शिक्षण अस्पतालको ओपिडि प्राङ्गण। बिरामीको लाइन खचाखच छ। आफ्नो नम्बर अनुसारकै पालो पर्खेर लाइनमा बसेका छन्। डाक्टरहरू बिरामी जाँच्न व्यस्त छन्। कागज पत्रहरूले टेबल पनि व्यस्त छ। बिरामी र बिरामीका आफन्तहरूको आवाज, समय–समयमा चुईँ चुईँ पालो बताइरहने मेशिनको आवाज र यताउता बिरामीलाई बोलाउने, लाइनमा बसाउने अस्पतालका कर्मचारीहरूको आवाजले ओपिडी करिडोर अशान्त त यसै छँदैछ, त्यहाँ शान्त हुनु पर्ने अवस्थै छैन।
जब जँचाउने पालो आउँछ, बिरामी अथवा बिरामीको आफन्त बिरामीको लक्षण र अवस्थाको बारेमा सर्रर बोल्न थाल्छ। डाक्टरले सुनिरहेको छ कि छैन, थाहा छैन। डाक्टरले स्ट्रेस्थेस्कोप लिएर जँचाइरहेकै छ। डाक्टरको मुखबाट बोली छुटेको छैन। बल्ल बोली छुट्यो डाक्टरसाबको – अहिलेलाई यहाँ औषधि लेखिदिएको छ। एक हप्ता खाने अनि एकपटक फेरि आउने है।
अर्को टेबलमा बिरामी कचकच गरिरहेको छ डाक्टरसँग। धन्न त्यस टेबलका डाक्टरसाब भने बोल्नुहुँदो रहेछ। बिरामीको सबै जाँच परीक्षण गराइसकेर शल्यक्रियाका लागि समय मिलाउनु पर्ने रहेछ। २०७४ सालको भदौमा समय मिलेछ। बिरामी रोगमुक्त भएर गाउँ फर्कन चाहन्थ्यो, त्यसैले केही समय अगाडिको समय मिलाइदिन याचना गर्दैथिए। डाक्टरसाबले शल्यक्रियाको मिति निर्धारण गरिएको ढड्डा कपी हेर्नुभयो। साँच्चै मिति नै खाली थिएन। बाफ रे! एक वर्षभन्दा बढी समय कुर्नुपर्ने शल्यक्रियाको लाइनमा। डाक्टरले मीठो बचनले सम्झाएँ – अब के गर्नु त, यी हेर्नुस् कहीँ ठाउँ छैन। एक महिनाको बीचमा एकपटक आउनुस्, कुनै केसहरू स्थगीत भए वा हुने रहेछ भने तपाईँलाई ठाउँ दिउँला।
‘हस् डाक्साब, त्यसै गरौंला।’
ती बिरामी र आफन्तले हात जोडेर कृतज्ञता र धन्यवाद एकैपटक प्रकट गर्दै डाक्टरको कक्षबाट बाहिर निस्के। साँच्चै कति मीठो बोली कसै कसैको त। आनन्द लाग्ने। त्यतिञ्जेल बिरामीहरूको भीड बढ्यो। भीड बढेकैले होला ओपिडिमा केही डाक्टरहरू पनि थपिए। एक जना डाक्टरसाब निकै कराउनुभयो – तपाईँहरू सबै बाहिर– बाहिर–बाहिर जानुस्। लामो समयदेखि लाइन बसेर बल्लतल्ल पालो आएका बिरामीहरू दिक्किएर बाहिर निस्कन आनाकानी गर्ने नै भए। डाक्टरको स्वर अझ ठूलो भयो – हैन तपाईँहरू किन टेर्नुहुन्न? बाहिर जानुस् गइहाल्नुस् म जचाउँदिन यसैगरी बसिरहने हो भने। ल जानुस्, बोलाएपछि मात्र आउनुस्। टर्राे बोलीले कानै टट्टायो। डाक्टर कक्ष भित्रबाट बिरामीहरू बाहिर खेदिए, ‘एकैठाउँ किनपोको पर्नु परेको’ भन्दै अस्पतालका कर्मचारीबाट पुनः खेदिए। खेदाएका बिरामीको हुल हेर्दै खेद प्रकट गरेर बस्नुको विकल्प पनि भएन।
‘तपाईँ कहाँदेखि आउनुभएको?’
‘सिरहादेखि।’
‘के को बिरामी?’
‘पेटको अप्रेशन गर्नुपर्छ भन्नुभाथ्यो। एक वर्षपछि पालो आएको यही मंगलबार अस्पताल भर्ना हुनुपर्छ भनेर आएको। कागज देखाउनलाई भित्रजानै दिएन।’
‘जानुस् न। डाक्टरले बोलाउनु भएन?’
‘आज बोलाएर त आको।’
श्रीमानको शल्यक्रिया गर्न एक वर्ष लाइन बसेर सिराहादेखि आइपुगेकी अधवैंशे दिदी हातभरि मेडिकल रिपोर्ट र कागजहरू झुण्ड्याएर उभिएकी छन्। ‘पेटमात्रै दुख्ने भएर पोहोर साल जँचाएको, फेरि अस्ति एक हप्तादेखि रगत, भिडियो एक्सरे, मुटुको जाँच गराएर रिपोर्ट लिएर आजै आउ भनी बोलाएकोले आएको। भित्र गएको अघि न बस्तै गर भन्नुभयो अर्को डाक्टरले। त्यसपछि त लाइनमा आउनु भनी बाहिर पठाइदियो।’ उनी डाक्टरले बोलाएरै आएकी तर भित्रबाट न डाक्टरले बोलाउँछ न उनलाई भित्र जानै दिइएको छ। उनीसँग टिकट नवीकरण दर्ता नगरेको भएर अस्पतालका कर्मचारीले लाइनमा नबस्न भनिछन् र उनी तमासा बनेर भर्याङको चिसो सिँढीमा बसेकी छिन् श्रीमानको साथ।
गंगालाल अस्पतालमा फलोअपमा जाँदा म प्रत्येकपटक सोध्छु – डाक्साब आमाले यी औषधि अब पनि खाइरहनु पर्छ? मुटु त राम्रो छ, कुनै खराबी छैन भन्नुहुन्छ।
‘यो औषधि खाएर राम्रो भा’को किन नखाने?’
रिपोर्ट नर्मल छ भने औषधि नदिनु पर्ने हो कि एकपटक सल्लाह गर्नुस् न मुटुका डाक्टरसँग भन्नुभएको छ छातीको डाक्टरले। ‘त्यो छातीको डाक्टरले भनेको कुरा उहाँसगै गर्नुस्। अहिलेलाई यही औषधि निरन्तर चलाउने। अर्को बिरामी आउनुस्।’
कस्तो गाह्रो डाक्टरको बोली पाउन। पुरा कुरा प्रष्टसँग त भन्नै नहुने! बुढाबुढी भएपछि झटपट उठिहाल्न, गइहाल्न, ढोका लगाइहाल्न समेत छिटो सक्दैन। त्यसमाथि रोगी, त्यसमाथि केही भन्नु र देखाउनु बाँकी छ कि भनेर अल्मलिने पनि त हुन्छ। तर, डाक्टर एकोहोरो जानुस्, बाहिर जानुुस् भनिरहेको हुन्छ। लखेट्नै मात्र हतार हुने कस्तो असंवेदनशीलता!
‘तपाई किन, किन यहाँ?’
डाक्टरसाबको उस्तै टर्रो बोली फेरि प्रकट भयो।
‘रिपोर्ट देखाउन आको।’
‘अहिले बोलाएपछि आउनुस् जानुस् बाहिर जानुस् ।’
ओहो फेरि ‘बाहिर जानुुस्’ भनेर खेदिरहने शब्द कति झर्को लागिसक्यो। त्यतिमात्र हो र?
विभिन्न टेष्टको रिपोर्ट तुरून्तै उपलब्ध हुन्छ, लिएर आउनु भनिएको हुन्छ। तर, रिपोर्ट लिएर आउँदा डाक्टर कक्षमा भेटिन्नन्। खोज्दै, चाहर्दै अस्पताल पूरै हिँड्नुपर्छ।
कुनै एक डाक्टरले बिरामीको आफन्त हप्कार्दै गरेको सुनियो – म तपार्इँको गुनासो मात्रै सुनिरहने मान्छे होइन। सबै तपाईँले नै भन्ने भए अब तपाईँ नै गर्नुस्। तपाईँ पो डाक्टर त, म के डाक्टर!
भएको के रहेछ भने शल्यक्रिया गरेको बिरामीको घाउ निको भएनछ। घाउ निको नभएकोमा केही गुनासोसहित सुगर बढेकोले पो हो कि रगत टेष्ट गर्नुपर्ला भनी सुझाएछन् बिरामीका आफन्तले। त्यतिमै डाक्टरलाई क्वीन्टल पुगिहाल्यो। फर्रर बोली फुर्यो र आफूसँग सम्बन्धित कमजोरीहरू सुन्न सक्ने तथा सुनेर अस्पताललाई सुनाउनु पर्ने धैर्यता रत्तिभर पनि देखिएन ती डाक्टरमा। रूखो, निर्जीव ढुङ्गाजस्तो डाक्टर!
‘राम्ररी बोल्दा पनि नबोल्ने अस्पतलका डाक्टरसँग के जँचाइरहेको, क्लिनिकमा जाउ त, त्यही डाक्टर कति मीठो बोल्छन्,’ मलाई केही इष्टमित्रले सुझाए।
उपलब्ध भए सम्मति नै डाक्टरहरूको टेबलमा सामुदायिक अस्पतालमै जँचाउदा आनन्द लाग्छ। विशेषगरी ल्याब टेष्ट तथा एक्सरे भिडियो एक्सरेजस्ता परीक्षण गर्न पनि सजिलो हुने भएर। तर, के यो भनाइ सत्य हो कि बिरामीहरू यसरी नै हेपिन्छन् अस्पतालमा? अनि हाईहाई हुन्छ क्लिनिकमा? पैसा र सेवा नैतिकताको तराजुमा एकैठाउँ कहिल्यै राखिन्न। तर, स्वास्थ्यको मामलामा मानिसहरू पैसाको साथमा सेवा पनि सँगै पोको पारेर डाक्टरलाई पेश गर्न आउँछन्। के पैसाको पोको हेरेर सेवाको थैली खोल्ने हो र डाक्टरले? के पैसा अनुसारको चिकित्सकीय योग्यता र क्षमता फुत्तफुत्त झिक्ने हो र डाक्टरले?
बिरामीको वर्णनबाटै बिरामीलाई के भएको हो भन्ने विषयमा लक्षणहरूको जानकारी लिनु जति महत्वपूर्ण छ, त्यति नै बिरामीले पाएको स्वास्थ्योपचारबाट के कति सुधार भयो वा हुन सकेन वा कुनै कठिनाइ आइपर्यो त्यो त फेरि पनि बिरामीबाटै जान्नुपर्ने होइन र? तर, किन सुनिँदैन बिरामीको बोली? किन डाक्टरहरू स्पष्ट भन्दैनन् बिरामीलाई? अझ सकेसम्म सहायक डाक्टरमार्फत् भन्न लगाइन्छ। डाक्टरसँग बिरामीले बोल्नुहुँदैन? किन रैतीको सम्बन्ध गरिन्छ बिरामी पक्षसँग विशेषगरी सरकारी तथा सामुदायिक अस्पतालहरूमा? प्राइभेट अस्पताल तथा क्लिनिकको प्रसङ्ग अहिले यहाँ जोडिन चाहन्नँ।
कुनै एउटा बृद्ध बिरामी छोराले भने बमोजिम ठूला डाक्टरसँग जँचाउन आउँछन्। तर, डाक्टरले सँगैको सहायक डाक्टरकोमा जँचाउन पठाउछन्। बृद्धले डाक्टरको नामै लिएर फलानालाई जँचाउ भनेर आ’को, म त यहीँ बस्छु भनेर जँचाउन बसेछन्। बल्ल डाक्टरले जँचाएछन्। ती बृद्ध बुबाले सुनाउनु भएजस्तो किस्साका हिस्सेदार बिरामीहरू यहाँ थुप्रै छन्। किनभने नाम चलेको डाक्टर भनेर देशका विभिन्न ठाउँबाट जँचाउने आउनेहरू थुप्रै हुन्छन्। चिकित्सकीय दक्षता कुनै ईश्वरीय देन होइन। तर, पनि बिरामी भएपछि ईश्वर भरोसा भन्नुअघि डाक्टर भरोसा भन्न पुग्छन् बिरामीहरू। यस हिसाबले कुनै एक अदृश्य शक्ति, जसले कहिल्यै हानी गर्दैन, केवल लाभ र आशीर्वाद मात्रै दिइरहन्छ भन्ने ईश्वरीय आशक्तिका साथ बिरामीहरू डाक्टरको भरोसामा पुग्छन्। अनि डाक्टरले दिने भरोसाको मूल्य पेशागत र नैतिक धर्मको पालना होइन र? हो भने किन मीठो आवाजमा बोलिन्न? किन माया र सम्मान भाव प्रकट गरिन्न? किन डाक्टर र बिरामीको सम्बन्ध राजा र रैती बराबर ठानिन्छ? किन मानिस–मानिसबीचको भातृत्व देखाउन कञ्जुस्याईँ गरिन्छ?
मलाई केही वर्ष पहिले एउटा छात्राले कक्षामै सोधेकी थिई – किन डाक्टरलाई डाक्टरसाहेब भन्ने गरिएको मिस? अनि उनैले फेरि भनिन्– हाम्रो देशमा विशेषगरी ज्वाइँ र डाक्टरलाई साहेब जोड्ने गरिन्छ किन होला मिस?
मसँग उत्तर नै थिएन। तर, मेरो व्यक्तिगत अनुसन्धानले उत्तर पायो – कुरा के हो भने डाक्टर पढ्न धेरै पैसा लाग्छ। त्यो पैसा सम्पत्तिको मूल्यसँग साहेब जोडियो, ज्वाइँ हाम्रो परम्परागत पितृ सत्तात्मक संस्कारअनुसार छोरीलाई विवाह गरी सुम्पिएपछि छोरीको सर्वश्व मालिकको रूपमा चाकडी र सम्मान दिन साहेब जोडियो। कुरो जे भए पनि ‘सम्पत्ति’ अथवा ‘मालिक’सँग मिल्दोजुल्दो देखियो यो साहेब शब्द। मैले यसैगरी प्रष्टिकरण दिएँ कक्षामा। नत्र म एमबिए साहेब नहुने, एमबिबिएस किन साहेब हुने? त्यतिबेलै उत्तर बनेको थियो मेरो यो प्रश्न।
बिन्ती डाक्साबहरू! यो साहेब जोडिएको मूल्यवान सम्बोधनको अमूल्य निधि नै तपाईँ खोज्दै देश विदेशबाट तपाईँसामू आइपुग्ने तिनै बिरामीहरू हुन्। तिनीबाट पाउने माया, सद्भाव र सम्मानले तपाईँलाई कहिल्यै दरिद्र बनाउँदैन। तपाईँको सुमधुर बोली, माया र स्पष्ट बुझिने गरी गर्नुभएको काउन्सिलिङले बिरामी र बिरामीका आफन्तको साहस र धैर्य हजार गुणा बलियो हुन्छ र बिरामीले रोगसँग प्रतिरोध गर्ने हौसला बढाउँछ। हौसलाले सबैको जीवनमा खुसी र सफलताको सञ्चार गराउँछ। के तपाईँको डाक्टरी धर्म नै हौसला र खुसी दिनु होइन र?