केही महिनाअघि सेतोपाटीमा प्रकाशित‘स्वास्नीलाई तँ, लोग्नेलाई हजुर?’ शीर्षकको लेखपढेपछि नलेखी नसकेर लेख्दै छु। लेखाईमा मेरो भाँती नपुग्ने पक्का छ, तै पनि जमर्काे गर्दैछु।
तँ, तिमी र तपाईं सम्बोधनका विषयमा लेखिएको उक्त लेखप्रति यो विघ्न समर्थन वा उग्र असहमति दुवै होइन। उक्त लेखले खोजी गरेकोमध्ये म एउटा गतिलो पात्र ठानेर लेख्ने कुत्कुती बढेको हो! म मात्र मेरो अनुभव लेख्न खोज्दैछु।
म र मेरो श्रीमानबीच ‘तँ’ सम्बोधन हुन्छ। कहिले गफ गर्दागर्दै हामी एक–अर्कालाई तिमी पनि भन्छौं। र, तपाईं पनि। यी सम्बोधनमा हामीलाई कत्ति पनि असहज महसुस हुँदैन।
मैले सानैमा आफूभन्दा ठूलाबडासँग आदरपूर्वक बोल्दा ‘आइस्योस्/गइस्योस्’ भन्नुपर्ने सिकेँ। पछि त जो–कोही नयाँ मान्छेसँग पनि सुरुसुरुमा ‘आइस्योस्÷गइस्योस्’ भन्ने बानी बस्यो।
यस्तै सम्बोधनबाट सुरु भएको थियो म र मेरो श्रीमान्बीचको सम्बन्ध।
करिब चार वर्षअघि, उद्घोषण कला सिक्ने क्रममा ऊ मेरो प्रशिक्षकको भूमिकामा थियो। म उसलाई सर भन्थेँ, हजुर भन्थेँ, आइस्योस्/गइस्योस् भन्थेँ। उसले मलाई नामको पछाडि ‘जी’ लगाउँथ्यो। मैले उसलाई उच्च आदरार्थी सम्बोधन गर्दा उसले मलाई कहिल्यै तिमी वा तँ भनेन। धेरैजसो तपाईं भन्थ्यो। कहिलेकाहीँ आइस्योस्/गइस्योस् पनि भन्थ्यो तर जिस्क्याउने शैलीमा। अलि पछि थाहा भयो, आइस्योस्÷गइस्योस् शैलीप्रति ऊ सहज मान्दैनथ्यो। यद्यपी, उसको जिस्क्याइलाई मैले रमाइलै मानेँ, होच्याएको ठानिनँ।
समयक्रमसँगै हामीबीचको सम्बन्ध गाढिँदै गयो। हामी हजुरबाट तपाईंमा पुग्यौं। मैले तपाईं भन्दा ऊ तपाईं नै भन्थ्यो अनि हजुर लगाउँदा जिस्क्याउँदै उस्तै सम्बोधन फिर्ता गथ्र्याे।
तर, मेरो भित्री मनमा कसो–कसो उसले तिमी भनिदिए हुन्थ्योजस्तो लाग्न थालिसकेको थियो। यो केको उपज हो भन्ने विषयमा विमर्श गर्नु छैन। मलाई त्यस्तो लाग्थ्यो बस्!
खै याद छैन, कुन मेसोमा हामी ‘तपाईं’बाट ‘तिमी’मा पुग्यौं। कसरी हामीबीच तिमी चल्न थालेको थियो? अहिले जति सम्झँदा पनि याद आएन। त्यो हामीले योजना बनाएर गरेको निर्णय थिएन। न त हामी दुवैलाई सम्बोधनको कसीले माया तौलने मन नै थियो। हाम्रो सम्बन्ध प्रेमी–प्रेमिकाका रुपमा अघि बढीसकेपछि एकदिन उसले सोध्यो, ‘तिमी सबैभन्दा नजिकको साथीलाई तिमी भन्छौ कि तँ?’
एकछिन मैले नजिकका साथीहरुलाई सम्झें र जवाफ दिएँ, ‘एकदम नजिकका साथीलाई त तँ नै भन्छु।’
उसले थप्यो, ‘म तिम्रो प्रेमी त हँु तिमीले भनेको एकदम नजिकको साथी पनि त हुनसक्छु नि?’
‘किन नसक्ने?’ फ्याट्टै जवाफ त दिएँ तर उसले भन्न खोजेको कुरोको ठ्याक्कै भेउ पाएको थिइन।
उसका पनि तँ भन्ने साथी निकै कम रहेछन्। साथी र सम्बोधनको मामलामा उसको विश्वास छ, तँ भन्ने साथी अलि बढ्तै आत्मीय हुन्छन्।
यसपछि पो बल्ल बुझेँ, उसले भन्न खोजेको कुरा।
हामीले एक–अर्कालाई तँ भनेर बोल्यौं भने निकै आत्मीय र एक–अर्काप्रति अझै स्वतन्त्र महसुस हुने उसको प्रस्ताव मलाई त्यतिबेला अनौठो लागेकै हो।
तत्कालै हामीले त्यस्तो अभ्यास गरेनौं होला। र, त्यति बहस पनि गरेनौ। तर, कतिबेला देखि हामीले एक–अर्कालाई प्यारोगरी तँ भन्न थाल्यौं त्योचाहीँ हेक्का छैन मलाई।
त्यसो त हामी एक–अर्कालाई तिमी पनि भन्छौं, कहिले तपाईं पनि भन्छौं अनि जिस्कन हजुर पनि।
विवाहपछि पनि हामीले एक–अर्कालाई गर्ने सम्बोधन फेरिएको छैन।
तर एकदिन आफैंलाई अनौठो लाग्यो। यसकुरामा कि, सबै महिलाहरुले आफ्ना मान्यजनका अगाडि आफ्नो श्रीमान्लाई तपाईं भनिरहँदा मैले उसको आमाको अगाडि तँ भनिरहेको हुन्थेँ। तर, त्यतिबेला कुनै हेक्कै हुन्थेन। यदि हेक्का हुन्थ्यो भने म आमाको अनुहारको प्रतिक्रिया ख्याल गर्थें हुँला।
तर निकैपछि मात्र मेरो दिमागमा यो कुराको झिल्का उठ्यो। मैले उति गम्भीर भएर त होइन, सामान्य गफगाफमा उसलाई सोधेँ, ‘मैले तेरो आमाको अगाडि तँलाई तँभन्दा के ठान्नुहोला है आमाले?’
उसको उत्तर थियो, ‘एक दुई दिन अप्ठ्यारो लाग्ला, पछि उहाँलाई पनि बानी परिहाल्छ नि।’
हुन त हामीबीच तँ, तिमी, तपाईं भन्ने कहिले ठेगान हुन्छ र? जेपनि भनिरहँदा उहाँले ‘यिनीहरु यस्तै हुन्’ भन्ने बुझ्नुभएको होला कि!
तर, श्रीमतीले श्रीमान्लाई तपाईं वा हजुर भनिरहेको समाजमा तँ भनेको सुन्दा अरुलाई पक्कै पनि अनौठो लाग्दो हो। यस्तै प्रसंगमा एकदिन उसले आफ्नो भाइको कुरा सुनाएको थियो।
मसँग फोनमा ‘तँ’ भन्दै गफ गरेको सुनेपछि भाइले एकदिन उसलाई भनेछन्, ‘भाउजुले तिमी भनिरहँदा तँचाहीँ किन तँ भन्छस्?’
उसले भनेछ, ‘हामी दुवैमा तँ–तँ नै चल्छ।’
तर, भाइले पत्याएनछन्।
त्यसपछि, हामीले कहिल्यै पनि यसबारे छलफल गरेनौं। सोचाइमा पनि यस्ता कुरा खेल्दैनथे। तर त्यो लेखले मात्र सम्झाइदिएको हो।
र, श्रीमानलाई तँ भन्छु भन्दैमा मलाई कुनै गौरव र घमन्ड महसुस नै हुँदैन। दिमागमा यस्ता कुरा खेल्दै नखेलेपछि केही जितेँ भन्नु पनि छैन र कसैले हा¥यो भन्नु पनि छैन। कुरा यत्ति मात्र हो कि सामाजिक सन्जालमा यस विषयमा टीकाटिप्पणी दर्किन थालेपछि मेरो मथिंगलमा कम्पन सिर्जना भयो र लेख्ने खसखस जाग्यो।
अनि उक्त लेखमा ठोकुवा गरिएजस्तो तँ सम्बोधन मायाप्रेममा हँुदैन भन्नेचाहीँ मेरो अनुभूतिले गलत सावित गर्छ। लेखमा उल्लेख गरिएजस्तो अवस्था हाम्रो समाजमा छैन भन्न खोजेको पनि होइन तर ‘...तँ भएर बाँच्दिन’ जस्ता वाक्यले कम्तिमा मलाई न्याय गरेन।
मेरो आसय यति मात्रै हो कि, मैले कुनै तयारी र घमण्ड नगरी श्रीमान्लाई तँ भन्न थालेँ। अहिले बानी परेको छ। यसमा कुनै जीत–हार, सम्मान–उपहास, इज्जत–बेइज्जत, कुनै वाद–अपवाद केही महसुस गरिएकै छैन। विल्कुल सामान्य।
यदि मैले बिहे गर्नुअघि ‘तँ भन्नेसँग बिहे गर्दिन’ वा ‘श्रीमानलाई पनि तँ नै भन्न पाउनुपर्छ’ भन्नेजस्ता अडान राखेकी हुन्थेँ भने अहिले हामीबीचको ‘तँ’ सम्बोधन यति प्रेमिल हुने थिएन होला।
यो पनि पढ्नुहोस्