दसैंअघि न्यू योर्कमा कन्सर्ट गर्न जानुअघि मैले अमृत गुरुङलाई सोधेको थिएँ, ‘तिमीलाई त्यहाँ क–कसलाई भेट्ने इच्छा छ?’
उनले दिएको सूचीमा सबैभन्दा माथि प्रशा तुलाधरको नाम थियो।
‘पोहोर त्यहाँ कन्सर्ट गर्न गएका बेला हाम्रो भेट फेरि होला कि नहोला भन्नेमा उनी सशंकित थिइन्,’ अमृतले भने, ‘मैले हामी पक्कै भेट्छौं भनेको थिएँ।’
पछिल्लोचोटि प्रशालाई भेट्दा उनको अनुहारमा अक्सिजन पाइप गहनाजस्तै फैलिएका थिए। फोक्सोसम्बन्धी रोग लागेकी उनी चौबीसै घन्टा बोकेर हिँड्नुपर्ने त्यही अक्सिजन पाइपको सहाराले सास फेर्थिन्। उनलाई त्यही हालतमा ‘नेपथ्य’ कन्सर्टमा रमाइलो गरिरहेको देख्दा हामी भावविभोर भएका थियौं।
हेर्नुहोस्:
प्रशालाई भेट्न म पनि अमृत जत्तिकै उत्सुक थिएँ।
मैले न्यू योर्क पुग्नेबित्तिकै प्रशालाई फोनसम्पर्क गरेँ। उनलाई भेट्न आउने जानकारी गराएँ। उनले मानिनन्। जिद्दी गर्दै भनिन्, ‘म आफैं तपाईंहरूलाई भेट्न आउँछु।’
उनी आइन्।
यसपटक आमनेसामने हुँदा मेरो खुसीको सीमा रहेन। उनलाई बेर्ने पाइपहरू हटिसकेका रहेछन्। बरु घाँटीमा एउटा प्रस्ट देखिने खत थियो। मलाई पहिलेको त्यो पाइपको गहनाभन्दा अहिले गलामा हारजस्तै बनेको खत प्रिय लाग्यो।
अफ्रिकी महादेशको हिंसा र हिराका कहानी जोडेर पश्चिमा संसारमा ‘ब्लड डायमन्ड’ भन्ने शब्द प्रचलित छ। त्यसै पनि हारहरूको अस्तित्वमा अनेकथरी ‘ब्लड डायमन्ड’ जोडिएकै हुन्छन्। प्रशाको गलाको त्यो हारले भने उनलाई पुनः जीवनदान दिएको छ। सायद त्यही भएर आजसम्म चेलिबेटीको गलामा देख्दै आएका गहनामध्ये मलाई त्यो कता हो कता मूल्यवान लाग्यो।
प्रशा झट्ट हेर्दा सामान्य देखिन्छिन्। तर, अरू मानिसको अवस्थाभन्दा परै छिन्। तोकिएको स्थान र विशेष हेरचाहबिना हिँडडुल गर्न सक्दिनन्। ‘संक्रमणबाट बच्न म सब–वे (भूमिगत रेल) मा जान मिल्दैन, त्यसैले न्यूयोर्कका रेल बाँकी सबैका निम्ति गुड्छन्, मेरा निम्ति भने ती सधैंका लागि बन्द भए,’ उनले भनिन्, ‘यहाँको सरकारले हामीजस्ता बिरामीलाई ओहोरदोहोर गराउन बेग्लै व्यवस्था गरिदिएकाले खासै समस्या परेको पनि छैन।’
‘एक्सेस अ राइड’ नामको यातायात सेवाले प्रशासँग सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक यातायातकै शुल्कमा घरै आएर यस्तो विशेष सेवा उपलब्ध गराउँदो रहेछ। हामी भेट्न आउँछौं भन्दाभन्दै उनले आफैं आउने जिद्दी गर्नुको कारण यही रहेछ। सरकारबाट यस किसिमको यातायात सुविधा प्राप्त हुन्छ भन्ने जानकारी नभएकाले म भने उनले बित्थामा दुःख पाउने भइन् भनेर विचलित थिएँ। जबकि, प्रशाले पाउने सुविधा त उनी लगायत उनका पाहुनाहरूले पनि उपयोग गर्न मिल्ने रहेछ।
‘यी हेर्नुस्, म आफैं आइपुगेँ,’ उनले आफू आएको त्यो विशेष गाडीतर्फ संकेत गर्दै भनिन्, ‘भेट्न मात्र होइन, आज तपाईंहरूलाई न्यूयोर्क घुमाइदिने तयारीका साथ आएकी छु।’
‘जेटल्याग’ बाट बाहिर निस्कन अमृत कार्यक्रमअघि कोठामै बसेर एकान्तमा आराम गर्न रूचाउँछन्। त्यही भएर हामीले प्रशाको निम्तो नकार्नुपर्यो। तर, उनले सम्पूर्ण टोलीको निम्ति ल्याएका अनेकथरि परिकार र फलफूलले भरिएको बिहानी खाजा र तात्तातो कफी नकार्नै सकेनौं।
त्यस दिन बिहानी खाजाको बीचमा हामी धेरै बेर गफियौं। पोहोर भेट्दा र अहिलेको बीचमा उनी के–कस्तो स्थितिबाट गुज्रिइन् भन्ने मलाई जिज्ञासा थियो। कुनै पनि कुराको मिहिन वर्णन गर्ने उनको शैलीबाट म चकित थिएँ। अहिले पनि त्यही खुबीका साथ मलाई सविस्तार सुनाउन उनी उपस्थित थिइन्।
प्रशाले गएको वर्ष अधिकांश समय अस्पतालमै बिताएकी रहिछन्।
गत वर्ष अगस्टमा ‘नेपथ्य’ कन्सर्टमा भेटेपछि प्रशाले अक्टोबरसम्मै अंगदान गर्नेको खोजीलाई निरन्तरता दिइछन्।
नोभेम्बरमा उनलाई पहिलो बोलावट आयो। तर, दाताको त्यो फोक्सो उनको शरीरमा मिलेन। यता, उनको शरीरको अवस्था झन् झन् बिग्रँदै गयो। उनका फोक्सो अझ दुर्बल बन्दै गए। त्यसका निम्ति चाहिने अक्सिजनको मात्रा झनझनै बढ्दै थियो। डिसेम्बरमा त उनको खुट्टाको औंलामा रगत पनि जम्यो। त्यसको उपचार थिएन, त्यसैले उनले औंलै काटेर फाल्नुपर्यो।
गत वर्ष क्रिसमस, अर्थात् डिसेम्बर २५ भने प्रशाको निम्ति सुखद समाचार बोकेर आयो।
प्रशाले अर्का फोक्सोदाता भेटिन्।
तर, एकछिनलाई सुखद बनेर आएको यो खबरले उनलाई लामो समय खुसी राख्न सकेन।
‘त्यो फोक्सो त बाल अपराधमा संलग्न व्यक्तिको पो रहेछ,’ उनले भनिन्, ‘यो थाहा पाएपछि म आत्तिएँ।’
उनलाई यो अंग स्वीकार गर्ने कि नगर्ने दोधार भयो। धन्न, पछि परीक्षण क्रममा त्यो फोक्सो उनको शरीरलाई नमिल्ने भइदियो।
हुन त अंगदानमा दाताको नाम र पहिचान गोप्य राखिन्छ। तर, दाता कुनै संदिग्ध पृष्ठभूमिको छ भने त्यस्तो पृष्ठभूमि अवगत गराइदिने चलन छ। आफूलाई संकोच भए त्यस्ता व्यक्तिको अंग स्वीकार नगर्ने अधिकार बिरामीमै निहित हुन्छ।
‘मैले हुन्छ त भनेँ, तर त्यतिबेला म बडो अनौठो अवस्थामा पुगेकी थिएँ,’ उनले भनिन्, ‘आफ्नो शरीर संकटग्रस्त रहेकामा दुःखी बनुँ वा एउटा अपराधीको फोक्सो बोकेर बाँचु? निकै अलमलमा परेकी थिएँ।’
प्रशाको दुर्भाग्य अझ बढ्नेवाला थियो। पछिल्लो समय उनको मुटुले पनि दुःख दिन थाल्यो। बाह्य अक्सिजनको मात्रा अझ बढाउनु परेपछि उनी घर पनि जान नसक्ने अवस्थामा पुगिन्। अक्सिजनले मात्र नपुग्ने भएपछि उनलाई नाइट्रिक अक्साइड पनि दिन थालियो।
जनवरी १३ अर्थात् उनी जन्मेको दिन अवस्था झनै भयावह बन्न पुग्यो। उनको फोक्सोले कामै बन्द गरिदियो। उनलाई जीवित राख्न घाँटी छेडेर बाहिरबाटै कृत्रिम श्वासप्रश्वास (इसिएमओ) गराउनुपर्यो। यसबीच उनले पाँचपटक फोक्सो प्रत्यारोपणको अवसर पाइसकेर पनि त्यो फोक्सो ‘म्याच’ नगरेको अवस्था झेलेकी थिइन्।
प्रक्रियाअनुसार अंगदान निम्ति इच्छुक व्यक्तिको मृत्यु भएपछि चारदेखि पाँच घन्टाभित्रै फोक्सो झिकेर अर्कोमा प्रत्यारोपण गरिसक्नुपर्छ। त्यसैले, त्यस्ता कुनै पनि मानिसको मृत्युको खबर आउनेबित्तिकै अंग प्रत्यारोपण पर्खेर बसेका सूचीकृत बिरामीलाई तत्काल तयार पारिन्छ। सूचीमा सबैभन्दा माथि रहेको बिरामीसँग अंग ‘म्याच’ भएन भने त्यसपछि दोस्रो नम्बरमा रहेको बिरामीले पालो पाउँछ।
पाँचपटकसम्म दाताको अंग ‘म्याच’ नभएपछि फेब्रुअरी ९ तारिखसम्म प्रशालाई अस्पतालले कृत्रिम श्वासप्रश्वासका माध्यमबाट जीवित राख्यो। ९ तारिखमा आएको फोक्सो उनको शरीरमा ‘म्याच’ भयो।
र, प्रशाको शल्यक्रिया सुरु भयो।
‘एउटा समय मैले आफ्नो लडिरहेको शरीर नै देखेँ,’ प्रशाले आफ्नो फोक्सो प्रत्यारोपणको क्षण वर्णन गर्दै भनिन्, ‘त्यो सत्य थियो वा मेरो बेहोसीको भ्रम थियो, थाहा छैन। त्यतिबेला मलाई आफू शरीरबाटै अलग्गिएको अनुभूति भएको थियो।’
प्रशाका अनुसार त्यसरी शरीरबाट अलग्गिएको क्षण उनका निम्ति असाध्यै हलुका बनेको थियो। अथाह पीडाबाट अचानक छुटकारा पाएजस्तो!
‘त्यसलगत्तै मैले फेरि जीवन पाएँ,’ उनले थपिन्, ‘तर, जीवनसँगै फेरि चरम दुखाइ सुरु भएको थियो।’
फोक्सो प्रत्यारोपणपछि आजसम्म सबैभन्दा बढी बाँचेको मानिसले त्यसपछिका २१ वर्ष यो धर्ती भोग गरेको रेकर्ड छ। त्यसको निम्ति पनि असाध्यै अनुशासन र स्याहार चाहिन्छ। त्यसमाथि प्रशाले त हरबखत ‘स्केलेरो डर्मा’ बोकेरै हिँड्नुपरेको छ। फोक्सो नयाँ भए पनि त्यसलाई स्केलेरो डर्माले फेरि आक्रमण गर्ने सम्भावना हुन्छ।
‘फोक्सो फेरेपछि पनि धेरै समय बाँच्ने आधार मसँग छैन,’ उनले भनिन्।
प्रशा पहिले नास्तिक थिइन्। यत्रो बिपत आइपरेपछि अब भने उनलाई भगवानमाथि विश्वास लाग्न थालेको छ। साक्षात ईश्वर हुन्छन् भन्नेमा त उनलाई अझै विश्वास छैन। तर, ईश्वरको उपस्थिति कुनै न कुनै रूपमा छ भनेर मान्न बाध्य भएको उनी बताउँछिन्।
‘अस्पतालको बेडमा लामो समय पल्टिँदा मसँग केवल संगीतको साथ थियो,’ उनले भनिन्, ‘केवल सुन्नसक्ने अवस्थामा रहेको बेला छेउमा राखिएको स्पिकरबाट बजिरहने आवाजले थुप्रै मिठा धुन सुनाइरहे।’
शल्यक्रियापछि झन्डै एक साता मेसिनको सहाराले बाँचेकी प्रशालाई फेब्रुअरी १४ तारिखको दिन बल्ल आफ्नै अंगका माध्यमबाट बाँच्ने गरी मुक्त गरियो। उनले जीवनसँगको लामो संघर्षमा त्यस दिन बल्ल विजय प्राप्त गरिन्।
‘तिमी बाँच्यौ,’ प्रेम दिवस भनिने ‘भ्यालेन्टाइन्स डे’ को त्यस दिन प्रशाको कानमा परेको पहिलो आवाज यही थियो।
‘त्यो आवाज अरू कसैको नभई मेरो श्रीमानको थियो,’ उनले भनिन्, ‘दीपकको।’
प्रशाका अनुसार उनी त्यतिबेला अर्धबेहोसीकै हालतमा रहे पनि श्रीमानको आवाज भने सुन्न र बुझ्न सकेकी थिइन्। ‘त्यतिबेला मेरा साथीहरू भनेकै अस्पतालका ती नर्स हुन् जसले मलाई निरन्तर सघाए,’ उनले गुन मान्दै भनिन्, ‘उनीहरूले मलाई जीवनप्रति उत्प्रेरित गरिरहे र अन्तिममा जीवनसँग जोडी पनि दिए।’
नयाँ जीवन पाइसकेपछि पनि प्रशाको संघर्ष भने जारी छ।
‘नयाँ फोक्सो पाएपछि यसको पुनस्र्थापनको पनि लामै प्रक्रिया चल्दो रहेछ,’ उनले भनिन्, ‘यो प्रक्रियाले शरीर र अंगहरूबारे हाम्रो समझलाई फेरि सुरुदेखि बुझ्न सघाउँदो रहेछ।’
नयाँ फोक्सो पाएपछि ‘कसरी श्वास फेर्ने’ देखि ‘कसरी हिँड्ने’ सम्मका तौरतरिका सिक्नुपरेको उनी बताउँछिन्। ‘सुरुमा त हिँड्न पनि मलाई पाँच–छ जना सहयोगी चाहिन्थ्यो,’ उनले सुनाइन्, ‘शरीरभरि जेलिएका पाइपहरू सम्हाल्दै आउजाउ गर्नै समस्या भए पनि म ती हरेक क्षणबाट पार पाउन संगीत सुनिरहन्थेँ, रमाउने प्रयत्न गरिरहन्थेँ।’
उनलाई सघाउन खटिएका नर्सहरू भन्थे, ‘यस्तो अवस्थामा पुग्दा पनि रमाउन प्रयत्न गरिरहने बिरामी हामीले यसअघि जीवनमै देखेका थिएनौं।’
यसको प्रत्यक्षदर्शी त म आफैं हुँ।
पोहोर अक्सिजन पाइपको गहनामा बेरिएर कन्सर्ट हेर्न आउँदा पनि उनको उत्साहमा कुनै कमी मैले देखेको थिइनँ। यसको अर्थ त्यही हो, प्रशाले त्यस्तो अवस्थामा पुग्दा पनि रमाउने प्रयत्नमा कुनै कसर छाडेकी थिइनन्।
यसपालि पनि उनी उस्तै थिइन्।
म्यानहटनमा ‘नेपथ्य’ कन्सर्ट सकिनेबित्तिकै बाहिर निस्कँदै गरेको दर्शक–हुलमा प्रशा पनि थिइन्। हामी फेरि भेटियौं। उनको पुनस्र्थापना केन्द्र हामी बसेको होटल नजिकै थियो। कार्यक्रम सकिएको पर्सिपल्ट उनी फेरि हामीलाई भेट्न आइपुगिन्।
‘दाइ,’ उनी कहालिइन्, ‘पोहोर कन्सर्ट हेरेपछि मैले जीवनमा यो नै अन्तिम हो भन्ठानेकी थिएँ। ल हेर्नुस् त, म फेरि आइपुगेँ... यी म यहाँ छु।’
प्रशाका अनुसार कन्सर्ट बेला धेरै दर्शक जिज्ञासु बन्दै उनीसँग कुरा गर्न आएका थिए। आफूलाई जीवितै देखेर सबै आश्चर्यचकित भएको उनले सुनाइन्।
‘अमृत दाइले ‘यो जिन्दगानी’ गाउँदा पछाडि ह्विलचियरमै बसेर नाच्दै गरेका बिरामीको भिडियोले मलाई साह्रै छोयो,’ उनले थपिन्, ‘म उनीहरूको ठाउँमा आफैंलाई देख्दै रोएकी थिएँ।’
कन्सर्टकै बीचमा त्यसरी रोइरहँदा आफूलाई फोक्सो दान गर्नेलाई सम्झँदै धन्यवाद दिएको पनि उनले सुनाइन्।
पोहोर र यसपालिको कन्सर्टमा एउटा अन्तर भने उनले भोग्नुपर्यो।
पोहोर अक्सिजनको सहारामा आएकी उनी दर्शकसँगै मिसिएर नाच्न पाएकी थिइन्। यसपालि भने संक्रमणको डरले स्रोताको भीडभाडभन्दा पर अलग्गथलग्गै बस्नुपरेछ।
यति कुरा गर्दागर्दै प्रशा हामीलाई कतै लैजान चाहन्थिन्। हामी तयार भयौं। म्यानहटनका व्यस्त सडक छिचोल्दै हामी उनको पुनर्स्थापना केन्द्रतर्फ लाग्यौं। धपक्क बलेकी प्रशा यति उत्साह र उमंगले भरिएको देखेर आनन्द लाग्दै थियो। जीवनप्रतिकै उत्साह थियो त्यो, जसमा भरपुर सकारात्मक ऊर्जा मिसिएको थियो।
उनले हामीलाई पुनर्स्थापना केन्द्रका मेसिनहरू देखाइन्। उनको पुनर्स्थापनामा सरिक त्यहाँका टिम सदस्यहरूसँग पनि परिचय गराइन्। र, नयाँ फोक्सोलाई आफ्नो शरीरले कसरी आफू अनुकूल बनाइरहेको छ भन्ने सविस्तार बताइन् पनि।
प्रशाको नयाँ जीवन नियालेपछि हामी अमेरिकाको अर्को कुनामा रहेको सहर सानफ्रान्सिस्को जाँदै थियौं। त्यहाँको ऐतिहासिक ‘वारफिल्ड थिएटर’ मा नेपथ्यको अर्को कन्सर्ट हुन गइरहेको थियो। डेभिड बवी, बब डिलनजस्ता थुप्रै विश्वप्रसिद्ध कलाकारको प्रस्तुति भइसकेको त्यो मञ्चमा अब छिट्टै ‘नेपथ्य’ को कार्यक्रम हुँदै थियो।
मैले सामाजिक सञ्जाल हेरेँ। त्यहाँ एउटा विचित्रको आरोप लगाएर नेपथ्य र नेपालयका बारेमा भ्रमको गतिलै खेती चलिरहेको रहेछ। त्यो सबैको जवाफ दिइराख्न मैले जरुरी ठानिनँ। कलाको सम्मान, व्यावसायिक मर्यादा र सामाजिक दायित्वप्रति हाम्रो सचेतना र हाम्रो प्रतिबद्धताबारे सबैलाइ अवगत नै छ।
त्यसरी आरोप लगाउनेले न्यू योर्कमा नेपाली दर्शकसँग भेटघाट गर्न नमानेर हामीले घमण्ड प्रदर्शन गरेको भन्दै एक ठाउँमा औंला उठाएका रहेछन्। नेपाली कलाकार विदेश गएका बेला उनीहरूको आत्मसम्मान गिराएर कतिपय आयोजकले कस्तासम्म गतिविधि गर्छन् भन्ने जानकारी सचेत नेपालीहरूले देख्दै आएकै हुन्। हामी नेपथ्यलाई त्यो ठाउँमा पुग्न नदिन प्रत्येक सेकेन्ड चनाखो भएर बसेका हुन्छौं। नेपाल र नेपालीपनलाई सदा शिरमा राखेर हिँड्ने समूहले जुनसुकै कुनामा पुगे पनि नेपालीहरूको सम्मान नगर्ने कुरै आउँदैन। हामीले दर्शकलाई भेट्न मानेनौं वा कसैलाई चोट पुर्यायौं भन्ने कुराको जवाफ के होला? म एकछिन सोचमग्न भएँ।
सानफ्रान्सिस्कोका निम्ति हाम्रो जहाज उड्नै लागेको थियो। मेरो दिमागमा प्रशासँगका सम्झना फेरि एकपटक सिनेमाजस्तै घुम्न थाले।
हाम्रो जहाज उड्यो। न्यूयोर्कमा केहीले उठाएका प्रश्नको जवाफ न्यू योर्कमै छाडेर हामी अर्को गन्तव्यतर्फ लाग्यौं।
एउटा कुरा भने मसँगै छ, अहिले पनि।
प्रशाको सम्झना। र, उनको दीर्घायुको कामना।