थिन्। तिनी त्यही मुद्रा लिएर यो संसारबाट त्यस साँझ बिदा भएकी थिइन्। दिदी एउटा अनिश्चित नेपाली ग्रामिण विकास र चेतनाको यस्तो अवतार थिइन् जसको सोझो आकार थिएन र आजपनि छैन। ती मेरोनिम्ति नेपाली समाजको पर्याय थिइन्।
जूनले उन्मादिलो आर्यघाट थलोमा शिल्पी थिएटरका निर्देशक घिमिरे युवराज आफ्ना अभ्यास गरिरहेका कलाकार लिएर आए। तिनीहरू मेरो नाटक ‘चिरिएका साँझ’हरू प्रस्तुत गर्न लागेका थिए। अहिले गर्दैछन्। त्यो नाटकमा मानिसले जीवनको आडमा चिरिएका साँझमुनि मृत्यु र देवतालाई जितेको कथा छ। त्यसमा पनि अन्त्येष्टीको दृश्य छ। त्यो दिदीलाई विदा गर्दाचिरिएको साँझको ठूलो जूनमुनि मैले एउटीसाधारण कृषक सबाल्टर्न महिलाको समाधि अपलक हेरें।