मनाङबाट मुस्ताङ जाँदा ५,४१६ मिटर उचाइमा अवस्थित छ, थोराङ्ला पास। यो विश्वकै सबभन्दा फराकिलो र उच्चस्थानमा रहेका पासमध्ये एक हो। यहाँको पदयात्रा रोमाञ्चकारी, सौन्दर्यपूर्ण र जोखिमपूर्ण छ।
हुन त नेपालका कतिपय प्रसिद्ध रमणीय र दुर्गम गाउँहरू (जस्तैः खप्तड राष्ट्रिय निकुञ्ज, मुगुको रारा ताल, मुस्ताङको मुक्तिनाथ, खोटाङको हलेसी महादेव, सोलुखुम्बुको नाम्चे बजार, ताप्लेजुङको ओलाङचोङ गोला) म पुगिसकेको छु, तर थोराङ्ला पासको पदयात्रामा भिन्नै अनुभव भयो।
हाम्रो यात्रा २०७० यही असोज ३१ गते सुरु भएको थियो। हामी त्यस दिन काठमाडौंबाट बेसीसहर पुग्दा टन्टलापुर घाम लागेको थियो। भोलिपल्ट कात्तिक १ गते बिहानको सिमसिमे पानीसँगै हामी बोलेरो गाडी चढेर अघि बढ्यौं। चारैतिर हरियो जंगलले ढाकेको डाँडा, मनमोहक झरनाहरू हेर्दै खोलानाला तर्दै अघि बढ्दा मर्स्याङ्दीको गड्गडाहट हाम्रो कानैमा ठोक्किन आइपुग्थ्यो। दिउँसो चाम्चेमा दालभात, तराकारी खाएर मर्स्याङ्दीको तीरैतीर उकालो लागी हामी धारापानीमा बास बस्न पुग्यौं।
तेस्रो दिन बिहानीको सिमसिमे पानीसँगै बादल लागेकाले हिँड्न सजिलो भयो। दिउँसो २,७१० मिटर उचाइको चामे बजार पुगियो। दायाँबायाँ पहाडको खोचमा मर्स्याङ्दी तीरको साँघुरो ठाउँमा अवस्थित चामे बजार छेउको तातोपानी पोखरीमा डुब्दा ज्यान हल्का अनुभूति भयो।
चौथो दिन हामी सानो उपत्यका पिसाङ पुग्यौं। चारैतिर अग्ला मनमोहक हिमाल र पहाडले घेरिएको तल्लो पिसाङ समथर भागमा छ। माथिल्लो पिसाङ (३,३१० मिटर) भने नांगो डाँडाको माझमा छ। माथिल्लो पिसाङको माथिल्लो भागमा रहेको गुम्बामा एक घन्टा ध्यान बस्दा लामा गुरुले मन्त्र जपिरहँदा आनन्द महसुस भयो। उहाँले नै दिएको तातो हर्बल चिया दुई–तीन गिलास खाँदा खुब मिठो लाग्यो।
पाँचौं दिन हामीले पिसाङबाट मनाङ गाउँसम्म यात्रा गर्यौं। यो यात्रा निकै रमाइलो र रमणीय लाग्यो। तीन घन्टाको हिँडाइपछि घ्यारु पुगियो। यहाँबाट वरिपरिका हिमाल, पहाड अतिरमणीय देखिन्थे। मनाङतिर हिँड्दै जाँदा दायाँतिर स–साना नांगा डाँडाको आकार निकै विचित्र र आकर्षक देखिथ्यो भने बायाँतिर विशाल सेताम्मे अन्नपूर्ण हिमालले मनमस्तिष्क भरी अविस्मरणीय छाप हाल्दै थियो। बाटोमा वरिपरि स–साना रुख र रंगीबिरंगी बुट्यानहरू अद्वितीय सौन्दर्यले धपक्क बलेका थिए।
साँझ ४ बेतिर ३,५४० मिटर उचाइको मनाङ बजार पुग्दा सानो ठमेलको झझल्को दियो। गाउँमा थुप्रै विदेशी पर्यटक घुम्दै थिए। गाउँको दक्षिणतिर अन्नपूर्ण हिमालको विशाल शृंखला र शिरैमा गंगापूर्ण हिमाल तथा फेदमा रहेको गंगापूर्ण तालले मनाङलाई थप आकर्षण दिइरहेको थियो।
छैटौं दिन हामी मनाङ बजारबाट ४,०५० मिटर उचाइको याकखर्क पुग्यौं। त्यहाँ पुग्दा पहाडमा हरियाली हराइसकेको थियो। जतासुकै बुट्यानहरूले मात्र ढाकिएको देखिन्थ्यो। निकै चिसो त्यो ठाउँमा बेलाबेला श्वास फेर्न गाह्रो भएको महसुस भयो। उच्च हिमाल र अक्सिजनको कमीले श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने हुँदा लामो लामो श्वास तान्ने र छाड्ने गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ र केही सजिलो महसुस हुन्छ।
सातौं दिन थोराङ फेदीको ४,४५० मिटर उचाइमा बास बसेर आठौं दिन हामी बिहान २ बजे नै उकालो लाग्न तयार भयौं। तातोपानी, लसुनको सुप खाएर बिहान ४ बजे थोराङ्ला चढ्न सुरु गर्यौं। हामी ५,४१६ मिटरको थोराङ्ला पास पुग्दा १० बजिसकेको थियो। त्यहाँ पुगेपछि केही बेर फोटोसेसन चल्यो। पदयात्रीहरू सबै खुसीले रमाए।
हामीले थोराङ्लामा २० मिनेटजति थकाई मार्दा हिजोका सबै थकान हराएको र शरीरमा नयाँ ऊर्जा, उत्साह र उमंग थपिएको महसुस भयो। अन्दाजी ६ किलोमिटर ठाडो उकालो र अर्को १० किलोमिटर ठाडो ओरालो ओर्लेर हामी बेलुकी ५ बजेतिर मुक्तिनाथ बासका लागि पुग्यौं।
नवौं दिन बिहान ३,९०० मिटरको मुक्तिनाथ दर्शन गरी बोलेर गाडी चढेर म्याग्दीको तातोपानीमा बास बसियो। भोलिपल्ट तातोपानीमा डुबेर सबै थकान मेटी आनन्द लियौं। त्यसपछि बस चढेर बेनी, पोखरा हुँदै एघारौं दिन काठमाडौं पुग्यौं।
यो अनुभवका आधारमा थोराङ्ला पदयात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरू यहाँ बाँड्न चाहन्छुः
१) दिनको ६–१० घन्टासम्म १०–१५ किलो भारी बोकेर ८–१० दिन हिँड्न सक्ने शारीरिक क्षमताका लागि पूर्वाभ्यास जरुरी पर्छ।
२) माछा, मासु, जंकफुड, कोक, फ्यान्टाभन्दा साकाहारी भोजन पचाउन सजिलो हुने भएकाले उपयुक्त हुन्छ।
३) २४ घन्टामा करिब चार लिटर पानी पिउनुपर्छ। तातो र मनतातो पानीका लागि दुईवटा थर्मस जरुरी पर्छ।
४) रक्सी र चुरोट खानु हुँदैन। रक्सीले ‘डिहाइड्रेसन’ गरी शारीरिक क्षमतामा ह्रास ल्याउनुका साथै लेक लाग्ने सम्भावना बढाउँछ।
५) प्रशस्त न्यानो लुगाको व्यवस्था हुनुपर्छ। दुई–तीन जोर मोजा, हातको पञ्जा, माकलटोपी, ट्राउजर, थर्मकोट, गन्जी, डाउन ज्याकेट, विन्डसिटको जरुरी पर्छ।
६) पानी पर्यो भने छाता र रेनकोटको व्यवस्था हुनुपर्छ। टर्चलाइट र आवश्यक औषधिहरू पनि बोक्नुपर्छ।
७) बिहान–बेलुका भातसँग एक–दुई केस्रा लसुन खाँदा लेक लाग्ने सम्भावना कम हुन्छ। उच्च भेगमा हिँड्दा ल्वाङ चपाएर हिँड्दा चिसो केही कम गर्छ।
८) हावा हुरी चल्यो, ठूलो वर्षात् भयो, हिउँ पर्न थाल्यो भने सुरक्षित ठाउँमा बस्ने प्रयास गर्नुपर्छ। होइन भने जतिसक्दो छिटो तल झर्नुपर्छ। लेक लागेमा पनि दुई–तीन हजार फिट तल झर्नुपर्छ।