‘हाउ मेनी रोड्स मस्ट अ म्यान वाक डाउन विफोर यु कल हिम अ म्यान’, होस्टलमा बारम्बार गुन्जिन्थ्यो यो गीत।
नब्बेको दशक प्रारम्भ थियो। भर्खरै शीतयुद्वको औपचारिक अन्त्य भएको समय। निरन्तर पढाइको चाप, असहज होस्टल जीवन। कन्सर्ट कल्चरको प्रभावमा रहेका बंगलादेशीमाझ लोकप्रिय यो अंग्रेजी गीत अमेरिकी संगीतकर्मी वव डिलनको गलाबाट निस्केको रहेछ। जमैकाली गायक बब मार्लीका प्रतिरोधी गीतहरू, अमेरिकी कवि एलेन गिन्सवर्ग लगायत विट्स पुस्ताका आक्रामक काव्यले अमेरिकाको युद्व उन्मादी कदमको विरोध गरिरहेको सत्तरीको दशक। तिनैताका युद्वविरोधी आवाजसहित संगीतसंसारमा पृथक पहिचान बनाउन आइपुगेछन् बब डिलन। उनका शुरुवाती गीतहरू अमेरिकी नागरिक अधिकार (सिभिल राइट्स) को पक्षमा, काला जातिको मुक्तिको आह्वानमा, न्यूक्लियर हातहतियारको उत्पादनको भत्र्सनामा र अमेरिकाको संलग्नतामा भैरहेका युद्वको विरोधमा केन्द्रित छन्। राजनैतिक, सांस्कृतिक, दार्शनिक एवं साहित्यिक क्षेत्रको ज्ञान र रुझान व्यापक छ उनमा। त्यसैले त यी विविध आयामको प्रभाव घनीभूत पाइन्छ उनका गीतहरुमा। सामाजिक जागरणमा महत्वपूर्ण योगदान छ उनको। प्रचलित अमेरिकी संस्कृतिको विपरीत धारमा हिंडेको वागी ‘काउन्टर कल्चर’ निर्माणका महत्वपूर्ण अंशियार समेत हुन् उनी।
उनै संगीतसाधक डिलनले वाजी मारे यसवर्ष साहित्य तर्फको नोबेल पुरस्कार। फेरि पनि पछि परे असी लाख स्वीडिस क्रोनर धनराशीको यो पुरस्कार जित्ने अनुमान गरिएका चर्चित लेखकहरु। हारुकी मुराकामी (जापान), न्गुगी वा थियङ्गो (केन्या) लगायतका लेखकहरुका असंख्य प्रशंसकहरु सधैंझैं यसपटक पनि निराश बने। एक सय पन्ध्र वर्षको नोबेल इतिहासमा पहिलो पटक ब्रेक–थ्रु देखियो, नोबेल पुरस्कारबाट संगीत क्षेत्र सम्मानित भयो। यसअघिका दुई विजेता थिए– बेलारुसी गैर–आख्यानकार स्भेल्त्लाना एलेक्सिभिच र फ्रान्सेली आख्यानकार प्याट्रिक मोदियानो। खासै नसुनिएका नाम ती दुवै। तिनका रचना विश्व साहित्यमा चर्चामा थिएनन् यसअघि। स्पष्टै भन्नुपर्दा नोवेल पुरस्कारले स्थापित गरेका नाम हुन् दुवै। तर नोवेलको बैशाखी नटेकी आफ्नै सांगीतिक वर्कतमा चर्चित बनेको नाम हो डिलन। उनलाई नचिन्ने कलाप्रेमी को पो होलान् र ? पाँच दशकदेखि सांगीतिक दुनियाँमा उनको स्वर गुन्जिरहेको छ, शब्दमय जादूले मोहनी लगाइरहेको छ। थुप्रै कदर र पुरस्कार परेका छन् उनको पोल्टामा। यसै वर्षको प्रतिष्ठित संगीत सम्मान ‘ग्रामी अवार्ड’ समेत हात पारे उनले।
क्लब तथा क्याफेमा गाउँदै डिलनले आफ्नो सांगीतिक शिल्प तिखार्दै लगे। सन् १९६२ मा आफ्नो नामबाट पहिलो एल्वम ‘वव डिलन’ निकाले। त्यतिवेला प्रचलित विशुद्व लोक परम्परामा अडिएर बस्न चाहेनन् उनी। ‘लोकालयमा क्लासिकल साहित्य र काव्यको बौद्विकपना मिसाउने’ ट्रेन्ड सेटर बन्नपुगे उनी। लोकसंगीत, ब्लुज, रक एण्ड रोल तथा ज्याजसम्मको उनको सांगीतिक विविधता लोभलाग्दो सुनिन्छ। यही विविधताले गर्दा उनका श्रोता, प्रशंसक पनि विविध खालका भेटिन्छन्। पाँच दशकको समयावधि पार भइसक्यो उनी सांगीतिक दुनियाँमा गुन्जन थालेको। गितार, किबोर्ड र हार्मोनियममा एकनास चल्छन् उनका औंलाहरु। वाम झुकाव (लेफ्ट लिनिङ्ग) को अनुगुन्जन छ उनका प्रारम्भिक गीतहरुमा। राजनैतिक चेतसम्पन्न ती गीतहरुमार्फत उनले सामाजिक सचेतना फैलाएका छन्। क्रमशः साहित्य, मिथक, इतिहास र धर्मग्रन्थको गजबको फ्यूजन गर्न थाले आफ्ना गीतहरुमा। बाइबल निःसृत गोस्पेल गीत पनि लेखे, गाए उनले। तर सधैं निरपेक्ष रहे धार्मिक मामलामा। युद्वविरोधी ‘स्कूल अव थट’बाट टाढिदै गए पछि। प्रेम, वियोग, धोका, मृत्यु, नैतिक स्खलन जस्ता विविध मानवीय पाटालाई समेटेका छन् उनका पछिल्ला सृजनाले।
अमेरिकी राष्ट्रपति वाराक ओबामा समेत डिलनका ‘बिग फ्यान’ रहेछन्। ‘उनी जस्तो महान् हस्ती कोही देख्दिनँ म त अमेरिकी संगीत इतिहासमा’ ओबामाको यो सार्वजनिक अभिव्यक्तिमा कुनै राजनैतिक निहितार्थ सायद छैन होला। स्वेडनस्थित नोबेल कमिटिको ठहरमा जोन मिल्टन र विलियम व्लेक जस्ता सर्वकालिन अव्वल वेलायती कविहरुको हाराहारीमा छन् उनी। ‘महान् अमेरिकी गायन परम्परामा नयाँ काव्यिक अभिव्यक्ति सिर्जना गरेकोमा डिलनलाई पुरस्कृत गरेको’ जनाएको छ कमिटिले। नोबेल कमिटिको बुझाइमा ‘उनी हाइ कल्चर र लो कल्चरलाई जोड्ने स्रष्टा हुन्। उनी सुनिनु पर्ने संगीतशिल्पी मात्र कहाँ हुन् र ? पढिनु पर्ने कवि पनि हुन्।’
विश्वभरका धेरै कवि तथा प्राज्ञहरुले त दुई दशक अघिदेखि डिलनलाई नोबेल पुरस्कार दिनुपर्ने धारणा सार्वजनिक रुपमै राख्दै आएका थिए। अन्ततः पचहत्तर वर्षको पाको उमेरमा उनी पुरस्कृत भए। डिलनको चयनलाई सही ठहराउनेको भीडमा चर्चित लेखकहरु टोनी मरिसन, सलमान रुस्दी, ज्वोइस क्यारोल ओट्स पनि पर्छन्। डिलन पुरस्कृत हुने घोषणाले हौसिएका रुस्दीले भनेछन्, ‘साह्रै राम्रो छनौट हो यो। विस्तारै साहित्यको दायरा फराकिलो बन्दै छ’। काव्यिक आस्वादका गीत लेख्ने डिलन सही अर्थमा साहित्यभन्दा पर छैनन्, यस्तो मान्यता राख्नेहरु पनि छन् धेरै। गतवर्षका म्यान बुकरविजयी लेखक मार्लोन जेम्स त ‘परम्पराभन्दा फरक तर रोमान्चक छनौट भएको’ मान्छन् यसपालि। विरोधको स्वर उराल्नुको कुनै तुक देख्दैनन् उनी। जेम्स प्रश्न गर्छन् ‘डिलनको सृजनालाई साहित्य मान्न किन आपत्ति ?’ प्रति प्रश्न आफैं तेर्साउँछन्, ‘उनले गितार समाएकैमा हो यो विमति र विरोध ?’ अर्कोतर्फ संगीतका अग्ला टाकुरा डिलनका लागि नोवेल पुरस्कार उपयुक्त कदर नभएको ठह¥याउने पनि छन् केही। फ्रान्सेली चिन्तक जँ पल सात्र्रले झैं डिलनले पनि नोवेल पुरस्कार अस्वीकार गर्नुपर्ने जीकिर गर्छन्, यो पंक्तिमा उभिनेहरु त। विवाद र नोवेल साहित्यको कसिलो नाता गाँसिएको निकै भयो। त्यसैले पनि पक्ष विपक्षमा चलेको तर्कको यो रस्साकस्सी अनौठो लाग्दैन अब।
यहुदी पृष्ठभूमिको परिवारमा जन्मे डिलन। दुई पटक विहे गरे तर पछि अलगिए दुवैबाट। आधा दर्जन छोराछोरी छन् उनका। गलफ्रेन्ड को त के गन्ती भयो र ? अमेरिकी गायिका तथा संगीतकर्मी जोंवा वाइज डिलनबीच लामो अन्तरंग सम्बन्ध रह्यो। वाइज र डिलनले सँगै पर्फम गरे। डिलनलाई स्थापित गर्न वाइजको पनि उल्लेख्य भूमिका छ। ‘शब्दमार्फत डिलनले लगाएको गुन त कसैसँग तुलना गर्नै सकिन्न’ उनी भन्छिन्। डिलनले नोवेल पाएपछिको उनको प्रतिक्रिया छ , ‘यो सम्मानसँगै उनी अमर रहनेछन् संगीतसंसारमा।’
रोवर्ट एलेन जिम्मरम्यानका रुपमा जन्मेका थिए डिलन। तर प्रसिद्व वेलायती कवि डाइलन टोमसबाट प्रभावित भएरै उनको नाम एडोप्ट गरे डिलनले। तर उच्चारण बदलेर। इज्रा पाउण्ड, पल भ्यालरी, अर्थर रिम्बाउड जस्ता अघिल्लो पुस्ताका कविहरुको काव्यिक छाँया परेको स्वीकार्छन् उनी आफ्ना गीतहरुमा। लिटल रिचर्ड र एल्भिस प्रिस्ले जस्ता गायकको पर्फमेन्स तथा उडी गुथ्री, रोवर्ट जोन्सन, ह्यान्क विलियम्स जस्ता अग्रजको गीतलेखनबाट उत्तिकै प्रभावित छन् उनी। पल म्याककार्नी, निल योङ्क, एरिक क्ल्याप्टन आदि गायकसँग एकसाथ गाए उनले। जर्ज ह्यारिसनसँग एउटै व्याडमा बसेर काम पनि गरे। व्लोइङ्ग इन दि विन्ड, नकिङ्ग इन दि हेभेन्स डोर, लायक ए रोलिङ्ग स्टोन, जस्ट लायक ए वुमन, हरिकेन, मिस्टर ट्याम्वोरिन म्यान, दि टाइम्स दे आर अ–चेन्जिङ्ग, डोन्ट थिङ्क ट्वाइस इट्स अल राइट उनका कर्णप्रिय गीतहरु हुन्। प्रेम, मानवता, स्वतन्त्रता, उदासीनता, विद्रोहको उहापोह भेटिन्छन् उनका अधिकांश गीतहरुमा। गम्भीर मात्र छैनन् उनीलिखित लिरिक्स्। केही त हल्काफुल्का मनोरन्जन दिने खालका पनि छन्।
‘क्रोनिकल्स्’, ‘ट्यारान्टुला’ जस्ता कविता र संस्मरणहरु छन् डिलनका। गीतसंगीतबाहिर भिजुअल आर्टसमा पनि उनको पहिचान उल्लेख्य छ। चित्रकलाका छ वटा किताब प्रकाशित छन्। सिनेमामा समेत अभिनय गरेका छन् उनले। कलाकर्मलाई एकछिन भुल्ने हो भने, पव्लिक स्पेयरमा उनको उपस्थिति न्यून देखिन्छ। हत्पत्ति अन्तर्वार्ता दिदैनन्। सिलेब्रेटी भईकन पनि लो–कि प्रोफाइलमा रहन्छन्। नोवेल पुरस्कार पाएपछि पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन उनको। तर गत साल उनकै देशका मुक्केवाज मुहम्मद अलीको निधनले भने उनलाई साह्रै छोएछ र वक्तव्य नै जारी भयो उनको नाममा। ‘मलाई लाग्छ हरेक कोणबाट अली अत्यन्त वहादुर, अत्यन्त दयालु अनि अव्वल मानव थिए।’
उदात्त प्रशंसा गरेका थिए उनले मुहम्मद अलीको। ती उनै मुक्केवाज थिए जसले तत्कालिन अमेरिकी सरकारको आदेश अवज्ञा गर्दै भियतनाम युद्वमा अमेरिकाको तर्फबाट लड्न मानेनन्।
संगीत साधना र पर्फमेन्समा नै बित्छ डिलनको समय। सन् १९६३ मा ‘मास्टर्स अव वार’ गाएर पव्लिक पर्फमेन्स् शुरु गरेका थिए उनले। त्यसपछि त सांगीतिक कार्यक्रमका लागि अमेरिकाभित्र र बाहिर निरन्तर यात्रामा छन् उनी। ‘नेभर एडिन्ङ्ग टुर’ अनौपचारिक नाम रहेको यो मिशन असीको उत्तरार्धबाट चलिरहेछ अनवरत। पव्लिक लाइफबाट प्रायः ओझेल पर्न रुचाउँछन् उनी। पपुल्यारिटीको मोह छैन रत्तिभर उनलाई। उनी स्वीकार्छन्, ‘आफूमाथि अरुको ध्यान केन्द्रित हुनु पनि एक किसिमको वोझ नै हो। यही कारण जिसस क्राइष्ट सुलीमा झुण्डिनु पर्यो। त्यसैले त म लामो समयसम्म अदृश्य भइबस्न मन पराउँछु।’ तर नोवेल पुरस्कारसँगै आधा शताव्दी अघिका यी संगीतकर्मीले इच्छाएको स्वतन्त्रता मिल्न त्यति सजिलो कहाँ छ र ? मिडिया र आम मान्छेको चासोको केन्द्रमा विराजमान छन् उनी यतिखेर।
अब गुन्जिने भए नयाँ पुस्ताका मोवाइल, आइप्याड र अन्य इलेक्ट्रोनिक गजेटमा समेत उनका गीतहरु। किताबको सट्टा हार्मोनियम र गितारको ज्यादा माग र बिक्री हुने भयो आउँदा केही महिना। गीतसंगीतमै समर्पित यी संगीतकर्मी विभिन्न पुस्ताको साझा रोजाइ बनेका छन् यतिखेर। डिलनको यो ‘रिडिस्कभरी’को श्रेय भने निःसन्देह जान्छ नोवेल कमिटिलाई। क्या प्रतापी छ यो नोवेल कमिटि पनि!