भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गरे। उनलाई आउन मन लाग्यो आए, आए पछि फर्किनु पथ्र्यो, फर्के। गाँठी कुरा यत्ति हो। भारतमा सायद मुखर्जीको भ्रमणको समाचार गएको र फर्केको भन्दा बढी केही भएन। तर नेपालमा भने यो समाचार कुनै मित्रराष्ट्रको राष्ट्राध्यक्ष आएको र गएकोमा मात्र सीमित भएन। मानौँ कुनै देशको राष्ट्रपति मात्र हाम्रो देशमा आएका होइनन् बरु कुनै अलौकिक पुरुष नेपालमा आएको झैँ भयो। ती अलौकिक पुरुष नेपालको दयाले आए। नेपालको विधाता बनेर आए। नेपालको कायापलट गरिदिन आए। नेपालको मुक्ति बनेर आए। मानौँ कि उनले अब नेपाललाई युरोप बनाइदिने भए। अब नेपालीका दुखका दिन गए। यी शब्दहरु कुनै नेता पगरीधारी प्राणीले नभने पनि तिनले यस्तै व्यवहार गरे मुखर्जीप्रति।
विश्वमा नेपाल र भारत समान स्तरको राष्ट्र हो कि होइन ? संयुक्त राष्ट्र संघले समान मान्यता दिएको छ कि छैन ? छैन भने नेतहरुले सोधे हुन्छ संयुक्त राष्ट्र संघलाई ? त्यहाँ नेपाल र भारतको हैसियत उस्तै हो कि होइन ? यो कुरा थाहा छ भने किन सत्ता बाहिर हुँदा भारतको सत्तोसराप र सत्तामा हुँदा भारतको भक्ति र पूजा। नेताको यो द्वैध चरित्रकै कारण भारतले नेपालसँग अनमेल फाइदा लिइरहेको होइन र ? जो विपक्षीमा पुगेर भारतको सत्तोसराप गर्छ ऊ सत्तामा पुगेपछि भारत भक्ति देखाउनुपर्ने अघोषित वातारण भारतले पनि सिर्जना गर्दै आएको होइन र ? यसमा दोषी को ? भारत कि हाम्रा नेता ? पक्कै पनि भारतभन्दा नेपालका नेता यसमा बढी दोषी छन्। किन यति लम्पसार परेर हामी तिम्रा दास हौँ भन्ने प्रमाणित गर्न र त्यसैमा सफलता दिख्ने भ्रम पाल्यौँ हामीले ? कुटनीतिमा समानताको रक्षा गर्न हामी किन चुक्यौँ ?
भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई स्वगात गर्न नेपालकी राष्ट्रपति विद्या भण्डारी विमानस्थलमा पुगिन्। के यसैगरी नेपालकी राष्ट्रपति विद्या भण्डारीले भारतको भ्रमण गर्दा भारतीय राष्ट्रपति नेपालकी राष्ट्रपतिलाई स्वागत गर्न विमानस्थल आउलान् ? के नेपालका राष्ट्रपतिको भारत भ्रमण हुँदा भारतले सार्वजनिक विदा देला ? के नेपाली राष्ट्रपतिको सुरक्षाका लागि दिल्लीमा अघोषित कफ्र्यु लगाउला ? अहँ ! यी कुनै पनि काम भारतले गर्ने छैन। तब, खै कुटनीतिमा समानता ?
नेपालका प्रधानमन्त्री भारत जाँदा विदेश सचिवले विमानस्थमा स्वागत गर्छन्। केही गरी भारतका विदेश मन्त्री स्वागत गर्न विमानस्थल पुगे भने नेपाली प्रधानमन्त्री उफ्री उफ्रि नाच्छन्। मानौँ एक तह माथिकाले स्वागत गर्नु नै भ्रमणको सफलता हो। भ्रमणको उद्देश्य नै स्वागत र सगुन हो। हाम्रो हिनताबोधी यही चरित्रकै कारण भारतले हामीलाई हेपेको होइन र ? सन्दर्भवश लबीमा चिनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग एकैपटक भेट भएको कुरालाई त ढुंगा खोज्दा देउता भेटेको जस्तो भयो भन्ने नेपाली प्रधानमन्त्रीको अभिव्यक्तिलाई नजिकबाट नियालिरहेको भारतले आफ्नो राष्ट्रपतिलाई भगवानको साक्षात अवतार झैँ व्यवहार गराउन के कसर बाँकी राख्ला र ? उसले गराउन खोज्नु उसको ठाउँमा उसको सफलता होला ? तर हामी चाहिँ चुकेको होइन र ?
भारतले त हामीलाई लिलिपुटियन राज्यको व्यवहार गरिरहेको छ नै। तर त्योभन्दा बढी हामी आफैँ लिलिपुटियन हुन खोजिरहेका छैनौँ ? होइन भने हामी भारतसामु झुक्नमा किन गर्व गरिरहेका छौँ ? यो अवश्य हो, भारत भूगोलमा नेपालभन्दा ठूलो छ, तर कुटनीतिमा भारत नेपालभन्दा कसरी ठूलो होला ? त्यसको पुष्टि कसरी हुन्छ ? यो पुष्टि भारतले गर्न सक्दैन, तर हामी नै त्यो पुष्टि गरिदिन खोजिरहेका छौँ। हामीलाई सेवकको जस्तो व्यवहार गरे पनि हुन्छ, तर हामीचाहिँ तपार्इँलाई मालिकको व्यवहार गछौँ भन्दै विश्वलाई हामी आफँै भारतको उपनिवेश हौँ है भनी प्रमाणित गर्न खोजीरहरका छौँ। हामीले कुटनीतिमा समानता खोज्नुको सट्टा किन असमानता बढाउँदै लगेको?
सन् १९५० मा तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले भारतसँग असमान सन्धी गरे। त्यसलाई सच्याउनुपर्छ भनेर नेपालका नेताहरुले पटप पटक चर्का भाषण गरे। आन्दोलनमा होस् वा चुनावमा यो एजेण्डा जल्दोबल्दो बन्यो। तर तिनै हिजो भारतीय असमानताको एजेण्डा बोक्ने नेताहरु आज आएर सबैभन्दा बढी भारतसामु धनुषटंकार भएर झुके। के हिजो असमान सन्धि भयो भनेर डुक्रनेहरुले अहिले आपूm सरकारमा आएपछि समान व्यवहार खोज्नु पर्दैन? कि समानता भनेकै तपाईँले सत्ता प्राप्त गर्नु हो ? होइन भने ६७ वर्ष अगाडि मोहनशमशेर झुकेकोभन्दा पनि तल परेर किन झुकेको नेताजी ? यसले जनताका अगाडि अनुहार देखाउन असहज महसुस त हुँदैन?
नेताजी दोष कसको ? भारतको कि तपार्इँको? भारतलाई के गरी दोष दिऊँ। भारतको चाहना पनि तिमी दास बनिदिए हुन्थ्यो भन्ने होला। तर दास बनिदेऊ भनेर भारतले मुखै खोलेर त पक्कै भनेको थिएन। तिमी आफैँ दास पो बन्न गयौ। तिमी आफैँ दास हुन्छौं। भने दास बनाउनेले दास बनाउँदिन किन भन्थ्यो ?
अन्त्यमा, सुरक्षाका कुरा। तिम्रा महामहिमको सुरक्षार्थ तिमीले देश नै ठप्प पा¥यौ। मानव अधिकारको विश्वव्यापी घोषणापत्रको बर्खिलाप हुने गरी आफ्ना नागरिकको स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने अधिकार खोस्यौ। जनताको अधिकारको रक्षा गर्छु भनी संयुक्त राष्ट्र संघमा आफैँले हस्ताक्षर गरेको प्रतिबद्धताको खिल्ली उडायौ। तिम्रा सुरक्षाकर्मीले दिएको सल्लाहलाई शिरोपर गर्दै काठमाडौँलाई अघोषित कफ्र्यू लगायौ। तर याद गर, तिम्रा महामहिमलाई तिम्रा जनताबाट कुनै असुरक्षा छैन। नेपाली जनता हिंसाको नाम सुन्न चाहँदैनन्। गुलेली चलाउन नजान्ने जनताले तिम्रा महामहिमको गाथमा कुनै अप्रिय घटना घटाउलान् भनेर कसरी अनुमान गर्यौ? शान्तिकामी नेपाली जनतामाथि कसरी तिम्रो अविश्वास पैदा भयो र सबलाई घरभित्रै बन्दी बनाएर खण्डहर शहरमा महामहिमलाई दौडायौ र त्यसैमा गर्व गर्यौ ?
नेताज्यू, तपाईँलाई आफ्ना जनताको विश्वास लागेन? जनता सडकमा आउँदा तिम्रा महामहिमको जिउज्यान असुरक्षा हुन्छ भन्ने लागेको भए पनि जनतालाई बन्धक बनाउने काम गर्नुहुने थिएन। सुरक्षा भनेको त्यो हो जहाँ मानिसको उपस्थितिको माझ हुन्छ। सुरक्षा त्यो होइन जहाँ मानव उपस्थिति शुन्य पारेर गरिन्छ। सडकमा मानिस उत्रिन नदिएर गरेको सुरक्षालाई सुरक्षा भनिँदैन। त्यो त आफ्नै सुरक्षा व्यवस्थाप्रति आफैँले गरेको अविश्वास मात्र हो।
नेताज्यू, सत्ता पाएपछि मान्छे विवेकशून्य हुन्छ भन्छन्। त्यसको प्रमाणित गर्यौ। महामहिम काठमाडौँ उत्रँदा जनताले सडकमा हिँड्न पाएनन् मात्र होइन, आफ्नो पेशा व्यवसाय समेत गर्न पाएनन्। बिरामीहरु अस्पताल पुग्न पाएनन्। बिरामीलाई रगत पु¥याउन हिँडेको विरामीको आफन्तलाई प्रहरीले अस्पताल जान नदिँदा उसले नेपाल सरकार विरुद्ध नारा लगाएको तिमीले सुन्यौ कि सुनेनौ ? कि सुनेर पनि चुप लागि बस्यौ ? किन विवेक शून्य बन्यौ ? जनता अस्पताल पुग्न नपाउँदा रोएको आवाजलाई किन मुखर्जीको धुपधुवारमा बजाइएको शंखघण्टको घुनले ढाक्यौ। रोम जल्दा नीरो बाँसुरीमा रमाए झैँ किन जनता रुँदा मुखर्जी सेवामा रमायौँ। तिमीले किन जनताको अधिकारलाई सत्ता लम्पसारमा दाउ लगायौँ ?
तिम्रा लागि आफ्ना जनता ठूला कि मित्र राष्ट्रका महामहिम ठूला ? जनता ठूला हुन् भने नेपाली जनताको स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने स्वतन्त्रताको हनन गरेर किन मुखर्जीको धुपधुवार गर्न लागेको ? किन राजनीतिमा यस्तो लम्पसारवादलाई प्रश्रय दिएको ? तिम्रो राजनीति अब भारतकै पोल्टामा नै हो त ? देश ठप्पै पारेर कस्तो मित्रता दिवस मनाइन्छ सरकार ? जनताका अधिकारलाई वेपत्ता पार्ने सुरक्षा पनि कहिँ सुरक्षा हो र सरकार?