‘हाम्रो दोस्ती कुनै एक रेल स्टेशनबाट अर्को रेलस्टेशनसम्मको यात्रामा भएको जस्तो नहोस्,’ एकजना उमेरले पक्का तर विचारले जवान आमैले विपश्यना ध्यानको शायद तेस्रो बसाईमा भनेका यी वचन मेरा कानमा गुञ्जिरहेका छन्। आखिर जीवन संयोगहरुको जोड र गुणा नै हो । ती आमैसँग मेरो पछिल्लो भेट गत भदौको तेस्रो सातामा फेरि भयो ।
आमैको जीवनमा आएको परिवर्तन देखेर म चकित भएँ। उनी आफ्नी छोरीसँगको भेटघाटका लागि केही महिना अमेरिका पुगेर नेपाल फर्केकी थिइन्।
पहिला त पहिल्याउनै सकिनँ, ब्वाइज् कट कपाल, हाल्फ पेन्ट र अर्धबाहुले टिसर्टमा भेटिएकी मेरी ‘साथीआमा’मा आएको त्यत्रो परिवर्तन देखेर म त हेरेको हेर्यै भएँ। लामो सुती सारीमा बेरिएकी त्यो बेलाकी आमा र अहिलेको बेग्लै आधुनिक आमा। त्यो आकाश, यो पाताल। पहिरन मात्रले पनि मान्छेमा कति धेरै आत्मविश्वास जगाउँदो रहेछ। उनको ‘उभ्याई’ देख्दा मेरो ठम्याई त्यही रह्यो।
छोटो समयको अमेरिका बसाई मात्रले पनि उनमा आत्मविश्वास बढाएछ क्यार। उनको लोभलाग्दो आत्मविश्वास देखेर अमेरिका भन्ने देशमा केही अवश्य छ भन्ने ठहर गरेँ। तर त्यो देश जाने लालसालाई जागृत हुन दिइनँ। आखिर मेरा लागि देश केवल भूगोल हो । देशको परिभाषा त त्यहाँका मान्छे र त्यहाँको सभ्यता न हो।
खैर, नेपालीमा एउटा उखान छ नि – भेडा भेडासंघ, बाख्रा बाख्रासंघ। मेरो भेटहरु प्राय आत्मविश्वासी, निर्णय गर्ने क्षमता आफैसँग भएका मानिससँग हुन्थ्यो र हुन्छ। जोखिम मोलेरै भए पनि आफ्नो बारेमा फैसला गर्ने अधिकार आफैसँग राख्नेहरू मलाई यसैयसै मनपर्छ। जब उनीहरू मेरा सामु हुन्छन्, त्यो बेला उनीहरू महिला या पुरूष के हुन् भन्ने समेत हेक्का हुन्न मलाई कहिलेकाँही।
सायद म त्यँही ‘संघ’ हरूलाई पछ्याउँथे । रेडियोमा सञ्चारकर्मीका रुपमा काम गर्दाताका एकजना साथीले मलाई भनेको म आज बुझ्दै छु, ‘तिमी सरोगेट मदर बन।’
त्यतिबेला त सरोगेट मदर भनेको समेत मलाई राम्ररी थाहा थिएन। थाहा पाएको भए म जवाफ दिने थिएँ , ‘हुन्छ सरोगेट मदर बन्छु र जन्मिएको बच्चा आफैसँग राख्छु।’
हुन पनि त जुन देशमा महिला राष्ट्रपति छ, त्यो देशमा एक पढेलेखेकी युवतीले आफ्नो जिन्दगीको बारेमा आफैंले निर्णय गर्न नपाओस्? जुन देशमा महिला प्रधानन्याधीश छ त्यो देशमा एक शिक्षित र सक्षम महिलाले जन्माएको बच्चालाई कानुनी अड्चन बेहोर्नुपर्ला भन्ने शंका कसरी गरौँ? जुन देशको संसदमा सभामुख नै महिला छ त्यो देशमा कुनै एक स्त्रीले आफ्नो विवेकको प्रयोग गर्न नपाउली र? वा उनले गरेका निर्णयलाई कसो सदर नगरिएला?
फेरि पनि भन्छु यो सब लेख्नुको मेरो आशय म सरोगेट मदर बन्न पाउँ भन्ने होइन। मेरो धुन त केवल यती हो कि आजसम्म हामीले अर्काले के भन्ला भन्ने विषयलाई केन्द्रमा राख्यौं। पल्लाघरेले के भन्ला? आफन्तले के भन्लान्? पुरेतले के भन्लान्? शास्त्रले के भन्ला? आफ्नो विवेकलाई छाडेर हामी विचरा ‘होहोराम’ राम भयौं र ‘अरुले के भन्लामा’ जिउन थाल्यौँ।
आफ्नो निर्णयमाथि शंका, आफूमाथि शंसय । यसरी हामीले कहिल्यै आफ्नो मर्जीको जीवन जिउन पाएनौँ। हामीजस्तै लाखौँ जीवनहरूले आफ्नो मनले मानेको कुरालाई संधै गौण र कम प्राथमिकतामा राख्यौं।
फेरि पुरानै सन्दर्भमा जोडिउँ– ती मेरी ‘साथीआमा’, जो जिन्दगीभरि अर्काले के भन्ला भनेर डर मानेर आफ्ना रहरलाई कुँज्याएर बसिन्, आफूलाई मन लागेको लुगा लाउने रहर, कपाल काट्ने रहर, कुनै दिन एक्लैएक्लै पहाड चढ्ने रहर र कुनै दिन एक्लै नदी तर्ने रहर! यी सारा रहरहरूलाई उनले बन्धकी राखिन् अर्काले के भन्ला भन्ने डरका कारण। तर, एकदिन उनको मनले भन्यो ‘खुसी हुन आकाशमा भएका जुनतारा आफ्नै वहीखातामा जम्मा हुनु जरुरी रहेनछ, स्ववेकले बाँच्न पाउनु नै खुसीको आधार रहेछ।’
म त अन्यौलमा छु एउटा देशको भ्रमणले मानिसमा आएको परिवर्तन र आत्मविश्वासको वर्णन कसरी गरुँ? हुनत, त्यो अमेरिका भन्ने देशमा के बढी छ जुन मेरो देशमा छैन? अमेरिकामा त भर्खरै राष्ट्रपतिको चुनावमा महिला उमेद्धारको पक्षविपक्षमा चर्चा हुँदैछ जबकी मेरो देशले त तीन-तीन जना महिला हस्तीहरूलाई देशको सर्वोच्चासनमा ल्याइसक्यो। अमेरिकी जनताले पहिलो महिला राष्ट्रपतिको रूपमा हिलारी किल्नटलाई पत्याउलान् वा नपत्याउलान् तर मेरो देशले देशको सर्वोच्च पदहरू महिलालाई जिम्मा लगाईसक्यो।
म सोच्दै छु, तर पनि हामी कँहा नेर चुक्यौँ? मेरो ठहर हो- हाम्रो समग्र सामाजिक र भौतिक विकास गर्ने क्रममा अरुले के भन्ला भन्ने मनोरोगको शिकार भयौँ। त्यही कारण हाम्रा प्रगतीका ढोका बन्द भए, हामी सहजै कुनै निर्णय गर्न सक्तैनौं। हुन पनि त राष्ट्रपतिको सवारीका नाममा बाटो बन्द र सुरक्षाका नाउँमा बाटाभरि सुरक्षाकर्मी तैनाथ गरिन्छ। तर आफ्नो ज्यानको त्यतिविधि सुरक्षा चाहिने राष्ट्रपतिले आफैं विधवा भएर पनि ‘विधवा प्रथा’ हटाउनका लागि किन पहल गर्दिनन्?
किन लोग्ने मर्नेवित्तिकै स्वास्नीले विधवा बन्नैपर्छ? होइन भने प्रधानन्याधीश किन आफैँ आमा भएर पनि आमा कै नाउँमा नागरिकता पाउँछिन् भनेर एउटा अहम् फैसला गर्न सक्तिनन्? शायद उनीहरुलाई पनि यही त्रास होला– के भन्लान्? ग्या्सट्राइटिस जस्तै अर्को डरलाग्दो रोग सल्क्यो हामीमा –अर्काले के भन्ला भन्ने रोग। यो रोगले महिलालाई मात्र होइन पुरूषलाई पनि उस्तै सताएको छ। कतिसम्म भने हामी पुरूषलाई रुनसम्म पनि मनाही गर्छौ। अनि पुरुष कुँजिएर बस्छ – रोए अर्काले के भन्ला?
राष्ट्रपतिज्यू, प्रधानन्याधीशज्यू, सभामुखज्यू, सुवर्ण अवसर यही हो कि महिलालाई स्वतन्त्रतापूर्वक आफ्नो जीवनको निर्णय गर्ने हक प्रदान गरियोस् अनि पुरूषलाई कुना पसेर रूनु पर्ने र ‘यन्त्रझैँ बनेर इज्जत, प्रतिष्ठा र धन कमाउनै पर्ने’ बाध्यात्मक संस्कारको अन्त्य गरियोस् । अर्काले के भन्ला भन्ने कुरा किम्मार्थ ठूलो कुरा होइन । अर्काले के भन्ला भन्ने रोग प्रगति, नविनता र सिर्जनतात्मकताको बाधक हो। काग कराउँदै गर्छ। पिना सुक्दै गर्छ। छाडिदिनोस् अरूले जेसुकै भनोस्।