‘नो राइट टर्न’ को सिग्नल वास्ता नगरी बाइक दौडाउन खुब मजा भयो हैन? ल लाइसेन्स झिक्नुस्।’
माइतीघरबाट भद्रकालीतिर मोडमा बसेका ट्राफिक प्रहरीले म सवार मोटरसाइकल रोक्दै भने। मभन्दा अघि पनि केही स्कुटर र मोटरसाइकल त्यहाँ रोकिएका थिए। तिनलाई सवारी नियम उल्लंघनको कारबाहीस्वरुप पूर्जी काटिँदै थियो। यसैबीच एउटा पल्सर मोटरबाइक तीव्र वेगमा हुइँकिदै आयो। सोही नियम उल्लंघन गरेर आएको उक्त चालकले तीव्र वेगले प्रहरीलाई नै हिर्काउँला जसरी मोटरसाइकल हुइँक्याए। उसलाई रोक्न ट्राफिक प्रहरी असफल भए।
ट्राफिक प्रहरीको फन्दामा परे पनि मैले त्यस्तो हर्कत गरिनँ। मोटरसाइकल रोकेरै ड्युटीमा खटिएका ती प्रहरीसँग याचना गर्दै भनेँ, ‘त्यहाँको ट्राफिक सिग्नल राम्रो देखिँदैन। भोलि यही बाइक लिएर दसैंमा घर जानु छ। तपाईंले २४ घन्टे पूर्जी काटेपछि लाइसेन्स झिक्ने समय मसँग छैन। यसपटक छोडिदिनुस्।’
ट्राफिक प्रहरीको उद्देश्य सवारी नियमको पूर्ण पालना गराउनु थियो भने उनी ट्राफिक सिग्नल भएकै ठाउँमा बसेर सवारीहरूलाई त्यहाँबाट मोडिन दिने थिएनन् होला। सिग्नल कटेर अगाडि बढ्ने मोडैमा लुकेर बस्दै कारबाही चलाउने ट्राफिक प्रहरीको रवैया देखेर मलाई रिस पनि उठ्यो। उनी मान्न तयार नभएपछि धेरै प्रतिवाद गर्न उचित ठानिनँ। छातीमा सिसी क्यामेरा टाँसेका ती प्रहरीले मभन्दा अघि रहेका केही स्कुटर र मोटरसाइकल देखाउँदै मलाई भने, ‘तपाईलाई छाडे उहाँहरूलाई के गर्ने? तर तपाईंलाई एउटा फेभर गर्नसक्छु, बग्गीखानामा पैसा तिरेर रसिद लिएर आउनुहोस्, यहीँबाट लाइसेन्स दिन्छु।’
उनले दिएको विकल्प मलाई चित्त बुझ्यो। लाइसेन्स झिकेर दिएँ। उनले लेन उल्लंघनमा कारबाहीको पूर्जी थमाए। बग्गीखानास्थित ट्राफिक प्रहरीको मुख्यालय पुगेर पैसा बुझाएँ। ट्राफिक प्रहरीले काटेको पूर्जी लिएर पुनः ट्राफिकले सञ्चालन गर्ने कक्षा लिने ठाउँमा दर्ता गर्न लाइनमा बस्नुपर्ने रहेछ। ट्राफिक कारबाहीमा कति धेरै पर्दा रहेछन् भने पैसा बुझाउने ठाउँमा लाइन, कक्षा लिने नाम दर्ता गर्न लाइन। पेसा नै सधैं हतारोमा हुने हामी पत्रकारका लागि त यसरी लाइनमा घन्टौं उभिने धैर्य कहाँ हुन्छ? तैपनि पूर्जी दर्ता गराइराखौं, कथंकदाचित् लाइसेन्स फिर्ता दिन्छु भन्ने प्रहरी भेटिएनन् भने! यही संशयका कारण पूर्जी दर्ता गराएँ। कक्षा हुने समय बुझेँ। ‘बिहान ९ देखि १० बजेसम्म त्यसपछि ११ बजेपछि हरेक घन्टा हुन्छ,’ पूर्जी दर्ता गर्न खटिएका ट्राफिक प्रहरीले भने।
मेरो संशय ठीकै थियो। पूर्जी काटेको ठाउँमा ती ट्राफिक प्रहरी थिएनन्। त्यहाँ ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई सोधेँ। उनी छड्केमा आएका रहेछन्, कारबाही चलाएर लाइसेन्स बटुलेपछि अर्को ठाउँमा छड्के गर्न हिँडेछन्। उनले मलाई मूर्ख बनाएको अनुभूति भयो। बिनालाइसेन्स ट्राफिकले काटेको २४ घन्टे पूर्जीका भरमा राजमार्गका सारा चेकिङ छिचोल्दै दसैं मनाउन घर जाने क्रममा थप दुःख पाइने आशंकाले लाइसेन्स लिने निधोसहित भोलिपल्ट बिहान लेन अनुशासनको कक्षा लिन बग्गीखाना पुगेँ। दिएको निर्धारित समय ९ बज्नुभन्दा १० मिनेटअघि नै पुगे पनि ९ बजेका लागि सञ्चालन हुने दुवै कक्षा भरिइसकेको रहेछ। पछिल्लो कक्षा सुरु हुनुभन्दा आधा घन्टा पहिले आएर नाम लेखाउन त्यहाँ सेवारत प्रहरीले सुझाए।
म अचम्भित भएँ, कक्षा लिन समेत यस्तो पालो कुर्नुपर्ने! ‘ट्राफिकले पूर्जी काटेपछि सारा काम छाडेर एक दिन बग्गीखानामा कक्षा लिने काममा छुट्याउनुपर्ने, अरू काम केही हुँदैन? तपाईंले दिएको समयमा आएको छु, मेरो नाम लेख्नुस्। मलाई अर्को कक्षामा आउन फुर्सद छैन,’ मैले ती प्रहरीलाई भने। मलाई थप अचम्म के लाग्यो भने ट्राफिक प्रहरीले एक दिनमा कति चालकलाई कारबाही गर्दो रहेछ? त्यहाँ कक्षा लिन आउनेहरूको भीड हेर्दा लाग्यो सारा काठमाडौंका चालक बग्गीखानामा भेला भएका छन्।
मैले कक्षा लिन पाउनुपर्ने जिद्दी दोहो¥याएपछि त्यहाँ रहेका प्रहरीले भने, ‘सीमित ठाउँ छ, समस्या बुझिदिनुस्, अर्को सेसनमा आउनुहोस्।’ ट्राफिक प्रहरीले मादकपदार्थ सेवन (मापसे) र लेन अनुशासनका दुईवटा कक्षा एकसाथ सञ्चालन गर्दो रहेछ। बग्गीखाना परिसरका दुईवटा टेन्टमा प्रत्येकमा १ सय ५० गरी जम्मा तीन सय कारबाहीमा परेकाहरूले एउटा सत्रमा कक्षा लिन पाउने रहेछन्। दिनमा हजारौं लाइसेन्स खोसिन्छन्, तर एउटा सत्रमा तीन सय जनाले मात्र कक्षा लिन पाउँछन्। कारबाहीको दरअनुसार कक्षा सञ्चालन गर्ने सुविधामा सामञ्जस्य ल्याएर सेवा दिनेबारे ट्राफिक प्रहरीको ध्यान पुगेको देखिएन। प्रायः सहरमा कामकाजी मान्छे बढी हुने भएकाले बिहानको कक्षामा चाप हुनु स्वाभाविक पनि हुन्छ।
कक्षामा भर्ना नपाएपछि त्यस दिन दसैं मान्न घर जाने कार्यक्रम अर्को दिन सार्नुपर्ने भयो। दिउँसोको कुनै कक्षामा पस्ने सोचले कक्षा सञ्चालन हुन लागेको पालबाट हिँडेँ। अचानक एक परिचित भेट भए। बग्गीखानामा आएपछि ट्राफिकको कारबाहीमा परेरै आएको अनुमान गर्दै उनले सोधे, ‘कक्षा लिन पाइएन कि के हो?’ मैले त्यहाँको समस्या बताएपछि उनले मेरो पूर्जी पालभित्र नाम दर्ता गर्दै गरेका प्रहरीलाई थमाएर बस्न भने। नाम दर्ता गर्ने लहरमा रहेका तीन कुर्सीमध्ये पालको साइडमा एउटा कुर्सी राख्दै उनले मलाई बसाले। उनले मेरो पूर्जी नाम लेखिरहेको अर्को साथीलाई दिँदै भने, ‘इन्चार्जले भनेको।’ ज्याक लगाएर काम गर्नु र गराउनु हुँदैन भन्ने मान्यता राख्छु तर मेरो मान्यताअनुसार सिस्टमले काम गरेको प्रायः कहीँ देख्दिनँ।
म कक्षा लिन बसेँ। हामीलाई लेन अनुशासन पालना नगर्दा कसरी दुर्घटना हुन्छ, कसरी जाम हुन्छ र त्यसलाई खुलाउन कसरी घन्टौं लाग्छ भन्ने सन्देश बोकेका भिडियोहरू देखाइए। महामारी र प्राकृतिक विपत्तिपछि सवारी दुर्घटनाबाटै ठूलो मानवीय क्षति हुने गरेको तथ्यांक सुनाइए। पछिल्लो पाँच वर्षमा झन्डै पाँच हजार मानिस सवारी दुर्घटनाबाट मारिएको तथ्यांक ट्राफिक प्रहरीको छ, त्यस्तै हजारौंको संख्यामा घाइते तथा अङ्गभङ्ग भएका घटना छन्।
एक घन्टाको उक्त कक्षामा आधा घन्टाजति भिडियो प्रस्तुति हुँदो रहेछ। लेन अनुशासन पालना नगर्दा या ट्राफिकका अन्य नियम पालना नगरी सडकमा चालकले गर्र्ने हतार र असावधानीले दुर्घटना बढी हुने गरेको भन्दै एक अधिकृतले प्रस्तुति दिए। बाहिर घन्टौं समय फुर्सदमा बिताए पनि सडकमा निस्केपछि सबैलाई हतारो हुन्छ, जसका कारण ट्राफिक व्यवस्थापन र दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले कारबाहीको अभियान चलाएको उनको प्रस्तुतिको सार थियो। उनले लेन अनुशासन कसरी पालना गर्ने, सडकमा कसरी सुरक्षित भएर सवारी चलाउने भन्ने सम्बन्धमा सम्पूर्ण प्रस्तुति दिए। लाइसेन्स फिर्ता लिन झारा टारौं भनेर कक्षामा पुगेको म ट्राफिकको कक्षाबाट निकै प्रभावित भएँ। मैले यस्ता सन्देश सम्पूर्ण चालकसम्म पु¥याउन सल्लाह दिएँ। कारबाहीमा परेर आउनेलाई मात्र होइन, ट्राफिक प्रहरीले विभिन्न ‘रोड शो’ तथा जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्न आवश्यक छ।
काठमाडौंमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति र कारबाही बाक्लै हुने थापाथली बाग्मती पुल, भद्रकाली मोड, थापाथली प्रसूति गृह काटेर युएन पार्क मोडिने बाटोबाहेक अन्य ठाउँमा पनि ट्राफिकको उपस्थिति हुनपर्छ। हुन त ट्राफिक सिग्नल राखेको ठाउँमा ट्राफिक प्रहरी बस्नु आवश्यक मानिँदैन, तर सिग्नलबाट अलिकति परतिर बसेर कारबाही चलाउने, ट्राफिक व्यवस्थापन, दुर्घटना नियन्त्रणभन्दा राजस्व उठाउनेतर्फ केन्द्रित रवैया सवारी कानुन कार्यान्वयन निकायले परिवर्तन गर्नुपर्छ। कारबाहीमा परेकाहरूलाई सेवा दिन त्यहीअनुसार सुविधा पनि थप गर्नुपर्ने खाँचो देखिन्छ। यद्यपि ट्राफिक प्रहरीले सवारी कानुन पालना गराउन निर्वाह गरेको भूमिकालाई मुक्तकण्ठले प्रशंसा गर्छु।
साँच्चिकै यति नगर्ने हो भने सडकमा सवारी चालकहरूको मनोमानी कति बढ्ने थियो होला भन्ने स्वाभाविक प्रश्न मनमा उब्जिन्छ। लेन नहेरी नागबेली गर्दै दौडने माइक्रोबस, मोटरसाइकल, जहाँसुकै रोकेर यात्रु चढाउने–ओराल्ने बसहरू, मादकपदार्थ सेवन गरेर सवारी चलाउने चालक, जताततै ओभरटेक गर्दै सडकमा सवारी साधनको आवागमन नै अवरुद्ध पार्ने, जथाभाबी सडक आसपास पार्किङ गरिदिने अराजक चालककै कारण हो, सडकमा जोखिम बढेको।
कतिपय चालकले सडकमा देखाएको अराजकता अत्यासलाग्दो छ, सडकमा अराजकता रोक्ने ट्राफिक प्रहरीको भूमिकालाई साधुवाद।