हरेक सफलताको खुड्किलोले मलाई मेरो बाल्यकाल सम्झाउँछ। ती पल सम्झँदा मलाई आफू कति सोझो रहेछु भन्ने पनि महसुस हुन्छ। पढ्नभन्दा पौडी खेल्न रौस्याउने साथी, खोलोमा बाँध थुनेर मलाई जबर्जस्ती बगाउने साथी, खानेपानीको ट्याङ्कीभित्र पौडी खेल्न पठाएर घाइते बनाउने र बेन्चमा राखेर हात मर्काउने साथी सबैको सम्झना आउँछ।
जराकै सहाराले रूख बाँच्ने हो, हाँगा हाल्ने हो। यी सबै सम्झनालाई मैले मेरो जरा ठानेको छु। तिनै यादलाई संगाल्दै अगाडि बढेको छु।
जिन्दगीको गोरेटोमा अघि बढ्दै गर्दा कहिलेकाहीँ मेरो किशारावस्थाले म आफैंलाई छक्क बनाउँछ। सोलुबाट झापा गौरादह झरेपछि पढाइमा अनपेक्षित परिवर्तन आयो। व्यवहारमा भने खासै फरकपन आएन। केटीप्रति आकर्षण हुनुपर्ने त्यो उमेरमा म ठिकविपरीत हदैसम्म डराउँथे। बाटोमा केटीको हुल देखेपछि गुडाइरहेको साइकलबाट ओर्लिएर त्यसको चेन खेल्थेँ र बनाउन थाल्थेँ। अघि अघि केटी हिँडेको देखे म फुर्सदिलो हुन्थेँ, तर, पछाडि केटी मान्छे आए निकै हतारिन्थेँ।
सत्र सय रुपैयाँ लिएर राजधानी छिरेको मलाई विस्तारै कलाकारिताको भूतले छोयो। अनेक प्रकारका अभावसँग जुधायो। थुप्रै मान्छेसँग भेटायो। कलाकार बन्न गरेका संघर्षले केही अवसर दिलायो। दमन दाइको हास्य टेलिशृंखला ‘लौ न सतायो’ मा व्यवस्थापक भएर काम गर्ने मौका मिल्यो। यही टेलिशृंखलाले पहिलोपटक कुञ्जना घिमिरे (सुन्तली) सँग साक्षात्कार गरायो।
कुञ्जनासँग मेरो पहिलो भेट मैतिदेवीमा भएको थियो। उनी मेकअप गर्दै थिइन्। युवा भइसक्दा पनि केटीसँग खुलेर बोल्ने आँट ममा पलाएको थिएन। उनी आफैं बोल्न सुरु गरिन्। आफ्नो बारेमा बताइन्। राम्रैसँग परिचय भयो। आफूलेभन्दा धेरै काम उनले गरिसकेको जस्तो लाग्यो। रेडियो नेपालको ‘दिन–प्रतिदिन’ कार्यक्रममा पनि हाम्रो हुन थाल्यो। पछि ‘मेरी बास्सै’ गर्ने निधो भयो। हाम्रो भेट निकै बाक्लिँदै गयो।
‘मेरी बास्सै’ को सुरुका भागमा हामी काका–भतिजी भएर देखियौं। सहरी कथामा निर्माण गरिएको उक्त शृंखलामा दर्शकको खासै रुचि देखिएन। त्यसपछाडि हामीले धुर्मुस–सुन्तली नाम पायौं। जोडी भएर अभिनय ग¥यौं। दर्शकका आँखामा प¥यौं। खेम शर्मा, दमन रुपाखेती, जितु नेपाल, केदार घिमिरेको सहयोगले धुर्मुस–सुन्तली नामबाट कला क्षेत्रमा स्थापित भयौं।
हामी स्टेज कार्यक्रमका लागि विभिन्न ठाउँमा जान थाल्यौं। यसै क्रममा झापा पनि पुग्यौं। जब उनले मेरो परिवारको अवस्था बुझिन्, तब अझै निकटताको आभास दिने प्रयास गरिन्। परिवारमा भएको ऋण तिर्न उनले त्यो समयमै साथ दिएकी थिइन्। त्यतिबेला नै मलाई लाग्यो, ‘सुन्तलीको मन सफा छ, व्यवहार सहयोगी छ।’
टेलिभिजनमा जोडीका रूपमा देखेका बालबालिका हुन् या वृद्धवृद्धा भेट हुँदा, सबै हामीलाई बूढाबूढीजस्तै मान्थे। वास्तविक जीवनका पनि जीवनसाथी बन्न आर्शिवाद दिन्थे। हामी यसलाई सामान्य रूपमै हेथ्र्यौं। र, सहयोगी साथीका रूपमा सम्बन्ध अघि बढाउँथ्यौँ।
केदारजी र दमन दाइले पनि हामीलाई रमाइलो पारामा जिस्काउँथे। देश–विदेशका कार्यक्रम आयोजकहरू ‘एउटै कोठा बुक गरे हुन्छ होला नि’ भन्नसम्म पछि पर्दैनथे। कुञ्जना राम्रो बोल्थिन्, सहयोग गर्थिन्। म पुरुषप्रधान समाजमा हुर्किएको युवक भएकाले नाम जोडिँदा कुनै आपत्ति लाग्दैनथ्यो। तर, कुञ्जनाका लागि यी कुरा पीडादायी थिए। उनको समाजका लागि यी कुरा काट्ने हतियार थिए। इज्जतमा दाग लगाउने धब्बा थिए। यस्तै बेला मैले उनको सहनशीलता देखेँ। आँट र साहस देखेँ।
यिनै कुराले म कुञ्जनाप्रति पत्तै नपाई आकर्षित भएको हुँ। उनकै कारण केटीसँग लजाउने, डराउने म माया गर्ने मायालु बनेको हुँ। कुञ्जनाले नै मलाई माया गर्न सिकाएकी हो। तर, मायालुसँगै उनको हक्की स्वाभाव पनि छ। त्यसले मनको कुरा भन्न भने केही समय गाह्रो बनायो।
मौका मिलाएर मैले मनको कुरा भन्दा उनले मलाई हप्काउनुभन्दा बढी सम्झाइन्। भर्खर हामी हास्य क्षेत्रमा स्थापित हुने क्रममा छौं, अहिले लभ गर्ने, बरालिने हो भने भविष्य कस्तो हुन्छ? समाजले हामीलाई के भन्छ? उनको प्रश्नमा दम थियो, मलाई ठाउँमा ल्याउने शक्ति थियो। मनको कुरा भनेपछि कुञ्जनाले त्यसलाई सकारात्मक रूपमा नै लिइन्। अझै निकटताको महसुस भयो। तर, युवा अवस्थामा प्रेमका नाममा जति कुरा हुन्छन्, त्यो बिना नै हामीले करिब एक वर्ष कटायौं। डेटिङबिना नै हामी मायामा बस्यौं।
झापामा ज्योतिष ढकालको नाम चर्चामा थियो। उनले गरेका भविष्यवाणी ठ्याक्कै मिल्छन् भन्ने आममानिसमा छाप थियो। घर गएको मौका पारी मैले पनि चिना हेराएँ। उनले बिहे गरी हाल्न सुझाव दिए, त्यो पनि सुन्तलीसँगै। मलाई त कुनै अप्ठ्यारो थिएन। परिवारलाई उनी कस्ती छिन् भन्ने सबै थाहा नै थियो। तर, कुञ्जनाको परिवार सायद म र मेरो पृष्ठभूमिबारे बेखबर थियो। यद्यपि, बिहे गर्ने टुंगोमा पुगियो।
मंसिर १४ मा बिहे गरेको हामीले मंसिर १७ गते पोखरा महोत्सवमा सहभागिता जनायौं। यो नै बूढाबूढी बनेपछि धुर्मुस–सुन्तलीले गरेको पहिलो स्टेज कार्यक्रम थियो। कुञ्जना मेरो जीवनमा आएपछि स्टेज कार्यक्रमको साँच्चै भन्ने हो भने ओइरो नै लाग्यो। हामी देश–विदेश पुगेर दर्शक हँसाउनमा व्यस्त भयौं। तिनै पैसामा केही ऋण गरेर भाइ कुमार कट्टेल (जिग्री) लाई पढ्न बेलायत पठायौं। शिवहरि दाइ र किरण केसी दाइको यसमा ठूलो हात थियो।
हामीले केही समयमै ऋण तिर्यौं। केही पैसा जम्मा भएपछि कुञ्जनाले आँट गरिन्– अब जग्गा किन्नुपर्छ। हामीले बल्लतल्ल दुई आना जग्गा किनेका थियौं। त्यसको मूल्य दोब्बर भइदियो। कुञ्जनाकै सुझावअनुसार त्यो बेचेर चार आना जग्गा किन्यौं। थोरै थोरै गरेर कमाएको पैसाको सही सदुपयोग गर्न उनैले सिकाइन्। फेरि करिब दुई लाखजति जम्मा भएको थियो। उनले घर बनाउने आँट कसिन्। दुवै जना मिलेर काम गरौं, घर बनाउन सुरु गरौं अवश्य बनाउन सकिन्छ भन्ने ढाडस दिइन्। उनको साहसलाई सम्मान गरेर अघि बढ्दा–बढ्दै घर पनि बन्यो।
महिलामा एक विशेष शक्ति हुन्छ। त्यसको सही सदुपयोग भए हरेक पुरुष सकारात्मक बाटोमा लाग्छ। परिवारले मात्र होइन, समाज र सिंगो देशले त्यसको प्रतिफल पाउँछ। कुञ्जना सपना देख्थिन्, आँट गर्थिन् र पूरा गरेरै छाड्थिन्। महिलामा एकाग्रता हुन्छ भन्ने कुरा मैले उनलाई हेरेर नै अनुभव गरेको हुँ।
सरकारले हामीलाई सरसफाइ दूत घोषणा गर्दा पनि कुञ्जनाले नै मलाई हौस्याएकी हुन्। ‘यो देशले दिएको जिम्मेवारी हो, हामीले पाएको जिम्मेवारी पूरा गर्न चुपचाप बसेर हुँदैन,’ उनका यी भनाइले मलाई ऊर्जा दियो। हामीले सरसफाइ अभियान चलाउने निधो गर्यौं। काखेछोरी छाडेर उनी पनि त्यो जिम्मेवारी पूरा गर्न सँगै हिँडिन्। समाजले के भन्ला भन्दा बढी वातावरणसँगै समाजमा रहेका मानिसको दिमाग सफा गर्नुपर्छ भन्ने मान्यताका साथ हामी अघि बढ्यौं।
राजमार्गमा शौचालयहरू निर्माण गर्ने सामाजिक उद्देश्य लिएर हामी कार्यक्रमका लागि अमेरिका गयौं। त्यही बेला भुइँचालो गयो। कार्यक्रम नगर्ने निष्कर्ष निकाल्दै उनले स्वदेश फर्किएर पीडामा रहेकाहरूको सहयोगमा जुट्नुपर्ने आवश्यकता औंल्याइन्। जहाजमा उड्दै गर्दा देखिएका खाली ठाउँहरू हेर्दै भन्थिन्, ‘परकम्पले मानिसलाई कति अत्याइरहेको होला, यो खाली ठाउँमा ल्याएर राख्न पाए सुरक्षित त हुन्थे।’ उनको भनाइमा म दयाभाव देख्थेँ। देशप्रतिको चिन्ता देख्थेँ। पीडामा रहेकाहरूको घाउमा मल्हमपट्टी गर्ने सपना देख्थेँ।
महिलाहरू पुरुषभन्दा बढी दुरदर्शी हुन्छन्। यो कुरा म ढुक्कले भन्न सक्छु, किनकि मैले यो अनुभव गरेको छ। कुञ्जनाले देखेको सपनाले मलाई कहिल्यै घाटामा पुर्याएको छैन। त्यसैले, उनको दुरदर्शितामा मलाई विश्वास छ। म उनले देखाएको बाटो ढुक्कले हिँड्छु, आएका व्यवधान पन्छाउँछु र अघि बढ्छु। अहिलेसम्म जति महत्वपूण काम गरेँ, त्यसमा उनको दुरदर्शिताले नै काम गरिरहेको छ। उनको आँटले नयाँ उचाइ प्रदान गरिरहेको छ।
राहत वितरणका लागि विभिन्न ठाउँमा पुग्दा देखिएका परिदृश्यले मन सम्हाल्न गाह्रो भयो। हामीले सकेको राहत वितरण गर्यौं र बस्नकै लागि विकराल समस्या देख्यौं। अस्थायी टहराहरू निर्माण हुँदै गर्दा हामीले एउटा एकीकृत नमूना बस्ती निर्माण गर्ने लक्ष्य राख्यौं। बोल्दा मात्र कसैले हाम्रो कुरा सुन्दैन, पत्याउँदैन तर गरेर देखाए त्यसको सिको गर्नेहरू थुप्रै भेटिन्छन् भन्ने हाम्रो सोच थियो।
कुञ्जना भन्थिन्, ‘घर बनाउनु ठूलो कुरा होइन, समाज मिलाउनु ठूलो कुरा हो।’ यसो सोच्दा हो पनि। मानिस मिलाउन सके असम्भव कुरा के छ र? समाज मिले मजबुत समाज बन्छ, पार्टी मिले मजबुत देश बन्छ। यही मान्यताका साथ काभ्रे डाँडागाउँको समाज मिलाउने पहिलो प्रयास गरियो। समाज बल्लतल्ल मिल्यो। अनेक व्यवधान आइपर्यो। बस्ती निर्माण सुरु गरियो तर अन्त्य गर्न निकै गाह्रो पर्यो।
यही तनावमा म एकदिन टेन्टमुनि सुस्ताएर बसेको थिएँ। कुञ्जनाले नजिक आएर भनिन्, ‘काम सुरु गर्यौं, अब फत्ते नगरी हुँदै हुन्न। तपाईंको तनाव दुर गर्ने एउटा उपाय मसँग छ।’ उनको भनाइले मनमा तरंग पैदा गर्यो। बल्लतल्ल बनाएको घर बेचेर बस्ती निर्माणको काम सक्ने उपाय उनले सुझाएकी थिइन्। साँच्चिकै उनले भनेजस्तै हाम्रो अन्तिम उपाय त्यही थियो। दर्शक हँसाएर बनाएको घर दुःख र पीडामा रहेका दर्शकको मुहारमा हाँसो ल्याउनमै त खर्च हुने हो। उनको भनाइले मलाई नयाँ ऊर्जा थप्यो। मनमनै भनेँ, ‘धन्य सुन्तली!’
जसोतसो अस्थायी टहरा बन्दै गर्दा भूकम्पपीडित १९ घरपरिवारका लागि सुरक्षित एकीकृत आवास बनाइयो। तराईमा आन्दोलनको आगो बल्दै गर्दा मुसहर बस्तीमा सद्भाव र सहयोगका लागि पुगियो। उनीहरूको दिमागमा सकारात्मक प्रभाव छाड्न सुन्तलीको सहयोग अतुलनीय छ।
पहिलो बस्ती सोचेअनुरुपको नहुँदा कुञ्जना बेलाबखत भन्थिन्, ‘यस्तो सहर बनाउन मन छ, जहाँ एकै प्रकारका चिटिक्कका घर हुन्। चौडा बाटो होस्, बगैंचा होस्, बालबालिका खेल्ने खेलमैदान होस्। समाज एक भएर रमाइलो गर्ने सामुदायिक भवन होस्। त्यो बस्ती नै मानिसको आयआर्जनको माध्यम बनोस्। अनि त्यहाँका मनिसको जीवनस्तर सुध्रिएको सबैले महशुस गर्न सकुन्। यस्तै बस्तीको आवश्यकता बुझेर समाज मिलाउने, सद्भाव फिजाउने र शान्ति फैलाउने बाटोमा देश अघि बढ्न सकोस्।’
उनको यो सपनाले मेरो मन छोएको थियो। त्यही सपना पूरा गर्ने प्रयासमा गिरानचौर एकीकृत नमूना बस्ती निर्माण भएको हो।
सपना देख्ने र देखाउनेहरू बग्रेल्ती पाइन्छन्। त्यो सपना पूरा गर्न साथ दिने साथीको अभाव जुनसुकै र जहाँसुकै खट्किरहेको हुन्छ। सरकार पनि त्यस्तै सपना देख्छ, तर अन्य पार्टीहरू मुन्टो अर्कैतिर फर्काउँछन्। यसले सपना तुहिन पुग्छन्। जनता निराश हुन्छन्। कतिपय परिवारमा यस्तै हुन्छ र सधैं कलह भइरहन्छ। तर, कुञ्जना सपना देखाउँछिन्। सपना पूरा गर्न सहयोग गर्छिन् र काम सम्पन्न नभएसम्म साथ दिइरहन्छिन्। त्यसैले, महिलामा माया, स्नेहसहितको शक्ति हुन्छ। त्यो शक्ति सदुपयोग हुने हो भने पुरुषको संलग्नतामा परिवार र समाज मात्र होइन, सिंगो देश सु–सम्पन्न बन्नेमा दुईमत छैन।
मलाई विश्वास छ तिम्रो साथले अझै धेरै काम गर्न हौस्याउनेछ। कलाकारितामा मात्र होइन, सामाजिक काममा पनि झनै सक्रिय बनाउनेछ। तिमीले दिएको आँट, साहस र देखाएको सपनाले हाम्रो हरेक पाइला उचाइतर्फ बढाउनेछ। यसमा तपाईँहरूको पनि साथ मिलेको खण्डमा यसरीनै देशको मुहार फेर्न हामी हरपल तत्पर छौ।
राष्ट्र निर्माण, तपाईं-हाम्रो अभियान।