देशका आधाभन्दा बढी मान्छेले धूमधाम दसैं मनाए। यिनै चाडपर्व हुन् बेलायतका प्रधानमन्त्री, अमेरिकाका राष्ट्रपतिले शुभकामना दिए, पूजामा सरिक भए। अझ यसपालि त नेपालका लागि अमेरिकी राजदूत टेप्लिजले त दसैंको टीकासमेत थापिन्, कैयौँ क्रिश्चियनहरूले समेत दसैं धूमधाम मनाए। पोखरामा त एक अमेरिकी जोडीले हिन्दु परम्पराबाट विधिवत् विवाह समेत गरे।
हेर्ने र सुन्नेहरू दंग परे। नेपाली भएकोमा गौरब गरे।
अर्कोतर्फ देशका प्रधानमन्त्री, राष्ट्रको अभिभावक, हजारौँ नेता र कार्यकर्ताका प्रेरणाका स्रोत, लोकतन्त्रका हस्ती पुष्पकमल दाहालले यसपालि पनि टीका लगाएनन्। उनको यो छलाङले एउटा सानो हिस्सा खुसी भयो होला धेरै जनता कार्यकर्ता खुसी भएनन्। म पनि खुसी भइनँ।
हो हजुर थाहा छ देश धर्मनिरपेक्ष छ, राज्यको कुनै धर्म हुँदैन त्यसैले राज्यले कुनै धर्मलाई भेदभाव गर्नु हुँदैन।
यही राजनीतिभित्र आफ्नो प्रतिभा र दृढ़ता लिएर निर्वाचनमा होमिई हट्टाकट्टा बाहुन प्रतिस्पर्धीलाई उछिन्दै विजयमाला प्राप्त गरेकी तामाङकी छोरी नविना लामाले एमाले पार्टी अध्यक्ष केपी ओलीको हातको टीका थापेको कुराले ठूलै खैलाबैला मच्चियो। विशेषगरी उनकै समुदायबाट आलोचनाको वर्षा भयो। धेरैले बिरोध गरे। कसैकसैले त नविनाले धर्म बेची, जात बेचीसम्म भन्न भ्याए। दाहालले टीका नलगाएको भन्दा नविनाले टीका लगाएको कुरा बढी चर्चित भयो।
फेरि देख्ने सुन्नेहरू निराश भए। बढ्दै गएको जातीय उन्मादप्रति खेद प्रकट गरे।
यो खबर कुनै विदेशीले नसुनोस्, नपढोस् भनेर म दुर्गा मातासँग प्रार्थना गर्दछु।
म हाम्रै प्रधानमन्त्रीकै सेरोफेरोमा सन्दर्भ जोड्न चाहन्छु। भित्री मनले जेसुकै गरून्, प्रधानमन्त्रीले यतिधेरै मान्छेले मनाउने चाड दसैंमा पनि अरुले जस्तै सहानुभूति राखिदिएर टीका थापे के बिग्रन्थ्यो र? यसै पनि उनी हिन्दु धर्मका धेरै संस्कार टेकेरै यहाँसम्म आएकै होलान्। चाड मनाउँदा अरूसँग किन हिचकिचाउनु परेको होला? एउटी तामाङकी छोरीले मनाउने दसैं दाहाल आफैंले नमनाएर के सन्देश दिन चाहेका हुन्? धेरै मान्छे जान्न चाहन्छन्।
कतै दाहालज्यूले सुटुक्क धर्म परिवर्तन त गरेका होइनन्?
कम्युनिष्टहरू धर्म मान्दैनन् भन्थे। तर, मन पर्दा अरुको धर्म मान्न बाह्र हात उफ्रेर जाने तर आफ्नै चाड मनाउन नाक चेप्राउने यो के प्रवृत्ति होला? फेरि अरु नेता कार्यकर्ताले धूमधाम मनाउने कस्तो खालको कम्युनिज्म होला?
धर्म चाहिँ मान्दिन भन्ने तर अरिष्टताको शान्तिको लागि भैँसी पूजा गरेको, गाई दान गरेको र बाबा रामदेवको हातबाट रातो टीका लगाएको लगायत धेरै कर्महरू गर्दा कुन धर्मको हैसियतमा गरे होलान्?
यिनै प्रधानमन्त्री हुन् जो ब्रिक्स सम्मेलनमा ‘ताई न तुई’को पोशाक लगाउँछन् (स्मरण रहोस सबै जसोले आफ्नो पहिचानयुक्त पोशाक लगाएका थिए), आफ्नै समुदायले मनाउने चाड दसैं मनाउन नसक्नेले ब्रिस्क सम्मेलनमा बुद्ध र पशुपतिनाथ भजाएर सहयोगको याचना कुन मुखले गर्न सकेको होला?
त्यसो त हिजो मन्दिर र मूर्ति तोडेर धर्मलाई अफ़िम भन्नेहरू आज प्रायश्चितस्वरुप रुद्राक्ष गनेर मन्त्र जपिरहेकै छन्। ठिकै छ उनीहरूले प्रायश्चित्त गर्न पाउनुपर्छ।
प्रसंग जनजाति आन्दोलन र बाहुनवादी राज्यसत्ताको जोड्न चाहन्छु:। भोट राजनीतिको लागि सबै दोष बाहुन क्षेत्रीलाई लगाएर आफैं कार्यकारी प्रमुख हुने र जनता लडाएर सीके राउत र आङ्काजीहरूलाई हौसला दिनु कुन अग्रगमनको सिद्धान्तभित्र पर्छ कुन्नी? नेता चाहिँ सर्वहाराको जीवनशैली चाहिँ महाराजाको हुनु कम्युनिस्ट सिद्धान्तभित्र पक्कै पर्दैन होला।
उनै प्रधानमन्त्री हुन् जो हिजो मुस्लिमहरूको कार्यक्रममा जाँदा मुस्लिम पहिरन गरे, तामाङकोमा जाँदा तामाङ, गुरूङकोमा जाँदा गुरूङ र थारुकहाँ जाँदा थारु पहिरनमा सजिए। कसैले चुक्क बिरोध गरेनन्, सबैले राम्रै माने। अहो! यस्तो पो समावेशीता!
तर, आफ्नै समुदायको चाड दसैंलाई निरन्तर बहिस्कार गरेर क्रान्तिकारी होइन भ्रान्तिकारी मात्र देखिएका छन् दाहालले।
अचेल चौतारोमा बहस चलिरहेको छ। हिजो दसैंमा टीका नलगाउने बाहुन दाहाल र तामाङकी छोरी भएर दसैंको टीका थाप्ने नविना लामामध्ये कसको उचाइ बढ्यो होला? अरुकै चाडवाडसम्म मनाउने प्रगतिशील प्रधानमन्त्रीलाई आफ्नै चाड मनाउन यति साह्रो हिच्किचाउनु किन पर्थ्यो र? त्यसैगरी अर्कोथरी मान्छेहरू भनिरहेका छन्– दाहालले आफ्ना मतदाता घटाए।
फेरि पनि स्वीकार गर्छु, सबैलाई टीका लगाउने र नलगाउने छुट छ। साधारण मान्छेलाई त फरक नपार्ला तर देश हाँक्ने मान्छेले यसरी ठूलो हिस्सा ओगटेका मान्छेको चाडवाड नमनाउँदा घाटा आफैंलाई हुन्छ। तामाङकी छोरी नविनाले समाजमा सकारात्मक तरङ्ग ल्याउन दसैंको टीका लगाइन्, उनले न धर्म बेचेकी हुन् न त कसैको डर धम्कीमा परेर लगाएकी हुन्। उनले हिम्मतका साथ देशको प्रधानमन्त्री बन्ने प्रतिज्ञा गर्दा न त कसैसँग आरक्षण मागेकी छिन् न त कसैको आशीर्वाद। त्यसैले उनको भविष्य उज्ज्वल छ।
जनै धारण गरेर व्यक्तिगत रुपमा म धेरैपटक चर्च गएको छु, बौद्ध गुम्बा त मेरा लागि मन्दिरजस्तै हो, म बूढासुब्बा मात्र हैन, गुरुद्वार पनि धेरैपटक गएको छु, मस्जिदमा समेत धेरैपटक पुगेको छु। मेरा मुसलमान साथीहरूलाई असलम वालेकुम भनेर उनीहरूले भन्दा पहिले मैले भनेर अभिवादन गर्छु। भन्नुस् मैले कसरी धर्म बेचेँ? नविनाले कसरी धर्म बेचिन्?
राजनीतिमा कुनै एउटा समुदायलाई काखी च्यापेर अघि बढ्न सकिँदैन, अघि बढ्न त सबैको गाथ र साथ चाहिन्छ। एउटा ठूलो हिस्सालाई बेखुसी बनाएर राजनीतिमा सफल हुन सकिन्न भन्ने कलिलै उमेरकी नविनाले बुझिन्, पाका दाहालले बुझेनन्।
नविनाले देश तथा धर्म बुझेकी छिन्, त्यसैले उनले भोलि धर्म नै परिवर्तन गरेर हिन्दु बने पनि कसैको टाउको दुखाई हुनुहुन्न। रोक्न त तिनलाई जरुरी छ, जो करकाप र बाध्यताले धर्म परिवर्तन गरेका छन्। भोलि नविनालाई ल्होसार नमनाउन कसैले जबर्जस्ती गर्यो भने बल्ल भन्न सकिएला नविनाले धर्म बेचिन् भनेर।
एउटाको पहिचान बचाउन अर्कोको पहिचानमाथि धावा बोल्ने हो भने त्यसको परिणाम युद्धबाहेक केही हुँदैन। पहिचानको लागि अरुलाई दुत्कारेर होइन सत्कारे मात्र गन्तव्यमा पुग्न सकिन्छ भन्ने कुरो आङ्काजीहरूले त बुझेनन् बुझेनन्, दाहालजस्ता हैसियतदार नेताले समेत बुझेनन्। भोलि कुनै एक जाति विशेषको भोटले मात्र अघि बढ्न सकिन्न भन्ने कुरा आङ्काजीहरूले नबुझे पनि नविना लामाजस्ता सम्भावना बोकेका हस्तीहरूले बुझेछन्, बरु हाम्रा प्रिय प्रधानमन्त्रीले पनि नविनाबाटै यो समदृष्टि र सहिष्णुता सिके हुन्थ्यो।