दसैंको मुखमा एउटा गैरसरकारी संस्थाको तीन महिनाको लागि जिल्ला कार्यक्रम अधिकृत भएर हुम्ला जानु पर्ने भयो। कार्यक्रम थियो दश गाविसका विपन्न वर्गमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने । नेपालगञ्जमा करिब दस दिन प्लेन कुरेपछि बल्ल पुगियो हुम्लाको सिमिकोट । केही दिन जिल्ला अफिसमै कामको चाँजोपाँजो मिलाएर स्थलगत निरीक्षणका लागि म अनि जिल्लाका मेनेजर निस्कियौं कार्यक्रम लागू भएका गाउँतिर । मैले भोगेको त के कल्पना पनि गरेको थिएन, दुर्गमका बस्तिको दुर्दशा यति कष्टदायक हुन्छ भनेर । करिब ५ घण्टाको पैदल यात्रापछि १० को बिस्कुटलाई ४० रुपैयाँ तिरेर एकएक पुरिया बिस्कुट र पानी खाएपछि मात्र थाहा भयो दुर्गम के हो भनेर।
ठाडो उकालो त्यसमाथि एकजना मात्र हिँड्न मिल्ने बाटो कथम्कदाचित थोरै मात्र खुट्टा खस्किएमा पुगिन्थ्यो करिब १०० मिटर तल कर्णालीका माछाका आहारा हुन। लगातारको हिँडाइ कइडा लागेर भनेको ठाँउमा खुट्टा पर्दैन थिए, पिडांैला फर्किएर थुचुक्क बस्थें। बस्दै हिँड्दै ३ घण्टाको बाटो हामीलाई एक दिन लाग्यो। बास बस्ने क्रममा स्थानीय मानिसको जनजीवन, दैनिक दिनचर्या देख्दा अहिले पनि आङ सिरिङ्ग हुन्छ, वयस्क हुँदा लगाएको कपडा एक पटक पनि फेर्न नसकी जीवन ढल्नै लागेको उमेर पुगेका, जीवनमा साबुनको स्पर्श नपाएको शरीर, काँइयो भनेकै थाहा नभएका दिदीबहिनीको कपाल।
चिसो भएकैले होला अधिकांश महिलाको हातमा सुर्र्ती भरिएको हुक्का भेटिन्थ्यो । त्यसको हानीनोक्सानी पनि थाहा नभई पिइरहन्थे उनीहरु। हामीसँग थोरै लाज मानेझंै गरेर। मुटु काँप्ने जाडो, पानी बरफ बनी जमेको, चिसो हावाले आँखाभरि आँशु खसिरहेको देखिन्थ्यो। जाडो त्यसमा पनि हाम्रो यात्राभन्दा तीन दिनअघि परेको हिँउका केही अवशेष नियाल्दै थकित शरिर लथ्य्राकलथ्य्राक गर्दै झर्नु थियो लालीको ओरालो । गरीब गाउँबस्ती गरीबीको पराकाष्टाले जेलिएको समाज, अशिक्षित अन्धविश्वासले जरा गाडिरहेको समुदाय तर पनि हाम्रो स्वागतमा भएभरको सामथ्र्यता प्रस्तुत गर्न रत्तिभर कन्जुस्याई गर्दैन थिए हुम्लीहरु। कारण थियो उनिहरुको खाली पेट भर्ने अन्तर्राष्ट्रिय संस्था डब्लुएफपीको खाद्यान्न वितरणको जिम्मा हाम्रै संस्थाले लिएको थियो ।
हामी पनि उनीहरुको स्वागतमा पुलकित बनी हाकिमकै व्यवहार गथ्र्यौं । खाद्यान्नका रुपमा पाएसम्म भात, दाल, तरकारी अनि प्रायजसो ४/५ दिन अघिको भए पनि भेडा च्यांग्रा, कुखुराको मासु खाना रमाउथे उनीहरु। मासुका सबै जातका जनावर सायद खाने आदत छ होला अधिकांश हुम्लीहरुमा यसको कारण अरु केही नभएर गरीबीपछि बनेको आदत नै हुनुपर्छ उनिहरूको । सरसफाईको कार्यक्रम अधिकृत भएर गएको म बिचरो चेतना फैलाउन बोल्नु थियो, भए–नभएका कुरा। शिलशिला बाँधेर अनि आफ्नो व्यवहारले उनीहरुको मन जिती परिवर्तन गराउनुको अलावा म नै उनीहरुको रहन सहनमा उनीहरु जस्तै बन्नुको विकल्प ममा थिएन । त्यहाँको चिसो हावा बरफ बनेको पानीमा राम्रोसँग हात नधोई खाना खानु पर्ने मेरो आफ्नै बाध्यताका बीच के चेतना फैलाउनु?
तर पनि तातो पानीले हात धोई खाना खानुहोस्, पानी तताएर भए पनि कम्तीमा २ दिनमा एक पटक नुहाउनुहोस्, बासी सडेगलेका खानेकुरा नखानुहोस्, पानी उमालेर मात्र खानुहोस् त भनें। तर, यी सबै कुरा गर्न म आफैं असक्षम थिएँ। गरीबीमा पिल्सिएका हुम्ली, दातृ राष्ट्रले दयाले खटाएर दिएको खाद्यान्नले पालिएको पेट, केही परिवारलाई छाडेर अधिकांश दुर्गमका बस्तीहरु यही पिरोलोमा तड्पिएका छन् अनि त्यो गरीबीले ढाड सेकेका व्यक्ति, समुदायलाई कहाँबाट साबुन, स्याम्पू, तुथ पेष्ट–ब्रस, पियूष, जीवन–जल, काँइयो, नेल कट् इत्यादि सरसफाईका सामाग्री जुटाउने? ताकि दश रुपैयाँको लुगा धुने साबुनको मूल्य ७० रुपैयाँ पर्छ भने कसरी उनीहरुले यस्ता वस्तु खरिद गर्छन् ?
यस्ता अनेकौ पिडा खपेर दुर्गमका जनताहरु बाँचिरहेछन् । आउँदो भोकमरी, हैजा, झाडापखालाले शिकार नबनाए नयाँ नेपालको भावी उज्यालो देख्न, भोग्न र एक छाक भए पनि भोलि पेटभरि खाना पाउने आशाले पर्खिरहेछन् हुम्लीहरू ।