दसैं आउनु हप्तौं अघिदेखि खुसी हुनेमध्ये म पनि एक हुँ। थाहा छैन के को खुसी! सायद स्कुलबाट लामो विदा पाइन्छ भनेर हो या मामुले नयाँ लुगा किनिदिनुहुन्छ भनेर हो!
मैले आफूलाई याद भएदेखि दसैंको पहिलो टीका मामाघरकी हजुरआमाबाटै थापेकी छु। परिवार सबै एकै ठाउँ भेला हुने, होहल्ला गर्ने, कसले धेरै दक्षिणा पायो भनेर एकअर्कालाई जिस्क्याउने– मेरो लागि दसैंको रमाइलो यही हो।
सबभन्दा मन छुने पाटो भनेको दसैंको टीकापछि सपरिवार खिच्ने फोटो। त्यही फोटो नै हो, जुन दसैंको साक्षी बनेर वर्षौं वर्ष जीवित रहन्छ।
आज ती तस्बिर पल्टाउँदा सोच्छु, जति वर्ष बित्दै गए परिवारको संख्या उति घट्दै गएछ। दिदीहरूको विवाह भयो। अर्को परिवारको तस्बिरमा सदस्य थपियो, हाम्रोमा कम भयो। पछि यसलाई परिपूर्ति गर्न भाइबहिनी जन्मे। जोड–घटाउ अलिअलि मिल्दै गयो। हुँदाहुँदा यस्तो समय आयो, दसैंको सामूहिक तस्बिर लिनै गाह्रो हुन थाल्यो। दादा–दिदीहरूसँग ‘स्काइप’ अगाडि बसेर दसैं मनाउनुपर्ने भयो। उहाँहरू उता टीका लगाउने, हामी यता टीका लगाउने। अनि, मन बुझाउन दुइटा बेग्लाबेग्लै फोटो जोड्ने।
प्रविधिले हामीलाई तस्बिर जोड्ने सुविधा त दियो, तर तस्बिर जोडे पनि भावना नजोडिँदो रहेछ। शरीर टाढा भएपछि मान्छेको मन नदीका दुई किनारजस्तो बेग्लाबेग्लै बग्दो रहेछ। तस्बिर दुई किनारलाई लिएर अगाडि बढ्न त सक्छ, त्यसलाई जोड्न सक्दैन।
दुःखको कुरा, आजभोलि प्रायः परिवारको कथा यस्तै हुने गरेको छ।
यसपालि हामीकहाँ पढ्न विदेश जानुभएकी दिदी दसैं मनाउन घर आउनुभयो। उहाँले दुइटा दसैं छुटाउनुभएको थियो। उहाँको उपस्थितिले नै मेरो मन हर्षित छ। बाँकी दुई दिदी र दादासँग यसपालि पनि ‘स्काइप’ र ‘फेसबुक’ मै दसैं मनाउनुपरेकाले मन खल्लो छ।
सोच्छु, मेरा दादा र दिदीहरू जस्तै विदेशमा रहेका नेपालीलाई दसैंमा कति न्यास्रो लाग्दो हो! मन कति रुँदो हो! आफू जन्मेको, हुर्केको, बदमासी गरेको ठाउँ कति याद आउँदो हो! कहिलेकाहीँ आफूलाई उनीहरूको ठाउँमा राखेर सोच्छु, मन त्यसै आत्तिन्छ। जीउमा काँडा उम्रेर आउँछ। अनि बारम्बार आफैंलाई हौसला दिन्छु– अघिल्लो पुस्ताले हाम्रा लागि के के दिए, के के दिएनन् त्यसमा ध्यान दिनुभन्दा बरु आउने पुस्ताका लागि एउटा सहज वातावरण बनाउन पाए कस्तो हुन्थ्यो! सबै नेपालीलाई करले होइन, रहरले आफ्नै देशमा बसाल्न पाए कस्तो हुन्थ्यो!
सबैलाई राम्रो जीवनशैली बाँच्ने चाहना हुन्छ। त्यही चाहनाले डोर्याएर ४० लाखभन्दा बढी नेपाली विदेशमा छन्। तर, हामी जहाँ भए पनि नेपाल हाम्रो मनमा सुरक्षित छ। यो धुव्रसत्य हो। तर, हामी कतिन्जेल नेपाललाई मनमा मात्र सजाएर बस्ने? ठिक छ, तपाईं विदेशी भूमिमा हुनुहुन्छ, तपाईंलाई उतैको स्वच्छ हावा, दुरुस्त सेवासुविधाको बानी परिसकेको छ, यहाँको अभाव र असहज दैनिकीमा फर्कन तपाईंलाई गाह्रो लाग्ला। केही वर्ष विदेश बसेर आउनेलाई यहाँ उकुसमुकुस भएको मैले देखेकी छु। एक त उताको जस्तो सेवासुविधा यहाँ पाइन्न, अर्को यहाँको धुँवाधुलोले ज्यान त्यसै उखरमाउलो भएर आउँछ। यसो भन्दैमा नेपालमै दुरुस्त सेवासुविधा र स्वच्छ वातावरण बनाउन केही नगर्ने त? मनभरि नेपाल साँचेर बस्नुभएको छ भने त्यसलाई कर्ममा उतार्न कसले रोकेको छ? मनमा नेपाल भएकाहरूले नै नेपाल बनाउने न हो।
विदेशमा रहेका नेपाली दुई खालकोे मैले देखेकी छु। एउटा, उच्च शिक्षा निम्ति विदेशिएर उतैको नागरिक बन्न इच्छा राख्नेहरू। अर्को, कमाउन खाडी लगायत देश गएकाहरू। उहाँहरू सबैलाई नेपाल विकसित भएकै हेर्न मन छ। तर, कहाँबाट सुरु गर्ने? कसरी सुरु गर्ने? यसका लागि सबभन्दा पहिला त अब यहाँहरूले ‘राम्रो काम गर्नेलाई राम्रो’ भन्दै मद्दत गर्नुपर्छ न कि ‘हाम्रो मान्छेले जे गरे पनि राम्रो’ भन्दै। नेपालमा यो दोस्रो प्रवृत्ति हाबी भएको पाउँछु म।
०४६ सालको आन्दोलनपछि मज्जाले हाँस्न, बोल्न, काम गर्न पाइयो रे! त्यसपछि संविधानसभाले निकास दिन्छ भनेर १० वर्षे ‘जनयुद्ध’ पनि भयो। तैपनि देशको स्थिति झन् झन् नाजुक बन्दै छ। एकै दिनमा १७ सयभन्दा बढी विदेशिनुपर्ने अवस्था कायम छ। विदेशबाट पठाएको पैसाले परिवारको गुजारा त राम्रै चलेको छ, तर देश विकास भएको छैन। त्यो आम्दानी देशभित्रै कमाउन सक्ने वातावरणले मात्र देश विकास हुन्छ। यसले प्रत्येक नागरिकसँगै देशलाई पनि धनी बनाउँछ।
त्यसपछि बल्ल हरेक नेपालीले आफ्नै घरमा दसैं मनाउन पाउँछन्। यसका लागि हामीलाई असल नेतृत्वको खाँचो छ, जसले जनशक्ति निर्यातमा होइन, देशमै रोजगारको माहोल बनाउन मद्दत गर्छ। यही अवस्था बुझेर म देशको सेवा गर्छु, राजनीतिमा तर्क र तथ्य बोकेर आउँछु भन्ने जमात बढ्दै छ। उनीहरूलाई तपाईंहरूको साथ र सहयोगको खाँचो छ।
तपाईं अब विदेशी भूमिमा बस्न चाहनुहुन्छ भने ठिकै छ, तर फर्किउँ कि नफर्किउँ भन्ने दोधारमा हुनुहुन्छ भने निर्धक्क नेपाल फर्किनुस्। तपाईंले त्यहाँ सिक्नुभएको तरिका, त्यहाँ पाउनुभएको शिक्षा अब यहाँ काम लाग्छ। आफ्नै देश विकास निम्ति काम लाग्छ। स्वदेशमै इलम गर्न तम्सिएका धेरै नेपाली सफल भएका उदाहरण हामीसँग छन्। उनीहरू राजनीतिक स्थिरता मात्र भए देशले प्रगति गर्छ भन्छन्। यसका लागि पनि तपाईंहरूकै खाँचो छ। तपाईंहरूले संसार देखिसक्नुभयो। पुरानो राजनीतिक प्रवृत्तिको निरन्तरताले देश बन्दैन भन्ने बुझिसक्नुभयो। परिवर्तनको आवश्यकता पनि महसुस गर्नुभएको छ। त्यसो भए विदेश बसेर मात्र देशमा परिवर्तन आउँछ त? परिवर्तन चाहनेले परिवर्तनको हिस्सेदार हुन किन हिच्किचाउने?
मैले दसैंमा सपरिवार सँगै फोटो नखिचेको ११ वर्ष भइसकेछ। तपाईंहरूको पनि यति नै भयो होला! अझ बढी पनि हुनसक्छ। यो अवस्था परिवर्तन गर्न पनि त तपाईंको उपस्थितिको खाँचो छ नि। तस्बिर जोडेर न परिवार पूरा हुन्छ न त देश बन्छ। दुवैका लागि तपाईं यहीँ आउनुपर्छ।
देशलाई तपाईंको खाँचो छ, कहिले आउनुहुन्छ तपाईंहरू?