मजस्ता मान्छेलाई हिरो हुन के नै चाहिन्छ र!
एउटा कालो गगल्स आँखामा लगाएर पोज दियो भने साथीहरू ‘हिरोजस्तो देखिइस्’ भन्दिहाल्छन्। त्यसमा पनि आफ्नै बाइक भएसी त सुनमा सुगन्ध!
घ्याच्च बाइक रोकेर, स्ट्यान्ड लगाएर दायाँ खुट्टा घुमाउँदै ओर्लने र आँखाको कालो गगल्स निकालेर हेलमेट खोल्ने हिरो इमेज अझै हराएको छैन दिमागबाट। त्यही हिरो स्टाइल देखाउन यो दसैंमा काठमाडौंदेखि घरसम्म बाइकमा जाने भइयो।
असोज २० गते झिसमिसेमै थानकोट काट्यौं हामीले। पछाडि कान्छो भाइ बसेको थियो। ऊ भन्थ्यो, ‘दाइ, पशुपति प्रसाद भन्ने फिलिममा भन्छ नि, विदेश गएकाहरू गाउँमा आउँदा कसरी टक्क हिरो स्टाइलमा आउँछन्। हो त्यसरी जानुपर्छ दाजुभाइ।’
मलाई पनि हो जस्तै लाग्थ्यो उसका कुरा। हुन पनि म पहिलोपटक गाउँमा बाइक लिएर जाँदै थिएँ। मेरो गाउँमा मोटर पुगेकै चार वर्षजति त भयो।
अलिकति उज्यालो भएपछि दाजुभाइले कालो गगल्स लगायौं र बटार्यौं एक्सिलेटर। मुग्लिन पुगुञ्जेल जामले बाटो छपक्कै छोपेको थियो। हामीले हिरो स्टाइलमा त्यो छिचोल्यौं, गाडीको घच्चमच्चका बीचमा सर्पजसरी बाइक छिराएर।
मुग्लिन उता पुगेपछि भने हाम्रो हिरोगिरी छूमन्तर भयो। अघिदेखि कालोनिलो भएको बादल झर्न थाल्यो मुसलधारे पानी बनेर। छिटो जाउँ भने जाम, बसौं मुसलधारे पानी। छेउतिर हेर्यो, खस्लाझैं गरेर अडिएको पहाड। तलतिर हेर्यो, निलौंलाझैं गरी बगेको नारायणी। रेनकोटले माथिल्लो जिउ अलिकति छोप्यो बाँकी सबै भिजाइहाल्यो। हिरो बनेर हिँडेका हामी निकैबेरसम्म भिजिरह्यौं।
अलिअलि जाम खुले पनि सडकैभरी खाल्डैखाल्डै। खाल्डाभरि जमेको पानी। त्यही पानीे ट्रकका चक्काले शरीरभरि छ्याप्दा हामी हिरोबाट दयाका पात्र बनिसकेका थियौं। मुर्मुरिएर म पानी छ्याप्ने ट्रकतिर हेर्थे। प्रायः ट्रकमा लेखिएको हुन्थ्यो– हँस मत पगली प्यार हो जायगा। रो मत पगली वापस आउँगा।
‘पगली’हरूलाई ट्रक ड्राइभरले न हाँस्न दिँदा रैछन् न त रुन। त्यो पढेर मैले हाँसो थाम्न सकिनँ।
दासढुंगा पुगेपछि जाम खुकुलो भयो, एक्सिलेटर अलिकति बटार्यो भने आधा चक्का डुब्लाजत्रो खाल्डोमा परिने। पछाडि बसेको भाइले भन्यो, ‘पानीजहाज ल्याउने बाटो बनाउन लाग्या हो दाइ यहाँ?’
मसँग जवाफ थिएन। मलाई यत्ति थाहा थियो, नारायणगढ–मुग्लिन सडक खण्डको स्तरोन्नति हुँदैछ। सकिने कहिले हो टुंगो छैन।
१२ बजे नारायणगढ पुग्दा पानी थामियो। बिहान साढे चार बजे हिँडेका हामी पनि भोक लागेर थामियौं। नारायणगढमा पानी परेको थिएन। हिलो पनि थिएन। मान्छेहरू सफाचट बनेर हिँडेका थिए। काठमाडौंबाट हिरो बनेर हिँडेका हामी भने जिरो भइसकेका थियौं। भिजेका मोजा सकसक गरिरहेका थिए। एउटा होटलमा गएर खाना खायौं। एकछिनलाई लुगा फेर्ने कोठा बोनस माग्यौं। तराईको समथर बाटोमा कालो गगल्स लगाएर फेरि बटार्यौं एक्सिलेटर।
त्यो दिन लमही मात्र पुगियो। शरीर गलेर लखतरान परेको थियो। क्लज र ब्रेकले हातगोडा दुखेका थिए। अर्कोदिन बिहान मोटरसाइकल चलाउने मन दुवै भाइलाई थिएन। नचलाई पनि भएन। त्यहाँबाट पनि झिसमिसेमै हिँडियो कोहलपुरतिर।
छिन्चु पुगेपछि भाइले फेरि भन्यो, ‘दाइ बाटामा जेजस्तो भए पनि सुर्खेत बजारमा त हिरो स्टाइलमा जानुपर्छ। हामीलाई पानीले बेस्सरी चुटेको भन्ने कसलाई के थाहा?’
उसको कुरामा सही थाप्दै भेरीको किनारै किनार मैले एक्सिलेटर बटारेँ। बजार नपुग्दै सुरु भयो ग्राभेल बाटो। पिच सडक थिएन। यताउता थुपारिएका गिट्टी र बालुवा पनि राम्ररी सम्याइएको थिएन। पारिलो घाम लागेको थियो। गाडीहरू धुलो उडाउँदै हुइँकिरहेका थिए। बांगेसिमल पुग्दासम्म पनि धुलो उडिरह्यो। चस्मा लगायो भने केही नदेखिएपछि त्यसको के काम। हामी धुलाम्ये भयौैं। सुर्खेत बजारमा हिरो बनेर हिँड्ने सपना पनि चकनाचुर भयो। बजारको बाटो किन त्यस्तो बनाएको हो हामीलाई थाहा भएन।
बजारको सडक त यस्तो छ भने केही साल पहिले मात्र गाडी पुगेको लगाममा झन् के हाल होला! अचेल त जीप पनि सिमलखेतसम्म मात्रै जान्छ भन्थे। बर्खाले बगाएको बाटो बनाएकै छैन रे।
पिच, ग्राभेल र कच्ची बाटो छिचोल्दै साँझतिर हामी बेतान पुग्यौं। यो त्यही बाटो हो जुन मैले एसएलसीको रिजल्ट सुन्ने फोन गर्न एकदिन लगाएर छिचोलेको थिएँ। त्यही बाटो बाइकमा हुइँकिन पाउँदा मन टक्क फुल्ने नै भयो। भाइले फेरि सम्झायो, ‘दाइ यहाँभन्दा अगाडि त हामीलाई कसैले चिन्दैनथ्यो। अब त चिन्ने ठाउँ आइसक्यो। टक्क हिरो स्टाइलमा जानुपर्छ।’
घाम डाँडामा पुगेको बेला हामी सिमलखेत पुग्यौं। खेतको बाटो कुलोको पानीले भरिएको थियो। खोलामा भाँचिन लागेको काठको पुल थियो। ट्याक्टरले त्यही पानीमा गहिरो लिक बनाएको थियो। त्यही लिकमा मैले डो¥याएको बाइक आधा डुब्यो।
जीप त्यहीँसम्म गयो। गाउँका केटाहरू स्ट्रेचर लिएर आएका थिए, सुर्र्खेतबाट जीपमा आएकी सुत्केरी बोक्न। खुट्टामा अप्रेसन गरेका मेरा स्कुले साथी त्यहीँ हिलो छिचोलिरहेका भेटिए, बैसाखीको सहाराले।
त्यसपछि हामी हिरो रहिरहन सकेनौं। कहिले धकेल्दै कहिले घचेट्दै राति घर पुग्यौं। मनभरि चिन्ता लाग्यो– फर्किदाँ बिजौरासम्म यो बाइक लैजाने कसरी होला?
टीकाको तेस्रो दिन घरबाट हिँडियो। हिरो स्टाइलमा बाइक कुदाउने रहर ओइलिसकेको थियो। मनमा जसरी हुन्छ छिटो काठमाडौं पुग्न पाए हुन्थ्यो भन्ने थियो। अर्कोदिन दुई बजेतिर नारायणगढ पुग्यौं। मुग्लिनबाट नारायणगढ पुगेकाहरू अर्कै गोलाबाट आएका ‘पिके’जस्ता देखिन्थे, पूरै सेताम्मे। बाटोमा जाम थिएन, त्यही भएर भाइले एक्सिलेटर अलि बढी नै बटाथ्र्यो।
हामी खाल्डामा थचारिन्थ्यौं र फेरि कुहिरोजस्तो धुलोमा आँखा पुछ्दै जान्थ्यौं। अगाडिबाट आउँथे– बार्सिलोना, चेल्सी, फेसबुक, सामसुङ, साकिरा, धुम, दबंग लेखिएका डिलक्स बस। त्यसैमा लेखिएको हुन्थ्यो एसी र फ्री वाइफाई। पहिलोपटक दुई गुणा दुई फोल्डिङ सिट भएको भिडियो कोचमा काठमाडौं आएको मलाई ती बस देखेर लाग्यो– जीवनस्तर कहाँबाट कहाँ पुगिसकेछ नेपालीहरूको। सडकमा जतिसुकै हिलो र धुलो होस्, हु केयर्स।
मुग्लिन पुगुञ्जेल काला लुगा लगाएका हामी सेता भइसकेका थियौं। मुग्लिन बजारबाट अलि माथि सडकछेउ धारो रैछ। त्यही धारोमा पुछपाछ गर्यौं हामीले आफ्नो अनुहार र बाइकको ऐना। लाग्यो– धन्य भगवान अब त बाँचियो। तर हामी धुलोबाट बचेका रहेनछौं। थानकोट कटेपछि फेरि सुरु भयो धुलो र खाल्डाखुल्डी। काठमाडौंमा बस्दा म खासै नहिँड्ने यो बाटो पनि विस्तार हुँदैछ रे।
लखरतान परेर कीर्तिपुर पुगियो। ओछ्यानमा पल्टेपछि मनमनै प्रण गरेँ– अब ‘हिरो’ पनि नबन्ने। बाइकमा घर पनि नजाने।
अर्कोदिन अफिस आउँदा बल्खुको धुलो कति मिहिनेत गरी धोएका लुगामा टाँसियो। दुई वर्षदेखि सुरु भएको चक्रपथ विस्तारको काम कहिले सकिने हो थाहा छैन।
अचेल लाग्छ– कोठादेखि अफिस, काठमाडौंदेखि सुर्खेतसम्म जहाँ गए पनि हिलो र धुलो भएको सडक किन मलाई डिस्ट्रब गर्छ होला। बाइकमा टक्क हिरो बनेर अफिस पनि आउन नपाइने भइयो यो जुनीमा।
भनेको सुन्छु– राष्ट्रपति हिँड्ने बाटो सफाचट बनाउँछन् रे। ठूलो इच्छा छ राष्ट्रपति मेरो गाउँसम्म गएको, नभए मुग्लिन–नारायणगढ सडकमा गुडेको। त्यति पनि नभए कीर्तिपुरदेखि झम्सिखेलसम्म आएको हेर्न। साँच्चै मलाई ठूलो रहर छ– यो देशका चिल्ला सडकमा धुलो नउडाई राष्ट्रपति गुडेको हेर्न।