बब डिलनले यसवर्षको नोबेल पाउने समचारसँगै मेरो मन पनि ढक्क भएर फुल्यो। आजसम्म कुनै पनि पुरस्कार नपाएको र पाउने सम्भावनासमेत नभएको मजस्तो साधारण कलाकारलाई पनि यसरी ढक्क बनाउने यो पुरस्कारले विश्वभरि तरङ्ग फैलाउनु स्वभाविक थियो। फैल्यायो। कतिपय अन्तरराष्ट्रिय व्यक्तित्व र समाचार माध्यमले त बब डिलनले पाएको नोबेलले साँच्चैका साहित्यकारको अपमान भएको सम्म भन्न भ्याइसके। प्रतिक्रिया जस्तासुकै आउन् बबले यसपाली पाएको नोबेल विश्व इतिहासमा दर्ता भइसक्यो।
बबले नोबेल पाएको खबरको समानान्तर भएर यता मेरो मस्तिष्कमा आफ्नै देशको गीति साहित्य पनि घुमिरह्यो। साँच्चै हाम्रो गीतिसाहित्य कहाँ छ? बबले के गरे? हाम्रा नेपाली गीतकार, कवि र कलाकारले के गरेनन्? कवि बबले गिटार र हार्मोनिकामा घन्काएर विश्वलाई प्रभावित पारिरहे। हाम्रा अधिकांश गीतकार र कवि किन लयमा तालीसम्म पिट्न जान्दैनन्? मस्तिष्कमा यस्ता अनेकौं प्रश्न ओहिरिरहे पनि कता कता बबले पाएको नोबेलले खुशी भने बनाइरहेको रहेछ। आजकल हाम्रो सृजनशील समय सृजनामा थोर र ट्विटरमा अलि धेर बित्छ। मैले पनि ट्विट्न भ्याइहालेँ-
'गायक, गीतकार, कवि, कलाकार बब डिलनले यसवर्षको साहित्यतर्फको नोबेल प्राइज पाए; अब हाम्रातिर पनि गीत, संगीतलाई मनोरञ्जन मात्र मानिन्न कि?'
उपरोक्त अभिव्यक्ति एकछिन् ट्विटरमा झुण्डँदाको उपलब्धी होइन। संगीतमा लाग्दाको आफ्नै लामो अनुभवको तिक्तता हो। मैले जीवनमा यस्ता केही चुनिँदा अनुभव बटुलेको छु जसबाट हाम्रो समाजकै सांगीतिक चेतको दिवालियापन उजागर हुन्छ।
एकखेप अम्बर गुरुङको कन्सर्ट आयोजना गर्नेमा हर्ताकर्ता भएको हुन्छु। चिनजानका राजनैतिक व्यक्तित्वलाई पनि निम्त्याउछु। केही आएका पनि हुन्छन्। कार्यक्रम सकेर अम्बर गुरुङलाई उनको निवास पुर्याउने चिन्तामा हुन्छु। एकजना परिचित राजनैतिक व्यक्तित्व जोसित सवारी साधन पनि हुन्छ। उनलाई अनुरोध गर्छु- अम्बर सरलाई घरसम्म पुर्याउन सक्नु हुन्थ्यो कि? स्वीकार्छन् र मलाई पनि लिफ्ट दिन्छन्। हामी वार्ता गर्दै गन्तव्यतिर लाग्छौं। बाटोमा ती राजनैतिक व्यक्तित्वले अम्बर गुरुङ समक्ष एउटा जिज्ञासा राख्छन्- अम्बरजी तपाईंले त आज गाउनु मात्र पो भो! एसो उठेर नाचिदिनु भएको भए; अझ रमाइलो हुने थियो नि!
मैले मानेका राजनैतिक व्यक्तित्वको जिज्ञासा सुनेर म शीरदेखि पाऊसम्मै लज्जित हुन्छु। अम्बर गुरुङ र मेरा आँखा जुध्छन् र हामी मज्जाले हाँसिदिन्छौं। हाँसोसितै म सोचमा डुब्न थाल्छु। यी राजनैतिक व्यक्तित्व हाम्रो समाजका चुनिँदा मान्छे हुन्। यिनको विधागत ज्ञानको परिधि यति बिजोगको छ भने हाम्रो समाज कसरी समुन्नत छ भनेर सोच्नु? त्यो साँझ झेलेको पनि करीब दुईदशक बितिसक्यो। त्यसयता हावाको झोक्काले कैयौं पटक संसार परिक्रमा गरिसक्यो होला तर हाम्रो सांगीतिक चेत कहाँ आइपुग्यो कुन्नी? थाहा छैन।
बब डिलनको समाज पनि शुरुमै समुन्नत भएर यहाँसम्म आइपुगेको त होइन। अहिले पनि उनको समाज उनले खोजेजस्तै नहुन पनि सक्छ। तर बबले गीत, संगीत र कविताबाट मात्र होइन आफ्नो सक्रिय प्रतिवद्धताले पनि समाजलाई सचेत बनाउने अभियानलाई सघाइरहे। सन् १९६३ मा उनी 'अफ्रिकन-अमेरिकन सिविल राइट्स मुभमेन्ट'मा सक्रिय भए। १९५४ देखि १९६८ सम्म चलेको त्यो संघर्षले अमेरिकी कालाजातिलाई राजनैतिक र सामाजिक इज्जत दिलाउन सफल भयो।
यता हाम्रोमा अहिले पनि कलाकारले राजनीतिको दायाँ बायाँ सोच्नु हुन्न भन्ने मान्यता छ। हुन त म पनि कलाकारले राजनैतिक पार्टीको झण्डा उचाल्नु ठीक होइन रहेछ भन्ने अठोटमा पुगेकै हो। तर कतिले यसलाई कलाकारले सामाजिक सरोकारका विषयमा पनि मौन बस्नु पर्छ भन्ने बुझिदिन्छन्। कलाकारको मूलकर्म कलाकरिता नै हो। तर सामाजिक सरोकारलाई बेवास्ता गर्ने कलाकारको सृजना जीवन र समाजपरक हुँदैन। जीवन र समाजसित टाढिएको कलाको प्रभावक्षेत्र सिमित घेरामा मात्र टाक्सिन्छ।
कवि एलेन गिन्सबर्गका साथमा डिलन।
त्यस्तै अनुभूति भएर हो, बबको नोबेल सन्दर्भकै अर्को ट्विटमा मैले 'सुन्दरीका ओठ, आँखा र नितम्बतिर मात्र आकर्षित भएर गीत लेख्ने, गाउने गीतकारले बब डिलनको नोबेल प्राइज सुनेर मख्खिनु पनि मजै हो !' लेखिदिँए। हुन पनि हाम्रा अधिकांश गीतहरू प्रेम प्रणयमै सिमित छन्। यति धेरै गीति कलाकार छन्। विषय भने उही छ। उस्तै छ । हामी साह्रै नै मनोटोनस भएका छौं। बब डेलन लोकगीतबाट अत्यधिक प्रभावित कवि, कलाकार हुन्। तर उनले लोक गीतलाई ठाडो नक्कल भने गरेका छैनन्। चाहे त्यो 'ग्रीगविच भिलेज' आसपासको संगीत होस् अथवा आइरिस संगीतकारहरूसित संगत गर्दाको अनुभव होस्। तिनलाई आफ्नै मौलिक र युनिक पारामा ढालेका छन्।
म अफूलाई लाग्ने गरेको छ- कलाकार आफ्नो मौलिक पारामा अडिग रह्यो भने समाज याने बजार पनि उसलाई पछ्याउँदै आउने रहेछ। तर कलाकार बजारमुखी भयो भने उसको पहिचान नै पनि नामेट हुने बाटोतिर उन्मुख हुने रहेछ। हाम्रा लोकगीतहरूको वर्तमान अवस्था हेर्दा यस्तै लाग्छ। के अहिले बजारमा चलिरहेका दोहरी हाम्रा मौलिक लोक गीत हुन्? कि बजारको माग अनुसार हाम्रा कलाकारले यिनको उत्पादन गरिरहेकाछन्? कला बजारमुखी उत्पादनको बस्तु जस्तो हुनु हुँदैन। कला सृजनशील गुण भएको विशेष व्यक्तिको अभिव्यक्ति हो। जुन अभिव्यक्तिमा समाज पनि समाहित भएको त हुन्छ। तर त्यो अभिव्यक्तिले समाजलाई डोर्याउने क्षमता पनि राखेको हुन्छ। भनौं कलाले समाजलाई मार्गदर्शन गर्ने क्षमता राख्नु पर्छ। त्यसैले त यसवर्षको नोबेल कमिटीले बबलाई अमेरिकी समाजमा कलाको युनिक र पृथक् धार स्थापना गरेको जस दियो।
साँच्चै हाम्रो नेपाली गीत, संगीतले चैँ आफ्नो पृथक् अनुहार बनाएको छ त? वर्तमान नेपालको स्वघोषित मूलधारको संगीतलाई हामीले कत्तिको घोत्लिएर सुनेका छौं। लोकगीतको बेहाल त एकातिर छँदैछ। मौलिक भनेका गीतका धुनले पनि कत्तिको मौलिकता बोकेका छन्। यो विषय मेरो आफ्नै विषय हो र पनि 'मुटुमाथि ढुंगा राखी भन्नु पर्या छ' हाम्रो संगीत हाम्रोजस्तो हुन सकेको छैन।
हुन त वर्षौंदेखि भनिँदै आएको कुरा छ- संगीत भनेको विश्वभाषा हो। तर यसको अर्थ हामी विश्वसामु उभिँदा अरुको मखुण्डो लगाएर उभिनु भनेको त होइन नि! आफ्नै अनुहार लिएर विश्वसामु उभिने पो भनेको हो। इतिहास र जरासित गाँसिएर लहराउने कलाले मौलिकता बोक्ने हो। तर हामी त हाम्रो कहिल्यै कतै नाता नभएका शैलीहरूमा रुमल्लिएका छौँ। यसरी रुमल्लिन पनि पाइन्छ। तर लखनऊको भुलभुलैयाभित्र बिना पथप्रदर्शक छिरे जस्तो पाराले हाम्रो कलाकारिता मौलिक बन्न भने सक्दैन।
साँच्चै बबले नोबेल पाए भन्ने समाचारले ढक्क भएको मनसँगै मैले निकै पछि उनका गीत सुनेँ- उनको गायन शैली उनकै पाराको छ। अरुको पाराको पटक्कै छैन। चाहे 'मास्टर्स अफ वार' होस्। चाहे 'नकिन अन हेवेन्स डोर' उनी उनी जस्तै मात्र छन्। मैले यिनलाई सुन्दै गर्दा हाम्रा मौलिक जितेन्द्र बर्देवा सम्झेँ। शान्ति ठटाल सम्झेँ। नातिकाजी, अम्बर गुरुङ सम्झेँ। बच्चुकैलाश सम्झेँ। हीरादेवी वाइबा सम्झेँ। राल्फा, पारिजात, रामेश, मञ्जुल, रायन सम्झेँ। लेकाली सम्झेँ। सबैभन्दा धेरै त नारायणगोपाल सम्झेँ। जसले साहित्य र संगीतको सहकार्यको प्रभावशाली आवाज उठाइरहे।
सोचेँ- बब डिलनले पाएको नोबेलसम्म हाम्रो नेपाली काव्यात्मक संगीतको पहुच त सुदूर सपनाको कुरा हो! अहिलेलाई यतिसम्म भए पुग्थ्यो- राल्फा, लेकाली र नारायणगोपालको पुस्ताले पहिल्याउन खोजेको मौलिकताबाट एक खुड्किलो माथि उठेर मदन पुरस्कारसम्म आँखा तन्काउन सक्ने अवस्थामा पुगे नै नेपाली काव्य-संगीत धन्य हुन्थ्यो!
(कवि, गायक, गीतकार एवम् संगीतकार आभास नेपाल संगीत-नाट्य एकेडेमीका पूर्व सदस्य सचिवसमेत हुन्।)