मध्य तथा सुदूरपश्चिममा धेरैले मस्टोलाई कुल देवता मान्छन्। पहाडी जिल्लाबाट तराई झरेकाहरू पनि वर्षमा एकचोटि देउता पुज्न पहाड उक्लिन्छन्।
सानोमा देउता पुज्ने समय आउँदा म खुसीले बुकुर्सी मार्थें। देउता थानमा मान्छेहरू वर्षभरि के के कामका लागि भाकल गरेका पाठा (साना बोका) चढाउँथे। परिवारका मान्छे र केही गाउँले मात्र जाने भएकाले टन्न मासु खान पाइन्थ्यो। अझ हाम्रो घरमा त साँझ काटेका पाठाका टाउका आइपुग्थे। किनकि, बुबा धामी थिए÷छन्। देउताका थानमा काटेका पाठाका टाउका धामीका घर लैजाने चलन छ। देउता पुज्ने दिन दुईचोटि मासु खान पाएपछि हामी त्यत्तिकै खुसी हुन्थ्यौं।
तर, त्यो खुसीको मूल्य हामीले प्रत्येक महिना चुकाउनुपथ्र्यो। हरेक महिना आमा पाँच दिनका लागि छाउ हुन्थिन्। घर नजिकै अलग्गै सानो झुपडी हुन्थ्यो। त्यहीँ गएर बस्थिन् आमा। पुसको कठ्यांग्रिदो चिसो होस् या साउने झरी। आमा त्यही छाउकटेरोमा महिनाका पाँच रात काट्थिन्।
आमा छाउ भएका दिन मलाई घर आउन नपरे हुन्थ्यो जस्तो लाग्थ्यो। भान्सामा त झन् छिर्नै मन लाग्दैनथ्यो। कहिले बुबाले आफैं खाना पकाएर खुवाउथे। खानामा कहिले नुन पुग्दैनथ्यो त कहिले एकदमै पिरो हुन्थ्यो। कहिले बज्यै आएर पकाएर दिन्थिन्। खाना त बज्यै मिठै पकाउँथिन्। मायाले दिन्थिन् तर आमाले दिएको जस्तो लाग्दैनथ्यो। आमाले जे पकाए पनि एकदमै मिठो लाग्थ्यो। अहिले पनि लाग्छ।
पछि दिदी (दी) अलि ठूली भई। आमा छाउ हुँदा हामीलाई खाना पकाएर खुवाउने जिम्मा उसैको हुन्थ्यो। ‘सबैभन्दा पहिला कान्छालाई खान देऊ’ भन्थी। दी आमाजस्तै बन्न त खोज्थी तर हामी उसले पकाएको खानाको जहिल्यै खिल्ली उडाउँथ्यौं।
ढिकीमा कुटेको मकैको पिठोका ऊ रोटी पकाउँथी। गोला हुनुपर्ने ती रोटी कहिले लाम्चा हुन्थे, कहिले वर्गाकार त कहिले बेलनाकार।
एकदिन अचानक दी हराई। स्कुलमा ऊ र म एउटै कक्षामा पढ्थ्यौं। मेरा सारा बदमासी उसलाई थाहा हुन्थ्यो। त्यो दिन दी स्कुल गइनँ। मलाई साह्रै खुसी लाग्यो। तर, साँझसम्म पनि ऊ घर आइनँ। एउटै क्लासमा पो नभइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। साँझ पर्न लाग्दा पनि दी घर नआएपछि आमालाई सोधेँ। आमाले भनेको दी पनि छाउ भइ रे। पहिलोचोटि छाउ हुँदा आफूभन्दा ठूला (बुबा, दाइ) लाई अनुहार देखाउन हुन्न रे। त्यसैले, ऊ दिनभरि कसैले नदेख्ने ठाउँमा गएर बसी। आमाले लगिदिएको खाना खाइछे।
मलाई त्यतिबेला छाउपडी राम्रो÷नराम्रो के हो थाहा थिएन। छाउ भएकी महिलाले दूध खाए गाई भैंसीले दूध दिदैनन् भन्थे। फलफूलका बोट छोए फल लाग्दैन भन्थे। घरमा बसे त झन् देउता रिसाएर मान्छेलाई तलमाथि पर्छ भन्थे। गाउँभरिका सबैले त्यसै गर्थे। गर्नैपथ्र्यो। हाम्रो त झन् धामीको घर, नियम झन् कडा थियो।
बुबा प्रायः बाहिर गइरहन्थे। कहिल्यै नेता बनेर सुर्खेत आउँथे। कहिले मेट बनेर कालापहाड पुग्थे। दाजी (दाजु) क्याम्पस पढ्न नेपालगन्ज झरिसकेका थिए। घरमा आमा र दी एकैपटक छाउ भए। आमा र दीसहित भाइबहिनीलाई खाना पकाएर खुवाउने जिम्मा मेरो टाउकोमा पर्यो। रोटी पकाउन मैले सक्ने कुरै भएन। अलिअलि भात पकाएर म भाइबहिनीलाई खुवाउथेँ। छाउ भएकी आमा र दीलाई अलग्गै हालिदिन्थेँ र बचेको आफू खान्थेँ। ढिकीमा धान कुटेर निफन्न, केलाउन सिकेको पनि मैले त्यही बेला हो। त्यतिबेला मलाई छाउ भएका बेला अलग्गै बस्नुपर्ने कुराले दिक्क बनाउँथ्यो। तर, केही भन्ने आँट आउँदैनथ्यो। आओस् पनि कसरी त्यत्रो देउता अनि त्यत्रा धामी बुबाविरुद्ध।
एकचोटि आमा र दी एकैपटक छाउ भए। खाना बनाएर खाने खुवाउने जिम्मा मेरै थियो। म अँगेनामा खाना बनाउँदै थिएँ। दाल झान्न डाडुमा तताएको तेल मेरो बाँया हातमा पोखियो। तातो तेलले छाला नै डढायो। पीडा यति भयो, म रुन पनि सकिनँ। एकातिर हात पोलिएको थियो, अर्कातिर निको भइजान्छ भनेर सुम्सुम्याउने आमा थिइनन्। झन् स्कुलमा के गरी जानु। जनकपुरतिरबाट आएका एक मास्टरसँग औषधी पनि हुन्थ्यो। मेरो जलेको हातमा तिनै जनकपुरे मास्टरले औषधी लगाइदिए। के औषधी लगाए कुन्नी, घाउ फतक्कै पाक्यो। महिना दिनसम्म मैले लेख्न सकिनँ। पछि खाटा बसेर निको भयो। त्यसको छाप अहिले पनि छ।
त्यति हुँदा पनि मलाई छाउपडी राम्रो÷नराम्रो के हो थाहा भएन। बरु मनमनै एउटै कामना हुन्थ्यो– हे भगवान आमा र दी एकैचोटी छाउ नहून्।
एकचोटि गाउँमा ठूलै हंगामा भयो। केही गाउँलेले देउता नमान्ने धर्म अँगाल्ने भने। पहिला देउता पुजिरहेका उनीहरूले देउतालाई जति माने पनि दुःख दिएको भन्दै निरंकारी धर्म अँगालेका थिए। सद्गुरु भए भन्थे। सत्संग लगाउँथे। छाउ भएका महिलालाई पनि घरभित्र बस्न दिन्थे। त्यसले गाउँमा हलचल ल्यायो। सद्गुरु भएकाहरूलाई छोइछिटो हुन थाल्यो। त्यो देखेर मलाई लाग्थ्यो– देउता नमानेपछि छाउपडी पनि बार्नु नपर्ने रैछ। झन्झटै सकिने।
०६१ सालतिर म पढ्न भनेर कैलाली झरेको थिएँ। गाउँमा माओवादीले ‘जनसत्ता’ चलाएका थिए। हरेक निर्णय ‘जनसत्ता’ले गथ्र्यो। एकदिन ‘जनसत्ता’ले सबैले छाउकटेरा भत्काउनुपर्ने, नभत्काए माओवादीहरूले भत्काइदिने उर्दी जारी गरेछन्। केहीले आफैं भत्काए। केहीले आफैंले भत्काए देउता रिसाउने डरले माओवादीसँग भत्काउन लगाएछन्। विद्यालयका एक शिक्षकको नेतृत्वमा त्यो काम भएछ। ०६२ सालमा म घर फर्किँदा गाउँ छाउपडी मुक्त भइसकेको थियो। तर धेरै समयसम्म छाउपडी मुक्त हुन सकेन। ०६३ सालमा शान्ति सम्झौता भएपछि माओवादीको डर हराउन थाल्यो। मान्छेहरूले फेरि छाउकटेरा बनाउन थालिहाले।
०६३ सालमै म काठमाडौं पढ्न आएँ। काठमाडौंमा मध्य र सुदूरपश्चिमलाई विकट र गरिबीको पर्यायका रूपमा हेरिन्थ्यो/हेरिन्छ। सुर्खेत हो घर भनेपछि ‘छाउपडी मान्छन् है त्यतातिर’ भनेर सबैले सोध्थे। मलाई छाउ भएका महिला बाहिर बस्नु सामान्य हो जस्तै लाग्थ्यो तर पूर्वतिरका साथीहरू छाउपडीलाई यति ‘सिरियस्ली’ भन्थे, त्यो दासप्रथाभन्दा खराब कुरा हो। काठमाडौं आएपछि नै मैले थाहा पाएको हो– छाउ भएका महिलाले दूध खाए गाई÷भैंसीले दूध दिन छाड्दैनन्। छाउ भएका महिलाले छोए पनि रूखविरुवाले फल दिन छाड्दैनन्। छाउ भएकी महिलालाई छोयो भने कोही छोरामान्छे बिरामी हुँदैन। जब हातमा बसेको त्यो छाप हेर्छु पछुतो लाग्छ– यी कुरा मैले मेरो हात पोलिनुभन्दा पहिल्यै थाहा पाएको भए!
अचेल हाम्रो घरमा छाउकटेरो छैन। कसैले भत्काइदिएर होइन, आफैंले नबनाएको हो। तर, बुबा धामी छँदै छन्। खुसी लाग्छ, अचेल मेरी भाउजू लालाबाला छाडेर मेरी आमाजसरी छाउकटेरामा सुत्न जाँदिनन्।
अचेल मलाई अझ बढी खुसी लाग्छ, छाउ हुँदा आमा, भाउजु, दी, बहिनी घरमै बस्दा पनि नरिसाउने रैछ हाम्रो मस्टो देउता।
बेलाबेला भने दुःख लाग्छ, जब देख्छु, अखबारमा मध्य तथा सुदूरपश्चिममा छाउकटेरामा बसेका दिदीबहिनीले ज्यान गुमाएका र बलात्कृत भए भन्ने समाचार। त्यतिबेला बेस्सरी चिच्याएर भन्न मन लाग्छ– छाउ भएका महिलाले दूध खाएमा गाई/भैंसीले दूध दिन छाड्दैनन्। छाउ भएका महिलाले छोए रूखबिरुवाले फल दिन छाड्दैनन्। छाउ भएकी महिलालाई छोयो भने कोही छोरामान्छे बिरामी हुँदैन। छाउ भएकी महिलालाई घरमा राख्यो भने देउता रिसाउँदैनन्।