राजधानीमा दसैंको आसपास एक किसिमको ठूलै चर्चा हुन्छ। काठमाडौं बाहिरका मान्छे आफ्ना घर फर्किदा यहाँ खुल्ला देखिन्छ, सफा हुन्छ।
यो सतप्रतिशत सत्य हो र यससँग जोडिएर आउने अर्को पुच्छ्रे कुरो (नितान्त ब्यक्तिगत) अब बाहिरियालाई आफ्नै घर फर्काउन पर्यो र काठमाडौंलाई यहाँका बासिन्दा जो पुस्तौंदेखि बस्दै आएका छन् तीनलाई मात्र बस्न दिइनुपर्यो।
पर्यावरण र वातावरणका कुरा जोड्दा यस टिप्पणीले बल पाउला नभए यो बेतुकको कुरो मात्र सिद्ध छ। सामाजिक सञ्जालमा केही साथीहरुले यस्ता टिप्पणी गरिरहेका हुन्छन्।
तर्कका बारेमा ठीक बेठीक भन्नु पूर्व नै यो फलानोले पो लेखेको भनेर ब्यक्ति माथिको टिकाटिप्पणीमा अभ्यस्त हुने बानी छ हाम्रो। काठमाडौं मै जन्मिएर हुर्की यहीँ भविश्य बनाउन गिट्टी कुट्ने श्रमिक भएता पनि कुनै शंका र अर्को सोच बिना निश्चय साथ म भन्छु काठमाडौं बाहिरियाले बनाएको ठाउँ हो।
हो ती बाहिरियाकै कारण यहाँका धेरै घरका चुलो बल्छ र अझ धेरैका पेटमा माड पुग्छ। राजधानी शहरका बासिन्दा भनेर दम्भ राख्नुपूर्व एक पटक सोचौं हाम्रो निर्भरता के कुरामा छ। तराईबाट आउने चामल, दालले भकारी भरेर, बाहिरबाट रोजगारी, अध्ययनका लागि आउनेलाई बहालमा राखेर नै काठमाडौं मोटाएको छ।
दसैं सकियो। धेरैले दशैंमा रमाइलाका लागि जुवातास खेल्नु भयो होला। काठमाडौंका धेरै गल्लीमा, बहाल नै लिएर सदाबहार जुवा खेल्ने अखडाहरू यत्रतत्र छन्। अनि तीनका नियमित खेलाडी भनेका मुख्यत ३/४ घर ठड्याइ बहाल लगाई मनग्य आर्जन गर्ने यहाँका स्थानीयनै हुन्। घरायसी दैनिक आवश्यकतादेखि जुवाका कुलत र बिलासिताका रहर पूर्तिका लागि बाहिरियाबाट हुने आम्दानी नै द्योतक देखिन्छ।
काठमाडौंका लोकल ठाउँहरु जसले आफैंमा इतिहास धानेका थिए आज ती चर्चा बाहिर छन्। इटुम्बहाल, झोछेँ, यट्खा जस्ता शहरका मुटुहरू मात्र होइन अलिक परका साँखु, चापागाउँ लगाएतका ठाउँहरु ओझेलमा परे। आज तीनका साटो भैंसेपाटी, बुढानिलकण्ठ, इमाडोल जस्ता ठाउँहरु बढी चल्तीमा छन्।
कारण छलङ्ग छ, ती ठाउँहरुमा बाहिरबाट आउने मान्छेले बसोबास सुरु गरे। समाजशास्त्रीय आधारमा भन्दा मिश्रीत समाज जसमा धेरै जात जातिका बसोबास हुन्छ त्यसले विकासमा छलाङ हान्छ । निषेधको ब्यवहारले समाज रुपान्तरण गर्दैन बरु सिध्याउँछ।
राजनीतिक कुरा अर्कै होलान्। काठमाडौं प्रशासनिक राजधानी मात्र होइन। यो त सांस्कृतिक राजधानी पनि हो। आज यो परिचयलाई यातायातका सुगमता र केन्द्रको परिचयले निलेको छ । यस अर्थमा न्याय यसले पनि पाएको छैन। तर चल्तीका काठमाडौं बनाउन यहाँका लोकल मात्रले पर्याप्त छैन। दशैंका बिदाबाट अफिसहरु खुल्दै छन्। कलेज स्कूलहरु तिहारबाट खुल्ने हुँदा अझै सडक होलो नै छ। मुख्य ब्यापारिक केन्द्रहरुमा चाप कमै छन्, सिनेमाहलहरुका सिट नि खाली नै थिए बिदाहरुमा।
जनसंख्यालाई समस्या देखेका चीन र भारतले आज तेही मानवसागरबाट तरक्की गरिहेका छन्। भारतीय विद्यार्थीलाई बेलायती भिसामा कडाइ गरेको छ भन्ने समाचारले भारतमा घर बनाउन अघि नै बेलायती प्रधानमन्त्री स्वयं आई यस्तो कुनै कठिनाइ बेलायतमा नरहेको बरु अझ ब्यग्रताका साथ भारतीय विद्यार्थीलाई स्वागत गर्न चाहेको बताए। यो अरब जनसंख्या कै फल थियो।
काठमाडौंमा सार्वजनिक सवारीका बिकल्प चाहिएको छ। रामभरोसे सार्वजनिक यात्रालाई ब्यवस्थित र भरपर्दो बनाउन मेट्रोको अध्ययन भइरहेको छ । उक्त मेट्रोलाई चल्ने र थेग्नसक्ने बनाउन दैनिक आवागमन गर्ने मान्छेका निश्चित संख्या पुग्न जरुरी छ। यी विकासलाई हाम्रा कालमा भएको देख्न बाहिरियाका संख्या गतिलै हुनपर्छ। आज विश्वलाई नै एक गाउँ र हामी सबै त्यही गाउँबासी भन्ने सोच प्रस्फुटित भइरहेको अवस्थामा साँघुरो सोच होइन सबैलाई अटाउने सोचको आवश्यकता छ। आखिर हिमाल तराई कोही छैन पराई।